कर्णालीमा माछा मार्न गएका चन्द्रप्रकाश चौधरी बेपत्ता

कैलालीको जानकी गाउँपालिका-६ जगतपुरका एक युवक दुई दिनदेखि बेपत्ता भएका छन्। स्थानीय जगतपुर सामुदायिक वनसँगै रहेको कर्णाली नदीमा माछा मार्न गएका ३५ वर्षीय चन्द्रप्रकाश चौधरी शनिबारदेखि बेपत्ता भएका हुन्।

स्थानीय मोतिलाल चौधरीका अनुसार चौधरी शनिबार बिहान ३ बजे नै माछा मार्न कर्णाली नदीमा गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले उनको खोजी गरेका थिए। ‘कर्णाली नदीको वारिपट्टी उनको साइकल छ, नदीको बीचमा रहेको टापुमा लुगा र मोबाइल भेटियो’ मोतिलालले भने ‘स्थानीयले शनिबार बिहान माछा मारिरहेको देखेका रहेछन्, त्यसपछि उनीबारे अहिलेसम्म केही पत्ता लागेको छैन।’

लुगा र मोबाइल भेटिए पनि चौधरीबारे हालसम्म कुनै अत्तोपत्तो छैन। इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले चन्द्रप्रकाश शनिबारदेखि नै बेपत्ता भएको बताए। ‘हिजो साँझ ५ बजेतिर प्रहरीले खबर पाएपछि स्थानीय, नेपाल प्रहरी लगायतले खोजी गरिरहेको छ’ डीएसपी अधिकारीले भने ‘हालसम्म उनको अवस्था पत्ता लागेको छैन।’ कर्णाली नदीमा सो क्षेत्रका स्थानीयहरु माछा मार्न, घाँस दाउरा गर्न जाने गर्छन्।

२३ वर्षीया निकिता चौधरीलाई श्रीमानले नै हत्या गरेको आरोप

सुनसरीको इनरुवा नगरपालिका-३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्। निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको भाइ राकेशको दावी छ।

निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन्।

निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए।

उनले शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको बताए। निकिताकी आफन्त सर्मिला चौधरीले निकिताको शरीरभरी निल डाम र घाँटीमा गम्भीर चोट लागेको बताइन्।

भगतले रातीको समयमा घरमा कोही नभएको बेला श्रीमती निकितालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ। उनीहरूको विवाहमा निकिताका माइतीले ३५ लाख नगद , १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको बताइएको छ।

निकिताका ११ महिनाका छोरा छन्। उनको हत्या पश्चात नाबालक छोराको बिचल्ली भएको छ। भगतले थप दाइजो माग गरी निकितालाई यातना दिएर हत्या गरेकाले हदैसम्मको कारबाही गर्न भाइ राकेशले माग गरे।

थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन

थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष उदयपुरका सुमन कुमारी चौधरी, उपाध्यक्षमा सप्तरीका धर्मेन्द्रकुमार चौधरी, सर्लाहीकी नेहा पञ्जियार, महासचिवमा सप्तरीका सुबोधकुमार चौधरी, सचिवमा सप्तरीकी माया कुमारी चौधरी, प्रदुमन चौधरी र कोषाध्यक्षमा कैलालीका साजन चौधरी सर्वसम्मत चयन भए।

त्यस्तै केन्द्रीय सदस्यमा बर्दियाका सोभित चौधरी, महोत्तरीका रुपेश राय थारु, रौहतटकी कृति चौधरी, मकवानपुरका दिप्सन चौधरी, कैलालीका नवीन चौधरी र सप्तरीका निरञ्जल चौधरी सर्वसम्त चयन भए।
त्यस्तै केन्द्रीय पार्षदमा संस्थापक सभापतिसमेत रहेका संजय चौधरी चयन भएका छन्। थारू विद्यार्थी सभा थारू कल्याणकारिणी सभाको भातृसंस्था हो।

अट्वारी पर्व मनाउँदै मुख्यमन्त्री चौधरी (तस्बिरसहित)

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले थारू पर्व अट्वारी मनाएका छन्। उनले पर्वका लागि चाहिने परिकारहरू आफैं पकाए थिए। अट्वारी पर्वमा सूर्यलाई अग्नि र शक्तिका रूपमा पूजा गर्ने प्रचलन छ।

