माओवादी केन्द्रको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले जनप्रदर्शन स्थगित गरिएको मा‌ओवादी केन्द्रले जनाएको छ।

यसअघि कार्त्तिक १९ गते मा‌ओवादी केन्द्रको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण,राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको थियो।

सरकारको नेतृत्वकर्ता दल माओवादीले जनप्रदर्शन गर्ने घोषणा गरेपछि तीव्र आलोचना भइरहेका बेला माओवादी केन्द्रले भूकम्पलगायतका कारण देखाएर तत्कालका लागि कार्यक्रम स्थगित गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सत्ताको नेतृत्व गरिरहेकै दलले आन्दोलन गर्न नमिल्ने बताएको थियो। उसले सरकारकै नेतृत्व गरिरहेको दलले आन्दोलन गर्छु भन्नु हास्यास्पद भएको बताएको थियो।

सरकार र सडक दुवैमा माओवादी केन्द्रले आफ्नो कब्जा जमाउन खोजेको भन्दै आलोचना भइरहेको छ ।

टीकटकमार्फत् सद्भाव बिगार्ने र विशिष्ट व्यक्तिको मानमर्दन गर्नेलाई कानुनी कारबाही गर्ने सरकारको तयारी

पछिल्लो समय सद्भाव खल्बल्याउने कार्यहरू भएको भन्दै सरकारले टीकटकका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। गत शुक्रबार टीकटकको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधहरूले छलफल गरेका हुन्।

टीकटकमार्फत् व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव भइरहेको भन्दै सरकारले उनीहरूसँग छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उक्त छलफलबाट टीकटकमार्फत् सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरू हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरू पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयले जनाएको छ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर व्युरोलगायत सरकारी निकाय र टीकटकबीच सहकार्य हुने प्रवक्ता भट्टराईको भनाइ छ।

मन्त्रालयले टीकटकलगायत सामाजिक सञ्जालहरूको कानुनसम्मत प्रयोग गर्न अपीलसमेत गरेको छ। ‘टीकटकलगायतका सामाजिक सञ्जाल हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंगजस्तै बनेका छन्। यिनीहरूको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरू जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउँछ। अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारवाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

भारतद्वारा भूकम्प प्रभावित क्षेत्रका लागि १६ करोडको राहत सामग्री हस्तान्तरण

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड भारतीय रुपैयाँ (१५ करोड ८८ लाख १ हजार ७५६ नेपाली रुपैयाँ) बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान नयाँ दिल्लीबाट नेपालगन्ज आएको थियो। सो विमानले ११ टनभन्दा बढी आपतकालीन सामग्री ल्याएको थियो।

राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ ब्याग,पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्। ती सामग्रीहरू रादजूत श्रीवास्तवले नेपालगन्ज विमानस्थलमा आयोजित एक विशेष समारोहमा रक्षामन्त्री खड्कालाई उपलब्ध गराएका हुन्।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले जारकोट र रुकुममा ठूलो जनधनको क्षति भएको थियो। भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरूप ती सामग्री आएको हो। आगामी दिनमा पनि थप राहत सामग्रीहरू उपलब्ध गराउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

संरक्षणको पर्खाइमा दाङको ‘नमूना थारूग्राम’

साना एकैनाशका घर, फुसले छाएको छानो मक्किएर पानी पर्दा चुहिने भएका छन् । माटोको भित्ता भत्किएर वारपार देखिन थालेका छन् । आँगनभरि उम्रिएका घाँस झाडी भइसकेका छन् । फुसको छानोमा घाँस उम्रिएका छन् । Continue reading “संरक्षणको पर्खाइमा दाङको ‘नमूना थारूग्राम’”

युएईलाई हराउँदै नेपाल विश्वकपमा

युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ। एसिया क्वालिफार्यअन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।

नेपाललाई विश्वकपमा पुर्‍याउन आसिफ शेखले अविजित ६३ रनको योगदान दिए। ५० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए। २१ बल खेलेका रोहितले ३ चौका र एक छक्का प्रहार रगरे। त्यसअघि कुशल भुर्तेल ११ रन र गुल्शन झा २२ रन बनाएर पेभेलियन फर्किएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। युएईका लागि व्रितियाले अर्धशतकसहित ६४ रन बनाए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान मुहम्मद वासिमले २६ रन, अलिशान सराफुले १६ रन, आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत सेमिफाइनलमा नेपाल र युएई र ओमान र बहराइनको खेल भइरहेको छ। उता टियु खेल मैदानमा बहराइनले ओमानलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले यसअघि पनि सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो।

रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ।

सर्वोच्च अदालतले बिहीबार पत्रकार सम्मेलन गरेर कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गरिदिएको जानकारी गराएको हो।

सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ। रिगललाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा बुधबार बहस सकिएपनि निर्णय आज सुनाएको हो।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालगञ्जका चेतन अधिकारीका हत्यारा रिगललाई आममाफी दिएका थिए।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।

रिट निवेदनमा राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,गृहमन्त्रालय,जिल्ला प्रशासन कार्यालय बाँके,जिल्ला कारागार कार्यालय दाङ,जिल्ला प्रशासन कार्यालय दाङ र महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंलाई विपक्षी बनाइएको थियो।

रिगलले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

भारतीले श्रीमानलाई न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी थिइन्। सर्वस्वसहित जन्मकैदको आदेश ठहर भएका तरूण दलका नेतासमेत रहेका रिगललाई आममाफी दिएपछि यसको चौतर्फी विरोध सुरू भएको छ।

कात्तिकभित्रै सरकार ढाल्ने खेल भइरहेको छ, तर म सफल हुन दिन्नँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित बागमती, उपत्यका र सम्पर्क समन्वय प्रदेशको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कात्तिकभित्रै जसरी पनि सरकार ढाल्ने खेल भइरहेको बताए।

प्रधानमन्त्री दाहालले सरकार बनेको दिनदेखि नै गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भएको बताए। ‘गएको वैशाखभित्रै सरकार ढालेरै छोडिन्छ भन्ने संकल्प गरेका मन्छे मैले देखेको छु। असार कट्न दिइन्न भन्दै षड्यन्त्र भएको नजिकबाट देखेको छु। अहिले त भनिँदैछ तिहारपछि ध्वस्तै पारिन्छ। तपाईँहरूलाई यी सबै कुरा कुनै दिन भनौंला के-के भयो भनेर,’ उनले भने।

भ्रष्टाचार र भूमाफियाविरुद्धको अभियान सुरु भएपछि झन् सरकारविरुद्ध आक्रामकरूपमा षड्यन्त्र भइरहेको उनको भनाइ छ। षड्यन्त्रकारीहरूले सरकारलाई मात्र नभएर संविधान, गणतन्त्र र लोकतन्त्रलाई ध्वस्त पार्ने चुनौती दिइरहेको उनले बताए।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि पार्टी पंक्तिलाई प्रतिवाद गर्न उनले आह्वानसमेत गरे। ‘तपाईँहरूले यी कुरालाई बुद्धिमता तरिकाले कसरी प्रतिवाद गर्ने? वैज्ञानिक तरिकाले कसरी असफल पार्ने भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले भने।

उनले आफू प्रधानमन्त्री भएपछि १० महिनाभित्र ८-९ प्रधानमन्त्रीहरू बनाउने कसरतलाई असफल बनाएको बताए। अहिले भइरहेको षड्यन्त्रलाई पनि विफल पारिने उनको भनाइ छ। ‘दस महिनाभित्र ८-९ वटा प्रधानमन्त्री बनाउने कसरहरू भए। ती सबैलाई असफल पारियो। हामीले राजनीतिक बल-बुत्ताले ती प्रयासहरू असफल पारियो। अब जे हुँदैछ, त्यो पनि असफल पारिन्छ। सफल हुने मैले कुनै गुन्जायस देख्दिनँ,’ उनले भने।

यसबीचमा विभिन्न दलका विभिन्न नेतालाई प्रधानमन्त्री बनाउने कसरत गरिएको उनले बताए। ‘यो देशमा धेरै प्रधानमन्त्री भए। म तेस्रोपटक प्रधानमन्त्री भएको यो कति महिना भयो? तर कहिले यो पार्टीको, कहिले त्यो पार्टीका विभिन्न नेतालाई प्रधानमन्त्री बनाउने कसरत भयो,’ उनले भने।

उनले जनतासँग पार्टी प्रत्यक्ष नजोडिएकै कारण माओवादीमाथि प्रहार भइरहेको बताए। जनयुद्धको उदाहरण दिँदै उनले भने, ‘जनतासँग हाम्रो पार्टी जोडिएन भने, जनता मोबिलाइज भएन भने, लिडरसिपले मात्रै गरेर केही हुँदैन। क्रान्ति पनि हामी सबैको तागत लगाएरै सफल भएको हो। त्यसैले प्रतिगमन भयो भने के होला भनेर हामी सबैले विचार गर्नुपर्छ,’ उनले भने।

