अरविन चौधरी, रचना चौधरीसहित ३२ जनालाई इजरायलको युद्धग्रस्त क्षेत्रबाट गरियो उद्धार

इजरायलको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीको उद्धार गरिएको छ। इजरायली सेनाले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थान पुर्‍याएको छ। उद्धार गरिनेमा रमेशबहादुर भण्डारी, विनोदप्रसाद साह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकन्द्र विस्ट, रोहित नायक, निरञ्जनकुमार कुश्वाहा, अरविन कुमार चौधरी, उपेन्द्र जिसी रहेका छन्।

त्यस्तै ओमप्रकाश उपाध्याय, गणेश साउद, बादल सुवेदी, प्रविन बिसी, गणेश प्रसाद जोशी, नविन घिमिरे, श्रेया तिवारी, विपना जोशी, नारायण भुसाल, मनिषा खनाल, लुइस रिजाल, प्रमोद भट्ट, अनुप अधिकारी, समर्पण आचार्य, निश्चल पाण्डे, विभुसा अधिकारी, सुस्मा रेग्मी, रचना चौधरी, आशा मिश्रा, कल्पना जोही, शीलाकुमारी यादव, साधना बोहोरा र विपिन सुवेदीलाई उद्धार गरिएको हो।

हमासको आक्रमणमा परी दस जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

इजरायलमा ज्यान गुमाएका आशिष चौधरीसहितका परिवारलाई जनही १० लाख राहत दिने सरकारको निर्णय

सरकारले इजरायलमा आतंकवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ।

बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको दुःखद निधन भएकामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैठकले उक्त अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै यही असोज २३ गते मंगललबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताइन् त्यसैगरी, मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ।

इजरायललस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता भएकाको खोजी गर्ने तथा घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण ‘अनलाइन’ सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई आफ्नो विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ।

सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फिर्तीमा सहयोग गर्न स्थानीय भाषामा पोख्त व्यक्तिबाट बढीमा तीन महिना सेवा लिन स्वीकृति दिने निर्णय गरेको छ। इजरायललस्थित नेपाली राजदूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार, समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहनेलाई अस्थायी ‘ट्रान्जिट होम’ स्थापना गरी व्यवस्थापन गर्न उक्त दूतावासलाई स्वीकृति दिने निर्णयगरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन्।

रास्वपाका थारु सांसद भन्छन्- विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छ

प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउँछन्। खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक-पटक सरकारको ध्यानाकर्षण गराएका सांसद चौधरीले खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्‍याए। “खेलाडी रहेमा नै खेल रहन्छ, खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउँदै देशको गौरव बढाउन सक्छौं”, डोरीतान खेलाडी चौधरीले भने, “तर खेलक्षेत्रप्रति सरकारले उपेक्षा गरेको छ।”

सांसद चौधरीले घोषणा गरेको उधारो पुरस्कार तत्काल उपलब्ध गराउन सरकार गम्भीर हुन आग्रह समेत गरे। उनले भने, “अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर/सहभागिता जनाएर फर्किएका खेलाडीलाई सरकारले रकम तोकेरै पुरस्कारको घोषणा गर्छ। दुःखको कुरा अहिलेसम्म पनि रु १७ लाखभन्दा धेरै रकम खेलाडीले पाएका छैनन्।”

सन् २०१९ मा आयोजित १४औँ एसियाली डोरीतान प्रतियोगितामा सहभागिता जनाएका उनले साढे तीन वर्ष खेलाडीका रूपमा विभिन्न प्रतियोगितामा सहभागी भए। उनले खेलाडीको व्यवस्थापन, उत्पादनमा र पारिश्रमिकमा समेत ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए।

खेलसँगै सामाजिक क्षेत्रका गतिविधिमा संलग्न हुने क्रममा राजनीतितर्फ झुकाव बढाउनुभएका सांसद चौधरी पछिल्लो समय नेपाली खेलाडी विदेशिने परिस्थितिप्रति चिन्तित छन्।

सुनसरी जिल्ला इटहरी पचरुखी वडा नं ५ का स्थायी बासिन्दा चौधरीले विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार भई राजनीतिक जीवनको प्रारम्भ गरेका थिए। विसं २०७१ पछि नेपाल परिवार दलमा आबद्ध हुँदै परिवार दलको तेस्रो अधिवेशनबाट जिल्ला सचिवको जिम्मेवारीमा समेत रहे।

विसं २०७९ मा परिवार दल परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भए। रास्वपा प्रवेशपछि इटहरी नगर सचिवको जिम्मेवारी र प्रदेश नं १ को भेलाबाट नगर सभापतिको जिम्मेवारीमा रहे।

रास्वपाको समानुपातिक सांसद चौधरी विधायिकाको भूमिकामा अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको स्वीकार्छन्। समय-समयमा सदन अवरुद्ध हुने र सरकारले पर्याप्त व्यवसाय नदिने कारणले गर्दा कानुन निर्माणमा आफूहरूको भूमिका प्रभावकारी नदेखिएको उनको भनाइ छ।

