फास्ट ट्र्याकलाई प्रभावित गर्ने खेलमा चिनियाँ कम्पनी, चलखेल गर्दै भ्रष्टाचारमा मुछिएको कालिका कन्सट्रक्सन

राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको ६ वर्षमा २७ प्रतिशतमात्रै काम पूरा भएको छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद निणर्यले फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

मन्त्रिपरिषद निर्णयसँगै २०७४ जेठ १४ मा प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए। यद्यपि, सेनाले २०७४ मंसिरबाट मात्रै निर्माण सुरु गरेको थियो। निर्माणाधीन फास्ट ट्र्याकमा निर्माण कम्पनी भने चिनियाँ छन्। सुरुमा फास्ट ट्र्याक निर्माण सम्पन्‍न गर्ने म्याद २०८१ मंसिरसम्म तोकिएको थियो। तर, पहिलोपटकको म्याद सकिने बेलासम्म आयोजनाको भौतिक प्रगति २७.१९ प्रतिशतमात्रै भएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाले जनाएको छ।

यद्यपि, मंसिरमा आयोजना निर्माण सम्पन्‍न नहुने निश्चित भएपछि २०८० वैशाख ५ को मन्त्रिपरिषदले म्याद थप गरेर २०८३ चैतसम्म पुर्‍याएको छ। निर्माणको जिम्मा पाएको नेपाली सेनाले फास्ट ट्र्याकको ८–ए र ९–बी प्याकेजको निर्माणका लागि आह्वान गरेको २५ अर्बको ठेक्कालाई प्रभावित पार्नका लागि चिनियाँ कम्पनी लागिरहेको देखिन्छ।

सेनाले आह्वान गरेको टेन्डरमा रहेको ‘कानूनी कमजोरी’को फाइदा उठाउँदै केही निर्माण कम्पनीले उच्च सरकारी अधिकारीलाई प्रभाव पारेर ठेक्का जिताउन लबिङ गरिरहेका छन्। जसमा भ्रष्टाचारमा मुछिएको राप्रपाका सांसद विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सन रहेको छ।

कालिका कन्स्ट्रक्सन (जेभी) सेनाको मूल्यांकनबाट बाहिरिएको थियो। सार्वजनिक खरिद ऐनमा भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर भएको वा नपर्ने कानूनी व्यवस्था छ। त्यतिबेला सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन थियो। तर, सेनाले कानूनको व्यवस्थाअनुसार रक्षा मन्त्रालयसँग परामर्श नगरी कालिकालाई बाहिर राखेपछि कालिका सार्वजनिक खरिद पुनरावलोकन समितिमा गएका थिए।

सार्वजनिक खरिद नियमावली २०६४ को दफा ६५ (क) बमोजिम मूल्यांकन समितिले प्रस्ताव मूल्यांकन गर्दा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा पाइएमा स्थापित प्रक्रियाअनुसार आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। सार्वजनिक खरिद पुनरावलोकन समितिका एक अधिकारीले सेनाले प्रतिक्रिया नआएर गल्ती गरेको बताए।

विशेष अदालतले कालिकालाई सफाइ दिएको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दा रहेको भन्दै अख्तियारका अधिकारीहरूले कालिकालाई मूल्यांकनबाट वञ्चित गर्नुपर्नेमा जोड दिएका छन्।

रक्षा मन्त्रालयले नियमावलीको दफा ६५ (क) को उपदफा २ र ३ को व्यवस्थाबमोजिम कालिका कन्स्ट्रक्सन जेभीलाई समावेश गर्ने वा नगर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयअनुसार अघि बढ्न सेनालाई निर्देशन दिएको छ।

स्रोतका अनुसार कालिकाले अन्य ठेकेदारको तुलनामा सस्तो दरमा बोलपत्र पेश गरेको हो। प्राविधिक मूल्यांकनमा नै असक्षम देखिएको कम्पनीलाई विभिन्‍न शक्ति समूहको प्रभावमा परेर सेनाले घुमाउरो बाटोबाट कालिकालाई नै निर्माणको जिम्मा दिने गरी काम गरिरहेको बताइएको छ। कालिकाले चाइना रोड एण्ड ब्रिज कर्पोरेसनसँग मिलेर ठेक्का हत्याउने अनेक प्रयत्‍न गरिरहेको छ।

