पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य घटाएको हो। शुक्रबार रातिदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

भारतले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३.०७ रुपैयाँ, डिजेल र मट्टितेलमा मा ३.१६ रुपैयाँ रहेको थियो। नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल-मट्टितेलको १५७ रुपैयाँ पर्नेछ।

राजेन्द्र महतोले थरुहट मोर्चालाई आन्दोलनमा उत्रिन गरे आह्वान

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरेर आन्दोलन उत्रिन आह्वान गरेका छन्। नेता महतोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महोत्तरी जिल्ला अदालतले सुनाएको फैसलाको विरोधमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका हुन्।

नेता आन्दोलनको मर्मविपरीत अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई राज्यले दबाउन खोजेको आरोप लगाएका छन्।

‘महोत्तरी जिल्ला अदालतले सुनाएको फैसलापछि एकपटक फेरि त्यति बेलाका आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिलाई जुन आज विभिन्न रूपमा छरिएर बसेको छ। त्यसलाई सामूहिकरूपमा सरकारमाथि दबाब बनाउन नैतिक दबाब सिर्जना गरेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेता महतोले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो नेता कार्यकर्ताविरुद्ध भइरहेको पड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन र खुट्टा नकमाउन आग्रह गरेका छन्।

‘अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको प्रपञचको हामी खुलेर विरोध गरौं। तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरूहटका सबै नेताहरूलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भई प्रतिकारमा उत्रिन आह्वान गर्दछु,’ महतोले भनेका छन्।

घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव

कैलालीको घोडाघोडी नगरपालिका-१ घोडाघोडी मन्दिर परिसरमा तीन दिने लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आजदेखि सुरुभएको छ ।

महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री शाहले लवाङ्गी पूजा थारु समुदायको परम्परागत संस्कारसँग जोडिएको जनाउँदै यसलाई जोगाउन युवापुस्ताको जागरुकता रहेको बताए। उनले घोडाघोडी विश्व सिमसार क्षेत्र जैविक विविधताले मात्र महत्वपूर्ण नभइ धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको जनाउँदै यसको अस्तित्व जोगाउन सरोकारवाला सबैको दायित्व रहेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कृषीमन्त्री रामेश्वर चौधरी, उधोग, वन तथा पर्यटनमन्त्री रमेशसिंह धामी, प्रदेश सांसद खुशीराम चौधरी, घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, विभिन्न पार्टीका नेता, थारु समुदायका ८२ गाउँका भल्भन्सा लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा विभिन्न गाउँबाट थारु सांस्कृतिक झल्काउने लाठी, झुम्रा, सखिया नाच तथा झाँकी प्रदर्शन गरिएको थियो। उपस्थित अतिथिलाई विभिन्न गाउँबाट बनाएर ल्याएका थारु खानेकुरा ढिक्री, माछा, घोँगी, वयरको चटनी, जाँर लगायतका खानेकुरा खुवाइएको थियो।

सीता विबाह पञ्चमी तीथिमा हुने लवाङ्गी पूजाको अवसर पारेर केही बर्षदेखि थारु सांस्कृतिक महोत्सवको आयोजना हुँदैआएको छ। ‘भाषा, धर्म, कला, संस्कृतिके करी सम्मान, घोराघोरी मन्दिर थारुन्के देउथानके चिन्हैना हमार अभियान’ भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव तीन दिनसम्म चल्ने जनाइएको छ।

घोडाघोडी नगर भल्मन्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाजको सहकार्य र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा हुने सो पूजा कार्यक्रममा ८२ गाउँका थारु समुदायको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ।

घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा महोत्सव उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दैआएको बताइन्छ। परापूर्वकालदेखि थारु समुदायले अन्नबाली घर भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई चढाउने पूजा भएकाले पनि लवाङ्गी पूजाको नाम रहन गएको भनाइ छ।

पहिले सामान्य पूजा कार्यक्रम मात्र गरिने भए पनि केही वर्ष यता महोत्सवको रुपमा थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनी गरेर पूजालाई भब्यरुपमा सम्पन्न गरिदैआएको छ।

भोलि ३० गते राति थारु गुरुबाहरु धाक (धामी) बस्ने र पौष १ गते बिहानदेखि पूजा कार्यक्रम सुरु हुने जनाइएको छ । घोडाघोडीलाई भाकल गरेकाले लवाङ्गी पूजाकै दिन बोका, कुखुरा, हाँस, बंगुरलगायत पशुको बली दिने चलन रहेको जनाइएको छ । घोडाघोडी लवाङ्गी पूजामा कैलाली, कञ्चनपुर, दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजन आउने बताइएको छ ।

थारू परिकारका पारखीको गन्तव्य स्थल खैयरकन्द्रा होमस्टे

शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्। पाहुना आएपछि उनी घरबास सञ्चालक महिलासँगै परम्परागत पहिरनमा सजिएर हसिलो मुहारमा फूलमाला र अबिर लिएर सत्कार गर्नका लागि तम्तयार भएर बस्छन्।

एकपटक घरबासमा पुगेका पाहुना थारू महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन्। वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएपछि दक्ष बनेकी हुन्। उनीजस्तै खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, तारागाउँ विकास समिति र मितजी ग्रुपलगायत संस्थाबाट घरबास सञ्चालनबारे तालिम लिएका छन्।

