नेपाल जीएसआईमा बआद्ध भएकोबारे सांसद सिंहले मागे प्रधानमन्त्रीको जवाफ

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभमा आबद्ध भएको विषयमा आपत्ति जनाएका छन्। शून्य समयमा बोल्दै सांसद सिंहले जीएसआईको विषयमा नेपाल र चीनको धारणा फरक फरक रहेको बताए।

‘नेपाल र चीनले आफ्नो वक्तव्यमा जीएसआईको सवालमा फरक फरक वक्तव्य जारी गरेको छ। चीनको परराष्ट्र मन्त्रालयले नेपाल जीएसआईमा आबद्ध भइसकेको भनेको छ। तर, नेपालले त्यो विषयमा कुनै मेन्सन नै गरेको छैन। सत्य के हो?,’ उनले प्रश्न गरेका छन्।

नेपालको संविधानले नै परराष्ट्रको पञ्चशील नीति अपनाउने भनेको उनले बताए। तर, त्यस विपरीत संविधान नै उल्लंघन गर्ने गरी चिनियाँ सुरक्षा रणनीतिको हिंसा नेपाल बन्न लागेकोमा उनले आपत्ति जनाए। उनले कांग्रेस र एमालेले निर्णय गरेरै जीएसआईमा आबद्ध भएको हो भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्। भिडियो हेर्नुस्:

प्राधिकरणलाई सञ्चार मन्त्रालयको निर्देशन- दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउनू

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो।

सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो।

‘सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ। उक्त आदेश परिपालनाका लागि मिति २०८२।०५।०९ मा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात (७) दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण गर्नका लागि मिति २०८२।०५।१२ मा सार्वजनिक सूचना प्रकाशन गरिएकोमा तोकिएको समय सिमा भित्र सूचीकरणका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

फेसबुक र युट्युब बन्द गर्ने सरकारको निर्णय

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो।

सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको स्रोतको भनाइ छ।

यसअघि सर्वोच्च अदाल‌तले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।

रेशम-रञ्जिताबीचको समानान्तर गतिविधि बन्द भएको दिन नाउपाले गति लिन्छ : गणेश चौधरी

पछिल्लोपटक यल्लो प्यागोडा होटलमा केन्द्रीय कमिटी बैठक के का लागि बसेको थियो ? एजेन्डा के थिए त्यस बैठकका ?

पहिलो त पार्टीलाई ट्रयाकमा ल्याउनु थियो । अरू दुईतीनवटा कुरा थिए । पहिलो कुरा त विधान संशोधनको थियो । विधान संशोधन गर्न किन जरुरी भयो भने पहिले पार्टी दर्ता गर्दा जुन केन्द्रीय समिति थियो, त्यो मात्रै अहिलेसम्म वैधानिक भयो । हामीले टीकापुर महाधिवेशन गर्‍यौँ । रेशमलाल चौधरी त्यसबाट अध्यक्ष हुनु भयो तर वैधानिक हुनु भएन ।

हालै मात्र काठमाडौँमा फेरि अर्को राष्ट्रिय भेला आयोजना भयो । तर त्यो पनि वैधानिक नभएपछि पार्टीलाई कसरी अगाडि बढाउने विषयमा बैठक राखिएको हो । केन्द्रीय कमिटिको बैठक राखेर पार्टीलाई ट्रयाकमा ल्याउनुपर्छ भन्ने हाम्रो मत थियो । त्यो बैठकमा पार्टी खोल्दाका २१ जना संस्थापक केन्द्रीय सदस्य थिए । बैठकमा संस्थाप केन्द्रीय सदस्य, संघीय सांसद, प्रदेश सांसद र पालिकाका प्रमुख-उपप्रमुखलाई समसामयिक विषयमा छलफल गर्ने र विधान संशोधनको मुख्य एजेन्डासहित यो बैठक बसेको हो ।

तर, उक्त बैठकमा त संस्थापक रेशम चौधरीसहित उहाँको टीमको त कोही देखिनु भएन नि ?

उहाँको टीमको को हो भन्ने प्रश्न छ यसमा । म पनि त्यो बैठकमा थिएँ । त्यहाँ २१ जनामा केन्द्रीय कमिटीका १३ जना संस्थापक सदस्य उपस्थित थिए । ती २१ जनामा कतिपय विदेश, कतिपय व्यस्त भएकाले आउन नसकेका हुन् । सबै आउनसक्ने अवस्था भएन । केही मान्छे नआउँदैमा रेशम पक्ष र रञ्जिता श्रेष्ठ पक्ष भनेर व्याख्या गरिनु गलत छ । यसले केही अर्थ राख्दैन ।

रेशम चौधरीले पहिलो राष्ट्रिय भेला गरेर रञ्जितालाई अध्यक्ष र पार्टीको साधारण सदस्यबाटै हटाएको होइन र ?

त्यो राष्ट्रिय भेला विधि र पद्धतिलाई टेकेर गरिएको हो कि होइन भन्ने मुख्य कुरा हो । निश्चितरुपमा पार्टी निर्वाचन आयोगमा छ । निर्वाचन कानुनले पार्टी सदस्य नै नरहने गरी निष्कासन गर्न दिँदैन, मिल्दैन । त्यो नैतिकताको कुरा होइन ।

राष्ट्रिय भेला बोलाउने पनि विधि र पद्धति छ । राष्ट्रिय भेला त अध्यक्षले नै बोलाउने हो । तर मैले चिठी हेरेअनुसार त्यसबेलाका संसदीय दलका नेता गंगाराम चौधरीले हस्ताक्षर गरेर त्यो भेला बोलाइएको छ । अध्यक्षमा अधिकार हुँदा हुँदै संसदीय दलको नेताले त्यसरी भेला बोलाउन मिल्छ ? अनि त्यसले वैधानिकता पाउँछ ?

२०७९ को पहिलो चुनावमा प्रतिस्पर्धा गरेयता नै नाउपामा कलह छ । सुरुमै राम्रो छलाङ मारेको नाउमा अर्को चुनावमा नपुग्दै किन यति धेरै विवाद र किचलो ? यसले २०८४ सम्म नाउपालाई कहाँ पुर्‍याउला ?

०८४ सम्म कहाँ पुग्छ, म भविष्यवाणी गर्न त सक्दिनँ । तर अहिले जुनखालको विवाद आइरहेको छ नि ! यो राजनीतिक संस्कार हो कि होइन ? गम्भीर प्रश्न छ । राष्ट्रिय भेला भनिएको छ नि ! राष्ट्रिय भेला जसले पायो त्यसले बोलाउने त्यो राजनीतिक संस्कार हो ?

