थारु विद्यार्थीको उपाध्यक्षमा दिनेश चौधरी, महासचिवमा चन्द्रप्रकाश

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्।

त्यस्तै उपाध्यक्षमा बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत र नवलपुरकै लक्ष्मी महतो निर्वाचित भइन्। त्यस्तै महासचिवमा सप्तरीका चन्द्रप्रकाश चौधरी, उपमहासचिवमा दाङका अर्नव चौधरी र सुनसरीका सोनम चौधरी र कोषाध्यक्षमा नवलपुरका सन्दीप चौधरी निर्वाचित भएका छन्।

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्।

कपिलबस्तुमा वरघर प्रथालाई कानुनी मान्यता दिन थारू अगुवाको माग

कमल चौधरी/कपिलबस्तु।
लामो समयदेखि थारु समुदायमा प्रचलित वरघर प्रथलाई कानुनी मान्यता दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। कपिलबस्तु जिल्लाको बाणगंगा ४ विवि स्मृति भवनमा भएको वरघरहरुको एक भेलाले यस प्रथालाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिएका हुन्।

उनीहरुले थारु समुदायको लोप हुन लागेको संस्कार, संस्कृति र पहिचानहरुलाई संरक्षण गर्न यस प्रथाले महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै कपिलबस्तु वाणगंगा नगरपालिका वडा ८ मोर्मि निवासी वरघर वावुराम थारुले एक गाउँमा एक वरघर हुन आवश्यक रहेको धारणा राखे। उनले जन्म, विवाह देखि मृत्यु संस्कार सम्म वरघरको आवश्यक रहेको भन्दै यसलाई कानुनी रुपबाटै मान्यता दिदै जानुपर्ने औंल्याए।

त्यस्तै वाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका वरघर शिव प्रसाद थारुको भनाई पनि उस्तै छ। उनले भने, ‘वरघर प्रथालाई हामीले निरन्तरता दिनुपर्छ । हाम्रो पुर्खाहरुले यस प्रथालाई निरन्तरता दिदै आएका थिए। यो हाम्रो संस्कार र परम्परा रहेकोले हामीले यस प्रथालाई समय सपेक्ष कानुनी रुपमा लैजानुपर्छ।’

बाणगंगामा राजेन्द्र थारुको नेतृत्वमा वडघर संघ गठन
त्यस्तै वरघर भेलाले थारु काल्यणकारी सभाका उपा सभापति ऋषिराम थारुको अध्यक्षता र वरघर संघका केन्द्रीय सदस्य अशाराम थारुको प्रमुख अतिथ्यतामा राजेन्द्र थारुको (देउवापार) अध्यक्षतामा १९ सदस्यीय नगर वडघर कार्यसमिति गठन गरेको छ।
जसको वरिष्ठ उपाध्यक्षमा तुल्सी प्रसाद चौधरी (गजेहडा), उपध्यक्षमा शिव प्रसाद थारु (केपवा), सचिवमा सुरजलाल थारु (बभानी), सहसचिवमा नेखाई थारु (ढोडेकोल)र कोषाध्यक्षमा बीर बहादुर थारु (सिद्धिपुर) रहनुभएको छ। भने, सदस्यहरुमा क्रमशः बाबुराम थारु (मोर्मि), भिखु प्रसाद थारु (कर्महना), बसुदेव थारु (सिउटी), जग प्रसाद थारु (चितरपुर), टेम बहादर थारु, राम किसन थारु (ठाँठी), भोनु थारु, बुधिराम थारु (झण्डा), नरेश चौधरी (मनोहरापुर), रमेश प्रसाद चौधरी (तिनघरवा), भदै थारु (ओदारी), दुखाई थारु (मटेरीया), राम कुमार चौधरी (औरहिया) चयन भएका छन्।

त्यस्तै वरघर नगर भेला कार्यक्रममा वरघर संघका केन्द्रीय सदस्य अशाराम थारु, थारु कल्यणकारी सभा बुद्धभूमी नगर सभापति सन्तराम थारु, थारु कल्यणकारी सभा बाणगंगा नगर उपसभापति ऋषिराम थारु र थारु पत्रकार संघका पूर्व सचिव कमल चौधरी लगायतले शुभकामना मनतव्य दिँदै थारु समुदायको पहिचान, संस्कार र संस्कृतिको संरक्षणका लागि लागि वरघर प्राथलाई निरन्तरता दिदै कानुनी मान्यता दिनुपर्नेमा जोड दिएका थिए।

सरकारविरुद्ध निरन्तर प्रदर्शन, आजपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