सबै परिवारका सदस्यले पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्दछन्। त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौरा बताउँछन्।

“धेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरबास हेर्नका लागि र यस क्षेत्रको मनोरम दृश्यसँगै थारू संस्कृति हेर्नका लागि पुग्ने गर्दछन्”, उनले भने, “थारू परिकारका पारखी पनि पुग्ने गर्दछन् ।”

कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए । “महामारी फैलिएपछि घरबासमा पाहुना आएनन्”, पुरनले भने, “धेरै दिन बन्द नै गर्नुपर्यो, महामारीको अन्त्यपछि पुनः पाहुना फाट्टफुट्टरूपमा आउन थालेका छन्, अझै पहिलाझैँ घरबासमा खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ।”

उनका अनुसार घरबासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ। स्वागत कार्यक्रमपछि पाहुनालाई घरबास सञ्चालकले पालो मिलाएर घर–घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन्।

पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि उनीहरूकै इच्छामा परम्परागत नृत्य देखाउने गरिन्छ। नृत्यपछि पाहुना घरबासमा सुत्नका लागि जाने गरेका छन् । पाहुनाबाट परिकारअनुसारको शुःल्क लिइने गरिएको छ।

“पाहुनालाई थारू संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँ”, घरबास सञ्चालक टीकुराम दहितले भने, “बूढापाकाबाट संस्कृतिबारे जानकारी दिन्छौँ, परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ, यस कार्यले थारू समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ।”

गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरमदृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको उनी बताउँछन्। घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा रु ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए।

“कोरोनाका कारण घरबास सञ्चालकले निकै घाटा व्यहोर्नुपर्यो”, गाउँका बडघर रामप्रसाद चौधरीले भने, “कोरोनापछि हाल वर्षमा रु ५० हजार जति आम्दानी हुन थालेको छ, घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।” गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ।

“सामुदायिक घरबाससम्म पुग्न सडक कालोपत्र गर्नका लागि नगरपालिकासँग माग गर्दै आएका हौँ”, उनले भने, “नगरप्रमुखलाई यसबारे अवगत गराउनुका साथै अवलोकन गराएका हौँ, अहिलेसम्म अश्वासनबाहेक अरु केही पाउन सकेको छैन।”

सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट रु दुई लाख, तारागाउँ विकास समितिबाट रु चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट रु १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट रु ३० लाख सहयोग गरिएको छ।

“जग्गा खरिद र भवन निर्माणकार्य पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छ”, उनले भने, “परम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ।”

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरबास सञ्चालनमा लागेकालाई गैससको सहयोगमा नगरपालिकाका तर्फबाट सातदिने तालिम दिइएको नगरउपप्रमुख कल्पना पन्तले बताइन्।

“तालिम दिएपछि घरबास सञ्चालकको कार्यक्षमतामा वृद्धि भएको छ”, उनले भनिन्, “घरबासमा पूर्वाधार निर्माण, सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढाएका छौँ ।” पर्यटन बोर्डसँगको लागत साझेदारीमा पर्यटकीय क्षेत्रसँगै घरबास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ थियो।

उनका अनुसार वडा नम्बर ३ मा खयरकन्द्रा सामुदायिक घरबास सञ्चालनमा रहेको छ भने वडा नं ७ मा कृष्णसार सामुदायिक घरबास विधिवत रुपमा दर्ताभई सञ्चालनको तयारीमा छ। वडा नं ८ मा घरबास सञ्चालनको तयारी गरिएको छ । पर्या पर्यटन प्रवद्र्धनका लागि नगरपालिका क्षेत्रभित्रका दर्शनिय पर्यटकीय स्थलहरुको अबलोकन गराउने व्यवस्था गराइने उनको भनाइ छ।

प्रधानमन्त्रीसँग रेशमको भेट, राष्ट्रिय सभामा एक सिट दाबी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्।

प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित स्थान दिन प्रधानमन्त्री दाहालसँग आग्रह गरेका हुन्। ‘हामी पनि गठबन्धनको हिस्सा हौं। राष्ट्रियसभा निर्वाचनमा हाम्रो सहभागिता अनिवार्य हुनुपर्‍यो भनेर प्रधानमन्त्रीजीसँग आग्रह गरेका छौं,’ अन्नपूर्णसँग उनले भने।

स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा कत्मिमा एक सिट पाउनुपर्ने माग गरेको छ। त्यसका लागि संरक्षक चौधरी र पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले तीव्र लबिङ गरिरहेका छन्। सिट पाउने सुनिश्चित भएपछि मात्रै उम्मेदवारको टुंगो लगाउने ती स्रोतको भनाइ छ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा आयोगमा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक मत रहेको छ।

त्यस्तै प्रधानमन्त्रीसँग छलफलमा मुक्त कमैया र हलियाहरूको व्यवस्थापनका लागि छिट्टै ऐन नियम बनाउन उनले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेको भन्दै संरक्षक चौधरीले आर्थिक प्याकेजसहित बाँझो जमिन दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएका थिए।