“धेरै विधेयकहरू अड्किएका छन्”, उनले भने, “कानुन निर्माणको तहमा हामी (रास्वपाका सांसद) सक्रिय छौं। तर सरकारले नै बिजनेस दिन नसक्दा यतिका अवधिसम्म पनि हाम्रो भूमिका प्रभावकारी देखिएन।” सांसद चौधरीले कानुन निर्माणको मस्यौदा बन्ने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै भने, “सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्था छ, यसलाई सच्याउनुपर्छ।”

सम्बन्धित मन्त्रालयले तयार गरेको मस्यौदा कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालय र त्यसपछि मन्त्रिपरिषद्को निर्णयपछि सदनमा आइपुग्छ। “सदनमा आइपुगेपछि मात्र विधायिकाको भूमिका हुन्छ। तर सदनले कानुन बनाउँछ भन्दै गर्दा प्रक्रियागत त्रुटि पनि छन्”, उनले भने, “ मस्यौदा निर्माणकै क्रममा सम्बन्धित सांसद, सरोकारवाला व्यक्ति, निकाय र विज्ञ राखेर बनाउनुपर्छ।”

सांसदले कानुन निर्माणसँगै जनताका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने भूमिका उत्तिकै महत्त्वपूर्ण भएको उनको बुझाइ छ। उनले देशका विभिन्न ठाउँमा गएर जनगुनासो सुन्ने अभियान नै थालेको बताए।

“कैलालीको टीकापुरमा जनगुनासो सुन्न पुग्याैं। हाम्रो पार्टीप्रति जनताको अपेक्षा धेरै छ। पुराना दललाई हेर्ने दृष्टिकोण फरक छ, उहाँहरूसँगको अपेक्षा निराशामा परिणत भइसकेको छ”, उनले भने।

उनले त्यस क्षेत्रका कृषकदेखि प्राकृतिक प्रकोपले विस्थापित भएका पीडितहरूको गुनासो सुनेर फर्किएपछि सदनमा यस विषयमा सरकारको ध्यानाकर्षणसमेत गराइसकेका छन्।

उनका अनुसार जनप्रतिनिधि निर्वाचित भएपछि अर्को चुनाव नआएसम्म जनताको दैलोमा नफर्किने प्रवृत्तिका कारण जनताका धेरै समस्यामा सरकारको ध्यानाआकर्षण हुनसकेको छैन।

“कैलाली टीकापुरका कर्णाली बाढीपीडित सुकुम्बासी बस्तीको समस्या र त्यहाँको रोदन तथा गुनासो अझै ताजै कानमा गुन्जिरहेको छ”, सांसद चौधरीले भने, “चौध वर्षदेखि बसोबास गर्दै आइरहेको शिविर क्षेत्रमा चुनावताका नेताहरूले विभिन्न आश्वासन देखाउनुभयो। तर अहिले स्थानीय सरकारले बाटाघाटा, खानेपानी, बसाइँसराइ, बच्चाहरूको जन्मदर्ता समेतका सेवा-सुविधाबाट बञ्चित गराएको जनगुनासो आइरहेको छ।”

उनले बाढीपीडित सुकुम्बासी बस्तीको समस्याका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको समेत ध्यानाकर्षण गराइसकेको बताए।

हमासको आक्रमणमा परी इजरायलमा कैलालीका आशिष चौधरीसहित दस जना विद्यार्थीको मृत्यु

प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्।

११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुलस छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरीकहाँ सुरक्षित छन्।

त्यस्तै विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमााञ्चल कट्टेल अस्पतालमा सकुशल रहेका छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेका छन्।

यस विषयमा इजरायलस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले आधिकारिक पुष्टि भने गरेको छैन।

-परमानन्द पाण्डे/अन्नपूर्ण पोस्ट्

अफगान शरणार्थीलाई निष्कासन गर्ने पाकिस्तानी निर्णयको निन्दा

अफगानिस्तानको तालिबानद्वारा नियुक्त कार्यवाहक रक्षा मन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अक्टोबर ३१ सम्ममा अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने पाकिस्तानको कामचलाउ सरकारको पछिल्लो निर्णयको निन्दा गरेका छन् र यसलाई “अन्याय” निर्णय भनेका छन्, टोलो न्यूजले रिपोर्ट गरेको छ। टोलो समाचार काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल हो।

काबुलस्थित प्रहरी एकेडेमीको १४औँ स्नातक समारोहमा बोल्दै मुजाहिदले उक्त निर्णयले काबुल र इस्लामावादबीचको द्विपक्षीय सम्बन्धमा नोक्सान पुर्‍याउने बताए । तालिबानका कार्यवाहक मन्त्रीले पाकिस्तानी जनता र धर्मगुरुहरूलाई देशमा अफगान शरणार्थीहरू विरुद्ध त्यस्ता “हिंसक” कार्यहरू रोक्न आग्रह गरे।
मुल्लाह मोहम्मद याकुब मुजाहिदले पाकिस्तानमा लगानी गरेका अफगान लगानीकर्ताहरूलाई आफ्नो आयोजक राष्ट्रहरूमा लगानी नगर्न र अफगानिस्तानको आत्मनिर्भरताका लागि आफ्नो सम्पत्ति प्रयोग गर्न पनि आग्रह गरे।