सेनाले समयमै निर्माण सम्पन्न गरी गुणस्तरीय काम गर्ने विश्वासमा सरकारले द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको थियो। यद्पि सेनालाई नै विवादित बनाउने गरी कालिका समूहले चिनियाँ कम्पनीलाई भित्र्याएर निर्माणलाई ढिलासुस्ती गर्ने चलखेल भइरहेको छ। यसअघि पनि चिनियाँ कम्पनीकै कारण फास्ट ट्र्याकको काम प्रभावित भएको थियो।

सेनाले निर्माणको जिम्मा लिएपछि सरकारले भदौ १८, २०१९ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेपछि सेनाले आयोजनाको काम सुरु गरेको थियो । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदनअनुसार ७२ दशमलव ५ किलोमिटर सडक, ८७ पुल, सुरुङ, इन्टरचेन्ज, टोल प्लाजा, विश्राम क्षेत्र, वातावरणीय, सामाजिक तथा अन्य आकस्मिक लगायतका खर्चमा २ खर्ब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

आशिष चौधरी, जो खेलाडी बन्न ट्याक्टरको सह-चालक बने

धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी ।
शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९-०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो ।

यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म मनाङ मर्स्याङदीको नाममै मात्र थियो । चर्च ब्वाइजले अद्धितीय रूपमा तल्लोबाट माथिल्लो डिभिजनसम्म लगातार उक्लेको थियो । त्यो पनि प्रत्येक पल्ट उपाधि जित्दै ।

यो यात्रामा केही खेलाडी आए । केही खेलाडी गए । तर आशिष त्यस्ता खेलाडी रहे, जसले प्रत्येक पाइलामा क्लबको सहयात्री रहे । खासमा संघर्ष र समर्पणको अर्को नाम हो, उनी ।

अहिले उनी नेपाल सुपर लिग एनएसएल २०२३ मा धनगढी एफसीका लागि खेलिरहेका छन् । खासमा उनी टिमका ‘मार्की प्लेयर’ समेत हुन् । टिमले अहिलेसम्म तय गरेको यात्रामा फेरि एकपल्ट आशिषको असाध्यै धेरै महत्त्वपूर्ण योगदान रहेको छ ।

सुरुआती खेल जीवनकोही कसैको जीवनमा फुटबल मात्र हुन सक्छ भने त्यो पनि आशिष मात्र हुन सक्छ । उनी अहिले २३ वर्षका भए । लजालु पाराका छन् । कम बोल्छन् ।

मोरङका यी खेलाडी खेल्नकै लागि भनेर ट्याक्टरको सह-चालक बने । बालुवा बोके । सिमेन्ट पनि बोके । अनि फुटबल खेल्नकै लागि भनेर बिहान चार बजे उठ्थे ।

उमेर भर्खरको थियो, तर परिवारको जिम्मेवारी उत्तिकै थियो । त्यस्तोमा परिवारबाट विदेश जान पनि दबाब थियो, तर उनी गएनन् ।
उनी विदेश किन गएनन् भने उनलाई फुटबल खेल्नु थियो । बैंगलोरमा भएको पछिल्लो साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि उनी यति धेरै खुसी थिए कि उनको पहिलो प्रतिक्रिया लगभग यही थियो, ‘म विदेश जान्न । म विदेशमा पलायन हुन्न ।’

नेपाली फुटबललाई लिएर उनका सपना अनेक छन् । ठूल ठूला छन् । विश्वास गरौं, नेपाली फुटबल त्यति धेरै लोभी पापी हुने छैन्, जसले आशिष जत्तिको खेलाडीलाई पनि दुःख दिनेछ ।

वर्ष ०७८ मा चर्च ब्वाइजले ‘बी’ डिभिजन जित्दा आशिष प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले ‘ए’ डिभिजनमा डेब्यु गरेको भने पुलिसविरुद्ध थियो । त्यसमा चर्च ब्वाइज २–१ ले विजयी रह्यो र आफ्नो डेब्युमै उनी गोल गर्न पनि सफल रहे । पुलिसले पहिले गोल गर्दै अग्रता लिएयता पहिलो हाफको इन्ज्युरी समयमा उनले बराबरी गोल फर्काए ।

यसरी मूल धारको फुटबलमा उनको सुरुआत धमाकेदार नै रह्यो, सधैं सम्झनालायक हुने गरेर । त्यस लिगमा उनले चर्च ब्वाइजका लागि २५ खेल खेले, अनि छ गोल पनि गरे । यी सबै खेलमा एक अपवादलाई छाडेर उनी बाँकीमा ‘स्टार्टिङ-लाइन’ मै थिए ।

आफ्नो अहिलेसम्मको छोटो फुटबल जीवनका लागि उनी चर्च ब्वाइजका लागि असाध्यै धेरै कृतज्ञ पनि छन् र उनलाई लाग्छ, क्लबले लगाएको ऋण पो कसरी तिर्ने होला ?

