भारत सरकारको सहयोगमा इजरायलबाट थप १८ जना नेपाली फर्किँदै

युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका छन्। भारत सरकारको ‘अपरेशनअजय’ अभियानमार्फत् १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायलबाट २८६ जना भारत फर्किन लागेको जानकारी दिएका छन्। उनले ट्वीटरमा अपरेशनअयज अभियानमार्फत् २८६ जना यात्रु इजरायलबाट भारत फर्किन लागेको जानकारी दिएका हुन्। त्यसमध्ये १८ जना नेपाली नागरिक रहेको उनले उल्लेख गरेका छन्।

यसअघि नेपाल सरकारले इजरायलमा रहेका २५४ जना विद्यार्थीलाई स्वदेश फिर्ता ल्याएको थियो। नेपाल एयरलायन्सको विमानबाट हमास आक्रमणमा परी घाइते भएका एक जनासहित २५४ जनालाई सरकारले नेपाल फर्काएको थियो।

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा दस जना नेपालीको मृत्यु भएको थियो। चार जना घाइते भएका थिए भने एक जना अझै सम्पर्कविहीन छन्। परराष्ट्र मन्त्रालयले सम्पर्कविहनी रहेका विपिन जोशीको खोजीकार्य भइरहेको जानकारी दिएको छ। घाइते तीन जना भने तेल अविवस्थित नेपाली दूतावासको संरक्षणमा रहेका छन्। मृत्यु भएका दस जना नेपालीको शव इजरायल सरकारले नै नेपाल ल्याइदिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

चितवन र नवलपुरका थारूले मनाए यमोसा पर्व

नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व मनाएका छन। नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाएका हुन्।

लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले सामूहिकरूपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणीसभापति ललित चौधरीले बताए। आदिमकालदेखि यहाँ थारु समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन्। कतिपय शैक्षिक संस्थाले यमोसा पर्वकै दिन आन्तरिक परीक्षा कार्यक्रम राखिदिनाले ‘यमोसा’पर्वको पुस्ताक हस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको थारु अगुवा बताउँछन्।

थारु समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये ‘यमोसा’पर्व पनि एक भएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताइन्। यमोसा पर्व नवलपुर र चितवनका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो। यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्छन्। यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्छन्।

दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ। वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ। एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताइन्। ‘यमोसा’ पर्व यहाँका थारुले दुई दिनसम्म धुमधामसँग मनाउँछन्। यमोसाको अघिल्लो दिन अर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ। त्यस दिन व्यक्तिगत वा सामूहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको उपप्रमुख चौधरीको भनाइ छ।

दोस्रो दिनअर्थात् आज औँसीको दिन बिहानै पुरुष आफूले दाभी (सिरु/कांस) काटेर ल्याउँछन्। त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन्। त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्छन्।

पहुनीलाई विभिन्न प्रकारका फूलले शृङ्गार गरिन्छ। पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ। पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तुहरु) र पानी राखिन्छ। आजको दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्छन्।

त्यसपछि आफ्नो क्षमताअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ। यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ। छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ।

छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ। यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ। पाहुनालाई खुवाएर सकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिन पछि पाहुनाको कपालमा तेल लगाएर काइँयोले कोरीदिने र फूल सिउरीदिने गरिन्छ। त्यसपछि नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ। त्यसलाई ‘पित्पित्रायन विद्हरइ’ भनिन्छ।

आजको दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउने थारु समुदायको परम्परा छ। यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ। यसरी खानपिन दिनभरि नै चलिरहन्छ। गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ। पहिले पहिले एउटै रुखमा पाँच/छ वटा पिङ लगाइन्थ्यो। केटाहरुले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन्।

आजको दिन बेलुकीपख केटाकेटीहरु समूह समूहमा मिलेर घर-घरमा ‘यमोसा’खान जान्छन्। हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन्। यमोसा खाने क्रममा थारुहरुले विभिन्न मौलिक गीतहरु गाउने गर्छन्। मौलिक थारु लोक गीत, तीम्वार्हा र बरहा, पितरी र पित्पित्रायन, पहुनी र छाकी सबै लोप हुन थालेको छ। पुस्तान्तरण नहुँदा थारुको मौलिक संस्कृतिसँगै गीत सङ्गीतसमेत लोप हुने अवस्थामा पुगेको छ।