प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्। थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरीले सफाइ पाएका हुन्। जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महतोलाई सफाइ दिएको जिल्ला अदालतका श्रेस्तादार नुतन झाले जानकारी दिइन्।

त्यस्तै सोही मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् मधेस प्रदेशका सभासद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत महोत्तरीले जनाएको छ।

अदालत स्रोतका अनुसार प्रदीप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकाले सोही १३(३) बमोजिम जन्मकैद सजाय भएको छ।

तत्कालीन मधेस दलका नेता एवं हालः प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जना उपर जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो।

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ। खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ। उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो।

यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो। न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए।

दुवै न्यायाधीशहरूबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेस भएको हो। उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन्। खाणले पनि आफूलाई धरौटीमा छाड्‍ने आदेश गलत भएको भन्‍दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउँछन्।

उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो। २० मध्ये बालकृष्ण खाँणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो।

नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन्। गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन्।

परराष्ट्रमा पहिलोपटक महिला सचिव

सरकारले परराष्ट्र सचिवमा सेवा लम्साललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त परराष्ट्र सचिवमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो। उनी अहिले वरिष्ठ सहसचिव थिइन्।

सेवा अवधिका कारण भरतराज पौड्यालले अवकास पाएपछि पराष्ट्र मन्त्रालयको सचिव रिक्त थियो। सोही पदमा लम्साललाई बढुवा गरिएको हो। परराष्ट्र सचिव बन्ने सेवा लम्साल पहिलो महिला हुन्।

धारा ३७० बारे सर्वोच्च अदालतको फैसलाले एक भारत, श्रेष्ठ भारतको भावनालाई बलियो बनाएको छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

भारतको माननीय सर्वोच्च अदालतले यही डिसेम्बर ११ गते धारा ३७० र ३५ (क) को खारेजी बारे ऐतिहासिक फैसला सुनायो। यस फैसलामार्फत् अदालतले भारतको सार्वभौमसत्ता र अखण्डतालाई अनुमोदन गरेको छ, जसलाई सबै भारतीयले सहर्ष स्वीकार गरेका छन्। विघटनलाई नभई संवैधानिक एकतालाई अभिवृद्घि गर्ने उद्देश्यले सन् २०१९ अगस्ट ५ गते लिइएको निर्णयलाई सर्वोच्च अदालतले सही तवरले जाँच गरेको छ। धारा ३७० स्थायी प्रकृतिको नभएको तथ्यलाई पनि अदालतले मान्यता दिएको छ।

जम्मू, कश्मीर र लद्दाखका मनमोहक भूदृश्य, शान्त उपत्यका र भव्य हिमालले सदियौंदेखि कवि, कलाकार र साहसीहरुको हृदयलाई मोहित तुल्याएको छ। यो यस्तो ठाउँ हो जहाँ विशिष्टताको असाधारणतासँग संगम हुन्छ, जहाँ हिमालले आकाशलाई छुन्छ र जहाँ ताल र नदीका सफा र सङ्लो पानीले स्वर्गको भान गराउँछ। तर, विगत सात दशकदेखि यी ठाउँहरुले हिंसा र अस्थिरताको सबैभन्दा नराम्रो रुप देखेका छन जुन यहाँका प्यारा बासिन्दाहरुले भोग्न जरुरी छैन।

दुर्भाग्यवश, शताब्दीयौंदेखिको औपनिवेशिकताको कारण, विशेष गरी आर्थिक र मानसिक अधीनताले, हामी एक प्रकारको भ्रमित समाज बन्यौं। आवश्यक पर्ने आधारभूत कुराहरूमा स्पष्ट अडान लिनुको साटो हामीले द्वैधतालाई ठाउँ दिई अन्योलतालाई निम्त्यायौं। दुःखको कुरा, जम्मू कश्मीर यस्तो मानसिकताको ठूलो शिकार भयो। स्वतन्त्रताको बेला हामीसँग राष्ट्रिय एकीकरणका लागि नयाँ सुरुवात गर्ने विकल्प थियो। तर त्यसो नगरी दीर्घकालीन राष्ट्रिय हितलाई बेवास्ता गर्दै हामीले अन्योल समाजको दृष्टिकोणलाई निरन्तरता दिने निर्णय गर्यौं।

मेरो जीवनको प्रारम्भिक समयदेखि नै मैले जम्मू कश्मीर आन्दोलनसँग जोडिने अवसर पाएको थिएँ। जम्मू र कश्मीर केवल राजनीतिक विषय नभई समाजको आकांक्षालाई सम्बोधन गर्ने विषय पनि रहेको विचारसँग म सहमत छु। नेहरु क्याबिनेटमा डा. श्यामा प्रसाद मुखर्जीको महत्वपूर्ण स्थान थियो र वहाँ लामो समयसम्म सरकारमा रहनसक्ने ल्याकत पनि राख्नुहुन्थ्यो। तथापि काश्मिर विषयमा फरक धारणा राख्ने डा.मुखर्जीले क्याबिनेट परित्याग गर्दै आफ्नो जीवनको बलिदानी दिनुपरे पनि त्यसको परवाह नगरी कठिन बाटो रोज्न मनपराउनुभयो। उहाँको अथक प्रयास र बलिदानकै कारण करोडौं भारतीयहरु कश्मीर भन्ने बित्तिकै भावुक हुन्छन्। वर्षौंपछि अटल जीले श्रीनगरको एक सार्वजनिक सभामा ‘इन्सानियत’, ‘जम्हूरियत’ र ‘कश्मीरियत’ को शक्तिशाली सन्देश दिनुभएको थियो जुन सधैं ठूलो प्रेरणाको स्रोत पनि रह्यो।

