Author: Madan Kumar
सीता चौधरीले यसकारण क्वारेन्टाइनमै विहे गरिन्
अमनलाल मोदीले भने- रेशम चौधरी, झलक भगतको अविलम्ब रिहाई होस्
देश बेचुआहरु को को हुन्? टुडिखेलमा झुन्ड्याउँ : राजेन्द्र महतो
१०८ वर्षीया गुलिया चौधरी सम्मानित
तुलसीपुर उपमहानगरपालिका १० मोतीपुरकी १०८ वर्षीया गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन्। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बिहीबार तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमबारे थाहा पाएकी उनले बाटोभरि आँखा दौडाइरहेकी थिइन्।
तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेको नेतृत्वको टोली गुलियाको सम्मान गर्न घरमा गएका थिए। उनको घर जाँदै गर्दा सबैले उनको अवस्था आँकलन गरेका थिए, ‘पाको मान्छे ओछ्यानको ओछ्यान होलिन्।’ तर, सबैले सोचेभन्दा अलग भयो। गुलिया चिटिक्क परेर आँगनमा बसेकी थिइन्।
घरको आँगनमा गाडी रोकेपछि उनी दौडँदै बाटोमा आइन्। ‘मलाई आज पुरस्कार छ रे’ भन्दै अनुहारमा उज्यालो छर्दै भनिन्। उपमहानगर प्रमुख पाण्डेले उनलाई न्यानो कपडाले सम्मान गरे। ‘तपाईँलाई यो हाम्रो छुट्टै सम्मान हो,’ उनले भने, ‘अरु सम्मान पनि हामीले गरिरहने छौं।’
पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले ८४ वर्ष नाघेका ज्येष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिएको समेत बताए। उनले भने, ‘तपाईँहरु यो समाजको गहना हो, त्यसैले हामीले सम्मान गरेका हौं।’ उनलाई न्यानो कपडाका साथै अन्य विभिन्न कुराले दिइएको थियो।
सम्मानित चौधरीले आफूलाई सम्झेर घरसम्म आएकोमा खुसी व्यक्त गरिन्। उनले घरमै विशिष्ट व्यक्तिले सम्मान गर्दा थप ऊर्जा प्राप्त भएको बताइन्। कार्यक्रममा उपप्रमुख माया शर्मा आचार्य, वडाध्यक्ष चित्रवहादुर वली र कुमार लामिछानेको समेत सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिका–४ रक्षाचौरकी १०० वर्षीया दोमन्ता खनाललाई समेत सम्मान गरिएको छ।
उपप्रमुख आचार्यले उनलाई सम्मान गर्दै ज्येष्ठ नागरिकको सम्मानमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताइन्। उपमहानगरपालिकामा जनप्रतिनिधि आएदेखि नै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ। यता ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित ऐन कानुन निर्माणमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन्।
वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले आफूहरको सहभातिताविना बनाइएका ऐन कानुन कार्यान्वयन समेत हुन नसकेको गुनासो गरे । उनले ज्येष्ठ नागरिकहरुले माग गर्दै आएको सार्वजनिक सवारीका साधनको भाडामा ५० प्रतशित छुट, निःशुल्क औषधिको उपलब्धता लगायतबारे तीनवटै तहका सरकार गम्भीर हुन नसकेको बताए।
बरघरको हराएको निद्रा
माघी आँगनमै आइसक्यो। मादलको ताल गुञ्जिन थालिसकेको छ। तर एक थारू गाउँका बरघर (अगुवा) एकदमै तनावमा छन्। उनको भोक, निद्रा हराएको छ। किनकि माघीमा खानको लागि पालिएको उनको सुँगुर हराएको छ। अघन (मंसिर) नलाग्दै उनले किनेका थिए सुँगुर। पुसभरि धेरै खान्की पाए त सुँगुर क्विन्टलभन्दा पनि बढी हुने थियो भन्ने उनको अनुमान थियो। त्यसो त बरघर आफैं पनि सुँगुर पाल्ने मान्छे हुन्। तर खै यसपालि कस्तो रोग आएको थियो, खोरका सबै सुँगुर रित्तिने गरी भटाभट मरेका थिए। त्यसैले, माघीको लागि किन्नु परेको थियो उनलाई सुँगुर।
बरघरले सुँगुर राप्ती नदी पारिको गाउँबाट किनेर ल्याएका थिए। देख्नेबित्तिकै एक गाउँलेको मुखबाट अनायास फुस्किएको थियो- ओहो यसको मासु त एकदमै स्वादिलो होला। यसपालि बरघरको घरमा माघी राम्ररी मनाउन पाइने भो, मासु टन्न खान पाइने भो।
गाउँको चौकीदारले त्यो गाउँलेलाई भन्यो- अरे भख्भेल्वा (मुर्ख), बरघरले माघीमा मासु नखुवाए कसले खुवाउँछ त ? कि तैंले खुवाउँछस् ?