थारू समुदायलाई आरक्षणमा अलमल, ९ महिना पुग्‍नैलाग्दा ऐन नबनेपछि रोकियो भर्ना प्रक्रिया

नवराज मैनाली/नयाँ पत्रिकाबाट साभार

सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश दिएको थियो । तर, सरकारले कानुन संशोधन गरेर आरक्षणको नयाँ सिद्धान्त बनाउन नसक्दा लोकसेवा आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि खोल्नुपर्ने सबै विज्ञापन अवरुद्ध भएका हुन् ।

यो समस्या तत्काल समाधान हुने सम्भावना पनि देखिँदैन । सरकारी सेवा प्रवेशको तयारीमा रहेका हजारौँ सर्वसाधारण प्रभावित बनेका छन् । साथै, समयमै भर्ना र तालिम नहुँदा निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थामा पनि तालिम तथा जनशक्ति अभावको समस्या बढेको छ ।
हाल प्रधानन्यायाधीश रहेका तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासले नौ महिनाभित्र संघीय निजामती ऐन ल्याउन र त्यसमा थारूका लागि छुट्टै आरक्षणको व्यवस्था गर्न भनेको थियो । साथै, आर्थिक वर्ष ०७९/८० मा थारू समुदायका लागि छुट्टै आरक्षण नभएकाले त्यसलाई समेत जोडेर ०८०/८१ मा भर्ना गर्न परमादेश थियो । निजामती मात्र नभई सबै निकायमा यो व्यवस्था लागू गर्न भनिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत निकायले विज्ञापनका लागि माग पठाए पनि सर्वाेच्च अदालतको फैसलाअनुसार नयाँ व्यवस्था नहुँदा लोकसेवा आयोगले भर्ना प्रक्रिया रोक्दै आएको छ । जब कि आयोगको वार्षिक कार्यतालिकामा साउन, भदौ र असोजमा धेरै विज्ञापनको सूचना प्रकाशन भइसक्नुपर्ने थियो । ‘विशेष कारणले यस वर्षका विज्ञापन रोकिएका छन्,’ लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईं भन्छिन्, ‘हामी सम्बन्धित निकायसँग छलफलमै छौँ ।’

कार्यतालिकामा नेपाली सेनाको अधिकृत क्याडेट तथा पदिक तथा बिल्लादार अधिकृत क्याडेटको साउन–भदौमा र प्राविधिक अधिकृतको कात्तिकमा सूचना निकालिने उल्लेख छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक र सहायक निरीक्षकको साउनमै विज्ञापन प्रकाशन हुनुपर्नेमा अझै प्रकाशित भएको छैन । सशस्त्र प्रहरीको अधिकृत तहमा पनि भदौमै विज्ञापन हुनुपर्नेमा रोकिएको छ ।

संगठित संस्थानअन्तर्गत नेपाल आयल निगम, नेपाल धितोपत्र बोर्ड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, सांस्कृतिक संस्थान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विज्ञापन साउनमा हुने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै, भदौमै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोषको भर्ना हुनुपर्ने तोकिएकोमा प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत थारू क्लस्टरको विषयकै अन्योलले प्रहरीको भर्ना रोकिएको बताउँछन् । ‘यस वर्ष प्रहरीको भर्नाको प्रक्रिया सुरु हुन सकेको छैन,’ उनले भने, ‘यो विषयमा विभिन्न निकायसँग छलफल भइरहेको छ ।’

निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा र राष्ट्रिय मानव अधिकार आयोग सेवामा असोजको अन्तिम बुधबार राजपत्रांकित प्रथम श्रेणी, राजपत्रांकित द्वितीय श्रेणी तथा स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहको विज्ञापन गरिने उल्लेख छ । तर, मंगलबारसम्म यस विषयमा निर्णय हुन नसकेको लोकसेवा आयोग स्रोत बताउँछ । आयोगका अध्यक्ष माधव रेग्मी भन्छन्, ‘बुधबार यस विषयमा केही निर्णय आउँछ ।’

