संसद विघटन गर्ने सहमति, ९ बजे सुशीला कार्कीले प्रधानमन्त्री पदमा सपथ लिँदै

अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले संसद विघटन गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ। यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए।

संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन्। जेनजी प्रतिनिधिको सिफारिसमा कार्की प्रधानमन्त्री बन्न लागेका हुन्।

यसअघि सुशीला कार्कीलाई प्रधानमन्त्री बन्न राजनीति दलहरू सहमत भए पनि जेनजीले उठाउँदै आएको नेताहरूको सम्पत्ति छानबिनका सम्बन्धमा भने सहमति जुट्न सकेको थिएन। त्यस विषयमा पनि विस्तृत छलफल भएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूको सम्पत्ति छानबिन गर्ने सम्बन्धमा आफूहरूको आपत्ति नरहेको बताएका थिए। उनले भिडियो सन्देश जारी गरेर नेताहरूमाथि पनि छानबिन हुनुपर्ने बताएका थिए।

घरमा श्रीमती र छोरीले पर्खिरहे, सदाका लागि अस्ताए विजय चौधरी

विनय आजाद/कान्तिपुरबाट साभार

लहान नगरपालिका-१५ मा पर्ने सिंगो ढोढना गाउँ अहिले शोकमग्न छ । काठमाडौंमा भएको जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकामध्ये २७ वर्षीय विजय चौधरी यसै गाउँका हुन् । यहाँका स्थानीय हरिप्रसाद चौधरीको कान्छा छोरी थिए उनी ।

विजय श्रीमती र एक चार वर्षकी छोरीसहित करिब ६ वर्षदेखि काठमाडौंस्थित पेप्सीकोलामा कोठा भाडामा लिएर बस्दै आएका थिए । विजयको सात वर्षअघि बिहे भएको थियो । बुवा हरिप्रसादका अनुसार, १२ कक्षासम्म पढेका उनी त्यहाँ हाउसवायरिङको काम गर्दै आएका थिए ।

दैनिकजस्तै काम सकेर गत मंगलबार साँझ उनी डेरातर्फ फर्किरहेका थिए । तर, नयाँ बानेश्वरमा आन्दोलन भइरहेको देखेपछि उनी त्यहिँ रोकिए । सोही क्रममा उनी घाइते भए । त्यसपछि सिभिल अस्पताल पुर्‍याइएका उनलाई त्यहाँ मृत घोषणा गरिएको भन्ने कुरा मात्रै थाहा पाएको हरिप्रसादले बताए ।

यसबाहेक उनी कसरी घाइते भए वा कसले अस्पताल पुर्‍याए भन्ने कुरा परिवारका कसैले पनि थाहा पाउन सकेका छन् । मृत्युबारे जानकारी पाइसकेपछि आफन्त र परिवारका सदस्य शव ल्याउन अहिले काठमाडौं गएका छन् । तर, अहिलेसम्म आफूहरुले शव हेर्न र प्राप्त गर्न नसकेको हरिप्रसादले बताए ।

‘मेरो छोरो कसरी घाइते भयो, कसले अस्पताल पुर्‍याए, हामीलाई अहिलेसम्म थाहा हुन सकेको छैन,’ हरिप्रसादले कान्तिपुरसँग भने, ‘घटनाबारे थाहा पाएपछि हामी काठमाडौं आएका छौं, तर अहिलेसम्म छोराको मुख हेर्न सकेका छैनौं ।’

सामान्य आर्थिक हैसियतका विजयको गाउँस्थित घरमा बुवा, आमा, दाजु, भाउजुसहित परिवार बस्दै आएका छन् । विजयको मृत्युपछि उनको परिवार अहिले विक्षिप्त छ । विजयकी आमा र श्रीमती घरिघरि मुर्छा पर्छिन् । ‘हामी त जसोतसो आफूलाई सम्हालेका छौं, तर विजयकी आमा र बुहारी घरिघरि मुर्छा परिरहेकी छिन्,’ हरिप्रसादले भक्कानिँदै सुनाए, ‘घटना भएको दिन बुहारी र नातिनीले बजार जान उनलाई पर्खेर बसेका थिए, तर उनी सदाका लागि गइहाले ।’

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।

आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले अन्नपूर्णलाई बताए। ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ।

यसअघि नै जेनजी प्रतिनिधिहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए।

जेन्जी आन्दोलनमा विजय चौधरीको मृत्यु, मृतक संख्या ३४ पुग्यो (नामसहित)

जेन्जीको आन्दोलनमा सिरहाका ३२ वर्षका विजय चौधरीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका उनको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसअघि आन्दोलनमा उनी बेपत्ता भएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका थिए। सिराहाको लहान नगरपालिका-१५, ढोढना सिमलटोकी घर भएका हरिप्रसाद चौधरीका कान्छा छोरा विजय पेप्सीकोला बस्दै आएका थिए।