त्यस क्लबका अध्यक्ष रुबेन राईको पनि गुन पनि उनी कहिल्यै बिर्सन चाहँदैनन् । अनि आमा बुबालाई धन्यवाद भन्न बिर्सदैनन्, जसले उनलाई फुटबल खेल्न रोकतोक गरेन् ।

अहिले चलिरहेको एनएसएलमा धनगढीको सफलता पछाडि उनको पनि राम्रै योगदान रहेको छ । यसमा उनको डेब्यु भने वीरगञ्ज युनाइटेडविरुद्धको खेल रह्यो । त्यसमा पनि धनगढीले विजयी सुरुआत लिएको थियो ।

धनगढीले अहिले खेलाडी ‘रोटेसन’ नीति लिइरहेको छ । यसका वावजुत पनि उनी अधिकांश समय सुरुदेखि खेल्नेमा पर्छन् । टिमका अनुभवी र व्यावसायिक विदेशी खेलाडीले आशिषलाई परिपक्व बनाउन अझ मदत गर्ने विश्वास गर्न सकिन्छ ।

राष्ट्रिय टिममा प्रवेशआशिषलाई नेपाली राष्ट्रिय टिममा डेब्यु गराउने श्रेय भने प्रशिक्षक प्रदीप हुमागाइँलाई जान्छ । संयोग कस्तो भने चर्च ब्वाइजले ‘ए’ डिभिजनको यात्रा सुरु गर्दा सुरुमा टिमका प्रशिक्षक हुमागाई नै थिए । पछि उनीहरू छुटिए ।

नेपालले सन् २०२२ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमा उनी सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका थिए, विमल घर्तिमगरविरुद्ध । समय थियो, ८५ औं मिनेट ।

आशिष सबैभन्दा बढी खुसी देखिएको भने पाकिस्तानविरुद्धको पहिलो गोलमै हो । सन् ०२३ को त्यस साफ च्याम्पियनसिपमा नेपाल आफ्नो सुरुआती दुई खेलमै पराजित रह्यो, कुवेत र भारतविरुद्ध ।

यसै कारण पाकिस्तानविरुद्धको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको विषय बनेको थियो । त्यसमै नेपाल १-० ले विजयी रह्यो र निर्णायक गोल आशिषले गरे । उनले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका हुन् ।

राष्ट्रिय टिमका लागि प्रदर्शन

क्याप : ९

अनलाइनखबरबाट साभार

कम्ब्याट ड्रेसमा बन्दुक बोकेका एक थारू राजनीतिज्ञको ‘डिग्री’ यात्रा

-ईश्वर लुइँटेल/शिलापत्रबाट
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा एउटा भिन्न अनुहार पनि देखियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर दीक्षित हुँदा दुर्गाबहादुर थारू अरुभन्दा धेरै प्रफुल्ल देखिन्थे । नहोऊन् पनि किन ? जसले गरिबीका कारण विद्यालय छाड्नुपर्‍यो । कलिलै उमेरमा सशस्त्र संघर्षमा होमिएर लडाकु बने । जब माओवादी विद्रोहको शान्तिपूर्ण अवतरण भयो, पुनः विद्यालयतर्फ सोझिएका उनका पाइलाले सफलता हासिल गरेको क्षण थियो त्यो ।

माओवादी विद्रोहको अन्त्यपछि थारूले २०६५ मा एसईई पूरा गरेका थिए । त्यसपछि पनि उनले पढाइलाई रोकेनन् । बरु राजनीतिसँगै अघि बढाए । २०७४ को स्थानीय तह निर्वाचनमा बर्दियाको बारबर्दिया नगरपालिकाको मेयर निर्वाचित थारूले राजनीतिशास्त्रमा पनि स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सोमबार काठमाडौंको दशरथ रंगशालामा देशकै सबैभन्दा जेठो विश्वविद्यालयले एकैपटक धेरै विद्यार्थीलाई दीक्षित गर्दै थियो । प्रमुख अतिथि थिए, राष्ट्रपति रामचन्द्र पौडेल । अनि, कुलपतिको हैसियतमा उभिएका थिए, थारूका राजनीतिक कमाण्डरसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड । १२ हजार ४ सय १५ जना दीक्षित भएको त्यो समारोहमा थारूले छुट्टै सफलताको महसुस गरिरहेका थिए । ‘पढ्नु, दीक्षित हुनु एउटा सामान्य कुरा हो,’ उनी भन्छन्, ‘तर, मेरो कुरा बेग्लै थियो । मान्छेले चाहेपछि र गरेपछि हुँदोरहेछ भन्ने प्रेरणा मैले दीक्षित हुँदाको क्षणमा महसुस गरिरहेको थिएँ ।’