उनले माओवादी पार्टीभित्र जनतासँग कसरी जोडिने भन्ने कडी छुटेको बताए। प्रशिक्षणको माध्यमबाट त्यो कडी जोड्नुपर्ने उनले बताए। ‘जनतालाई प्रशिक्षित गर्ने अधिकार सबै पार्टीलाई छ। हामीलाई पनि छ। विगतमा कुनै कडी छुटेको थियो भने यही हो,’ उनले भने।

उनले ३२ सिटे भनेर हेप्नेहरूलाई संसदमा शतप्रतिशत समर्थन जुटाएको कुराले जवाफ दिनुपर्ने बताए। ‘३२ सिटे भनेर हेपेको हामीलाई थाहै छ। त्यो त हो पनि। हामीले ३२ भन्दा बढी ६४ बनाउन त सकेनौं। तर संसदमा शतप्रतिशत समर्थन त जुटाएका हौं नि। त्यो कुरा तपाईँहरुले जनतालाई भन्नुपर्‍यो,’ उनले भने।

प्रधानमन्त्री दाहालले विशेष अभियानअन्तर्गत गर्न लागिएको जनपरिचालनबारे गलत प्रचार भएकोमा गुनासोसमेत गरे। ‘केन्द्रीय समितिले गरेको निर्णय बमोजिम विशेष अभियानकै क्रममा जनपरिचालन गर्ने निर्णय गरेको हो। तर जनपरिचालनबारे गलत प्रचार भएको छ,’ उनले भने।

उनले हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै अहिले शान्तिको कुरा गर्दै हिँडेको भन्दै त्यस्ता षड्यन्त्रलाई लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गर्न आवश्यक रहेको बताए।

पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउन हामी तयार छौं : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन्। पार्टी कार्यालय च्यासलस्थित चियापान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार रहेको बताए।

उनले सहमतिकै आधारमा अदालतको आदेशलाई सम्मान गर्दै संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सम्बोधन हुनुपर्ने बताए। ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ। सहमतिका साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राखेर टुंग्याउनुपर्छ। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै टुंग्याउनुपर्छ। अन्तर्राष्ट्रिय समुदायले भनेको कुरालाई पनि ख्याल राख्नुपर्छ,’ उनले भने।

शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा आजमात्रै प्रधान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री दाहालले केही साथीहरूले शान्ति प्रक्रियाका विषयमा गलत ब्रिफिङ गरेको आरोप लगाएका थिए। त्यस विषयमा सोधिएको प्रश्नमा ओलीले आफूलाई यस विषयमा जानकारी नभएको बताए।

बरु आजमात्रै प्रधानमन्त्री दाहालसँग छलफल भएको भन्दै राम्रो लक्ष्ण रहेको दाबी गरे। ‘आजमात्रै हाम्रो छलफल भएको छ। अघि पनि उहाँ आउनुभएको थियो। हाम्रो चेहेरा देख्नुभयो होला? हाम्रो हाउभाउ देख्नुभयो होला? हामी मुस्कुराएको, खुसी भएको देख्नुभयो होला? राम्रै लक्ष्ण छ नि?,’ उनले उल्टै प्रतिप्रश्न गरे।

शान्ति प्रक्रियामा नेपाल एक्लै छैन : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई ठूला शक्ति राष्ट्रका बीचमा रहेर सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैं बनाएको भन्दै प्रशंसा गरेका छन्। नेपाल भ्रमणको क्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनलाई मंगलबार सम्बोधन गर्दै उनले अब नेपालले शान्ति स्थापनाको मौलिक अभ्यासलाई पूर्णता दिन मात्रै बाँकी रहेको बताए। भने, ‘शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल छ।

संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै छैन। यसमा हाम्रो (संयुक्त राष्ट्रसंघ) सद्भाव रहनेछ।’ उनले थपे, ‘संक्रमणकालीन न्यायमा पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईंहरूको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ।’ नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पुर्‍याउन पनि आग्रह गरे। उनले विश्व आर्थिक मन्दीको चुनौतीकाबीच नेपालले लैंगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणामको प्रशंसा गरे। ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघ गौरव व्यक्त गर्छ। यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्रसंघका तर्फबाट सम्मान व्यक्त गर्छु,’ सम्बोधनका क्रममा महासचिव गुटेरेसले भने।

