‘थारू र परिवर्तनको राजनीति’ विषयमा खगेन्द्र संग्रौला र सुमना श्रेष्ठसहित वक्ताहरूले बहस गर्दै

थारू नागरिक अभियानले बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नागरिक समाजका अगुवा र अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। ‘थारू र परिवर्तनको राजनीति, नयाँ दृष्टिकोणको खोजी’ विषयमा अभियानले अन्तर्क्रिया गर्ने भएको हो।

अन्तर्क्रियामा खगेन्द्र संग्रौला, डम्बर खतिवडा, प्रशान्त सिंह, महेन्द्र लावती, सुरेन्द्र चौधरी, लक्ष्मण थारू, सुमना श्रेष्ठ र जेनजी अभियन्ताहरू रक्षा बम र रिजन राना मगर सहभागी हुनेछन्। कार्यक्रम कात्तिक २२ गते शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा हुने आयोजकले जनाएको छ।

जनेजी आन्दोलनपछि थारू अधिकारका मुद्दाहरू उठान हुन नसकेको भन्दै थारू नागरिक अभियान गठन गरिएको थियो।

अध्यक्ष चौधरीले भने- मेरो हस्ताक्षर कीर्ते भएको हुनसक्छ

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले पदबाट राजीनामा दिएको विषयमा सत्यता नरहेको बताएका छन्। जण्डौलस्थित अध्यक्षको सम्पर्क कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले राजीनामा पत्रमा भएको दस्तखत आफ्नो नभएको बताए। ‘मलाई पनि सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक भएपछि मात्र थाह भयो। मैले राजीनामा दिएको विषयमा कुनै सत्यता छैन। राजीनामा पत्रमा मेरो दस्तखतसँग मिले पनि, मलाई झुक्याएर यस्तो षड्यन्त्र गरेको हुनसक्छ। पदबाट राजीनामा दिने मेरो मनसाय छैन,’ उनले भने।

राजनीतिक प्रतिशोध लिन नक्कली राजीनामा पत्र लेखेर कीर्ते गरेको उनको दाबी छ। उनले वडा नम्बर ४ का वडाध्यक्ष तेज नारायण यादवको योजनामा यस्तो फसाउने प्रपन्च रचिएको बताए। उनले यसमा उपाध्यक्ष कल्पना कुमारी चौधरीसहित अरु कसैको हात नभएको स्पष्ट पारे। असोज ५ गते अध्यक्ष चौधरीले दिएको लिखित राजीनामा मंगलबार उपाध्यक्ष कल्पना कुमारी चौधरीले स्वीकृत गरेको पत्र सार्वजनिक भएको थियो।

गाउँपालिका अध्यक्ष ज्यूले आफू समक्ष दिएको राजिनामा मंगलबार भएको कार्यपालिका बैठकमा निर्णायार्थ प्रस्ताव पेस गरी बहुमतले राजिनामा स्वीकृत भएपछि अध्यक्षले दिनु भएको राजिनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना कुमारी चौधरीले निर्वाचन आयोगलाई पठाएको पत्रमा उल्लेख गरिएको छ।

मैले राजीनामा दिएको छैन, विपक्षीबाट ठूलो राजनीतिक षड्यन्त्र गरियो : अध्यक्ष दिनानाथ चौधरी

अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले राजीनामा नदिएको बताएका छन्। मंगलबार उनको राजीनामा पत्र सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले विपक्षीबाट राजनीतिक षड्यन्त्र भएको बताए।