भख्भेलवा उर्फ गंगारामले भन्यो- यार बडो मुस्किलले एक किलो मासु ल्याउँछु। त्यो त बच्चाहरूले पोलपाल पारी एकैछिनमा भ्याइहाल्छन्। हाम्रो जस्तो मान्छेले कहाँ गाउँभरिको मान्छेलाई खुवाउन सक्छौं र ?
चौकीदारले थप सूचना चुहायो- एउटा चोक्टो नि बैच्दैनन्। पूरा गाउँभरिको मान्छेलाई पखाला लगाउने गरी खुवाउँदैछन् रे बरघरले।
त्यही बीचमा घरको भित्रबाट लठ्ठी ट्याकट्याक पार्दै बरघर देखा परे। चौकीदार र गंगाराम दुवैले अदबका साथ झुकेर राम राम (नमस्कार) गरे।
‘के छ रे गंगु ? आजकल त तेरो नाक नक्सा यहाँ देखिनै छाड्यो त ? ’- बरघरले सोधे। अनि खाएको आधा चुरोट गंगुलाई थमाइदिए। गंगु कपास लागेको चुरोट पाएर मक्ख पर्यो। भन्यो- ‘आउँदै गर्छु, म त यता। तपाईं व्यस्त मान्छे भेटै हुँदैन।’ त्यही बीचमा बरघरकी श्रीमती महटिन्या सुँगुरलाई खानेकुरा दिन बाहिर निस्किइन्। गंगुलाई देखेर भनिन्- ‘लौ त गंगु यो मुढा चिरिदेऊ।’
गंगु क्यै नभनी मुढा चिर्न लाग्यो। मुढोमा बञ्चरो चलाउँदै मनमनै भन्यो- ‘ओहो यो मुला जुठो चुरोट एकदमै महँगो पर्न गयो। बरघरको आँगनमा त उभिनै हुँदैन। केही न केही काम अह्राइहाल्छन् भन्या।’
एकछिनमा बरघरकी श्रीमती आफैं सुँगुरजस्तो कुद्दै स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै आइन्। र, एकै साँसमा भनिन्- ‘हेर्नु न, खोरमा त सुँगुर नै छैन, कहाँ हराएछ भन्या।’
बरघर पनि उत्ति नै खेर बेतोडले खोरमा पुगे। साँच्चै खोर सुनसान थियो। चौकीदारलाई अह्राए- ‘ए जा त, सारा सिमाना छान मार। कतै अरुको बाली पो खाँदैछ कि ? ’
करिब दुई घण्टा सबैतिर खोजखोज गरेपछि चौकीदार आयो र सुनायो- ‘कहीँ पाइएन हजुर तपाईंको सुँगुर।’ त्यही बीचमा एउटा मान्छे रिपोर्ट गर्न आयो- ‘हजुर बरघरजी, मेरो सबै काउली कुन चाहिँको पशुले खाइदेको छ। पत्ता लगाई दिनुपर्यो हजुर।’
बरघर गर्जे- ‘चुप लाग् पाजी। यहाँ आफ्नो सुँगुर हराएर दिमाग तातेको छ। तेरो चाहिँ जाबो बारीको काउलीको चिन्ता।’
दुई दिनसम्म पनि सुँगुरको अत्तोपत्तो लागेन। बरघरले तेस्रो दिन बैठक बोलाए। गाउँका कसैले पनि सुँगुर नदेखेको बताए। बरघरको भान्साबाट तामाको गाग्री ल्याइयो। आँगनमा तुलसीको मठनिर राखियो। सबै गाउँलेलाई तुलसी, तामा छुन लगाइयो।
गाउँका दुईजना गनगन गर्दै थिए- ‘यो साला बरघरले बिहान बिहानै तुलसी, तामा छुन पठायो। मेरो सारा काउली त्यसैको हराएको सुँगुरले त खायो होला नि। त्यसको सुँगुर फेला पारेँ भने त सिंगै नखाइकन छोड्दिन।’