विद्यालय छाड्दा उनलाई पढाइको बाटो सधैँका लागि बन्द भएको लागेको थियो । लगत्तै सशस्त्र विद्रोहमा हिँड्दा त झन् बाँच्ने वा मर्ने टुंगो थिएन । ‘त्यसरी औपचारिक शिक्षाबाट टाढिएको मान्छे । शिक्षाको महत्त्व बुझेरै म पुनः पढ्न फर्किएँ । अहिले मेरो सपना साकार भएको छ,’ थारूले भने, ‘सपना देखेपछि पूरा हुँदो रहेछ भन्ने विश्वास भएको छ ।’

माओवादी ‘जनयुद्ध’ले उनलाई ‘कविर’ नामले चिनायो । कम्ब्याट ड्रेसमा बन्दुक बोकायो । लडाकु कमान्डरसम्म बनायो । बाल्यकालमा धेरै पढेर शिक्षित हुने र समाजलाई सकारात्मक दिशामा डोर्‍याउने सपना बोकेका उनले २०५१ सालमा १० कक्षा पढ्दापढ्दै गरिबीका कारण विद्यालय छाडे ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण काम गर्नुपर्ने भएकाले पढाइ छोड्न बाध्य भएको उनी बताउँछन् । यद्यपि, केही समयपछि फेरि पढ्न सुरु गरेका उनी भूमिगत माओवादी पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भए । अखिल क्रान्तिकारीका क्रियाकलापमा लागेको भनेर उनी पक्राउ पनि परे । ३५ दिन हिरासतमा बिताएर अदालतले तारेखमा छाड्यो । फेरि अर्को मुद्दामा उनीविरुद्ध प्रशासनले पक्राउ पुर्जी जारी गर्‍यो । प्रहरीले खोज्न थालेपछि उनी भूमिगत भएर लडाकु बने ।

यसरी भूमिगत भएपछि विद्यालय गएर औपचारिक शिक्षा लिने अवसर गुम्यो । तैपनि उनी भेटेसम्मका पुस्तकहरू पढ्थे । २०५६ सालमा उनी फेरि गिरफ्तार भए । उनलाई बर्दिया कारागारमा राखियो । त्यहाँ रहँदा पनि पाएसम्मका पुस्तक पढेरै उनले अधिकांश समय बिताए । युद्धविराम हुँदा उनी छुटे । त्यसपछि पनि उनको पढ्ने रुचिमा कुनै कमी आएन ।

त्यसबेला पनि उनको झोलाभरि पुस्तक नै हुन्थे । थारूले करिब १४ वर्षपछि फेरि औपचारिक शिक्षालाई निरन्तरता दिने निर्णय गरे । विस्तृत शान्ति सम्झौतापश्चात् उनको लडाकुहरूको अस्थायी शिविर क्यान्टोनमेन्ट बसाइ सुरु भयो । पछि क्यान्टोनमेन्टबाट बाहिर निस्केर उनी माओवादीको युवा दस्ता वाईसीएलको केन्द्रीय सचिवालय सदस्य बने । केही महिनामै त्यहाँबाट निस्किएर माओवादीको बर्दिया जिल्ला सेक्रेटरी बने । त्यही जिम्मेवारीले उनलाई बारबर्दियाको मेयरसम्म बनायो ।

शिक्षामा निकै पछाडि रहेको बारबर्दियालाई पहिलोपटक निर्वाचित तिनै थारू नेतृत्वको स्थानीय सरकारले निकै माथि मात्र उठाएन, बारबर्दियाले शिक्षाक्षेत्रमा गरेको प्रगतिका कारण सिङ्गो देशकै ध्यान खिच्न सफल रहयो ।

थारू गत सोमबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित भएका छन् । दृढ इक्छाशक्ति भयो भने मान्छेलाई सफल हुनबाट कुनै पनि अप्ठ्यारोले रोक्न सक्दैन भन्ने उदाहरण पस्किन सफल थारू आफ्ना आगामी योजनाहरूबारे सुनाउँदै भन्छन्, ‘म एउटा राजनीतिकर्मी हुँ । यो राज्यव्यवस्था परिवर्तन गर्न मेरो पनि योगदान छ । अहिलेको राज्यव्यवस्थामा जनताको अवस्था बदल्नु छ । जनताको जीवनमा परिवर्तन ल्याउनु छ । देश समृद्धितर्फ अगाडि बढ्ने गरी काम गर्नु छ । यसमा म आफ्नोतर्फबाट कुनै कमी आउन नदिने गरी काम गर्नेछु ।’