सर्वाेच्चमा रिट दायर गर्नेमध्ये एक प्रेमीलाल चौधरी सरकारले सर्वाेच्चको परमादेशअनुसार कानुनहरू संशोधन नगरेको बताउँछन् । ‘शिक्षा विधेयकमा केही कुरा समेटिएका छन्,’ उनले भने, ‘निजामती ऐन रोकिएको छ, जसकारण नयाँ भर्ना हुन सकेको छैन ।’ थारू समुदायको जनसंख्या ६.२ प्रतिशत भएकाले त्यही आधारमा छुट्टै आरक्षणको व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।

संविधानमा टेकेर सर्वाेच्चको फैसला
सर्वाेच्चले संविधानको धारा १८ र ४२ मा टेकेर थारू समुदायलाई आदिवासी जनजातिभित्र नराखी स्वतन्त्र समुदायका रूपमा मान्यता दिई सोहीअनुसार आरक्षण दिन भनेको छ । हाल थारू समुदायले आदिवासी जनजाति समुदायका रूपमा आरक्षण पाउँदै आएका छन् । त्यसले गर्दा आदिवासी जनजातिका अन्य समुदाय हाबी हुने गरेको भन्दै थारू अगुवाले छुट्टै आरक्षण माग्दै आएका छन् ।

संविधानको धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’

धारा १८ मा समानताको हकसम्बन्धी व्यवस्था छ । १८ (३) मा भनिएको छ, ‘राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्नेछैन । तर, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र/आर्थिक रूपले विपन्न खस–आर्यलगायत नागरिकको संरक्षण र सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिनेछैन ।’ यी दुई धारामा थारू समुदायलाई आदिवासी जनजातिमा नराखी स्वतन्त्र समुदायका रूपमा पहिचान दिएकाले सोही आधारमा उनीहरूलाई सरकारी निकायको भर्नामा पनि छुट्टै आरक्षण दिनुपर्ने व्याख्या सर्वाेच्चले गरेको हो ।

हालको निजामती सेवा ऐनको प्रावधानअनुसार कुल रिक्त पदमध्ये ४५ प्रतिशतमा समावेशी आरक्षणका आधारमा विज्ञापन हुन्छ । ४५ प्रतिशतमध्येबाट ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेसी, नौ प्रतिशत दलित, पाँच प्रतिशत अपांगता भएका व्यक्ति तथा चार प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याउने गरिएको छ । सर्वाेच्चको परमादेशपछि अब यो आरक्षणको समीकरण हेरफेर गर्नुपर्ने हुन्छ, जुन निकै जटिल र संवेदनशील विषय भएकाले सरकारले यसमा निर्णय गर्न सकेको छैन । सरकारले संघीय निजामती ऐन संसद्मा लैजाने निर्णय गरे पनि विवादका कारण अझै अघि बढाउन सकेको छैन ।

रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी भएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार उनीद्वारा लिखित धरातल किताब विमोचन गर्दै प्रधानमन्त्री दाहालले रेशमको प्रशंसा गरेका हुन्।

‘उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ। उहाँ अहिले बाहिर हुनुहुन्छ। सक्रिय हुनुहुन्छ,’ उनले भने।
रेशमको किताब विमोचन गर्न पाउँदा खुसी लागेको प्रधानमन्त्री दाहाले बताए। उनले आउने दिनमा अरु राम्रा रचना आउने विश्वास व्यक्तसमेत गरे।
त्‍यस्तै लेखक चौधरीले किताबमा आफ्नो भोगाई लेखेको बताए। उनले आफू जेल रहँदा र प्रवासमा रहँदा भोगेको कुरा किताबमा उतारेको बताए।