लहान-१५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार विजय मंगलबार साँझ काम गरेर डेरा फर्किने क्रममा साँझ करिब ५ बजेतिर बानेश्वरमा भइरहेको प्रदर्शन हेर्न पुगेका थिए।

चौधरी करिब आधा दशकभन्दा बढी समयदेखि काठमाडौंको पेप्सीकोलामा डेरा लिएर श्रीमती र सानी छोरीसहित बस्दै आएका थिए। हाउसवायरिङको काम गर्दै आएका विजय कताबाट कसरी मंगलबार साँझ बानेश्वर पुगे खुलेको छैन।

मृतक संख्या ३४ पुग्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ।

निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतालमा पाँच गरी ३४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी अहिले ३२१ जना घाइतेको अस्पताल भर्ना भएर उपचार भइरहेको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन्।

मृत्यु हुनेमध्ये २५ जनाको पहिचान खुलेको छ। जसमा श्रीयाम चौलागाईं, सुलभराज श्रेष्ठ, बुद्धिबहादुर तामाङ, गौरव जोशी, योगबहादुर श्रेष्ठ, इश्वबहादुर अधिकारी, सन्तोग विक, आयुष थापा, मिशल सारु मगर, छत्रमान कुथुमी, विमल भट्ट, काशी आलम ठाकुर, विजय चौधरी, अभिषेक चौलागाईं, बिनोद महर्जन, दिलनारायण तामाङ, योगेन्द्र न्यौपाने, प्रविन कुलुङ, उमेश महत, निकिता गौतम, अर्जुन भट्ट, देवकुमारी सुवेदी, सौरम किशोर श्रेष्ठ र सुबास पोखरेल रहेका छन्।

नेतामाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको समीक्षा हुनुपर्छ : तेजुलाल चौधरी

कामचलाउ सरकारका युवा तथा खेलखुद मन्त्री तेजुलाल चौधरीले संविधानको परिधिभित्र रहेर निकास दिन आग्रह गरेका छन्। नेपाली सेनाको संरक्षणमा रहेका चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्न पनि माग गरेका छन्।

त्यस्तै जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित भएका हजारौँ कैदीबन्दीहरू बाहिरिनु कानुनी राज्यको उपहास भएकाले सुरक्षाकर्मीले विशेष ध्यान दिन उनले आग्रह गरेका छन्। ‘इतिहासका विभिन्न कठिन परिस्थितिको सामना गर्दै अगाडि बढेको नेपाली कांग्रेसले यो प्रतिकूल अवस्थाको सहज पार लगाउनेमा आशावादी रहन सबै नेता कार्यकर्तामा आग्रह गर्दछु,’ उनले भनेका छन्।

यस्तो छ उनको विज्ञप्ति
आदरणीय सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
जय नेपाल ।
देशमा सोमबार Gen Z (जेनजी) ले गरेको कार्यक्रममा तथा मंगलबार ज्यान गुमाउने सबैप्रति म एकदमै दुःख ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
आज देशमा उत्पन्न विषम र असामान्य परिस्थितिप्रति संयमित र धैर्य रहन आग्रह गर्दछु । शान्तिपूर्ण आन्दोलन र माग नागरिकको नैर्सगिक अधिकार हो । यसको लागि म जीवनभर संघर्षरत छु । तर दुर्भाग्य, गत सोमबार भएको घटनामा प्रहरीको गोली लागि १९ जनाको निधन तथा मंगलबार होनाहार केही प्रहरी तथा नेपाली नागरिकको निधनप्रति म भावविव्हल एवं मर्माहत भएको छु । सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो समयमा सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै म जीवनभर लोकतन्त्रको लागि लडेको एक सिपाहीको नाताले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानून बमोजिम कडा कार्बाही गर्न समेत माग गर्दछु ।
मंगलबार संसद भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवास, राष्ट्र बैक, संबैधानिक निकाय, सरकारी भवन, प्रहरी कार्यालय लगायत देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले हामी सबैलाई दुःखी बनाएको छ । नीजि आवास, होटल, बैंक, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम लगायत सार्वजनिक र नीजि सम्पत्तिमा खर्बौँको नोक्सानी हुनु देशको लागि ठुलो क्षति हो । यसमा सबै देशभक्त नागरिकले एकपटक गम्भीर समिक्षा गर्न आवश्यक छ ।
यो विषम र कठिन परिस्थितिमा पार्टीको सिंगो पंक्ति, सचेत नागरिक समाज र आम जनसमुदायले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार देशको माटो सम्झेर अगाडी बढ्न आग्रह गर्दछु । देश र ऐतिहासिक सम्पदा र धरोहर रहे इतिहास जोगिने भएकोले सबैले संयमतापूर्वक अगाडि बढ्न र इतिहासले दिएको जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु ।