जम्मु र कश्मीरमा जे भयो त्यो हाम्रो राष्ट्र र त्यहाँ बसोबास गर्ने मानिसहरुलाई ठूलो धोका थियो भन्ने कुरामा म सदैव विश्वास गर्दछु। जनतामाथि गरिएको यो अन्याय, जम्मू र कश्मीरमाथि लागेको दाग हटाउन हरसम्भव प्रयास गर्ने प्रबल इच्छा ममा सदैव थियो। म सधैं जम्मु कश्मीरका जनताको पीडा कम गर्न काम गर्न चाहन्छु।

धारा ३७० र धारा ३५ (क) प्रमुख अवरोधका रूपमा खडा थिए। यी धारा नभत्किने पर्खालजस्तै थिए र यसका शिकार गरिब र शोषित वर्गहरु थिए। जहाँ अन्य भारतीयहरूले अधिकार र विकासको स्वाद लिइरहँदा जम्मू र कश्मीरका जनता भने धारा ३७० र धारा ३५ (क) कै कारण वञ्चित थिए। यी धाराहरूकै कारण एउटै देशका मानिसहरूबीच दूरी सिर्जना भएको थियो। यही दूरीले गर्दा जम्मू र कश्मीरको समस्या समाधानका लागि काम गर्न चाहने हाम्रै देशका धेरै मानिसहरूले त्यहाँका जनताको पीडा जान्दाजान्दै पनि त्यस अनुरुप काम गर्न सकिरहेका थिएनन्।

विगत केही दशकमा यस विषयलाई एकदम नजिकबाट नियालेको एक कार्यकर्ताको रूपमा यस विषयको विशिष्टता र जटिलताबारे म भलिभाती जानकार छु। त्यही पनि म एउटा कुरामा प्रष्ट छु, जम्मू र कश्मीरका जनता विकास चाहन्छन् र आफ्नो क्षमता र सीपका आधारमा भारतको विकासमा योगदान पुर्‍याउन चाहन्छन्। उनीहरू आफ्ना छोराछोरीका लागि गुणस्तरीय र हिंसा र अनिश्चितताबाट मुक्त जीवन चाहन्छन्।

त्यही भएर जम्मू र कश्मीरका जनताको सेवा गर्दै गर्दा हामीले विशेष- नागरिकको चासो बुझ्ने, सहयोगी कार्यहरुमार्फत विश्वास आर्जन गर्ने र विकास, विकास र अझ बढी विकासलाई प्राथमिकता दिने-तीन पक्षलाई ध्यानमा राखेका थियौं।

सन् २०१४ मा हामीले पदभार ग्रहण गरेलगत्तै जम्मू र कश्मीर भीषण बाढीको चपेटामा पर्‍यो। कश्मीर उपत्यकाले सबैभन्दा बढी क्षति बेहोर्‍यो। सन् २०१४ सेप्टेम्बरमा त्यहाँको अवस्था बुझ्न म श्रीनगर गएको थिएँ। संकटको बेला जनतालाई सहयोग गर्ने हाम्रो सरकारको प्रतिवद्घतातर्फ संकेत गर्दै पुनःस्थापनाका लागि विशेष सहयोग स्वरुप रु. १००० करोड उपलब्ध गराउने घोषणा गरेको थिएँ। त्यस क्रममा विभिन्न क्षेत्रका मानिससँग भलाकुसारी गर्ने मौका मिलेको थियो। यी सबै अन्तरक्रियामा एउटा कुरा समान थियो, त्यहाँका जनताले विकास मात्र नभई दशकौंदेखि व्याप्त भ्रष्टाचारबाट मुक्ति चाहेका थिए। त्यही वर्ष जम्मू र कश्मीरमा ज्यान गुमाएकाहरूको सम्झनामा दीपावली नमनाउने निर्णय गरें। साथै दीपावलीको दिन जम्मू र कश्मीरमा रहने सोच बनाएँ।

जम्मू र कश्मीरको विकास यात्रालाई अझ सुदृढ पार्न हाम्रा मन्त्रीहरु त्यहाँ बारम्बार गइराख्ने र त्यहाँका जनतासँग अन्तरक्रिया गर्ने निर्णय गर्‍यौं। यी नियमित जसो भ्रमणहरूले जम्मू र कश्मीरमा सद्भावना निर्माण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको थियो। २०१४ मेदेखि २०१९ मार्चसम्म १५० भन्दा बडी मन्त्रीस्तरीय भ्रमण भएका थिए जुन आफैंमा एउटा कीर्तिमान हो। जम्मू र कश्मीरका विकास आवश्यकताहरु सम्बोधन हेतु अघि सारिएको २०१५ को विशेष प्याकेज एक महत्वपूर्ण कदम थियो। यसमा पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र हस्तकला उद्योगलाई सहयोग गर्ने पहलहरू समावेश थिए।