तालिबानका कार्यवाहक रक्षा मन्त्रीले भने: “यो अन्यायपूर्ण निर्णय र अनुचित निर्णय हो। हामी पाकिस्तानका नागरिकहरू, त्यहाँका धार्मिक धर्मगुरुहरू र राजनीतिक अग्रजहरूलाई अफगानहरूलाई यस प्रकारको आतंक र क्रूरता गर्ने यी अधिकारीहरूलाई रोक्न आग्रह गर्दछौं।”
यसैबीच, काबुलमा रहेको प्रहरी एकेडेमीको १४औँ स्नातक समारोहमा बोल्दै तालिबानद्वारा नियुक्त अफगानिस्तानका उप-विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले अफगान शरणार्थीहरूलाई आफ्नो भूमिबाट निष्कासन गर्ने पाकिस्तानको निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै यो निर्णय सीमाभन्दा बाहिरको भएको बताए। छिमेकी देशहरूको शिष्टाचार र अन्तर्राष्ट्रिय कानूनहरूसँग।
स्टानिकजाईले पाकिस्तानी अधिकारीहरूलाई भेलाहरूमा उनीहरूको भाषामा व्यवहार गर्न र अफगानहरूमाथि आरोप लगाएर द्विपक्षीय सम्बन्धलाई हानि नगर्न आग्रह गरे।

“हामीले हाम्रो सुरक्षा र आर्थिक समस्याहरू समाधान गरेका छौं र हामीसँग यस सम्बन्धमा अनुभव छ र यदि पाकिस्तानले चाहन्छ भने, हामी उनीहरूलाई समस्या समाधान गर्न परामर्श दिन सक्छौं,” टोलो न्यूजका अनुसार उनले भने।
पाकिस्तानको कार्यवाहक सरकारले अक्टोबर ३१ सम्ममा अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने निर्णय गरेपछि यो आएको छ, यो मुद्दाले देश भित्र र बाहिर प्रतिक्रियाहरू उत्पन्न गरेको छ।

थारू सांसदहरूले भने- विद्यालय शिक्षा विधेयक संविधानको मर्मविपरित छ

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विद्यालय शिक्षा विधेयकले परीक्षा बोर्डका आन्दोलनरत कर्मचारी, अपाङ्गता भएका व्यक्ति, वर्गीय शिक्षाको अन्त्य गर्दै शिक्षामा समान पहुँचका लागि जोड दिनुपर्ने बताएका छन्।

उनले शिक्षालाई राजनीतिबाट कसरी मुक्त गर्ने, भविष्यमा देखिने समस्या कसरी समाधान गर्ने र समग्र शिक्षा क्षेत्र कस्तो बनाउने? भन्ने कुरा विधेयकमा निर्भर हुने बताए। उनले संविधानको मर्मअनुसार विधेयक भए नभएको हेर्न पनि सुझाव दिएका थिए।

त्यस्तै रास्वपाका सांसद अशोककुमार चौधरीले संविधानले व्यवस्था गरेको मौलिक हकलाई सम्बोधन गर्नेगरी विधेयक आउन नसकेको बताए। लोसपाका सांसद रामप्रकाश चौधरीले विधेयकलाई शीघ्र पारित गर्नुपर्ने आवश्यकताबारे ध्यानाकर्षण गराउँदै सरोकारवालासँग तत्काल बृहत् छलफल गरेर अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।
कांग्रेस सांसद तेजुलाल चौधरीले विधेयकले शिक्षकलाई बढी सम्बोधन गरेको भन्दै अभिभावक र विद्यार्थीका सवाललाई समेट्न नसकेको टिप्पणी गरे।

त्यस्तै एमाले सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन र मूल्यांकन तदारुकता गर्न ध्यानाकर्षण गराइन्। उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए।

थारू खेलाडी सम्मिलित कबड्डीतर्फ नेपालले जित्यो पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो। महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ। भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो। केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो।

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेईसित प्रतिस्पर्धा गर्दै छ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७-२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९-४३ अङ्कले पराजित भएको थियो। नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए। टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए।

गोली लागेकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु

काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो।

यही असोज १० गते काठमाडौँ महानगरपालिका-४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

मृतक चौधरी नौ दिन अघि उनका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो। उनको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ। लक्ष्मण चौधरी पूर्वआइजिपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)समेत हुन्। उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए।

टीकापुर घटनाका थारू राजबन्दीहरूलाई आममाफी होइन, कैद कट्टामात्रै गरिएको हो : रञ्जिता श्रेष्ठ

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टामात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्। Continue reading “टीकापुर घटनाका थारू राजबन्दीहरूलाई आममाफी होइन, कैद कट्टामात्रै गरिएको हो : रञ्जिता श्रेष्ठ”

थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम गर्दै

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। Continue reading “थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम गर्दै”