उनले विगत २० वर्षको नेपालको यात्रा हेर्नलायक र अदभुत रहेको बताए। ‘नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ। तपाईंहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नुभयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ। तपाईंहरूको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ। यो यस्तो प्रक्रिया हो, जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ,’ उनले भने।

यसैबीच उनले पश्चिम एसियामा भइरहेको द्वन्द्वलाई आफूले नजिकैबाट हेरिरहेको भन्दै हमासको क्रुर आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाउने नेपालीहरूप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरे। ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण उनले आह्वान गरेका थिए। गुटेरेसको आह्वानमा दुवै सदनका सांसदहरूले शान्ति सैनिक तथा मिसनका ज्यान गुमाउनेहरूप्रति मौनधारण गरेका थिए। उनले त्यस क्रममा बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीबारे चासो राख्दै उनको सुरक्षित रिहाइको कामना गरे।

उनले नेपालका नागरिकको मुस्कान, सांस्कृतिक विविधताको प्रशंसा गरे। नेपाली नेतृत्वले अगाडिका दिनहरूमा नेपाली समाजलाई अझै राम्रो बाटो देखाउँदै जाने, त्यसमा विश्वले नै साथ दिने उनले बताए। ‘नेपाल विश्वको साथी हो’, उनले भने, ‘विश्वका सबै देशहरूले नेपाललाई आफ्नो साथी मानेर अघि बढ्ने छन्।’

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसंघले गौरव व्यक्त गरेको बताएका छन्। उनले भने, ‘अल्पविकसित देशको स्थितिबाट तपाईंहरू अगाडि बढ्दै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ। तपाईंहरू आफ्ना शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ। प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ।’ सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने महासचिव गुटेरेसको भनाइ थियो।

महासचिव गुटेरेसले ४५ वर्षअघिको नेपाल भ्रमण सम्झिँदै आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन्। गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलोपटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे। उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए। तर, शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उनले पछिल्लो इजरायल घटनाको निन्दासमेत गरे।

उनले नेपाल अल्पविकसित देशको स्थितिबाट अगाडि बढ्दै गएको बताएका उनले संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताए। भने, ‘तपाईंहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ। अब पालो विकासमा दौडने हो।’

उनले नेपाल सानो देश भए पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गर्ने दाबी उनको थियो। भने, ‘विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो। नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु। हाम्रो नीलो झन्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई म सम्मान गर्न चाहन्छु।’

ओलीप्रति इंगित गर्दै प्रधानमन्त्रीले भने- हाम्रै साथीले शान्ति प्रक्रियाबारे महासचिवलाई गलत ब्रिफिङ गरे

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्र संघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै शान्ति प्रक्रिया टुंग्याउनेबारे गलत ब्रिफिङ गरेको आशय व्यक्त गरेका हुन्।

उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति प्रक्रियाबारे राम्रा धारणा व्यक्त गर्दैगर्दा ओलीले विभाजित रहेको सन्देश दिएको आरोप लगाए। ‘संयुक्त राष्ट्रसंघका महासचिवको यस्तो राम्रो धारणा छ। तर दुर्भाग्य हाम्रै केही साथीहरूले यस्तो बेला विभाजित देखाए। त्यो भने दुर्भाग्यपूर्ण छ,’ संसद भवनमा प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने।

उनले महासचिव गुटेरेसले नेपालको हितमा धारणा राखेको बताए। महासचिव गुटेरेसले दीगो विकासको लक्ष्य हासिल गर्न चाहिने अनुदान रकम नेपाललाई प्रदान गर्नुपर्ने वक्तव्य प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ।

‘नेपालको समग्र हितमा संयुक्त राष्ट्रसंघका महासचिवले बोल्नसक्ने म्याक्सिमम सीमामा उहाँले बोल्नुभयो। यो नेपाल र नेपालीका निम्ति एकदमै खुसी र गर्वको कुरा हो। नेपाल संसारका सबै मुलुकका मित्र छन्। सबैले मित्रको रूपमा माया गर्नुपर्छ। पर्यावरण र गरिबी निवारणसम्बन्धी सबै फन्डहरूनेपाललाई दिनुपर्ने भनिएको छ। दुनियाँले ध्यान दिनुपर्छ। योभन्दा ठूलो कुरा केही हुन सक्दैन,’ उनले भने। उनले शान्ति प्रक्रियामा विश्व समुदायको सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए।

गत आइतबार महासचिव गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालकै कारणले शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको ब्रिफिङ गरेका थिए।