देशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायले अधिकारका निम्ति अहिले पनि कुनै न कुनैरूपले राज्यविरुद्ध आन्दोलन गरिरहेका छन्। राज्यबाट अधिकारविहीन भइरहेकै बेला थारूको आस्थामाथि प्रहार गर्ने काम भएको छ। दाङ देउखुरीको गढवा गाउँपालिका-३ स्थित सिद्ध बाबा जंगलकुटीको अस्तित्व मेटाउने प्रयास भएको छ। वर्षौंदेखि सिद्ध बाबा जंगलकुटीको नामले चिनिने धरोहरको नाम नै परिवर्तन गरी रातारात ओम श्री त्रिकुटा गुरु धाम बनाइयो। जंगलकुटीको ब्यवस्थापन समितिले मनोमानी ढंगले थारू समुदायको आस्थाको केन्द्रमा अस्तक्षेप गरेको थारु अगुवाहरूको भनाइ छ।
नाम फेरिएसँगै थारु कल्याणकारिणीसभाले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण जनाएको थियो। जंगलकुटी व्यवस्थापन गर्न बनेको समितिले बाघनाथ बाबा धाम जंगलकुटीको नाम र इतिहासमा ठेस पुग्नेगरी सांस्कृतिक सम्पदामाथि अतिक्रमण गर्ने उद्देश्य राखेर नाम परिवर्तन गरेकोप्रति थाकसले घोर भर्त्सना गरेको थियो। सभाका वरिष्ठ उपाध्यक्ष गोकुल चौधरीले सरोकारवाला निकायको ध्यानाकर्षणका लागि अपीलसमेत गरेका थिए।
त्यस्तै थारू संस्कृतिविद् शत्रुघन चौधरीले स्व. बाघनाथ बाबाले सिद्धी प्राप्त गरी बसेको तपोभूमी जंगल कुट्टी रहेको बताए। ‘बाबाजीको अपार शक्तिकै कारण उहाँ घनघोर जंगल बीचमा एक्लै २४सै घण्टा साधना गर्नु हुन्थ्यो। उहाँसँग ठूला ठूला हिंसक जनावर, बाघ, भालु, अजिंगर सर्प, सिंहजस्ता जनावरलाई बसमा लिने अद्भुद शक्ति थियो भन्ने जनविश्वास छ,’ उनले भने।
जंगलकुटटी विधिवत वि सं १८७९ मा स्थापना भएको पाइन्छ। स्थापनाकालदेखि बालिएको अग्नि कुण्ड आजसम्म निरन्तर बलिरहेको छ, जसबाट निस्केको खरानी भुभुत भक्तजनलाई बाँडिने गरिन्छ। ‘उहाँलाई थारू समुदायलगायत स्थानीयबासी महाराजको रूपमा उच्च स्थानमा राखी पुजिने गरिन्छ। यहाँ वर्षेनि माघे सक्रान्तिमा हजारौं भकतजनहरू दर्शन गर्न आउँछन्। समय समयमा भण्डारा गर्नेहरूको पनि भीड हुन्छ। यो ऐतिहासिक सम्पदा सबैको साझा सम्पत्ति हो। यसको संरक्षण गर्ने सबैको दायित्व र जिम्मेवारी हो,’ उनले थपे।
ऐतिहासिक महत्व बोकेको भूमिलाई हठात नाम परिवर्तन गर्नु थारू समुदायको आस्थामाथि खेलवाड गर्नु रहेको उनको बुझाई छ। ‘नाम परिवर्तन गरी छुटै धाम बनाउन खोज्नु झनै संविधान, ऐन कानुन विपरीत कार्य हो। यस्तो गलत कार्यलाई स्थानीय सरकारको पहलमा तत्काल रोकिनुपर्छ। अन्यथा यसले गम्भीर द्वन्द्व सिर्जना गर्नेछ,’ उनले सुझव दिए।
त्यस्तै उमाकान्त चौधरीले समग्र देउखुरी क्षेत्रको शान अति महत्वपूर्ण धार्मिक ऐतिहासिक आस्था बोकेको बाघनाथ बाबाको नाम फेरेर अपमान गरेको बताए। ‘यसरी धार्मिक संस्थाको नाम परिवर्तन