‘यो मैले जेलमा हुँदा लेखेको किताब हो। म प्रवासमा रहँदा, जेलमा रहँदा के कस्तो कुरा देखेँ। आफू प्रवासमा रहेर कसरी चुनाव जितेँ। मलाई चुनाव जिताउन कुन-कुन पात्रले सहयोग गर्नुभयो। जेलका पीडा कस्ता थिए। वास्तविक हाम्रो धरातल के थियो। धरातल के छ? किताबमा यही कुरा लेखिएको छ,’ उनले भने।

रेशम चौधरीको किताब ‘धरातल’ प्रधानमन्त्रीद्वारा विमोचन, सरकारका काम कारबाहीबारे दुईबीच समीक्षा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। बुधबार विहान उनीहरूबीच भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरूबीच छलफल भएको हो।

संरक्षक चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र संघीय सरकारमा आफ्ना मन्त्रीहरूले गरेका काम कारबाहीबारे प्रधानमन्त्री दाहालसँग समीक्षा गरेका थिए।

यसैबीच रेशम चौधरीले आफूद्वारा लिखित धरातल किताबको विमोचन प्रधानमन्त्री दाहालसँग गराएका छन्। बुधबार प्रधानमन्त्री कार्यालयमा उक्त किताबको विमोचन गरिएको थियो। कार्यक्रममा रेशम पत्नी एवं भूमी सुधार मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।

भारत सरकारको सहयोगमा निर्मित विद्यालयको भवन हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्मित काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरिएङ्को छ। नेपाल-भारत विकास सहकार्यकार्यक्रम अन्तर्गत भारत सरकारको १ करोड ९२ लाखमा निर्मित भवनको भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले संयुक्तरूपमा उद्घाटन गरी औपचारिकरूपमा हस्तान्तरण गरेका हुन्।

भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रुपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको थियो।

दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए। उनले दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकताअनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए।

उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो।

एमालेले प्रदेशस्तरमा थारू भातृसंस्था विस्तार गर्दै, लुम्बिनी अध्यक्ष बने जन्जिर चौधरी

नेकपा एमालेको भातृसंस्था नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको अध्यक्षमा जन्जिर चौधरी निर्वाचित भएका छन्। दाङमा सम्पन्न प्रथम अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेतृ शान्ता चौधरी, कोमल वलीलगायत सहभागी थिए। एमालेले प्रदेशगतरूपमा पनि थारू भातृसंस्था विस्तार गर्न थालेको छ। छिट्टै अन्य प्रदेशमा पनि अधिवेशन गरिने एमालेका थारू नेताहरूले जानकारी दिएका छन्।

गत माघमा नेपाल लोकतान्त्रिक थारु संघको उपत्यका कमिटी गठन भएको थियो। सिरहाका सीयाराम चौधरीको अध्यक्षतामा ३५ सदस्यीय उपत्यका कमिटी गठन भएको थियो।

नेपाल लोकतान्त्रिक थारु संघको अध्यक्ष भने चितवनका लालमणि चौधरी रहेका छन्। गत फागुनमा भएको अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका थिए।

दुबईमा यसरी मनाइयो जितिया पर्व

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया पर्व मनाएको छ। दुबईको अलकुद्रा पार्कमा जितिया पर्व मनाइएको कार्यक्रम संयोजक रामानन्द चौधरीले जानकारी दिए।

‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाएको हो दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया पर्व मनाइएको संयोजक चौधरीले बताए।

कार्यक्रममा गाउँघरजस्तै नभए पनि सैयौंको संख्यामा उपस्थित थारूहरूले रीतपूर्वक झमटा र गीत गाएर नाचगानका साथ साथै खानपान र जितिया पर्वको शुभकामना आदान प्रदान गरेका थिए।

विदेशी भूमी र समयको पावन्दीमा रही कार्यक्रममा सहभागी हुने सम्पूर्णलाई थाकस युएईले धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रम सफल पार्न अहोरात्र खटिने संस्थाका सचिव, कार्यक्रम संयोजकलगायत सभापति, उपसभापति, विभागीय प्रमुखलगायत सदस्यहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको छ।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस युएईले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ। थाकस युएईले नेपालबाट थारू कलाकार सामाजिक अभियन्ताहरूलाई बोलाएर सम्मानसमेत गर्दै आएको छ।