कम्तीमा पोलिटिकल कल्चर त हुनुपर्‍यो नि ! राजनीतिक संस्कारको अभावमा हाम्रो पार्टीमा अलिअलि समस्या छ । यसलाई कसरी विधि–पद्धतिमा लाने भनेर अस्तिको केन्द्रीय कमिटी बैठकले एउटा अभ्यासको खाका कोरेको छ । त्यो भयो भने ०८४ मा फेरि पनि पुरानै जागरण आउन सक्छ ।

केन्द्रीय कमिटी बैठकमा रेशमबारे कुरा भयो कि भएन ? उहाँहरूलाई पनि समेट्ने कुरा के भयो ?

केन्द्रीय कमिटीमा पर्याप्त छलफल भएको छ । यो पार्टी किन जन्म्यो भन्नलाई पनि कारण छ । यो पार्टी जन्मिुनको पछाडि मुद्दा र एजेन्डा छ । हो त्या एजेन्डामा सबैजना सहमत हुन सक्छन् । रेशम पनि, रञ्जिता पनि सहमत हुन सक्छन् । सबै सहमत हुन सक्दा नाउपा फेरि एक हुन सक्छ ।

२०७९ को चुनावमा नाउपा थारुबहुल क्षेत्रबाट उदाएको थियो । नाउपाको यो विवादले अल्पसंख्यक र आदिवासीको एजेन्डा भुले जस्तो लाग्दैन ?

होइन, तपाईंले भनेजस्तो आफ्नो व्यक्तिगत नेचर हुन्छ । मैले २०७९ को चुनाव लड्दा पहिचानको कुरा गरेको छु । अब कतिपयले सत्तामा गइसकेपछि मुद्दा कति उठायो भन्ने होला । तर जुनखालको पीडा छ नि, त्यो त मानिसले सितिमिती भुल्छन जस्तो लाग्दैन । हाम्रो योगदान र संघर्षको इतिहास मर्दैन । सत्तामा पुगेको मान्छेको प्रवृत्ति फेरिन सक्छ तर ग्रास रुटमा भने अवस्था त्यही छ । ग्रास रुटबाट उठेको पार्टी भएकाले नाउपाले आफ्नो एजेन्डा भुल्दैन ।

अहिले पनि टीकापुरकै केशमा मुद्दा मामिला भोगिरहेका होलान् । त्यो समस्या समाधानका लागि के गर्‍यो नाउपाले ?

यो चाहिँ मुद्दा नाउपाको होला । तर यो समग्र पीडित मान्छेको मुद्दा हो । थारु होस् या गैरथारु अन्यायमा परेको कसैले सहँदैन । सामाजिक न्याय भयो कि भएन भन्ने मान्छे पनि त छन् । जस्तै, लाल आयोगको प्रतिवोदनको कुरा छ नि, त्यो प्रतिवेदन सार्वजनिक हुनुपर्छ कि पर्दैन ? भन्ने कुरामा अरुले पनि उठाइदिनुपर्छ । कमसेकम त्यति हुन सकेमा सत्य कुरा त लुक्दैनथ्यो, मानिसहरूले पनि वास्तविकता बुभ्न पाउँथे । गणतन्त्रमा घटनाको वास्तविकता नै लुकाएपछि त कुरा बिग्रियो नि ।

रेशमकै केशमा उनलाई मुद्दा लाग्यो । राज्यको कानुनले राजनीतिमा फर्किनै नसक्ने बनाइदियो । त्यो पनि त एउटा अन्याय होला नि? नाउपाको विवादले त्यसलाई त ओझेलमा पार्‍यो नि ?

नाउपाभित्रै पनि केही समस्या छ । अपराध स्वीकार्ने र नस्वीकार्ने कुरा मुख्य हो । मैले अपराध गरेको भए स्वीकार्ने कुरा भयो । तर गर्दै नगरेको अपराध किन स्वीकार्ने ? अन्यायको कुरा चाहिँ राज्यले कतिसम्म गर्न सक्छ भन्ने हो । तपाईंसँग म एउटा कुरा गर्न सक्छु । म थारु समुदायबाट जानकी गाउँपालिकाको अध्यक्ष भएको छु ।

त्यहाँको अवस्था म बताउँछु । मेरा बुवा, हजुरबुवा, जिजुबुवा त्यही तराईको भूगोलमा बस्नु भयो । अहिले पनि मेरो आर्थिक अवस्था मेरा बाजेको जस्तै नै छ, कुनै सुधार भएको छैन । अब पहाडतिरबाट झरेका गैरथारुको तीन तलाको घर छ, गाडी छ। त्यहीँ पुस्तौँदेखि बसेकाको आर्थिक हैसियत उस्तै छ, कुनै परिवर्तन छैन । तर बसाइँ सरेर आएको मान्छेको आर्थिक हैसियत ह्वात्तै माथि पगेको छ । यसमा राज्यको पैसाले कसरी फाइदा लियो, राज्यल कसरी लगानी गर्‍यो भन्ने हामीले सोच्नुपर्छ ।

पहिलो लगानी त आदिवासीमाथि हुनुपर्थ्यो होला नि ?

मेरो पालिका पनि कर्णाली नदी किनारमा जोडिएको छ । त्यहाँको आदिवासी समुदायले त्यसबाट केही फाइदा लिन सकेको छैन । अर्को समुदायले लिएको फाइदा पनि हेर्नु जरुरी छ । त्यही भएर यस्ता कुरामा सामाजिक न्याय चाहिन्छ कि चाहिँदैन भन्ने बुझ्न जरुरी छ ।

प्रसंग फेरौँ, नाउपाको कलहले रुपन्देही-३ को उपनिर्वाचनमा भागै लिन नसक्ने अवस्था आयो । संघीय लोकतान्त्रिक मधेसी मोर्चाले पनि नाउपालाई सघाउने भनेको थियो । तर रेशम र रञ्जिताको विवादले भोलिका दिनमा गाह्रो होला नि, ग्राउन्ड खाली गर्दै जाँदा ?

कुनै पनि कुरा अघि बढेपछि एक तहमा पुग्ने रहेछ । फेरि तलै झर्छ । नाउपामा अहिलेको यो समस्या पिकमा छ । अब यो तल झर्ला नि !

विवाद मिल्ने सम्भवाना छ ?

यसमा चाहिँ कसको पछि लाग्ने भन्ने कुरा हो । व्यक्तिको पछि लाग्ने कि मुद्दाको पछि लाग्ने ? मुद्दा उठ्नुपर्छ भन्ने मान्छे एक ठाउँमा आउँछन् । अहिलेको विवादले धेरैलाई पीडा भएको छ । त्यसैले अब चाँडै एक ठाउँमा आउँछन् । समाधान पनि निस्किन्छ ।

रेशम र रञ्जिता मिल्ने विकल्प र बिन्दु चाहिँ के हुन् त?