अफगानी आप्रवासीलाई पाकिस्तानी अधिकारीहरूले दुर्व्यवहार गरेको खुलासा

पाकिस्तानबाट चमन सीमानाबाट निकालिएका फगान शरणार्थीहरूले उनीहरूले भोग्नुपरेको कठिनाइहरू वर्णन गरेका छन्, जसमा पाकिस्तानी अधिकारीहरूले तालाबन्दी र पैसा तिर्न बाध्य भएका छन्, पाकिस्तानी स्थानीय मिडिया जंगले रिपोर्ट गरेको छ। पाकिस्तानबाट निकालिएका शरणार्थीहरूमध्ये एकले भने, “परिवार अगाडि बढेका छन्, उनीहरूले हाम्रो कार छोडेका छैनन्। कराँचीमा पुलिसहरूले हामीलाई समातेर प्रहरी चौकीमा थुन्छन्। उनीहरूले छोड्न 10,000-15,000 रुपैयाँ लिन्छन्। म जन्मिएँ। कराँचीमा र बेकरीमा काम गरे। मसँग लियारीमा दर्ता भएको कार्ड छ। प्रहरीले मलाई चार-पाँच पटक उठायो र प्रत्येक पटक पाँच-दश हजार रुपैयाँ (पीकेआर) लिएर छोड्यो।

जंगले जियो टिभीका पत्रकार सलिम साफीको विश्लेषणलाई उद्धृत गर्दै भने कि अफगानिस्तानमा सोभियत संघको आक्रमण पछि पाकिस्तान आएका अफगान शरणार्थीहरू संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त (UNHCR) मा दर्ता भएका छन्। इस्लामावादका अफगान शरणार्थी खालिक अतिफीका अनुसार शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) मा दर्ता भएका अफगानीहरू पनि नजरबन्द वा निर्वासनबाट मुक्त छैनन्।

ती शरणार्थीहरूमध्ये धेरै प्रभावशाली अफगान कमाण्डरहरू पाकिस्तानमा सम्पत्ति भएका अर्बपतिहरू रहेको पनि प्रतिवेदनमा उल्लेख छ। इमरान खानपछि इस्लामाबादको सबैभन्दा विलासी घर अफगान कमाण्डरको रहेको जंगले रिपोर्ट गरेको छ ।

हालको तालिबान शासनमा पाकिस्तान आएका अफगानहरूसँग कम्प्युटरकृत शरणार्थी कार्डहरू छैनन्। उनीहरुलाई पाकिस्तान आउन छोटो अवधिको भिसा दिइएको थियो, जसको म्याद सकिएको छ । यद्यपि पेशावरका नागरिकहरूले अवैध रूपमा बसोबास गर्नेहरूलाई फिर्ता पठाउने नीति पाकिस्तानको लागि राम्रो भएको विश्वास गर्छन्, जंगले रिपोर्ट गरे।

“पाकिस्तानमा गैरकानुनी रूपमा बसोबास गरिरहेका अफगानहरूलाई फिर्ता गर्ने निर्णय क्रूर छैन; उचित कागजातहरू बिना कुनै पनि देशमा बसोबास गर्न अनुमति छैन,” पाकिस्तानी नागरिकले भने। चमन सीमामा रहेका पाकिस्तानी नागरिकले अफगान शरणार्थीलाई फिर्ता गर्ने निर्णय सही भए पनि यो ‘सही समय नभएको’ बताएका छन् ।

गैरकानूनी रूपमा बसोबास गरिरहेका अफगानीहरूलाई फिर्ता पठाउने नीतिलाई पाकिस्तानका लागि राम्रो मानिएको छ तर पाकिस्तान र अफगानिस्तान दुवैमा चिसो अवस्थाका कारण उनीहरूलाई फिर्ता गर्ने निर्णय सही समय थिएन। “पाकिस्तान र अफगानिस्तान दुबैमा चिसो छ र त्यहाँको अवस्था त्यति अनुकूल छैन। अफगान आप्रवासीहरूको निष्कासनले हाम्रो अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ,” स्थानीय सञ्चारमाध्यमले पाकिस्तानी नागरिकलाई उद्धृत गर्दै भन्यो।