 

थाकस कतार च्याप्टरले भव्यरूपमा मनायो जितिया पर्व (फोटो फिचर)

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो।

जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया आयोजना गरिएको अध्यक्ष श्यामलाल चौधरीले बताए।

थाकस कतार च्याप्टरका महिला विभाग प्रमुख पार्वती चौधरीको सभापतित्वमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्षडि.एन. मगरको प्रमुख आतिथ्यमा जितिया पर्व मनाइएको हो। जितिया कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष केशव कार्की, वैचारिक संस्थाहरूका अध्यक्ष तथा प्रतीनिधिहरू, नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकारहरू, नेपाल आदिवासी जनजाति महासघं कतारसँग आबद्ध मातृसंस्थाका अध्यक्ष तथा प्रतीनिधिहरू, समाजसेवी तथा बुद्धिजीवीहरू, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका पदाधिकारी तथा सल्लाहकारहरू, मातृसंस्थाका महिलाविबिभाग प्रमुख/संयोजकहरू, प्रदेश तथा जिल्ल्ला संस्थाका अध्यक्ष तथा प्रतीनिधि, कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कलाकार, पत्रकार, ब्यवसायीलगायत थारू तथा गैरथारूलाई ऐतिहासिक जितिया पर्वमा सहभागी भएको अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका छन्।

त्यस्तै कार्यक्रमलाई भब्य र सभ्यरूपमा सम्पन्न गर्न अहोरात्र खट्ने कतार च्याप्टरका पदाधिकारी तथा सदस्य, सल्लाहकार, कार्यक्रम संयोजक, सहसंयोजक, सांस्कृतिक संयोजक तथा कलाकर, स्वयंसेवक, आर्थिक तथा खानपिन ब्यवस्थापक विभागका संयोजक, सहसंयोजकलयायतलाई पनि अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरेका छन्।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस कतारले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ।

इजरायलमा ढले कन्हैयालाल चौधरी सहारा

२५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’

२५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एग्रिकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको फोन सम्वाद अझै पनि याद छ । आशिष भने अब उनीसँग रहेनन् ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मारिनेमा आशिष पनि छन् । यो खबरलले परिवार विक्षिप्त छ । कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन् ।

आशिष उनको कान्छी छोरीको छोरा हुन् । छोरी-ज्वाइँ भारतको बैंङ्लोरमा बस्दै आएका छन् । आशिषको पालनपोषण बाजे कन्हैयालालले गरेका थिए । उनका दुई छोरी र एक छोरा छन् । तर छोरा २०५४ सालमा प्यारालाइसिस भएर छोरा अपाङ्ग छन् । उनको हेरचाह पनि कन्हैयालाल आफंैले गर्नुपरेको छ । नाती आशिष उनको साहारा थियो ।

‘आफ्नै काखमा खेलाए, हुर्काए, पढाए तर आज पापी दैवले चुडेर लग्यो । अब म कसको सहारामा बाचौं ?’ नाती सम्भिmँदै कन्हैयालाल भक्कानिए, ‘यो पापी संसारमा कसरी बाँचु ?’
आशिष ११ महिनापछि इजरायलबाट फर्किने बाचा गरेर गएका थिए । शनिबार इजरायलमा हमासले आक्रमण गरेको सुनेदेखि नै नातीको अवस्थाबारे चासो लिएका उनले अरुबाटै मृत्युको खबर थाहा पाए । आशिष अब कहिल्यै नफर्किने भएका छन् ।

छोराको मृत्युको खबरले विक्षिप्त बनेका कन्हैयालालका छोरी-ज्वाइँ बैंङ्लोरबाट कैलाली फर्किरहेका छन् । कन्हैयालाल नातीको सास नभए पनि अन्तिम पटक लास हेर्न चाहन्छन् । इजरायलमा रहेको नातीको लास ल्याउने प्रबन्ध मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

जनक विष्ट/अनलाइनखबरबाट साभार