अहिले पार्टीले रेशमलाई संरक्षक र रञ्जितालाई अध्यक्ष भनेको छ । अहिले मैले विधान पढेँ, हेरेँ, संरक्षक भनेर कहीँ लेखेको छैन । तर, हामी जस्ता कार्यकर्ताले रेशमलाई संरक्षक मानेका छौँ । त्यसमा कारण छ नि त । हिजो रेशम जेलमा रहँदा अब यो मुद्दा उठाउन सामाजिक संस्थाले हुन्न, राजनीतिक संगठन नै चाहिन्छ भन्ने हाम्रो निष्कर्ष हो । त्यही छलफलअनुसार रेशमकै सल्लाहमा यो पार्टी खडा भएको हो ।

संरक्षकको जिम्मा रेशमले नै लिनुपर्छ । रेशमकै नेतृत्व र सल्लाहमा पार्टी जन्मेको हो । अहिले अदालतको फैसलाअनुसार रेशमलाई त कानुनले चिन्दैन । उनलाई अधिकार हुन्न । संरक्षकको भूमिका रेशमले नै गर्ने, कार्यकारी भूमिका अरुले गर्नेबित्तिकै विवाद मिल्छ, पार्टी अघि बढ्छ ।

रेशमले कार्यकारी अधिकार लिन खोज्दा देखिएको समस्या हो त यो ?

अब दुईजनाबीच सहमति भयो भने पार्टी अघि बढ्छ । रेशम र रञ्जिता दुवैले एकअर्काको अस्तित्व स्वीकार्नुपर्छ । राजनीतिमा आलोचना, आत्मआलोचना र विवाद पनि हुन्छ । गल्ती गर्दा आत्मआलोचना नगर्दा समस्या भएको हो । पार्टीमा देखिएको विवादको जिम्मा कार्यकारीका हकममा रञ्जिताले पनि लिनुपर्छ । रेशमले पनि संरक्षकको भूमिकामा रहेर अघि बढ्नुपर्छ ।

विवाद मिलाउन केही पहल भएको छ ?

हाम्रो केन्द्रीय कमिटी बैठकले दुवै नेतालाई मिलेर जान दबाब दिएको छ ।

सत्तामुखी भएर समस्या भएको त होइन ?

राजनीति गर्ने सत्ताकै लागि हो । सत्तामा नजाने भए किन राजनीति गर्ने र ? तर सत्तामा कसरी सहभागी हुने, कुन ठाउँमा हुने भन्ने पाटो पनि छ ।

अरुण चौधरीको राजीनामा अझै स्वीकृत भएको छैन, सरकारलाई समर्थन फिर्तामा पनि केटाकेटीपन देखियो नि ?

अरुण चौधरीले राजीनामा दिएको हो भने प्रधानमन्त्रीले किन स्वीकृत गरेनन् ? त्यो नाउपाको गल्ती हो । यो त प्रधानमन्त्रीले बुझ्नुपर्छ नि ! सरकारले पनि यसबारे सोच्नुपर्छ । विधि होला नि राजीनामा स्वीकृत गर्ने ?

नाउपा अहिले सत्तामा छ कि प्रतिपक्षमा ?

त्यो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोध्नुपर्छ । राजीनामा दिइसकेपछि स्वीकृत गर्ने जिम्मा प्रधानमन्त्रीको हो । राजीनामा दिएपछि त दललाई पनि प्रतिपक्षमा पठाउनुपर्छ ।

म पालिकाको अध्यक्ष, मेरो पालिकाको सदस्य कसैल राजीनामा दिएमा स्वीकृत गर्ने प्रावधान त छ नि । त्यहाँ नैतिकताको कुरा जोडियो कि जोडिएन ? यसमा नाउपाले मात्रै जिम्मेवार हुनुपर्ने कुरा हुँदैन ।

तपाईंले भनेअनुसार नाउपामा ठूला दलले खेलिदिए भन्ने हो ?

हुन सक्छ त्यो पनि । तर मसँग ठ्याक्कै हो भन्नलाई प्रमाण छैन ।

नाउपाको भविष्य अब कस्तो हुन्छ ? नाउपा विभाजनतिर जान्छ कि रेशम-रञ्जिता मिल्छन् ?

अब, विभाजनले के गर्छ, कसलाई फाइदा गर्छ भन्ने हो । हिजोका दिनमा उठाइएका मुद्दाको चिन्ता भएमा विभाजन हुँदैन ।

तपाईं जनप्रतिनिधि पनि हुनुहुन्छ। पार्टीमा देखिएको विग्रहमा मतदाताले त सोध्लान् नि?

अवश्य पनि सोध्छन् नि, प्रश्न आइरहेको छ । त्यसको परिणामस्वरुप हामीले अध्यक्षलाई दबाब दिएर केन्द्रीय कमिटी बैठक राखेको हो । हामीले कुरा गरेकै कारण यो बैठक राखेर छलफल गरेका हौँ । हामी विधान संशोधनको प्रक्रियामा पनि छौँ । तत्कालका लागि जुन जुन बुँदामा समस्या छ, त्यसलाई संस्थापक सदस्यहरूले विधान संशोधनमार्फत मिलाउनु हुन्छ ।

विवाद बढ्दै गएमा रेशम चौधरीलाई पार्टीबाट निकाल्ने हो ? विकल्प के हो त?

रेशम चौधरीलाई नमिलाउने भन्ने कुरै छैन । खासमा यो विवाद रेशमले नै मिलाउने हो । संरक्षकले त जोड्ने हो, विग्रह ल्याउने होइन । संरक्षकले बचाउने गरी अघि बढे नाउपाको सबै विवाद मिल्छ ।

रेशमले सामाजिक सञ्जालमा फ्रस्टेसन पोखिरहेका हुन्छन् । मिल्नै नहुने कारण के छ ?

सामाजिक सञ्जाल चाहिन्छ, नचलाएर बस्न सकिन्न । रेशमजीले आफ्ना कुरा सामाजिक सञ्जालमा राख्न हुने कि नहुने ? उहाँको कुरा भयो । तर रेशम र रञ्जिता नमिली उपाय छैन ।

तपाईंहरूले ती दुईजनालाई एकै ठाउँ राखेर किन कुरा गराउन नसक्नु भएको ?