नोभेम्बर १ यता पाकिस्तानबाट ४,३५,१५२ अफगानी आप्रवासीलाई देश निकाला गरिएको छ र राष्ट्रिय कार्य योजनाको सर्वोच्च समितिले देशमा गैरकानुनी रूपमा बसोबास गर्ने सबै विदेशी नागरिकलाई अक्टोबर ३१ सम्म स्वेच्छाले देश छाड्न वा निर्वासनको सामना गर्नुपर्ने समयसीमा तोकेको छ। यसैबीच, अन्तर्राष्ट्रिय उद्धार समिति, डेनिस शरणार्थी परिषद, नर्वेजियन शरणार्थी परिषद, इस्लामिक राहत विश्वव्यापी, केयर, इन्टरसोस र अन्य धेरै संस्थाहरूले अफगान आप्रवासीहरूको निर्वासनमा चिन्ता व्यक्त गरेका छन्।

तिनीहरूले अफगानिस्तान फर्केका 5,00,000 व्यक्तिहरूको तत्काल अवस्थालाई हाइलाइट गरेका छन् र जाडोको समयमा खाना, आश्रय र रोजगारीको लागि महत्वपूर्ण आवश्यकताहरू सामना गरिरहेका छन्, टोलो न्यूजले रिपोर्ट गरेको छ। यसअघि संयुक्त राष्ट्रसंघले पनि पाकिस्तानलाई निर्वासन अभ्यास रोक्न आग्रह गरेको थियो।

यसैबीच, मानवअधिकार कार्यकर्ता र पत्रकारहरूले यो दुर्व्यवहार अफगानहरूलाई देश छोड्न बाध्य पार्ने अभियानको हिस्सा भएको रिपोर्ट गरेका छन्। जसमा प्रहरीले अफगानहरूलाई पिटेको, धम्की दिएको र हिरासतमा राखेका राती छापाहरू समावेश छन्। (एएनआई)

बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ। वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन्।

थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए। उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक वनको जमिन सङ्ग्रहालय बनाउन माग गरे। सङ्ग्रहालयलाई पालिकास्तरीय प्राथमिकता प्राप्त योजनाका रूपमा सूचीकृत गरी निर्माणका लागि पालिकाबाटै बहुवर्षे बजेटको व्यवस्था गरिदिनुपर्ने, थारु जातिको चाड तथा नयाँ वर्षका अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरिएको छ।

त्यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रूपमा थारु सङ्ग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीयस्तरमा रोजगारका अवसर सिर्जना गर्नुपर्नेलगायतको माग रहेको अगुवा थारुले बताए। बैजनाथ गाउँपालिकामा कूल जनसङ्ख्याको ३८ प्रतिशत थारु समुदाय छन्। थारु सङ्ग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहले ६ बिघा जमिन उपलब्ध गराइसकेको छ। गाउँपालिका अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०/८१ मै थारु सङ्ग्रहालय निर्माणका लागि प्रतिवेदन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले भने, ‘सङ्ग्रहालयको प्रतिवेदन बनेपछि बजेट पाउने सुनिश्चित हुन्छ, प्रतिवेदन तयार गर्न म प्रयास गर्ने छु।’

त्यस्तै थारु समुदायको ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले बताए। उनले ‘शहीद’ वैजनाथ थारुको सम्मानस्वरूप गाउँपालिकाको नामकरण गरिएको स्पष्ट पार्दै स्थानीय सरकारले थारु समुदायलाई हरेक कार्यक्रममा समेटेको बताए। थारु समुदायको खानपान, कला, संस्कृति, भेषभूषा र इतिहास बचाउन सङ्ग्रहालय बनाउन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।

सहदेव चौधरीले ल्याए संगीता रानाको स्वरमा ‘चोखो माया’

चोखो माया लाऊ भन्ने पनि धेरै छन्
यहीं घर बसाऊ भन्ने पनि धेरै छन्

सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी । प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ। गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज छ। एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले बताए।

चीनको माब्जा जाङ्बो परियोजनाले नेपालको कर्णाली नदीलाई कसरी असर गर्न सक्छ?

तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौं नेपालीको जीवनरेखा हो। तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण करोडौं नेपालीको भविष्य जोखिममा परेको छ।

भूउपग्रहबाट खिचिएको तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू शुरू भएको देखाएको छ। बाँधको पुर्ण विवरणहरू अज्ञात छन् तर यो एक विशाल जलविद्युत परियोजना हो भनेर अनुमान गरिएको छ। विज्ञहरूले यस बाधले नेपालमा बहुआयामिक प्रभाव पार्ने खतरा रहेको औल्याएका छन्।

कर्णाली नदीको बहावमा नियन्त्रण
सो बाध निर्माण सम्पन्न भएमा कर्णालीको बहावमा चीनको नियन्त्रणमा जाने छ। पानी भण्डारण गर्ने र छोड्ने बाँधको क्षमताले नेपालको सिँचाइ, जलविद्युत उत्पादन र जलीय पारिस्थितिकी प्रणालीलाई असर गर्दै तल्लो तटीए नदीको व्यवस्थालाई महत्त्वपूर्ण रूपमा परिवर्तन गर्न सक्छ।

वातावरणीय सरोकारहरू

पानीको प्रवाहमा कमीले तलछ्ट ढुवानीमा बाधा पुर्‍याउँछ जसले नदीको क्षरण र किनाराको अस्थिरता बढ्छ। यसले माछाको जनसंख्यालाई हानि पुर्‍याउन सक्छ र जैविक विविधतालाई खतरामा पार्न सक्छ।

भूराजनीतिक तनाव
विवादित सिमानासँग बाँधको निकटताले भूराजनीतिक चिन्ता बढाउँछ। नेपाल जलस्रोतको लागि कर्णालीमा भारी रूपले निर्भर छ र चीनको यो एकपक्षीय निर्माणले पानी बाँडफाँडमा तनावलाई बढाउन सक्छ।

पानी अभाव
करोडौं नेपाली सिँचाइ, खानेपानी र जलविद्युतका लागि कर्णालीमा निर्भर छन्। पानीको प्रवाहमा कमीले व्यापक पानीको अभाव निम्त्याउन सक्छ। कृषि, जीविकोपार्जन र जनस्वास्थ्यमा असर पार्न सक्छ।

ऊर्जा सुरक्षा
नेपालले ऊर्जा अभावको सामना गरिरहेको छ, र जलविद्युत परियोजनाहरूले यसको ऊर्जा आवश्यकताहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। बाँधले विद्यमान जलविद्युत आयोजनाहरूलाई बाधा पुर्‍याउन र नेपालको ऊर्जा सुरक्षा लक्ष्यमा बाधा पु¥याउन सक्छ ।

जिविकोपार्जन
कृषि, मत्स्यपालन र पर्यटन नेपालको अर्थतन्त्रका प्रमुख संवाहक हुन्। कर्णालीको प्रवाहमा आएको परिवर्तनले यी क्षेत्रहरूलाई गम्भीर असर पार्न सक्छ, लाखौंको जीविकोपार्जनलाई खतरामा पार्न सक्छ।

तसर्थ, चीनले बाँध परियोजनाको सम्बन्धमा नेपाल चीन पारदर्शी संवादमा संलग्न हुन आवश्यक छ। नेपाल र चीनबीच पानी बाँडफाँड र वातावरणीय प्रभावहरूको चिन्तालाई समयमै सम्बोधन गर्न आवस्यक छ।

प्रधानमन्त्रीलाई ‘घोङी, ढिक्री, सुरिक सिकार र जाँरक झ्वार’ उपहार

प्रधानमन्त्री पुष्पकमल दाहाललाई थारू समुदायको परम्परागत विधिअनुसार निमन्त्रणा गरिएको छ। थारू कलाकारहरूको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटार निवासमै पुगेर थारू विधिअनुसार प्रमुख अतिथिको निमन्त्रणा गरेको हो।

थारू कलाकारहरूले थारू परम्परागत विधिअनुसार अन्दीको भात, घोङी, सिध्रा, झिङ्गे माछा र बंगुरको मासुको परिकार, बयरको चट्नी, केराउ र आलुको तरकारी, बर्‍या, ढिक्रीजाँरक झ्वार (जाँड) कोसेली लिएर निमन्त्रणा दिन बालुवाटार पुगेका थिए। राष्ट्रिय थारू कलाकार मञ्चका उपाध्यक्ष अन्जु चौधरीले उक्त कोसेली प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेकी थिइन् । थारू समुदायमा चेलीको हातबाट कोसेली दिने प्रचलन छ।

प्रधानमन्त्री दाहालले थारू समुदायको परम्परागत विधिबाट गरिएको निमन्त्रणाबाट आफू निकै प्रभावित भएको बताए। उनले आफूलाई अहिलेसम्म कसैले यसखालको निमन्त्रणा नदिएको बताए।