‘मेरो राजीनामा सम्बन्धमा सामाजिक सञ्जालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ। यसै अपीलमार्फत सामाजिक सञ्जालमा आएको अफवाह जालसाजीपूर्वक राजनीतिक षड्यन्त्र भएको र ममार्फत कुनै किसिमको राजीनामा पत्र कहीँ कतै पेस नभएको अवगत गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो उनले जारी गरेको विज्ञप्ति
तपाईहरुको अमुल्य मत अर्थात जनताबाट अनुमोदन भएर यस पालिकाको अध्यक्षको रुपमा निर्वाचित भएसँगै सदैव जनपक्षिय कार्यक्रमहरु मार्फत पालिकाको चौतर्फि विकासका लागि ईमान्दारिता साथ कार्यसम्पादन गर्ने मेरो प्रयास निरन्तर रहिरहेको छ । कार्यपालिकामा अल्पमतमा रहँदा विपक्षी दलहरु मार्फत निरन्तर असहयोग हुँदा समेत यस पालिकालाई सप्तरी जिल्लामै उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्न सफल भएको व्यहोरा प्राकृतिक श्रोत तथा वित्त आयोगको मूल्यांकनबाट प्रष्ट हुन्छ । बिपक्षीहरुले राजनैतिक निष्ठा र संस्कारबाट स्खलित भएर निम्न स्तरको व्यवहार तथा षडयन्त्र म माथि भविष्यमा आउन सक्छ भन्ने आशंका कार्यपालिकामा बिपक्षीहरुबाट हुने गरेको असहयोगले मलाई शसंकित बनाएको थियो । सोही सन्दर्भमा विपक्षी दल तथा कार्यपालिका सदस्यहरुबाट म माथी षडयन्त्र तथा जालसाजी हुने अनुमानले म मार्फत कुनै पनि हालत वा परिस्थितिमा समेत राजिनामा नदिएको भनी सार्वजनिक रुपमा २०८२ असोज २५ गते नै प्रेस विज्ञप्ती जारी गरिसकेको परिपेक्ष्यमा समेत मेरो राजिनामा सम्बन्धमा सामाजिक संजालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ । साथै यसै अपिल मार्फत सामाजिक संजालमा आएको अफवाह जालसाजीपूर्वक राजनैतिक षडयन्त्र भएको र म मार्फत कुनै किसिमको राजिनामा पत्र कहि कतै पेस नभएको अवगत गराउन चाहन्छु । यदि मैले स्वेच्छाले राजिनामा दिएको भए यस अवधिमा के कसरी पटक पटक बैठक आह्वान गरेको सार्वजनिक सूचना प्रकाशन गरियो ? पटक पटक कार्यालयको विभिन्न कागजात कारोवारहरुमा कसरी सहभागि भए ? – निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई मैले दिएको पत्रलाई आधारमानि पालिकाको नियमित कारोवार तथा सेवाग्राहीको कामहरु कसरी सम्पादन भयो ? मेरो सनाखत बिना कसरी राजिनामा स्वीकृत भयो ? निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाको चलानी नं. ५६३ मार्फत तोकि पठाएको कर्मचारीको नाम कसरी हेरफेर भयो ? भन्ने अनुत्तरीत प्रश्नहरुले के संकेत गर्दछ अतः मैले हालसम्म कहिकतै राजिनामा नदिएको सहर्ष जानकारी गराउन चाहन्छु । र मेरो राजिनामा पेश गरिएको राजिनामा पत्रमा मेरो हस्ताक्षर नभई किर्ते हस्ताक्षर रहेको जानकारी सहित सोको लागि न्यायिक निकायमा कानुनी उपचारका लागि प्रस्तुत हुने व्यहोरा जानकारी गराउन चाहन्छु ।
दिनानाथ चौधरी

वडाध्यक्षबाट मालिस गराएर भाइरल बनेका गाउँपालिका अध्यक्ष दिननाथ चौधरीले दिए राजीनामा

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए।

उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र बुझाएका थिए र सोही दिन गाउँ सभा समेत बसेको थियो। उक्त पत्रमा उनले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन्। ‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ। पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस आफूले गरेकोले स्वच्छाले नै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी उनले पत्रमा उल्लेख गरेका छन्।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजीहरूको माग, गृहमन्त्रीलाई बुझाए ज्ञापन

जेनजी अलायन्सहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। सरकारले कुनै पनि घटना सम्बन्धमा जवाफदेही र पारदर्शी हुनुपर्ने भन्दै सरकारलाई तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो।