अब दुईजनालाई सँगै राख्ने कुरा चाहिँ कहाँ हो ? विधानले उनीहरू दुईजनालाई सँगै राख्नु भनेको छैन । खासमा विधानले संरक्षकका रुपमा रेशमलाई चिन्दैन । एकछिनलाई मानौँ देशमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रणाली छ । प्रधानमन्त्रीले गरेको निर्णय राष्ट्रपति सेरेमोनियल भूमिकाअनुसार मान्दै जाने हो ।

केही कुरा अफ्ठ्यारो भए राष्ट्रपतिले सरकारलाई नै फर्काउने गरेका छन् । रेशमले पनि त्यस्तै भूमिका निर्वाह गरेमा सबै कुरा मिल्छ । संरक्षकको काम बचाउने हो, कार्यकारी कमिटी र अध्यक्षले गरेको गलत कामको खबरदारी गरेर सच्याउन लगाउनुपर्छ । तर समानान्तर गतिविधि गर्ने होइन । रेशम रञ्जिताबीचको समानान्तर गतिविधि बन्द भएको दिन नाउपाले गति लिन्छ ।

ज्ञानेन्द्र खड्का/खबरहबबाट साभार

राजनीतिक अस्थिरताबीच तिब्बतमा सी जिनपिङको शक्ति प्रदर्शन

सन् २०२५ अगस्ट २० मा, चिनियाँ राष्ट्रपति सी जिनपिङले तथाकथित तिब्बत स्वायत्त क्षेत्र (TAR) स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसरमा ल्हासा भ्रमण गरे। सन् २०२१ पछि तिब्बतमा यो उनको दोस्रो आधिकारिक भ्रमण हो। यस भ्रमणको बहुआयामिक सन्देश थियो, तिब्बतमाथि चीनको नियन्त्रण पुष्टि गर्नु, भारततर्फ कूटनीतिक चेतावनी दिनु, र बेइजिङभित्र देखा परेका आफ्नै राजनीतिक कमजोरीका चर्चा नियन्त्रण गर्ने प्रयास गर्नु।

तिब्बतमा उनले दिएका अभिव्यक्तिहरू “राजनीतिक स्थिरता” र “जातीय एकता” को विषयमा केन्द्रित थिए, जहाँ उनले स्थानीय अधिकारीहरूलाई चिनियाँकरण अभियानमा अझ तीव्र रूपमा लाग्न निर्देशन दिए। यस्तो भाषिक शैलीले तिब्बती संस्कृति, धर्म, र पहिचानमाथि दशकौंदेखिको कम्युनिष्ट पार्टीको दमनकारी नीति झल्काउँछ। १४औं दलाई लामाको ९०औं जन्मोत्सवको केही हप्तामै गरिएको यो भ्रमणले तिब्बती नेतृत्वको उत्तराधिकारप्रति बेइजिङको चासो र असुरक्षा उजागर गर्‍यो। थप रूपमा, सीको भ्रमण चिनियाँ विदेशमन्त्री वाङ यीको भारत यात्रा सम्पन्न भएको केही दिनपछि भएकोले, यसले भारतलाई संकेत दिन खोजेको देखिन्छ, तिब्बत चीनको रणनीतिक प्राथमिकताको केन्द्रमै रहन्छ।

सन् १९५९ मा दलाई लामाले चीनविरुद्धको असफल विद्रोपश्चात निर्वासन रोजेको ६ वर्षपछि, चीनको कम्युनिष्ट पार्टी (CCP) ले १९६५ मा तिब्बत स्वायत्त क्षेत्र जबरजस्ती स्थापना गर्‍यो। त्यसबेलादेखि तिब्बतीहरू व्यापक दमन, पुनः शिक्षा शिविर, निगरानी, मठहरूको ध्वंस, र तिब्बती बौद्ध धर्ममाथिको योजनाबद्ध नियन्त्रणका शिकार भएका छन्। “तिब्बती बौद्ध धर्मलाई समाजवादी समाजमा अनुकूल बनाउने” र “राष्ट्रिय साझा भाषा” मार्फत मन्डारिन भाषाको थोपथाप गर्ने सीको पछिल्लो भनाइ त्यही पुरानै रणनीतिको निरन्तरता हो, सांस्कृतिक पहिचानको मेटावट।

यसै भ्रमणका क्रममा सीले यार्लुङ साङ्पो नदीमा निर्माणाधीन, अनुमानित १६७ अर्ब अमेरिकी डलर बराबरको जलविद्युत् परियोजनाको समेत समर्थन गरे, जसले तिब्बत चीनको प्राकृतिक स्रोतसम्बन्धी आकांक्षाको मुटुमा रहेको पुष्टि गर्‍यो। खनिज र जलस्रोतले भरिपूर्ण तिब्बत, भू-राजनीतिक हिसाबले पनि अत्यन्तै संवेदनशील क्षेत्र हो। सीले तिब्बतलाई “संसारको छाना” र “एसियाली पानीको धरहरा” को रूपमा व्याख्या गर्नु, बेइजिङले तिब्बतका प्राकृतिक स्रोतहरूलाई रणनीतिक हतियारका रूपमा प्रयोग गर्ने नियतको स्पष्ट सङ्केत हो। भारतका लागि, यसले संकेत गर्दछ कि सम्बन्ध सुधारका कुराकानी भइरहे पनि, बेइजिङ अझै पनि कूटनीतिक भाषाभन्दा बढ्ता जबरजस्तीको रणनीतिमा विश्वास राख्छ।

भ्रमण स्वयम् गोप्य वातावरणमा सम्पन्न भयो। चिनियाँ अधिकारीहरूले कार्यक्रमको जानकारी अगस्ट २० को राति ८ बजे मात्र सार्वजनिक गरे, कार्यक्रम सुरु हुनु १२ घण्टा नपुग्दै। सीसँगै गएको उच्चस्तरीय प्रतिनिधिमण्डल असाधारण रूपमा शक्तिशाली र प्रभावशाली थियो। वाङ हुनिङको नेतृत्वमा रहेको टोलीमा सीका निकटतम सहयोगी कै क्यू, उपप्रधानमन्त्री हे लाइफेङ, सार्वजनिक सुरक्षा मन्त्री वाङ सियाओहोंग, अनुशासन आयोगका सचिव ली सी, CPPCC उपाध्यक्ष हु चुनहुआ, संयुक्त मोर्चा विभाग प्रमुख ली गान्जी, र केन्द्रीय सैन्य आयोग (CMC) अनुशासन निरीक्षण आयोगका सचिव झाङ शेङमिन समेत समावेश थिए।