गर्दा सम्पूर्ण रूपमा त्यहाँको अस्तित्व पहिचान र इतिहास नै मेटिन्छ। त्रिकुटा गुरु धाम नेपाल कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ उनले फेसबुकमा विरोध जनाए। त्यस्तै बालगोविन्द चौधरीले पशुपतिनाथ र स्वर्गद्वारीको नाम फेर्दा स्वीकार्य होला? भन्दै प्रश्न गरेका छन्।
थारू समुदायको विरोधपछि राखियो पुरानै नाम
नाम फेरिएको विषयलाई लिएर थारू समुदायबाट चौतर्फी विरोध भएपछि ब्यवस्थापन समितिले स्वागतद्वारमा रातारात नाम सच्याएर पहिलेकै नाम राखिएको छ। सञ्चालक समितिले कुनै भेलासमेत नबोलाई एकल ढंगले नाम परिवर्तन गरी स्वागतद्धार र धाममा ॐ त्रिकुटा गुरुधाम नेपाल लेखेको पाइएको हो। यस विषयमा सामाजिक सञ्जालमा समेत ब्यापक विरोध भएको थियो।
रातारात नाम फेरिएको बिषयमा बिरोधका स्वरहरु आएपछि थारु कल्याणकारीणी सभा देउखुरी क्षेत्र नम्बर १ ले सोमबार जंगलकुटीको स्थलगत अध्ययन अबलोकन सहितको भेला सम्पन्न गरेको छ। थारु कल्याणकारीणी सभा देउखुरीका बरिष्ठ उपाध्यक्ष गोकुल प्रसाद चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद तथा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा जंगलकुटीमा एक कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रमले नाम संशोधन गर्न सकिने भए पनि कुनै भेला नबोलाई समितिको एकल निर्णयबाट नाम परिवर्तन गरिएकोमा यसो गर्नु न्यायोचित नभएको भन्दै आगामी असोज २० गतेका दिन सम्बन्धित सरोकारवाला, स्थानीय सरकार र थारु कल्याणकारीणी सभासहितको बृहत्त भेला बोलाउने निर्णय भएको कल्याणकारी सभा देउखुरीका सचिव बालगोबिन्द चौधरीले जानकारी दिएका छन्।
कार्यक्रममा उपस्थित बक्ताहरुले प्राचिन इतिहास बोकेको धार्मिक तथा पर्यटकीय स्थल सिद्धबाघनाथ बाबा जंगलकुटीको नाम एकाएक फेरिनु दुखःद भएको बताए । यस बिषयलाई हल गर्न उक्त आकस्मिक कार्यक्रमले असोज २० गतेका लागि देउखुरी स्तरीय भेला बोलाउने भएको सभाले जनाएको छ। उक्त भेलामा जग्गाको बिषयमा समेत खोजी गरिने, बिधानको अध्ययन गरिने र शंसोधीत नामका बारेमा पनि छलफल गरिने बताइएको छ।
उक्त कार्यक्रममा सांसद चौधरीसहित थारु कल्याणकारीणी सभाका सल्लाहकारहरु बुद्धिजिवी समाजसेवी राजेन्द्र प्रसाद चौधरी, देवनारायण चौधरी, चेतराम चौधरी, कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरी, सत्गौंवा समाज दाङका अध्यक्ष खड्क बहादुर चौधरी र ब्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरी तथा पूजारी देबिसिंह चौधरी लगायत ९० जनाको उपस्थिति रहेको थियो। सिद्ध बाघनाथबावा जंगलकुटीको नाममा बिगतमा २५ बिगाह हाराहारीमा जग्गा रहेको र सो जग्गाका बारेमा पनि थारु कल्याणकारीणी सभाले गहिरो ढंगले खोजी गर्ने बताएको छ।