जेनजी नेपालले आफ्नो सामाजिक सञ्जालहरूमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहितका पम्पलेटहरू सोमबार सार्वजनिक गरेको छ।

‘मधेस आन्दोलन र टीकापुर हत्याकाण्डको अनुसन्धान गर्‍यो, जब राज्यले आफ्नै नागरिकहरूमाथि बन्दुक तेर्साएको थियो। लगभग एक दशक बितिसक्दा पनि लाल आयगको प्रतिवेदन सार्वजनिक गरिएको छैन। यदि हामी वास्तविक जवाफदेहिता चाहन्छौं भने, पारदर्शीता छनौटपूर्ण हुन सक्दैन। यो सरकारले सत्यलाई गाड्ने होइन, सार्वजनिक गर्ने समय आएको छ,’ जेनजी अलायन्सले भनेको छ।

जेनजीहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। अधिवक्तासमेत रहेका अर्णव चौधरीले तत्काल लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्नुपर्ने माग लिएर गृहमन्त्री अर्याललाई ज्ञापन बुझाएका थिए।

अधिवक्ता चौधरीले भने, ‘लाल आयोगको प्रतिवेदन २०७२ सालमा राज्यद्वारा आदिवासी, थारु, मधेसीलगायत सीमान्तकृत समुदायहरूको नरसंहार, हिंसा, मानवअधिकार उल्लंघन, राज्यको प्रतिक्रिया र अत्याचारहरूको घटना बारेको प्रतिवेदन मात्र नभई यो इतिहासदेखि राज्यद्वारा सीमान्तकृत वर्गलाई गर्ने व्यवहार र दृष्टिकोणको प्रतिबिम्ब समेत हो भन्ने हाम्रो बुझाइ हो। जेनजी आन्दोलनमा राज्यको तर्फबाट भएको दमन, मानव अधिकार उलंघन, हिंसा, अत्याचार र नरसंहार समेत यही आन्दोलनपछिको जवाफदेहीताको अभावको एक उपज हो भन्ने हाम्रो बुझाइ छ। जेनजी आन्दोलनको एक प्रमुख माग जवाफदेहीता र पारदर्शीता रहेको परिप्रेक्ष्यमा लाल आयोगको प्रतिवेदन गोप्य राखिनु आन्दोलनको मूल्य मान्यता विपरीत हुन जान्छ।’

निःशुल्क कानुन पढ्न पाउनुपर्ने माग राखेर सिंहदरबार धाइरहेकी ७० वर्षीया शान्ति चौधरी

दिनेश गौतम/अनलाइनखबरबाट साभार
७० वर्षीया शान्ति चौधरी सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेट्न सिंहदरबार पुगिन्। उनी निजी काम लिएर पुनलाई भेट्न सिंहदरबार गएकी थिइनन्। ज्येष्ठ नागरिकले निःशुल्क कानुन संकायमा पढ्न पाउनुपर्ने माग बोकेर उनी मन्त्री पुनलाई भेट्न पुगेकी थिइन्।

चौधरीले निःशुल्क पढाउन निवेदनसमेत दिइन्। ‘संविधानले ज्येष्ठ नागरिकलाई संरक्षण गर्ने भनेको छ। संविधानअनुसार सेवा-सुविधा नपाएपछि निवेदन दिन मन्त्रालय गएको हुँ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिकलाई राज्यले सेवा सुविधा र आरक्षण पाउनुपर्‍यो नि।’ संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ। ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ,’ उक्त धारामा भनिएको छ। तर राज्यले संविधानमा भएबमोजिम ज्येष्ठ नागरिकलाई संरक्षण नगरेको गुनासो चौधरीको छ। ‘जेष्ठ नागरिक भएर पनि अहिलेसम्म सुविधाहरू पाएको छैन,’ उनले भनिन्।