अर्को मान्छेले भन्यो- ‘चुप लाग् साले। भित्ताको पनि कान हुन्छ। बरघरले यस्तो कुरा थाहा पायो भने उठीबास लगाइदिन्छ। २०÷२० हजार खर्च गरेर सुँगुर ल्याएको छ रे। हाम्रो गोजीमा २० रुपैयाँ पनि हुँदैन। चिन्ता त हुने नै भयो नि बिचरालाई।’
चिन्तामा परेको बरघरलाई एक बिहान चौकीदारले सुझाव दियो- ‘हजुर, सुँगुर हराएको सूचना पत्रिकामा दिने हो कि ? सुँगुर आसपासको गाउँमा नभई, टाढै अर्को गाउँमा पुगेको हुन सक्छ।’
बरघरकी श्रीमतीले भनिन्- ‘किनेर ल्याउँदा गाउँको सिमानामा पाही पूजा गर्नुपर्ने। त्यै पूजा नगरेर त सुँगुर हरायो।’
यसरी सुँगुर हराएकोमा महटिन्या झन् परेसान थिइन्। बरघरले आप्mनी श्रीमतीको कुरा सुन्नुभन्दा चौकीदारको कुरालाई ध्यान दियो। उसले तुरुन्त स्थानीय पत्रिकामा विज्ञापन छपाउने सोच बनायो। तर पत्रिकामा छपाउनलाई त सुँगुरको फोटो नै छैन। ‘आजकल त घरभरिको सबैसँग मोबाइलमा क्यामेरा छ, किन कसैले सँगुरको फोटो खिचेन।’ यसरी भुन्भुनाउँदै बरघरले आफ्नो घरको मान्छेहरूप्रति रिस पोखे।
विज्ञापनको नमुना बनाइयो। कालो धराने जातको एक क्विन्टलभन्दा बढी भएको, घाँटीमा रातो फित्ता बाँधिएको, फलानो गाउँको बरघरको ठूलो सुँगुर एक हप्तादेखि हराएको छ। फेला पार्ने महानुभावले सम्पर्क गर्नुहोला, उचित पुरस्कार दिइनेछ।
पत्रिकामा विज्ञापन छापिएको भोलिपल्ट अर्को पत्रिकाको पत्रकार आएर भन्न थाल्यो- ‘हजुर बरघरजी, तपाईं पनि कस्तो मान्छे भन्या, त्यो साप्ताहिक पत्रिकामा विज्ञापन दिनुभयो। हाम्रो दैनिक पत्रिकामा विज्ञापन दिनु न। तब न मान्छेहरूको दिनहुँ ध्यानाकर्षण हुन्छ।’
बरघरले त्यो पत्रिकामा पनि विज्ञापन छाप्ने सहमति जनाए। तेस्रो दिन एउटा एफएमवाला आयो- ‘हजुर बरघरजी, अहिलेको जमानामा कसले पो पत्रिकामा नजर घुमाउँछ र। सबैको हातमा मोबाइल, मोबाइलभित्र रेडियो छ। एफएममा विज्ञापन दिनु न। तब न सुँगुर हराएको मानिसले खबर पाउँछन्।’ बरघरबाट एफएमवालाले पनि विज्ञापन लग्यो। चौथो दिन अर्को एफएमवाला आयो र भन्यो, ‘तपाईं पनि बरघरजी। त्यो एफएम देउखुरी उपत्यकाबाट टाढा सुनिँदैन। नामै ट रेडियो देउखुरी छ। हाम्रो राप्ती एफएम सारा राप्ती क्षेत्रमा सुनिन्छ। के थाहा तपाईंको सुँगुर देउखुरी उपत्यका काटेर पहाड चढेर पहाडी भेग पुगिसक्यो कि ? ’
यसरी अर्को एफएमबाट विज्ञापन घन्किन थाल्यो। एउटा सँगुर के हराएको थियो, बरघरको छोरी पोइल गए बराबरको चर्चा हुन थाल्यो। अरू गाउँका चिनेजानेका मान्छे बरघरको घरमा आएर भन्न थाले- ‘हजुर तपाईंको सँगुर हराएको सुनेर एकदमै चिन्ता लाग्यो।’