‘यस्तो खालको निमन्त्रणा मलाई कसैले दिएको थिएन। तपाईँहरूले दिनुभएको परम्परागत निमन्त्रणाबाट म निकै प्रभावित भएँ,’ प्रधानमन्त्री दाहालले भने। उनले उक्त निमन्त्रणाको सम्मानमा थारू कलाकारहरूले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका थिए।

मञ्चका अध्यक्ष विनय वैद्यका अनुसार थारू कलाकारहरूको महाधिवेशनका लागि उक्त निमन्त्रणा दिइएको हो। मञ्चले माघ २७ गते चितवनको सौराहामा महाधिवेशन आयोजना गर्दैछ। थारू कलाकारहरूको छाता संस्थाको रूपमा रहेको मञ्चको महाधिवेशनमा देशभरिका थारू कलाकाहरू जुट्ने अध्यक्ष वैद्यको भनाइ छ।

उनले थारू समुदायको परम्परागत विधिलाई देशकै कार्यकारीसमक्ष प्रस्तुत गरेर संस्कृति जोगाउनुपर्ने उदाहरण दिएको बताए। ‘थारू समुदायका परम्परागत विधि, पद्धतिहरू विस्तारै लोप हुने अवस्थामा छ। सरकार पनि त्यसको संरक्षण र प्रवर्द्धनमा चुकिरहेको भान हुन्छ। त्यसैले देशको कार्यकारी प्रमुखलाई नै यसखालको निमन्त्रणा दिएर संस्कृति जोगाउनुपर्ने उदाहरण प्रस्तुत गरेका हौं,’ अध्यक्ष वैद्यले भने।

पहिचानका लागि देशभरका थारू एक हुनुपर्छ : भगवती चौधरी

नेकपा एमालेकी नेतृ तथा संघीय सांसद भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनुपर्ने बताएकी छन्।

थारू कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्।

सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९ औं जिल्ला अधिवेशनमा बोल्दै थारू अगुवा नेतृसमेत रहेकी चौधरीले थारू कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समयअनुसार चल्न नसकेको बताइन्।

उक्त अवसरमा उनले समग्र थारूहरूको विकास, उत्थानका लागि अब समयअनुसार थारूको पहिचान जोगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन्।

थारू समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडि बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद चौधरीले राजनीतिमा पनि थारूहरूको उपस्थिति बढाउँदै लैजानुपर्नेमा जोड दिइन्।

‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो। दोस्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारूहरू लाई सक्षम र योग्य बनाउनु हो। यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ’ उनले भनिन्।

नेपाली काङ्ग्रेस, नेकपा एमाले जस्ता राजनीतिक दलहरूसँगै स्थापना भएको संस्थाले थारू समुदायमा सक्षम नेतृत्व बनाउने सवालमा काम गर्नुपर्ने बताउँदै चौधरीले राज्य सत्तामा थारू समुदायको उपस्थिति बढाउन सकेमात्र थारू समुदायको हक अधिकार सुनिश्चित हुने जिकीर गरिन्।

उनले संविधानमा थारूहरूको छुट्टै अधिकार सुनिश्चित गरेको जनाउँदै थारूहरूको विकास, उत्थानका लागि थारू आयोग, लोक सेवा आयोग जस्ता स्थानमा थारूहरूको सहभागीता सुनिश्चित गरेको भएपनि थारू जातिहरूको सहभागीता र उपस्थिति कमजोर रहेकोमा थाकसले राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नेतृत्व जन्माउन लाग्नुपर्ने बताइन्।

दुबईमा माघी कार्यक्रम आयोजना हुँदै, सोनु कुश्मी र प्रकाश माझीले प्रस्तुती दिने

यसपटक पनि दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ।

माघी कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्ता गरिएको छ। अघिल्लो वर्ष समीक्षा चौधरी कार्यक्रममा सहभागी थिए। त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका गायक केशवराज महतो पनि प्रस्तुती रहनेछ।

थासक युएईले वर्षेनि माघी महोत्सव आयोजना गर्दै आएको। थासक युएईले नेपालका कलाकारहरूलाई निमन्त्रणा गरेर सम्मानसमेत गर्दै आएको छ। कार्यक्रममा अन्नु चौधरी, श्रीनिवास चौधरी, मनोज महतो, संजय चौधरी, देवकृष्ण विश्वास, रामलाल चौधरी, मदन चौधरी, वर्षा लेखी, राजकुमार लेखीलगायतलाई संस्थाले सम्मान गरिसकेको छ।
कार्यक्रम २१ जनवरी २०२४ का दिन बरदुबईको क्लब एभरेस्टमा हुने छ।