चौधरीले कानुन संकायमा नै स्नातक गरेकी छिन्। स्नातकोत्तर तहको अध्ययन निःशुल्क हुनुपर्ने माग उनको छ। ‘मैले मात्र होइन। सबै ज्येष्ठ नागरिकले निःशुल्क पढ्न पाउनुपर्‍यो,’ उनले भनिन्, ‘स्नातक तहको अध्ययन पूरा गरेकी छु। अब स्नातकोत्तर तहको अध्ययन गर्न लागेको छु।’ २०८२ सालमा चौधरीले कानुन संकायमा स्नातक उत्तीर्ण गरेकी हुन्। ‘ज्येष्ठ नागरिकको अधिकारका लाागि संघर्ष गरिरहेको छु। स्नातकोत्तर तहको अध्ययन गर्न ६ लाख लाग्छ,’ उनले भनिन्, ‘ज्येष्ठ नागरिकले निःशुल्क पढ्न पाउनुपर्छ।’

चौधरीले संविधानको धारा ३१ पनि स्मरण गराइन्। जसमा शिक्षासम्बन्धी हक उल्लेख छ। जसमा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्चशिक्षा पाउने हक हुने भनिएको छ । यसैको आधारमा चौधरी सिंहदरबार धाइरहेकी हुन्। निःशुल्क पढ्न पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयमा पनि निवेदन दिएकी छिन् । ‘विश्वविद्यालय र कानुन पढाउने कलेजहरूमा पनि निवेदन दिएको छु,’ उनले थपिन्।

विश्वविद्यालय र कानुन पढाउने क्याम्पस चहार्दा नभएपछि उनी सोमबार शिक्षा मन्त्रालयमा पुगेकी हुन्। ‘क्याम्पसहरूमा चक्कर काट्दा काट्दा भएन । विश्वविद्यालयको सहकुलपति शिक्षा मन्त्री भएकाले आज मन्त्रालयमा निवेदन दिएको हुँ,’ उनले भनिन्। देशको सबै सबै संरचना मूल कानुनमै आधारित भएकाले ज्येष्ठ नागरिकले पनि कानुन पढ्न चाहेको उनको तर्क छ । ‘कानुन विषय अति आवश्यक छ । सबै संरचना कानुनमा आधारित छ,’ उनले भनिन्।

यो उमेरमा पनि कानुनमा स्नातक गरेको भनेर उनको प्रशंसा हुन्छ । तर स्नातकोत्तरमा निःशुल्क पढ्ने व्यवस्था नभएकोले उनी निराश हुन्छिन्। ‘कानुनमा स्नातक गरेको भनेर उदाहरणीय भन्छन् । तर राज्यले मूल्यांकन गर्नुपर्‍यो नि,’ उनी भन्छिन्।

कानुनमा विद्यावारिधि गर्न चाहिन्छन उनी। ‘मास्टर मात्रै होइन पीएचडीसम्म गर्छु। पीएचडी गरेर समाजमा उदाहरणीय बन्न चाहन्छु,’ उनी भन्छिन्। शिक्षा मन्त्री पुनले चौधरीको निवेदन बुझेका छन्। र, शिक्षा सचिव हाल बाहिर रहेकाले फर्किएपछि निवेदन उपर जवाफ दिने बताएका छन्। ‘सचिवज्यू फर्किएपछि हेर्ने भन्नुभएको छ। ज्येष्ठ नागरिकले कानुन विषय निःशुल्क पढ्न पाउनुपर्‍यो,’ चौधरीले भनिन्, ‘राज्यले ज्येष्ठ नागरिकको अधिकारको कार्यान्वयन गरोस्।’

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने

नागरिक उन्मुक्ति पार्टी नेपालको आह्वानमा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउने भएको छ।

शनिबार मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसेको बैठकले मोर्चाको तर्फबाट लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने मागसहित ज्ञापन बुझाउने निष्कर्ष निकालिएको नाउपा नेपालका महासचिव डा. उमाशंकर चौधरीले बताए।