बरघर त्यस्तो चिन्ता व्यक्त गर्न आउने व्यक्तिलाई खाजा खुवाई, मान मनितोका साथ पठाउँथे। भालेभन्दा मसलाको दाम बढी भनेझंै सुँगुर खरिद गर्दा जति रुपैयाँ बरघरले खर्च गरेका थिए। शायद त्योभन्दा बढी रेडियो, पत्रिकामा विज्ञापन, सुँगुर हराएकोमा चिन्ता व्यक्त गर्ने आउनेहरूको स्वागत, सत्कारमा खर्च गरिसकेका थिए।
…….
एकदिन गजब भयो। हराएको सँगुर बरघरको आँगनमा जस्ताको तस्तै देखा पर्यो। मानौ भन्दैछ- ‘मालिक्नी म त आएँ है।’
सँगुर पहिलाको भन्दा मोटोघाटो पनि देखिन्थ्यो। बरघरकी श्रीमतीले खाना देखाउँदै खोरतिर लगिन्। सुँगुर ज्ञानीजस्तै खोरमा छिर्यो। यसपालि खोरको ढोकामा ठूलो भोटे ताल्चा पनि लगाइयो।
खासमा के भएको थियो भने बरघरको ठूलो ठाँटी (दुईतल्ले ठूलो बैठक घर) सेवा नपाएर ढलेको थियो। जुन गाउँलेहरूको शौच गर्ने ठाउँ बन्न पुगेको थियो। सँगुर रातभरि त्यही हुन्थ्यो र एकाबिहानै बाहिरिन्थ्यो। गाउँलेले शौच गरेर जान्थे, सुँगुर बाहिरबाट आउँथ्यो र गुहु खाएर दिनभर आराम गथ्र्यो। रातोदिन खोरमा भुसमात्रै खानुभन्दा बरु यही गुहु खाएर बस्नु सँगुरलाई प्यारो थियो। एकदिन एउटा मान्छेले सँगुर नदेखेको होइन तर फेरि शौच गर्ने ठाउँ बिग्रिन्छ भनेर चुप लाग्यो। यता सुरुमा सुँगुर किनेर ल्याउँदा नगरेको पाही पूजा गरेपछि सँगुर भेटाइयो भनेर बरघरकी श्रीमती दंग थिइन्।
बरघरजी सँगुर फेरि पनि हराउन नपाओस् भनेर माघी आउनुभन्दा पहिले नै काट्ने विचार गरे। बरघरकी श्रीमती चाहिँ त्यो निर्णयले खुसी थिइनन्। भनिन्- ‘सहरबाट क्याम्पस पढ्ने केटाकेटी आए के खान्छन् नि ? ’ बरघरले भने- ‘तँ चिन्ता नगर। त्यसै पनि आजकलका सहरमा बस्ने केटाकेटी ब्रोइलर हुन्। उनीहरूलाई ब्रोइलर मन पर्छ। त्यसको व्यवस्था गरिदिउँला।’
महटिन्याले भनिन्- ‘तर माघीभन्दा पहिले नै सँगुर मारेर……।’
महटिन्याको कुरा पूरा नहुँदै बरघरले मुस्कानका साथ भने- ‘तँ कुरै बुझ्दैनेस् जोख्नीकी आमा। माघीभन्दा पहिला नै गाउँलेहरूलाई सँगुर खुवाएँ भने मलाई नै बरघर चुन्नेछन्, अनि यी सोझा गाउँलेहरूलाई जति पनि कामको लागि बेगारी लिन पाइन्छ।’
बरघरको श्रीमती पनि खिसिक्क हाँस्दै भनिन्- ‘आखिर श्रीमान् कसको ? ’
यसरी बरघरले माघीभन्दा पहिला नै सुँगुर र जाँडरक्सीको भोज खुवाए। बरघरको सँगुरले ज-जसको बिगार गरेको थियो, उसलाई थपीथपी मासु खुवाइयो। तिनीहरू पनि जरिबाना असुल उपर भयो भनेर खुसी थिए। गंगुले दाँत कोट्याउँदै भन्यो- ‘यसरी माघीभन्दा पहिला नै भोज खुवाउने चलन कुन चाहिँ बरघरले चलाएका थिए ? आउने वर्ष पनि यिनैलाई गाउँको बरघर चुन्नुपर्छ।’