युवाहरूको सपनालाई झक्झकाइदिन सक्ने खेलकुदको क्षमतालाई चिन्दै हामीले जम्मू र कश्मीरमा यसको शक्तिलाई उपयोग गर्‍यौं। खेलकुदको पहलमार्फत् हामीले खेलाडीहरूको आकांक्षा पूर्ति र भविष्यमा परिवर्तनकारी प्रभाव देख्यौं। हामीले खेलकुद स्थलको स्तरोन्नति प्रशिक्षण कार्यक्रमको आयोजना गरेका थियौं र खेलाडीहरूका लागि प्रशिक्षकहरू उपलब्ध गराएका थियौं। स्थानीय फुटबल क्लबको स्थापना गर्न प्रोत्साहित गर्नु एकदमै नयाँ कुरा थियो र यसका परिणाम एकदमै गजब थियो। प्रतिभाशाली फुटबलर अफ्सा आशिकको नाम अझै पनि मेरो दिमागमा ताजै छ, उनी सन् २०१४ डिसेम्बरमा श्रीनगरमा ढुंगा हान्ने समुहको हिस्सा थिइन् तर सही प्रोत्साहन पाउनाले उनले फुटबल रोजिन्। उनलाई प्रशिक्षणमा पठाइयो र उनी खेल क्षेत्रमा उत्कृष्ट भइन्। फिट इन्डिया डायलगमा उनीसँग भएको कुराकानी म अहिले पनि सम्झन्छु जहाँ मैले ‘बेन्ड इट लाइक बेकम’ होइन अब ‘एस इट लाइक अफ्सा’ को समय आएको छ भनेको थिएँ। अरु युवाहरू किकबक्सिङ, कराते र अन्य खेलमा जम्न थाले।

चौतर्फी विकासको खोजीमा रहेको यस क्षेत्रमा पञ्चायत निर्वाचन पनि एक महत्वपूर्ण क्षणको रूपमा रहेको थियो। एकपटक फेरी हाम्रो सामु एउटा विकल्प तेर्सिएको थियो या त सत्तामा रहने या हाम्रा सिद्घान्तको पक्षमा उभिने। विकल्प चुन्नु हाम्रो लागि कुनै कठिन कार्य थिएन। हामीलाई सरकारमा रहनु भन्दा हाम्रा सिद्घान्त प्यारा थिए, हामीले जम्मू र कश्मीरका जनताका आकांक्षालाई उच्च प्राथमिकतामा दिएका थियौं। पञ्चायत चुनावको सफलताले जम्मू र कश्मीरका जनताको लोकतान्त्रिक स्वभावलाई दर्शाएको थियो। गाउँका प्रधानहरूसँग भएको भेटवार्ता म अझै सम्झन्छु। मैले वहाँहरुलाई के अनुरोध गरेको थिएँ भने कुनै पनि कारणले विद्यालयहरु जल्नु हुँदैन र यो सुनिश्चितता उहाँहरूले गर्नुपर्छ। यो पालना गरिएको देखेर म खुसी भएँ। आखिरमा विद्यालय जल्नाले साना बालबालिकाहरु सबैभन्दा बढी पीडित हुन्छन्।

अगस्ट ५ को ऐतिहासिक दिनले हरेक भारतीयको मनमस्तिक छोएको छ। हाम्रो संसदले धारा ३७० खारेज गर्ने ऐतिहासिक निर्णयलाई पारित गरेको थियो। त्यसबेलादेखि जम्मू, कश्मीर र लद्दाखमा धेरै परिवर्तन भएको छ। न्यायिक अदालतको फैसला २०२३ डिसेम्बरमा आए पनि जम्मू, कश्मीर र लद्दाखमा विकासको लहर देखेर जनताको अदालतले चार वर्ष अघि धारा ३७० र ३५ (क) लाई खारेज गर्ने संसदको निर्णयलाई अनुमोदन गरेको छ।

राजनीतिक तहमा पछिल्लो चार वर्ष भुइँतहका मानिसहरुलाई लोकतन्त्रप्रति नयाँ आशा जगाएको समयको रूपमा चिनिएको छ। महिला, जनजाति, अनुसूचित जाति, अनुसूचित जनजाति र समाजका सीमान्तकृत वर्गले हक पाउन सकेका थिएनन्। त्यही बेला लद्दाखको आकांक्षालाई पूर्णरूपमा बेवास्ता गरियो। सन् २०१९ अगस्ट ५ गतेले त्यो सबै परिवर्तन गर्‍यो। सबै केन्द्रीय कानुनहरू अब डर वा पक्षपात बिना लागु हुनेछन्। प्रतिनिधित्वले पनि व्यापकता पाएको छ, तीन तहको पञ्चायती राज व्यवस्था लागू भएको छ, बीडीसीको निर्वाचन भइसकेको छ र सबैले बिर्सिएको शरणार्थी समुदायले विकासको फल चाख्न थालेका छन्।