उनका अनुसार बैठकले आगामी निर्वाचनमा युवाहरूलाई सहभागिता गराउन साझा एजेन्डा बनाएर अघि बढ्ने सहमति भएको थियो। बैठकमा नाउपा नेपालका संरक्षक रेशम चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका तर्फबाट केशव झा, जनता प्रगतिशील पार्टीका तर्फबाट डा. शिवजी यादवलगायत सहभागी थिए।

अमेरिकी थारूहरूको संस्था टीएफएले थारू विद्यार्थीका लागि खुलायो छात्रवृत्ति

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२५/२०२६ सत्रका लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आह्वान गरेको हो।

नोभेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि डीसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने छ। त्यस्तै नेपालको मान्यता प्राप्त संस्थामा विद्यार्थीको रूपमा भर्ना भएको हुनुपर्ने र शैक्षिक स्थिति पनि राम्रो हुनुपर्नेछ। त्यस्तै सरकारी र गैर-सरकारी संस्थाहरूबाट कुनै प्रकारको आर्थिक सहयोग नलिएको हुनुपर्ने टीएफएले जनाएको छ।

‘यो छात्रवृत्तिले थारू समुदायभित्र योग्य, प्रतिभाशाली र आर्थिक रूपमा समस्याग्रस्त व्यक्तिहरूलाई शैक्षिक उत्कृष्टताको पोषण गर्ने र अवसरहरू प्रदान गर्ने टीएफएको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस कार्यक्रममार्फत टीएफएले थारूहरूको नयाँ पुस्तालाई उनीहरूको भविष्य सुनिश्चित गर्न, आफ्नो समुदायमा योगदान पुर्‍याउन र सबैको लागि उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। हामी योग्य विद्यार्थीहरूलाई टीएफए छात्रवृत्तिको लागि आवेदन दिन प्रोत्साहित गर्छौं,’ टीएफएका सचिव ज्ञान चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आवेदन दिनका लागि अघिल्लो शैक्षिक स्तरको मार्कसिट र ट्रान्सक्रिप्ट, भर्ना भएको कलेजको विद्यार्थीको परिचय पत्र, आर्थक अवस्था खुल्ने वडाको सिफारिस पत्र, शिक्षक वा सामाजिक अभियन्ताको सिफारिस पत्र र व्यक्तिगत अभिव्यक्ति माग गरिएको छ। त्यस्तै असक्त, अनाथ र कमैयाका लागि प्रमाण खुल्ने पत्र आवश्यक हुने टीएफएले जनाएको छ।

टीएफएले हरेक वर्ष मेधावी थारु विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्षको छात्रवृत्ति त्यसकै निरन्तरता भएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले बताए। उनका अनुसार टीएफएको वेवसाइट tharus.org मा गएर आवेदन दिन सकिनेछ। कुनै जिज्ञासा भएमा [email protected] मा इमेल गर्न सकिने छ।

मैले भाग लिन पाइनँ भने देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गरे।

‘चुनाव रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भने, ‘सिंगो समूदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ? नेपाली कांग्रेस, नेकपा एमालेको इतिहास के थियो? शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो ? जेनजीको इतिहास के छ?’

साथै, उनले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाए। ‘अहिले चुनाव लड्न दिन्नँ भन्छन्। पुरुषोत्तम यादवजीले भन्नुभयो, नेता हुन दिन्नँ भन्छन्। देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने ? अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने ?,’ चौधरीले भने।

नाउपा नेपालको अध्यक्षमा कबीर सोब, महासचिवमा उमाशंकर चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ।

पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन्। निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ। त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ।

२८ वर्षीय सोब कैलाली टिकापुरका हुन्। चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन्। अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए। अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ।

नाउपा नेपालको महासचिवमा उमाशंकर चौधरी छन्। कार्यसमितिमा रेशम चौधरी आफू पनि छैनन् र परिवारका कसैलाई पनि राखेका छैनन्। पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका थिए। उनले जेनजी पुस्ताका कबीर सोपलाई अध्यक्षको जिम्मेवारी दिएका छन्।