अर्कोले ‘हो’ ‘मा हो’ थप्यो।
सोनु कुश्मीको गीतमा भब्य सुटिङ
‘स्मार्ट बजार’ले फस्टायो थारू लेहेङ्गाको ब्यापार
यतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो । तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो- लेहेङ्गा र चोलियाको कारोबार ।
कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रूपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसायमा प्रविधिको त्यति बढी प्रयोग थिएन । जब लकडाउन शुरू भयो, व्यापारको एक मात्रै सहारा प्रविधि बन्यो । हामीले प्रविधिको उच्चतम प्रयोग गरी प्रविधिलाई व्यवसायसँग जोड्यौं । फेसबूक पेजमा प्रचारप्रसार, विज्ञापन बढायौं र अर्डर हुन थाल्यो ।’ Continue reading “‘स्मार्ट बजार’ले फस्टायो थारू लेहेङ्गाको ब्यापार”
बुबा जन्हु चौधरीलाई बाघले खाँदै गरेको देखेपछि…
चितवनमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन घण्टौंदेखि गरिएको प्रयास सफल हुन सकेको छैन। स्थानीय बेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर–१३ का ६३ बर्षीय जन्हु चौधरीको शनिबार बिहान सवा १० बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले बाघको आक्रमणबाट चौधरीको मृत्यु भएको पुष्टि भए पनि बाघबाट मृतकलाई छुटाउने प्रयास भने अझै जारी रहेको बताए। उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीहरूको सहभागितामा बाघलाई समेत नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।
भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीकाअनुसार मृतकको घर सामुदायिक वनको गेटको नजिकै पर्छ। ‘वनको गेटबाट करिब ४ सय मिटरभित्र रहेको ठाउँमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गरेको रहेछ’, दवाडीले भने, ‘मृतक र बाघको खोजी भइरहे पनि अझै भेटिएको छैन।’
उनकाअनुसार मृतकका छोराले बुवालाई बाघले खाँदै गरेको देखेपछि अन्यलाई खबर गरेका थिए। निकुञ्जले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
यसअघि पनि केही महिना अघि सोही क्षेत्रमा बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएको थियो। मान्छे खान पल्किएको बाघका कारण अन्य मानवीय क्षति पनि हुन सक्ने भयका कारण उक्त बाघलाई नियन्त्रणमा लिन खोजिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
उनकाअनुसार नियन्त्रणमा लिएपछि उक्त बाघलाई सुरक्षित ठाउँमा लगेर छाडिने छ। घटनास्थल चितवनको पर्यटकीयस्थल सितामाई क्षेत्रको नजिकै पर्दछ।
-राजेश घिमिरे/चितवन
ममता चौधरी