विशेषगरी, पूर्व राष्ट्रपति हु जिन्ताओका छोरा हु चुनहुआ, जो कहिल्यै पनि सी जिनपिङको उत्तराधिकारीको रूपमा हेरिन्थे—को उपस्थितिलाई गुटीय सन्तुलनको संकेतका रूपमा लिइएको छ। साथै, सेनाभित्र भ्रष्टाचार निगरानी गर्ने झाङ शेङमिनमात्र एक मात्र वरिष्ठ सैन्य प्रतिनिधि थिए, जसको नाम आधिकारिक रूपमा सार्वजनिक गरियो, अन्य कुनै पनि उच्च सैन्य अधिकारीको उल्लेख गरिएको थिएन। यसले सैन्य नेतृत्वमा सीको प्रभाव कमजोर बन्दै गएको अनुमानलाई बल दिन्छ।

सीले स्थानीय अधिकारी, सुरक्षाकर्मी र चिनियाँ समर्थित पञ्चेन लामासँग भेटघाट गरे। उनले पोताला दरबारमा प्रत्यक्ष सम्बोधन नगरे पनि, सैनिक र कार्यकर्तासँगको अन्तर्क्रिया व्यापक रूपमा प्रचार गरियो। चिनियाँ राज्य सञ्चार माध्यमहरूले उक्त भ्रमणलाई भव्य विजयको रूपमा प्रस्तुत गरे, ल्हासाका पर्खालहरू सीको चित्रले भरिए, र उनलाई “सर्वोच्च नेता” तथा “राष्ट्रका मूल आधार”को रूपमा चित्रित गरियो। तथापि, गोपनीयता र अत्यधिक सुरक्षा प्रबन्धहरूले तिब्बती जनतामाथिको अविश्वास र दलाई लामाको उत्तराधिकारप्रति चिन्तालाई झल्काउँछ।

यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष के थियो भने, यो जुलाई २५ मा ग्रेट हल अफ द पिपलमा नयाँ राजदूतहरूलाई स्वागत गरेपछि सीको पहिलो सार्वजनिक उपस्थितिको रुपमा देखा पर्‍यो। त्यसपछिका दिनहरूमा उच्च अधिकारीहरू बेइदाइहे बैठकका लागि बेइजिङबाट बाहिर गएका थिए। यिनै समयमा, अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको खबर आएको थियो, जसले सीका निकटवर्ती सञ्जालमा भएको सम्भावित सशोधनलाई औंल्याउँछ। यस्तो पृष्ठभूमिमा, तिब्बत भ्रमण एक रणनीतिक शक्ति प्रदर्शन थियो, जसले सी जिनपिङ अझै पूर्णरूपमा नियन्त्रणमा छन् भन्ने सन्देश दिन खोज्यो।

भ्रमणको भव्यता, विशाल प्रचार, र कडा रूपमा पूर्व-नियोजित “स्वयंस्फूर्त उत्सव”हरूले सीले आफ्नो प्रभावशाली उपस्थिति देखाउन खोजेको प्रष्ट संकेत दिन्छ। यद्यपि, यही भ्रमणको केही दिनपछि सेप्टेम्बर ३ मा आयोजना हुने दोस्रो विश्वयुद्धको विजय दिवस सैन्य परेडको छायाँमा यो नाटकीयता ओझेलमा पर्न सक्छ। त्यस परेडमा PLA भित्र जनरल झाङ युक्सियाको प्रभाव बढेको चर्चा छ। यसको ठीक विपरीत, सीको तिब्बत भ्रमणले चीनको सर्वोच्च नेताका रूपमा आफ्नो प्रभाव कायम छ भन्ने सन्देश दिन खोजेको थियो, even if सेनामाथि उनको नियन्त्रण केही खस्किएको देखिन्छ।

तर तिब्बतीहरूका लागि यो भ्रमण कुनै आशा होइन, बरु थप नियन्त्रण र दमनको सूचक बन्यो। अन्तर्राष्ट्रिय संस्था International Campaign for Tibet (ICT) ले यो भ्रमणपछि तिब्बतमा मनमानी गिरफ्तार, कडा निगरानी र जनजीवनमाथि नियन्त्रण झन् बढ्ने चेतावनी दिएको छ। कार्यक्रमको गोपनीयता, सशस्त्र सुरक्षाको तालाबन्दी र कृत्रिम वफादारी प्रदर्शनहरूले बेइजिङको गहिरो असुरक्षा झल्काउँछ, जसले तिब्बतमा आफूले लिएको जबर्जस्ती नियन्त्रणमाथि आश्वस्त हुन सकेको छैन।

सी जिनपिङको तिब्बत भ्रमण “जातीय एकता” को उत्सवभन्दा बढी एक नियोजित शक्ति प्रदर्शन थियो, जुन तीन प्रमुख पक्षलाई लक्षित थियो, चिनियाँ शासनविरुद्ध अझै प्रतिरोध गरिरहेकातिब्बती जनसमुदाय; भारत, जसका लागि तिब्बत रणनीतिक सीमा सुरक्षा मुद्दा हो; र अन्ततः चीनभित्रै बढ्दो गुटीय मतभेदका चर्चाबीच अस्थिर देखिन थालेको पार्टी नेतृत्व। यस्तो भ्रमणले स्पष्ट गर्छ, शक्ति प्रदर्शनमा निर्भर शासन प्रणालीहरू झन् असुरक्षित महसुस गर्दा अझै कडा नियन्त्रण र नाटकीय प्रदर्शनीतर्फ आकर्षित हुन्छन्।

तिब्बती जनताका लागि त, यस भ्रमणले केवल यति मात्र पुष्टि गर्‍यो, बेइजिङको शासन तिब्बतमा डर, बलप्रयोग र निगरानीका माध्यमबाट मात्र कायम राखिएको छ। विश्वका लागि, यो भ्रमण एक स्मरण थियो

२३ वर्षीया रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोन मृत फेला, ९ महिने बच्चा सिकिस्त

सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन्। लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन्।

नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ।

घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो। त्यही फल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो। आमाले घरायसी विवादमा दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

नेपालमा चिनियाँ नागरिकको आपराधिक गतिविधि बढ्यो

सागर चन्द/नेपालभ्युजबाट

७ साउन २०८२ मा दूई किलो सुन र स्रोत नखुलेको २४ लाख रुपैयाँसहित दुई चिनियाँ नागरिक ठमेलबाट पक्राउ परे । ठमेलमा रहेको चिनियाँ होटलमा बसेर कारोबार गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।

यी दुई जना पक्राउ पर्नुभन्दा ६ दिन अगाडि मात्र काठमाडौंको सिनामगंलबाट २ करोड २० लाख रुपैयाँ बराबरका विद्युतीय उपकरणसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनको साथबाट ल्यापटपका ब्याट्री, सीसी क्यामेरा, र ल्यापटपका पाटपुर्जा फेला परे । राजस्व छलेर ल्याइएका यी सामान विक्री गर्न उनले सिनामगंलमा गोदाम नै बनाएका थिए ।

पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरूको आपराधिक गतिविधिमा बढिरहेको संलग्नता देखाउने यी केही घटना मात्र हुन् । दुई वर्ष अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको एक सय किलो सुन तस्करीमा पनि चिनियाँ नागरिक सामेल थिए । त्यतिखेर ७ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

राजधानी काठमाडौंमा मात्र होइन चिनियाँ नगारिकहरूको आपराधिक जालो देशभर फैलिएको छ । १२ कात्तिक २०७८ मा संखुवासभामा नक्कली रुद्राक्ष बनाउन खटिएका दुई जना चिनियाँ नागरिक पक्राउ परे । १८ चैत २०८० मा पर्सामा तीन जना चिनियाँ नागरिक पक्राउ परे ।

अनलाइनमार्फत ठगी गर्ने चिनियाँहरूले पर्साको विरगञ्ज महानगरमा एउटा घर नै भाडामा लिएर ठगी धन्दा चलाइरहेका थिए । त्यतिखेर उनीहरूको साथबाट १२० थान कम्प्युटर, ३५ थान मोबाईल, १३ वटा भारतीय सिमकार्डसमेत प्रहरीले बरामद गरेको थियो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा चिनियाँहरूको आपराधिक गतिविधि बर्सेनि बढिरहेको छ ।

नेपाल प्रहरीको विवरणअनुसार नेपालमा चिनियाँ नागरिकले प्रविधिको प्रयोग गरेरसमेत अपराध गरेको पाइएको छ । प्रहरीका अनुसार अवैध मुद्रा, सुन तस्करी, जर्बजस्ती करणी, वन्यजन्तुको अखेटोपहार ओसारपसार, मानव बेचबखिन, जुवा-सट्टेबाजी, लागुऔषधलगायतका अपराधमा कुनै न कुनै रूपमा चिनियाँ नागरिकको संलग्नता देखिन्छ ।

यद्यपि, नेपालमा रहेका धेरैजसो चिनियाँ नागरिक पर्यटक, व्यवसायी वा कामदारका रूपमा कानुन पालना गर्दै बसेका छन् । तर, केही व्यक्तिहरूको आपराधिक संलग्नताले नेपालको नियमन, अध्यागमन र सुरक्षा प्रणालीका समस्याहरूलाई सतहमा ल्याएका छन् ।

१५ फागुन २०७९ मा प्रहरीले ललितपुरबाट बाल यौन शोषण गरेको अभियोगमा एक जना चिनियाँलाई पक्राउ गरेको थियो । ‘कोका न्यु प्युरी एन्ड म्याट्रेस’ नामको कम्पनीको आवरणमा चिनियाँ नागरिकले नाबालिकहरूलाई डान्स बारमा नचाउने र आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेका थिए । प्रहरीले उनको अपार्टमेन्टबाट दुई नाबालिका र ४ जनालाई ठमेलका चिनियाँ डान्सबारहरूबाट उद्धार गरेको थियो ।

२०७६ को पुसमा काठमाडौंबाट एकैचोटी प्रहरीले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू विभिन्न आपराधिक गतिविधिमा सामेल थिए । तर, प्रहरीले तिनलाई मुद्दा चलाउनुको सट्टा चीनलाई बुझायो । उनीहरूलाई लिन भनेर चिनले दुईवटा विमान नै पठाएको थियो ।

नेपाल प्रहरीका भूतपूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईका अनुसार नेपालमा चिनियाँहरूको आपराधिक गतिविधिमा संगठित रूपमा उपस्थिति देखिन थालेको एक दशक जति भयो । उनी भन्छन्, ‘एक दशकयता संगठित रूपमा चिनियाँहरूको आपराधिक कार्यमा उपस्थिति देखिन थालेको हो । तर, पछिल्ला पाँच वर्षमा यो अत्यधिक बढेको छ ।’

चिनियाँहरूले सजिलै नेपालमा भिसा पाउने र अध्यागमनमा पनि कडाइ नहुने हुँदा चिनियाँ अपराधीका लागि नेपाल सजिलो गन्तव्य भएको बताउँछन् पूर्वएआईजी राई ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अन्जन न्यौपानेका अनुसार चिनियाँ नागरिकले नेपालमा अन अराईभल भिसा पाउँछन् । र, एक वर्षमा १५० दिनसम्मको भिसाका लागि उनीहरूले भिसा शुल्क तिर्नु पर्दैन ।

चिनियाँहरू संसाभर फैलिँदा अपराधको पनि ‘ग्लोबलाइजेसन’ भएको ठान्छन् राई ।

उनी भन्छन्, ‘चिनियाँहरू पछिल्लो समय संसाभर फैलिएका छन् । उनीहरूको फैलावटसँगै क्राइमको ग्लोबलाइजेसन भयो । र, त्यही ग्लोबलाइज्ड क्राइमको नेपाल पनि सिकार भएको छ ।’

नेपालको कमजोर सुरक्षा निगरानी र चीनप्रति सरकारको सफ्ट नीतिका कारण चिनियाँ अपराधीका लागि नेपाल सजिलो गन्तव्य भएको बताउँछन् हालसालै अवकाश पाएका एक जना पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) ।

चिनियाँ नागरिकहरूको आपराधिक गतिविधिमा बढ्दो संलग्नता भने नेपालमा मात्र होइन, र यो एक्लो पनि होइन । सीमापार गरी सञ्चालन हुने आपराधिक सञ्जालहरू विश्वव्यापी रूपमा चुनौती बन्दै गएका छन् र विभिन्न देशका मानिसहरू यसमा संलग्न हुन्छन् । अपराधीहरूले कमजोर अध्यागमन नियन्त्रण र कानुनी व्यवस्थाको फाइदा उठाउने गर्छन् । नेपालमा देखिएको स्थिति कुनै एक राष्ट्रियता वा सरकारसँग मात्र सीमित नभई व्यापक प्रणालीगत समस्याको प्रतिबिम्ब हो ।
राई भन्छन्, ‘हाम्रो सुरक्षा निगरानी कमजोर त छँदै छ, चिनियाँप्रति हाम्रो सरकारको पनि नरम शैली छ । त्यही कारण चिनियाँ अपराधीहरू नेपालमा आउन थाले ।’