महाभारतको कथाअनुसार पाण्डवका पाँच भाइमध्ये भीम रोटी पकाउँदा पकाउँदै कौरवहरूसँग युद्ध लड्न गएको र युद्ध लडेर फर्किंदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटाएको भन्ने किम्बदन्तीअनुसार दिनभर थारु समुदायका पुरुष व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजा आजा गर्छन्। अट्वारीको पहिलो दिन अर्थात् शनिबार मध्यराति दर खाएर यो पर्व सुरु हुन्छ । शनिबार बेलुका प्रत्येकले आफ्नो घरको पूजाकोठा लिपपोत गर्छन्।

अमेरिका, जापानमा बिक्री हुन्छ थारू हस्तकला

बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन्। नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन्। Continue reading “अमेरिका, जापानमा बिक्री हुन्छ थारू हस्तकला”

प्रहरीमा ३० वर्ष सेवा गरेका सांसद चौधरी भन्छन्- संसद् बैठक छाडेर हिँड्ने विषय सुहाउँदो भएन

नारायण न्यौपाने/रासस

नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ बाझिएको घटनाप्रति उनलाई चित्त बुझेको छैन ।

संसद्लाई कहिले पनि अनिणर्यको बन्दी बनाइनुहुन्न भनी नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङका अभिव्यक्ति, उनले खेलेको भूमिका, अनुभव र अनुभूति स्मरण गर्दै उनले भने, “हामीले संसद्मै पनि ठीक भूमिका निर्वाह नगरेका कारण विभिन्न प्रश्न आएका हुन् ।” जनताका प्रतिनिधिमात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्छ भन्दै सांसद चौधरीले भने, “सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिकै ठूलो हात छ, त्यो गर्नुपर्छ ।”

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएका सांसद चौधरीसँग केही वर्ष विज्ञान शिक्षकका रूपमा काम गरेको अनुभवसमेत छ । उनले नयाँ निर्वाचन भई सदन सञ्चालन भएको सात महिना बितिसक्दासमेत अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी ऐनबाहेक अरु विधेयक अघि नबढ्नुलाई विधायकबाट मूल जिम्मेवारीप्रति बेवस्ता भयो कि भन्ने प्रश्न उठ्नु स्वभाविक भएको प्रतिक्रिया दिए ।

सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चौधरी हाल लोसपाका संसदीय दलका प्रमुख सचेतक हुन् । लामो समयदेखि प्राथमिकतामा रहेका सङ्घीय निजामती र शिक्षासम्बन्धीलगायतका विधेयकलाई सदनमा छलफलका लागि अघि बढाउने सन्दर्भमा पाइप लाइनमा रहेको उनको भनाइ छ । सरकारले ‘बिजनेस’ दियो भने मात्र संसद् र सांसदको भूमिका देखिने तथा सदनका कामकारबाही अघि बढ्ने भए पनि जनजीविका र समसामयिक विषयमा भने सदनमा आवाज उठाउँदै आएको सांसद चौधरीले बताए ।

सङ्घीय सांसद मूल दायित्वबाट अल्मलिँदा कानुन निर्माण प्रभावित हुने मात्र नभई गणपूरक सङ्ख्या नपुगेर सदन र संसदीय समितिका बैठकसमेत प्रभावित हुने गरेका छन् । आवश्यक न्यूनतम गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भई विधेयक पास हुन नसक्नु भनेको जनप्रतिनिधिका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनताको करबाट तलब÷/भत्ता खाने अनि बैठकमै नबस्ने कार्य सुहाउँदो नभएको टिप्पणी गरे ।

‘रासससँग सांसद’ मा सांसद चौधरीले सदन होस् वा विषयगत समितिका बैठक चलिरहेका बेला अरु काममा अल्मलिनु भनेको पदको गरिमाको महत्व नबुझ्नुमात्र नभई संसदीय व्यववस्थाकै उपहास र जनमतको अनादर भएको धारणा राखे । संसद् र संसदीय समितिका बैठकमा पूरापुर बस्ने सांसदको कोटीमा उनी चिनिन्छन् । विधायक भनेको आफैँ जान्ने/बुझने जनताको प्रतिनिधि भएकाले आफ्नो जिम्मेवारी र भूमिका थाहा पाउनुपर्नेमा जोड दिँदै सांसद चौधरीले सदन र संसदीय समितिका बैठकमा उपस्थिति भएपछि हिँडिहाल्ने प्रवृत्ति सुधार्न सुझाव दिए ।