समाजका सबै वर्गलाई समेट्दै मुख्य केन्द्रीय सरकार योजनाले आफ्नो लक्ष्य प्राप्त गरेको छ। यसमा सौभाग्य, उज्वला र उज्ज्वला योजनाहरु समावेश छन्। आवास, धारा जडान र आर्थिक समावेशीकरणमा प्रगति भएको छ। जनताका लागि ठूलो चुनौती मानिदै आएको स्वास्थ्य सेवा पूर्वाधारको स्तरोन्नति भएको छ। सबै गाउँले ओडीएफ प्लस दर्जा हासिल गरेका छन्। भ्रष्टाचार र आफ्नालाई मात्र पोस्ने अड्डाको रुपमा नाम कमाएको सरकारी पदहरुमा नियुक्ति पारदर्शी र प्रक्रिया अनुसार गरिएको छ। आइएमआरजस्ता अन्य सूचकहरूमा सुधार देखिएको छ। पूर्वाधार र पर्यटनमा आमूल परिवर्तन आएको छ। यसको श्रेय स्वाभाविक रुपमा जम्मू र कश्मीरका जनताको सहनशीलतालाई जान्छ, जसले बारम्बार यही देखाएका छन् की उनीहरू केवल विकास चाहन्छन् र यस सकारात्मक परिवर्तनका चालक बन्न इच्छुक छन्। यसअघि जम्मु, कश्मीर र लद्दाखको दर्जाउपर प्रश्नचिन्ह खडा भएको थियो। अहिले उन्नति, विकास र पर्यटक आगमनमा भएको कीर्तिमानीले यो प्रश्नचिन्हलाई हटाइदिएको छ।

सर्वोच्च अदालतले डिसेम्बर ११ मा सुनाएको फैसलाले ‘एक भारत, श्रेष्ठ भारत’ को भावनालाई बलियो बनाएको छ, यसले एकताको बन्धन र सुशासनका लागि साझा प्रतिवद्धता स्मरण गराएको छ। आज, जम्मु, कश्मीर र लद्दाखमा जन्मेका हरेक बच्चा सफा क्यानभाससहित जन्मेका छन्, जहाँ त्यो बच्चाले जीवन्त आकांक्षाले भरिएको भविष्य चित्रण गर्न सक्छ। आज जनताका सपना विगतका कैदी होइनन् भविष्यका सम्भावना हुन्। आखिरमा विकास, लोकतन्त्र र गरिमाले मोह, निराशा र उदासीनतालाई विस्थापित गरेको छ।

सत्ता र प्रतिपक्ष होइन, जनतापक्ष बनौं माननीय सांसद

अरुण कुमार चौधरी

‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह या खराब भावना नलिई, पदीय गोपनीयता कायम राखी, इमानदारीका साथ गर्नेछु’ गत ७ पुस २०७९ मा शपथ लिएँ ।

कैलाली क्षेत्र नम्बर २ का तमाम नागरिकको आशा, विश्वास र भरोसा मतमा परिणत भएपछि निर्वाचन क्षेत्र र समग्र देशको विकासका निम्ति काम गर्ने संकल्प बोकेर संसद् भवन छिरेको थिएँ । निर्वाचनमा जाँदाका प्रतिबद्धता र मनमनै देखेका राष्ट्रका निम्ति गर्नुपर्ने थुप्रै योजना साकार बनाउने समय आयो भन्ने लाग्यो । काम गर्ने हुटहुटी, आत्मबल, उत्साह, उमंग अनि योजना थिए ।

शपथ खाएको दिन मैले विगत सम्झिएँ, मेरो धरातल स्मरण गरें । हिजो २५०० रुपैयाँबाट सुरु गरेको मेरो व्यावसायिक यात्रादेखि प्रतिनिधिसभा सदस्य (सांसद) बन्दासम्मका थुप्रै उतारचढाव सम्झिएँ । आज देशमा रहेका तमाम गरिब परिवारका समस्या, आवश्यकता, जनप्रतिनिधि र सरकारसँगका अपेक्षा के कस्ता हुन् ? भन्ने कुरा मेरा लागि नौलो थिएन ।

बाल्यकालदेखि भोग्दै÷देख्दै आएँ । व्यवसाय सुरु गरेदेखि देश विकास नहुनुका कारण भ्रष्टाचार, अनियमितता, सेटिङ, पहुँच र पावरको दुरुपयोग लगायत कुराको भुक्तभोगी बनें । नीति, नियम, विधि, विधान र पद्धति अनि ऐन र कानुन सामान्य मानिसका लागि मात्रै लागू हुन्छ । अन्यथा दुराचारी सत्ता र शक्तिका नेतृत्वको नातावाद-कृपावाद, भनसुनकै आधारमा सेटिङमा चलेको व्यवस्थालाई नजिकबाट नियालेको तीतो अनुभव थुप्रै छन् ।

विकृत राजनीति र प्रवृत्तिले पिल्सिएर घर, समाज, देश छाडेर परदेशमा पुगेर जीवन त्यागेका कैयौं घटना आँखाले नियालेका छन् । आफू जन्मिएको भूमिमा भविष्य नदेखेर विदेश पलायन हुने, स्वदेशमा नै केही गर्दागर्दै पनि एकाधबाहेक घरवारविहीन भएका र मानसिक रोगी बनेका, गरिरहेको पेशा व्यवसायमा असफलतापछि आत्महत्या र अपराधको बाटो रोजेका थुप्रै प्रतिनिधिमूलक घटनालाई नजिकबाट नियालेको छु ।