चीनसँगको कूटनीतिक र रणनीतिक सम्बन्धहरूका कारणले नेपालमा चिनियाँ नागरिकहरूलाई हेर्ने दृष्टिकोण पनि अलि फरक भएको जानकारहरू बताउँछन् । अन्य विदेशी समुदायहरूको तुलनामा चिनियाँ पर्यटकहरूका लागि प्रायः सहज भिसा नीति छ, जस्तै- सजिलो भिसा र लामो बसाइ अनुमति ।

पूर्वसुरक्षा अधिकारीहरू भन्छन्- चिनियाँ दूतावासले कानुनी मुद्दामा संलग्न चिनियाँ नागरिकहरूको मामिलामा कहिलेकाहीँ दवाब दिने र छिट्टै रिहाइका लागि पहल गर्ने गरेका छन् । यस्तो नरम व्यवहार नेपालको चीनसँगको सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने प्रयासको हिस्सा त होला तर भूराजनीतिक सन्तुलनका लागि कानुन र सुव्यवस्थामा सम्झौता गर्नु पनि अनुचित रहेको जानकारहरू बताउँछन् ।

राईका अनुसार चिनियाँ अपराधीहरू नेपालमा पर्यटक, व्यापारिक भिसामा मात्र नभई चीनले नै पनि ल्याउने गर्छ ।

उनी भन्छन्, ‘पर्यटक, बिजनेस भिसामा मात्र होइन चीनले नेपालमा बनाउने प्रोजेक्टमा ल्याउने अधिकांश कामदार चीनमा आपराधिक काममा सामेल भएका हुन्छन् । उनीहरूलाई सजाय दिन चीन बाहिर काममा खटाउने गरिन्छ ।’

कम्युनिस्टहरूले अभियुक्तलाई दिने सजायको एक स्वरूप हो ‘श्रम शिविर’ । अर्थात् यसमा अपराधीलाई जेल नभई श्रम गर्न लगाइन्छ ।

यस बाहेक आपराधिक गतिविधिमा सामेल चिनियाँ नागरिक पक्राउ गर्दा चिनियाँ दूतावासले पनि हस्तक्षेप गर्ने गरेको उनको भोगाइ छ । उनी भन्छन्, ‘कोही पक्राउ गर्‍यो वा पक्राउन गर्न खोज्यो चिनियाँ दूतावासले माथि फोन गर्छ । अनि माथिबाट तल फोन आउँछ र छाडिदेउ भन्छन्, त्यसपछि छाड्नै पर्छ ।’

२०७६ को पुसमा नेपाल सरकारले १२२ चिनियाँ नागरिकलाई चीन ‘डिपोर्ट’ गरेको थियो, जसले केही कानुनी र नैतिक प्रश्न खडा गरेको थियो । उनीहरू पक्राउ परेपछि चीनको विदेश मन्त्रालयले भनेको थियो, ‘चीन नेपालसँग कानुन कार्यान्वयनलगायत सबै क्षेत्रहरूमा सहकार्य सुदृढ गर्न तयार छ, ताकि दुवै देशबीच सीमापार अपराधविरुद्ध संयुक्त रूपमा लड्न र जनस्तरमा मैत्रीपूर्ण आदानप्रदानलाई प्रवर्द्धन गर्न सकियोस् ।’ चीनले पक्राउको काम नै उसको पहलमा गरिएको दाबी गरेको थियो ।

तर उनीहरूमाथि न कुनै अभियोजन गरियो न अनुसन्धान नै ।

अधिकारीहरू भन्छन्- नेपाल र चीनबीच सुपुर्दगी सन्धि नहुँदा पनि चिनियाँ दबाबमा नेपालमा अपराध गरेका चिनियाँ नागरिकलाई चीनलाई नै बुझाउने गरिएको छ । पक्राउ परेका १२२ जनामध्ये अधिकांश नेपालमा सूचना प्रविधिसँग सम्बन्धित अपराध – अनलाइन गेमिङ, सट्टेबाजी, ठगी र ह्याकिङमा सामेल रहेको राईको दाबी छ ।

पर्यटक भिसामा नेपाल आएर घर भाडामा लिएर बसेका ती चिनयाँ नागिरकविरुद्ध कुनै कसुर स्थापित गर्न नसकिएकाे बताएकाे थियाे त्यतिखेर प्रहरीले । पक्राउ परेका चिनियाँ नागरिकहरूले नेपालको अध्यागमन कानुन उल्लङ्घन गरेकाे बताउँदै प्रत्येक व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना तिराइएकाे थियाे ।

२०७६ को असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा नेपाल र चीनबीच पारस्परिक कानुनी सहायता गर्ने भनेर सन्धि भएको थियो । तर, चीनले भने सुपुर्दगी सन्धि पनि गर्ने प्रस्ताव गरेको थियो, गर्दै आएको छ । मानव अधिकार समूहहरू र अन्तर्राष्ट्रिय समुदायबाट आलोचना हुने सम्भावना लाई मध्यनजर गर्दै नेपालले चीन संग सुपुर्दगी सन्धि अझै पनि गरेको छैन।

उक्त सन्धि तिब्बती शरणार्थी र राजनीतिक असन्तुष्टहरूलाई लक्षित गर्न प्रयोग हुनसक्ने डर पनि त्यसबेला व्यक्त गरिएको थियो।

अर्का पूर्वएआईजी भने चिनियाँ दूतावाससँग नेपालको अनुसन्धानकारी निकायको पर्याप्त समन्वय नभएको बताउँछन् ।

उनी भन्छन्, ‘शंकास्पद चिनियाँ मान्छेका बारेमा दूतावाससँग समन्वय गर्ने अभ्यास हामीकहाँ छैन । यस्तो समन्वयको अभ्यास सरकारले कूटनीतिक तवरमै गर्नुपर्छ । यस्तो अभ्यास भयो भने अध्यागमनबाटै धेरै फिल्टर गरेर आपराधिक गतिविधि घटाउन सकिन्छ ।’

तर, चिनियाँ दूतावाससँग अनुसन्धानकारी निकायको समन्वय गराउन सरकारले चासो दिएको छैन । उनी भन्छन्, ‘अनुसन्धानकारी निकायको चिनियाँ दूतावाससँग हाई, हेल्लो मात्र छ । हाई-हेल्लोको अभ्यासले मात्र आपारधिक गतिविधि नियन्त्रण गर्न सकिँदैन ।’
सीमापार अपराधका समस्यासमाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत सुधार आवश्यक रहेको कुरामा अधिकारीहरूले जोड दिंदै आए पनि, यो कार्यान्वयन भएको छैन ।