पछिल्लो समय सरकारविरुद्ध निरन्तर प्रदर्शन हुन थालेका छन्। चैत १५ पछि राजावादीले कुनै न कुनैरूपमा निरन्तर प्रदर्शन गरिरहेका छन्। त्यसमा राप्रपाले पनि साथ दिइरहेको छ।

त्यस्तै कुलमान घिसिङको बर्खास्तीलाई लिएर पनि उनका समर्थकहरुले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। कुलमानका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग्दै आएका छन्। त्यतिमात्र होइन, बानेश्वरमा देशभरिका शिक्षकहरूले पनि प्रदर्शन गरिरहेका छन्। निर्णायक भनिएको शिक्षकहरूको प्रदर्शनले दैनिकरूपमा त्यस क्षेत्रक ट्राफिक अस्तव्यस्त बनिरहेको छ। शिक्षकहरूले गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएका छन्।

यसैबीच सांसद प्रभु साह नेतृत्वको आम जनताले पार्टीले आइतबार जनआन्दोलन दिवसको अवसरमा ‘तेस्रो जनआन्दोलन’नामक सभाको आयोजना गर्‍यो। भृकुटिमण्डपमा भएको प्रदर्शनमा हजारौं कवाड व्यवासयीहरू सहभागी थिए। उनीहरूले सरकार र महानगरले आफूहरूमाथि धरपकड गरिएको भन्दै विरोध गरे। उनीहरूले प्रधानमन्त्री ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा समेत मागे।

आम जनता पार्टीका अध्यक्षसमेत रहेका साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको आरोप लगाए। उनले नेताहरूले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाइ हुने बताए।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने। उनले नेताहरुलाई राजा बनाउनका लागि नेपाली जनता नलडेको भन्दै साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरूले बेचेर खाएको गम्भीर आरोप लगाए।

साहले देशमा नेताहरूको आसेपासे मालामाल भएको, तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे। उनले भने, ‘हामी हेर्न सक्छौँ, लुट र भ्रष्टाचार बढेको छ। जनता लाचार बन्नुपरेको छ। नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन्। देश उजाड छ, जनता निराश छन्। नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन्।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने परिस्थिति आएको बताए। साहले आफूहरूले थालेको आन्दोलनको वेगलाई अहिलेका नेताले रोक्न नसक्ने चेतावनी दिए। ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन। हावाको बहावलाई कसैले रोक्न सकेको छैन। त्यसैले याद राख-तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौ,’ उनले भने, ‘हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ।’

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र साहको ज्यादतीको पनि विरोध गरे। उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे। काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए। जनआन्दोलन दिवसको अवसरमा ‘दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध’ आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको विरोध प्रदर्शनसमेत भएको छ।

आम जनता पार्टीले गर्‍यो काठमाडौंमा भब्य प्रदर्शन (फोटो फिचर)

आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौंमा भब्य प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट निस्किएको र्‍याली भद्रकाली-सुन्धारा-वीर हस्पिटल-रत्नपार्क-पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो।

प्रभु साह नेतृत्वको उक्त पार्टीले करको दायरा घटाउनुपर्ने, वर्तमान दलतन्त्रको व्यवस्था परिवर्तन हुनुपर्नेलगायत नारा लगाएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।

कवाड व्यवसायीहरूलाई दुःख दिएको भन्दै उनीहरूले काठमाडौंका मेयर बालेन साहको राजीनामासमेत मागेका थिए।भ्रष्टाचारको समेत कडा विरोध गर्दै आएको छ।

थारू विद्यार्थी समाजको अध्यक्षमा गीता चौधरी र बिमल चौधरी भिड्दै

थारू विद्यार्थी समाजको अध्यक्षतामा उपाध्यक्ष गीता चौधरी र बिमल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। नवलपुरको डन्डामा जारी समाजको सातौं महाधिवेशनमा गीता र बिमलबीच अध्यक्ष पदमा भीडन्त हुने भएको हो।

यसअघि धेरै जनाले अध्यक्षमा उम्मेदवारी दिने बताए पनि अन्तिममा गीता र बिमल नेतृत्वको आकांक्षी बनेका हुन्। अध्यक्षबाहेक पदाधिकारीका लागि भने थुप्रै प्रतिस्पर्धीहरू रहेको बताइएको छ। मुख्यतः महासचिवमा धेरै आकांक्षा देखाएका छन्।

शनिबारदेखि सुरू भएको समाजको महाधिवेशनको आज उद्‍घाटन सत्र सम्पन्न भएको छ।

गोब्री थारू, जसले चितुवाको मुखबाट नाति खोसिन्

रामप्रसाद चौहान/कान्तिपुरबाट साभार
गुलरिया नगरपालिका-५ बालापुरका ४९ वर्षीय भरतमणि थारू र उनकी पत्नी ४९ वर्षीया गोब्री बुधबार दिउँसो दुई नातिलाई लिएर गुलरिया नगरपालिका-४ तुलसीपुरस्थित खेतमा पानी लगाउन पुगेका थिए। दुई नातिलाई खटियामा राखेर भरतमणि मासमा पानी लगाउँदै थिए।