यस्तो अवस्था परिवर्तन गर्नुपर्छ भनेर व्यवसायबाट राजनीतिमा हाम्फालेको व्यक्ति हुँ । आज देशमा रहेका तमाम समस्याको प्रमुख कारण विकृत र विकाउ राजनीति नै हो । यसको समाधान पनि ‘राजनीति’बाट मात्रै सम्भव छ । ‘फलाम काट्न फलाम नै चाहिन्छ’ भन्ने कुरा राम्रोसँग बुझेको म चलिरहेको आफ्नो व्यापारलाई बिट मारेर ढल मिसिएको राजनीतिक तलाउमा हाम फालेको छु ।

देशले विकल्प खोजिरहेको छ भन्ने लाग्थ्यो, दशकौंदेखि राजनीति गरेर हिंडेका, पटक–पटक मन्त्री भएकाहरूलाई पराजित गर्दै आफू निर्वाचित भएपछि पुष्टि भयो । मसँगै देशभरबाट थुप्रै विकल्प (युवा/नयाँ अनुहार)ले संसद्मा प्रवेश पायो ।

एकाध बाहेक बुढ्यौली लागेकाहरू मात्रै हुने संसद्मा युवा पुस्ताको उत्साहजनक उपस्थिति देखेर मनमनै सोचेको थिएँ– ‘अब साँच्चै राष्ट्रको निम्ति केही गर्छु । अहिले देशव्यापी रूपमा देखिएका तमाम समस्या समाधान तथा न्यूनीकरणका निम्ति भूमिका निर्वाह गर्छु । सबैसँग हातेमालो गर्छु ।’

सांसद बनेको पनि करिब एक वर्ष पुग्यो । सांसद वा नेता मात्रै भएर मैले भन्नुपर्दा लाज जोगाउनकै निम्ति जनताका निम्ति थुप्रै काम गरिरहेको छु । तर, म त्यसो भन्दिनँ । म सांसद हैन, जिम्मेवार जनप्रतिनिधि बन्न चाहन्छु । आम जनताप्रति उत्तरदायी र जवाफदेही प्रतिनिधि बन्न चाहन्छु । त्यसैले भन्छु, ‘निर्वाचन क्षेत्रमा सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयसँग हारगुहार गर्दै केही सीमित योजना र बजेट विनियोजन गर्नेबाहेक खासै उल्लेख्य भूमिका निर्वाह गर्न सकेको छैन ।’

यसको मतलब मैले नबोलेको, काम गर्न नचाहेको पनि हैन । पटक-पटक संसद्मा आफ्नो स्वर सुक्ने गरी आम जनताका समस्या सरकारलाई सुनाउन चिच्याएको छु । देश र जनताका तमाम समस्या समाधान र अवस्थामा सकारात्मक परिवर्तनका लागि आवश्यक नीति बनाउन सरकारको ध्यानाकर्षण गराएको छु । माग राखेको छु ।

दुःखका साथ भन्नुपर्छ, संसद्मा अहिले पनि टाउको गन्ने प्रवृत्ति हाबी छ । सांसदको भूमिकामा लगाम लगाइएको छ । दलीय ह्वीप लाग्छ । संसद्मा कुन सांसदले के बोल्छ ? अथवा, कसले उठाएका विषयवस्तु तथ्यपरक छन् ? आम नागरिकको हकहितका पक्षमा छन् ? कुन सांसदले उठाएका विषयलाई प्राथमिकता दिंदा जनताले सुशासनको प्रत्याभूति गर्न पाउँछन् ?

देश र राष्ट्रको पक्षमा कस्तो नीति बनाउँदा प्रभावकारी हुन्छ ? आम नागरिकले तत्कालीन र दीर्घकालीन कस्ता योजना वा विकास देख्न चाहन्छन् ? यस्ता विषयको गहनतामा गएर निर्णय हुँदैन । राजनीतिक जस लिनका लागि सीमित समूह वा भनौं बहुमतको हुर्मत लिएर थुप्रै नागरिकका आशा, अपेक्षालाई नजरअन्दाज गरिन्छ । जसका कारण प्रतिनिधिसभाबाट पारित भएका थुप्रै ऐन/कानुन विवादित बन्दै आएका छन् । जनस्तरबाट त्यसको चर्को आलोचना हुने गरेको छ ।

संसद् जनप्रतिनिधिको साझा थलो हो । जसको राष्ट्र र राष्ट्रियतालाई केन्द्रबिन्दुमा राख्दै आम देशवासीको हितका लागि आवश्यक नीति, योजना बनाउनुपर्ने दायित्व हुन्छ । भएको ऐन, कानुनका कमी–कमजोरी पत्ता लगाएर त्यसलाई सच्याउँदै आवश्यकता अनुसार थप गर्नका लागि सांसदले भूमिका खेल्नुपर्ने हो ।

तर, यहाँ सांसदहरूबीच साझापन देखिंदैन । अधिकांश दलीय घेराबाट माथि उठ्न सकेका छैनन् । दलको नेता या नेतृत्वले जे भन्छ, त्यसको पक्षमा उभिएन भने ह्वीप अनुसार कारबाही हुनसक्ने व्यवस्था छ । बल्लतल्ल सांसद बनेको मान्छे यत्तिकै पदच्युत हुन किन चाहन्छ ? अनि, हामी संसदीय दलदलमा फस्दैछौं ।