“संसद्को महत्व धेरै छ, हाम्रो मुख्य कार्य भनेको सदन र संसदीय समितिलाई समय दिने नै हो । संसद् बैठक बङ्क गर्ने अनि विधेयक निर्णयार्थ हुँदा बाहिर बस्ने लाजमर्दो कुरा हो”, प्रमुख सचेतक चौधरीले भने, “विधेयकसम्बन्धी निर्णयमा सहभागी हुनुपर्यो । बैठकमा गणपूरक सङ्ख्या नभएर अन्त्य हुँदा राज्यको ढुकुटी खर्च हुन्छ, जनशक्तिको दुरुपयोग हुन जान्छ । यो परिस्थिति आउनु भनेको विडम्बना हो ।”

संसदीय क्षेत्र विकास कोषमार्फत विकास निर्माणका लागि बजेट व्यवस्थापन हुनु स्वभाविक रहेको उल्लेख गर्दै उनले सबै निर्वाचन क्षेत्रमा समान ढङ्गले बजेट विनियोजन हुने त्यो मात्र एक कार्यक्रम रहेको प्रतिक्रिया दिए ।

“कोषको रकम सांसद आफैँले खर्च गर्न पाउने नभई जनताका माग र आवश्यकताका आधारमा सिँचाइ, सडक, शिक्षा, पर्यटन, खेलकुदको विकासका लागि लगानी गर्न पाँच योजना छान्नेमात्र हो”, सचेतक चौधरीले बताए ।

युवा उमेरदेखि नै समाज कल्याण कार्यमा संलग्न सांसद चौधरी राजनीतिका माध्यमद्वारा समाजलाई समृद्धिमा पुर्याउन सकिन्छ भन्नेमा दृढ छन् । मुलकमा राजनीतिक अस्थिरताका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अहिले भइरहेको अभ्यासप्रति जनतामा खुसीयाली छाउन नसकेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनता, देश र समाजले अपेक्षा गरेअनुरुप उपलब्धि हासिल नभएको टिप्पणी गरे ।

सरकार र राजनीतिक दलले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर मातृभूमिलाई सेवा गर्छु भन्ने भावना राखी अघि बढेमा छोटो समयमै समृद्धि हासिल गर्न सकिने उनको दृढविश्वास छ । उनले पछिल्लो समय विमानस्थलबाट बाहिरिएको सुन, भुटानी र ललिता निवास प्रकरणको सत्यतथ्य छानविन गरी उजागर गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सके भ्रष्टाचार र दण्डहिनता रोक्न सकारात्मक सन्देश प्रवाह हुने बताए ।

आर्थिक वृद्धि, भ्रष्टाचार न्यूनीकरण, सुशासनका मुद्दालाई अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा एकाकार हुन जरुरी रहेको धारणा व्यक्त गरे । राजनीतिक दल र समाजका सबै तह तथा तप्काको स्वार्थ देश विकास र समृद्धिमा मात्र केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

अट्वारी पर्वमा थारू समुदायलाई सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन्।

प्रदेशमा थारु बाहुल्य भएका तीन जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका अधिकृत माधव शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। सूचनामा २०७९ चैत १७ गतेको लुम्विनी प्रदेश सरकारको निर्णयअनुसार विदा दिइएको अधिकृत शर्माद्वारा जारी सूचनामा जनाइएको छ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो।

जसअनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिक बैठकले आज रात १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य १.१४ रुपैयाँ र डिजेल र मट्टितेलमा २.९१ रुपैयाँले वृद्धि भएर आएको हो। ग्यासको मूल्य भने यथावत राखिएको छ।

काठमाडौंमा अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पुगेको छ।

सम्भोता/भोटी लिपीसम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी

काठमाडौंमा सम्भोता/भोटी लिपीसम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरिएको छ। भारतीय राजदूतावास, बीपी कोइराला भारत-नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघको संयुक्त आयोजनामा नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी आयोजना गरिएको हो। Continue reading “सम्भोता/भोटी लिपीसम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी”

जसपाले बनायो थरुहट राष्ट्रिय समिति, सुदूरपश्चिममा कमिटी गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ। प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। Continue reading “जसपाले बनायो थरुहट राष्ट्रिय समिति, सुदूरपश्चिममा कमिटी गठन”