जीवनभर लोकतन्त्रको लागि योगदान गरेका आदरणीय कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूमाथि भएको आक्रमण र नीजि निवासमा भएको आगजनीको गम्भिर समिक्षा गर्नु जरूरी छ । अझ जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित भएका हजारौँ कैदीबन्दीहरु बाहिरिनु कानुनी राज्यको उपहास समेत भएकोले सुरक्षाकर्मीले विशेष ध्यान दिन जरूरी छ । यस्तो विषम परिस्थितिमा सिङ्गो नागरिक समाज, पार्टी पङ्क्तिलाई अविचलित, दायित्वबोधका साथ एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अहिले चालेको कदमको स्वागत गर्दै अहिलेको परिस्थितिकमा संविधानको परिधि भित्रै रहेर निकास निस्कनेमा म विश्वस्त छु । इतिहासका विभिन्न कठिन परिस्थितीको सामना गर्दै अगाडी बढेको नेपाली कांग्रेसले यो प्रतिकूल अवस्थाको सहज पार लगाउनेमा आशावादी रहन सबै नेता कार्यकर्तामा आग्रह गर्दछु । यो समयमा आबेगको सट्टा विवेक, उत्तेजनाको सट्टा चेतनाका साथ सम्हालिन, संयमित र एकताबद्ध भएर अगाडी बढ्न आग्रह गर्दछु ।
जय नेपाल !
तेजु लाल चौधरी
निवर्तमान मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न रेशम चौधरीको सुझाव

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले पुराना नेतालाई जेनजीलाई सुझाव दिने नैतिक अधिकार नभएको उल्लेख गरेका छन्। जेनजीलाई आफैंले नेतृत्व लिएर प्राप्त उपलब्धि रक्षा गर्न पनि उनले आग्रह गरेका छन्।

यसो छन् उनको अभिव्यक्ति
Gen-Z आन्दोलनले गरेको परिवर्तन प्रसंसनिय छ तर प्राप्त उपलब्धिको निर्देशक खोइ? मेरो विचारमा तपाईहरु देश हाँक्न सक्षम हुनुहुन्छ। आफैं नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस्। तपाईले आन्दोलन गर्दा उठाइएका विषय अहिले थाती राख्नुस्। विगतका कर्मचारीलाई ल्यायर, अहिलेका पालिका प्रमुखसँग हार गुहार गरेर तपाईँ लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ? तपाईंले तोकेका निहित बिषयलाई आधार बनाएर मुलुकको शून्यताको अन्त्य गर्नुहोस्। धेरै नेताले बुँदात्मक सुझाव दिइराखेका छन्, ती बुँदा आफूले हिजो किन लागू नगरेका? पुराना नेतालाई अहिले यसो गर,उसो गर भनेर भन्ने कुनै नैतिक अधिकार छैन। घर मेरो पनि जल्यो,घर जलेको बात पछि होला, पहिला राष्ट्रघात नहोस्। लक्षिण राम्रो छैन, Gng-Z मध्ये एकजना प्रधानमन्त्री भैहाल्नुस्। त्यसलाई संवैधानिक कसरी बनाउने काम राष्ट्रपतिको हो।

संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन्। तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन्।

‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्।

संवेदनशिल समयमा विकास हुने घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्नसक्ने इमान्दार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले कार्कीको नाम प्रस्ताव गरिएको बताइएको छ। बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए।

बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थि । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ।

अराजक गतिविधि गर्ने २७ जना पक्राउ, लुटिएका ३३ लाख नगदसहित हतियारहरू पनि बरामद

नेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो।

पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।
त्यस्तै उनीहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामदसमेत गरिएको सेनाले जनाएको छ। काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट उक्त रकम बरामद गरिएको हो।

त्यस्तै काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरू पनि बरामद गरिएको सेनाले जनाएको छ। त्यस्तै २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको सेनाले जनाएको छ।

त्यस्तै ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको सेनाले जनाएको छ।

देशभर जारी भयो कर्फ्यू आदेश, सहकार्यका लागि सेनाको अपील

नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सम्म देशभर निरन्तर रहने जानकारी दिएको हो। यस्तै सेनाले भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने बताएको छ।

सेनाले अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैसँग अपिल गरेको छ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना हुँदा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको सेनाले जनाएको छ।

संयमता अपनाएर संवाद गर्न संयुक्त राष्ट्रसंघका महासचिवको अपील

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयमता अपनाउन आग्रह गरेका छन्। महसचिव गुटरेसले सामाजिक सञ्जालमार्फत संयमता अपनाएर रचनात्मक बाटो तय गर्न आग्रह गरेका हुन्।

उनले आफूले नेपालमा विकसित घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गरेका छन्। ‘नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसालाई थप बढ्नबाट रोक्नका लागि गहन अनुसन्धान, संयम र रचनात्मक बाटो तय गरेर संवाद गर्न आग्रह गर्दछु,’ उनले भनेका छन्।

उनले मानव अधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्। जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन्।