म मात्रै होइन, संसद्मा रहेका नयाँ÷पुराना सांसदहरूका समस्या उस्तै हुन् । पदीय हिसाबले माननीय, व्यावहारिक हिसाबले निरीह बन्नुपर्ने बाध्यता छ । बन्द कोठाभित्रै बसेर सोच्दा देशका लागि गर्नुपर्ने थुप्रै काम छन् भन्ने लाग्छ । कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा आफू छैन । संसद्मा जति विषय उठाए पनि, जति चिच्याए पनि एउटा कानले सुन्ने अर्को कानले उडाउने काम भइरहेको छ ।

कहिलेकाहीं संसदभित्रको अवस्था देखेर दिक्क लाग्छ । संसद् नीति तथा योजना बनाउने होइन, नेताहरूबीच आरोप-प्रत्यारोप गर्ने थलोको रूपमा विकसित हुँदैछ भन्ने लाग्छ । यस्तो हुनु दुःखद् हो । हामी बेलैमा सच्चिन आवश्यक छ । यस्ता व्यवहारले देश समृद्ध बन्दैन ।

देशमा राजनीतिक संस्कृति र संस्कारको खडेरी छ । राजनीति र नेतृत्वप्रति आम नागरिकको वितृष्णा बढ्दो छ । अराजक र आपराधिक मानसिकता बोकेकाहरूले राज्य संयन्त्रमा हालीमुहाली गर्दैछन् । जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । देशका हरेक क्षेत्रमा अनियमितता र भ्रष्टाचार व्याप्त छ ।

सानादेखि ठूला व्यापार–व्यवसाय गर्नेहरू आर्थिक मन्दीको चपेटाले उत्तिकै निरास छन् । भएका उद्योग, कलकारखानाहरू धमाधम बन्द भइरहेका छन् । देशमा रोजगारी छैन, रोजगारी पाएकाले पनि आफ्नो भविष्य सुरक्षित महसुस गर्न सकेका छैनन् । त्यसैले होला देश छाड्नेहरूको लर्को छ ।
देशमा शासन व्यवस्था परिवर्तन भयो तर, गलत प्रवृत्ति परिवर्तन भएन । जसका कारण मुलुकमा उल्लेख्य विकास हुन सकेन । जलस्रोत, वनजंगल, कृषि, प्राकृतिक सम्पदाको सदुपयोग हुन सकेन । प्रभावकारी शिक्षा नीति राज्यले ल्याउन सकेन ।

देशमा थुप्रै सम्भाव्यताका क्षेत्र हुँदाहुँदै दलाल पूँजीवाद हाबी, अर्थतन्त्रमा सीमित व्यक्ति तथा घरानियाँको हालीमुहालीका कारण आम नागरिकहरू गरिब हुँदै गए ।

देशमा उत्पादनमुखी योजनाको अभाव छ । अनुत्पादक क्षेत्रमा लगानी बढ्दै जाँदा समस्या बढ्दो छ । सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । त्यसैले अब संसद्बाट राज्यको माटो अनुकूल उत्पादनमुखी विकासका योजना अघि सार्नुपर्ने आवश्यकता देखिन्छ ।

आम नागरिकलाई स्वदेशमै आफ्नो भविष्य सुनिश्चित हुने खालको नीति तथा योजना बनाएर तत्काल कार्यान्वयन अपरिहार्य छ । आम नागरिकलाई सुशासनको प्रत्याभूति दिएर सरकारी संयन्त्रप्रतिको विश्वास र भरोसालाई बढाउनुपर्छ । यसका निम्ति संसद्मा रहेका तमाम सांसद र सत्ताको बागडोर सम्हालेकाहरूको प्रवृत्ति, चरित्र र चिन्तन सही र सुन्दर हुन जरूरी छ । आरोप–प्रत्यारोप, अपजसको होडबाजीभन्दा माथि उठेर संस्थागत व्यवस्था र उपलब्धिलाई जीवन्त राख्न आवश्यक नीति तथा योजना बनाउनुपर्ने देखिन्छ ।

तसर्थ, समयमै देशको विषम परिस्थितिको मूल्याङ्कन गर्दै सांसदहरू दलको दलदलबाट माथि उठेर जिम्मेवार, पारदर्शी बन्न ढिला नगरौं । अन्यथा हामी निर्वाचित भएर सांसद भयौं भनेर कहिल्यै गर्व गर्न सक्ने अवस्था बन्दैन । हाम्रो कार्यकाल सकिंदै गर्दा जनताको घरदैलोमा जाँदा शिर ठाडो बनाउन सक्ने परिस्थिति बन्दैन ।

नातावाद, दलवाद, व्यक्तिगत स्वार्थबाट माथि उठेर जनताले चाहे अनुसार काम नगरे तिरस्कार र हेलाँको पात्र बन्ने पक्का छ । के हामी आम नागरिकको नजरमा खलनायक बन्न सांसद बनेका हौं ? होइन भने, सत्ता र प्रतिपक्ष हैन, संसदमा जनतापक्ष बनेर काम गरौं ! जनताका प्रिय ‘माननीय’ बनौं !

(लेखक नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य हुन् ।)