उसो त चिनियाँ नागरिकहरू विश्वका विभिन्न देशहरूमा आपराधिक गतिविधिमा संलग्न भएको पाइन्छ, दक्षिणपूर्वी एसियादेखि युरोपसम्म । साइबर ठगीदेखि वन्यजन्तु तस्करीसम्मका घटनाहरूमा उनीहरूको संलग्नता देखिएको छ । तर तीमध्ये धेरै देशहरूले सुपुर्दगी सन्धि नभए पनि अभियोग लगाउने, अनुसन्धान गर्ने र कानुनी प्रक्रिया अघि बढाउने गर्छन् । तर नेपालमा भने प्रायः अनुसन्धान नगरी वा अभियोग नै नलगाई उनीहरूलाई देश निकाला गरिँदै आइएको छ ।

सुपुर्दगी सन्धिको अभावमा चिनियाँ नागरिकहरूलाई नेपालमै कारवाही गर्नुपर्ने विषय पनि नेपालका लागि उत्तिकै चुनौतीपूर्ण भनेछ । यसले नेपाललाई सुरक्षा सन्तुलन, मानवअधिकार, र भूराजनीतिक सम्बन्धको त्रिकोणीय दबाबबीच बाटो खोज्नुपर्ने अवस्था बनाएको त छँदै छ, नेपालको कमजोर कार्यान्वयन प्रणाली, कानुनी प्रक्रियाप्रति विश्वासको कमी वा कूटनीतिक दबाबको असर भन्ने पनि झल्काउँछ ।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार चिनियाँहरू सुरुवाती वर्षमा वन्यजन्तुको अखेटोपहार तस्करीमा सामेल थिए ।

उनी भन्छन्, ‘पहिले पहिले चिनियाँ चिनियाँहरू वन्यजन्तु र रक्त चन्दनजस्ता सामान तस्करीमा सक्रिय थिए ।’ तर, पछिल्लो समय चिनियाँहरू सुन, विद्युतीय सामग्री र प्रविधिसँग जोडिएको अपराधमा सामेल हुनेक्रम बढेको उनी बताउँछन् । ‘आजभोलि सुन, सूचना प्रविधिसँग जोडिएका अपराधमा बढी देखिन्छन्,’ मल्ल भन्छन्, ‘मानव तस्करी, लागुऔषध जस्ता अपराधमा पनि चिनियाँ सामेल छन् ।’

रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय, नाउपाबाट गएकाहरू केन्द्रीय समितिमा मनोनीत

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही ३ को उपनिर्वाचनमा धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ। चौधरीलाई उम्मेदवार बनाउने तय भएको जनमतका प्रवक्ता डा. शरद यादवले बताए ।

उनलाई गत आइतबार मात्रै चौधरीलाई नागरिक उन्मुक्ति पार्टीबाट जनमतका अध्यक्ष राउतले भित्र्याएका थिए। उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए ।

सङ्घीय लोकतान्त्रिक मोर्चाबाट साझा उम्मेदवार अघि सार्ने भएपछि असन्तुष्ट भएर जनमत अलग भएर आफ्नै उम्मेदवार तय गरेको हो ।

गएको चुनावमा प्रत्यक्षतर्फ रुपन्देही ३ मा जनमतका प्रमोदकुमार राउत ३ हजार ३१७ मत ल्याउँदा समानुपातिकतर्फ ३ हजार ७३२ मत ल्याएको थियो ।

यसैबीच नाउपाबाट जनमत प्रवेश गरेका धनिराम चौधरीसहित सरस्वती थारु, शैलेशकुमार चौधरीलगायतलाई केन्द्रीय समितिमा मनोनीत गरिएको छ।

विधान संशोधनसहित केन्द्रीय समिति अद्यावधिक गर्ने नाउपा जमल बैठकको निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो।

संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम अद्यावधिक गर्ने क्रम जनप्रतिनिधिहरुबाट सुरु हुने बताए।

उनले भने,‘सबभन्दा पहिले स्थानीय तहका जनप्रतिनिधिको नाम निर्वाचन आयोगमा अद्यावधिक गर्छौं । त्यसपछि संघ र प्रदेशका सांसद गराएपछि केन्द्रीय सदस्यहरुलाई सम्पर्कमा आउन आह्वान गर्छौ।’ निर्वाचन आयोगले महाधिवेशनबाट बनेको कमिटीलाई मान्यता नदिँदा अद्यावधिक हुन सकेको छैन । रेशम पक्षले अध्यक्षबाट रञ्जितालाई हटाउने निर्णयलाई मान्यता दिएको छैन । पण्डितका अनुसार अद्यावधिकको कार्य क्रमशः गरिने छ।

पार्टी बैठक आव्हान गरेर नाम अद्यावधिक गराउन अध्यक्ष रञ्जिताले चासो नदिएको भन्दै रेशम पक्ष उनीसँग रुष्ट भएको थियो । निर्वाचन आयोगले अध्यक्षको मान्यता रञ्जितालाई दिएपछि उनले बैठक डाकेर गराएकी हुन्। विधान संशोधन पार्टीको केन्द्रीय समितिको दुई तिहाई मतले मात्रै सम्भव हुन्छ।

रास्वपा उम्मेदवार लेखजंग थापा नाउपाका सामानुपातिक उम्मेदवार र टीकापुरबाट बनेका थिए उपाध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ। उनलाई नाउपाले समानुपातिकको बन्दसूचीमा राखेको थियो।

त्यतिमात्र होइन, उनी टीकापुर महाधिवेशनबाट उपाध्यक्षसमेत चयन भएका थिए। उक्त चुनावालई निर्वाचन आयोगले मान्यता दिएको थिएन। त्यस्तै डा. थापाकी पत्नी नुमा शर्मालाई नाउपाले लुम्बिनीमा राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनाएको थियो।

२०७९ सालमा सम्पन्न चुनावमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ उनी समानुपातिक सूचीमा रहेका थिए। उनको नाम प्राथमिकता क्रमको पाचौं नम्बरमा थियो। रुपन्देही ३ मा उपचुनाव हुने भएपछि उनी रास्वपातिर ढल्किएका हुन्।

थापाले चार महिना अगाडि पार्टीबाट राजीनामा दिँदै आफूलाई बन्द सुचीबाट हटाउन आग्रह गरेका थिए। अध्यक्ष रञ्जिता श्रेष्ठले राजीनामा स्वीकृत गरिन् र नाउपाले निर्वाचन आयोगमा पत्राचार गर्‍यो। आयोगले गत २१ साउनमा मात्रै थापालाई बन्द सूचीबाट हटाइएको लिखित जानकारी गराएको थियो।

वरिष्ठ न्युरोलोजिष्ट डा. थापा सिद्धार्थनगर-९ निवासी हुन्। नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन्।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन्।