गोब्री खेतमा उम्रेको साग टिपेर केलाउँदै थिइन्। नजिकै खटियामा दुई नाति ९ वर्षीय अर्पण र ७ वर्षीय सिर्जन खेलिरहेका थिए। एक्कासि चितुवाले बालक सिर्जनलाई झम्टियो र बोकेर मकैबारीतिर लग्यो। गोब्री चिच्याउँदै, हारगुहार गर्दै चितुवाको पछिपछि दौडिइन्। मानिसले कराउँदै लखेटेकाले चितुवा डरायो र बालक सिर्जनलाई छाड्यो।

चितुवाबाट बचाएको नातिलाई काखमा च्यापेर जब उनी पति भरतमणिनजिक आइपुगिन्, चितुवाको डरले भरतमणि पहिल्यै बेहोस भइसकेका रहेछन्। मुखमा परेको ‘सिकार’ उम्किएकाले नजिकै चितुवा जोडजोडले कराइरहेको थियो। स्थिति त्रासपूर्ण थियो। अब के गर्ने? बालखा नातिहरू, बेहोस पति र स्वयं आफूलाई चितुवाबाट जोगाउनुपर्ने अवस्था थियो।

गोब्रीले फेरि आँट जुटाइन्। घाइते नातिलाई बेहोस पतिसँगै छाडिन् र चिच्याउँदै हारगुहार माग्दै करिब दुई किलोमिटर पर रहेको घरमा पुगिन्। त्यस घरका मानिसलाई बोलाएर ल्याइन्। आफूसहित सबैलाई जोगाइन्।

घाइते बालकको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। त्रासपूर्ण परिस्थितिको सामना गर्नुपरेकाले, कराएकाले र दौडिएकाले गोब्रीलाई ज्वरो आएको छ। भन्छिन्, ‘साहस जुटाएर नातिलाई चितुवाबाट छुटाएँ।’

दुई वर्षअघि साँझमा गोठबाट चितुवाले लाग्दै गरेको पाठोलाई पनि उनले यसैगरी बचाएकी थिइन्। ‘त्यही आँटले चितुवाको मुखबाट नातिलाई पनि छुटाउन बल मिल्यो,’ उनी भन्छिन्, ‘राति सुत्दासमेत घटना झझल्कोमा आइरहन्छ।’ चिकित्सकका अनुसार घाइते बालकको घाँटीमा चोट लागेको छ।

बिहीबार शल्यक्रिया गरिएको नातिले शुक्रबार बिहानदेखि खान थालेको भरतमणिले बताए। ‘श्रीमतीको आँटले चितुवाको मुखबाट नाति बचाउन सक्यौं, म दमको रोगी सँगै भएर पनि बुढीलाई साथ दिन सकिनँ,’ उनी भन्छन्, ‘खेतीको कमाइबाट जम्मा गरी राखेको ६० हजार नातिको उपचार नसकिँदै सकियो, अब कुनै जुगाड छैन, सहयोगका लागि वडा कार्यालयमा जाँदा पनि सुनुवाइ भएन।’

बालकको उपचारका लागि तत्काल ३५ हजार रुपैयाँ दिएको डिभिजन वन कार्यालय प्रमुख विजयराज सुवेदी बताउँछन्। ‘बिल ल्याएपछि ५ लाखसम्म उपचार खर्च दिन मिल्ने प्रावधान छ,’ उनी भन्छन्। स्थानीय लालबहादुर थारूका अनुसार सिर्जनलाई आक्रमण गरेको चितुवाले त्यसै साँझ गाउँको एउटा कुकुर मारेको थियो। चितुवाको आक्रमण बढ्दै गएकाले हिँडडुल गर्नै डर भएको उनले सुनाए। ‘वन्यजन्तुलाई मान्छेले केही गर्‍यो भने कडा कारबाही हुन्छ तर वन्यजन्तुले मानवीय क्षति गरे सहेर बस्नुपर्छ,’ उनको गुनासो छ।

प्रक्रिया नपुर्‍याई रवि लामिछानेलाई पक्राउ गरेको भन्दै सांसद चौधरी आक्रोशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले सभापति रवि लामिछानेलाई थुनामा पठाउने प्रक्रिया कानुनसम्मत नभएको दाबी गरेका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अदालतको विधि नै नपुगी पुर्जीबिना सभापति लामिछानेलाई थुनामा लगिएकोमा आपत्ति जनाए ।

‘हिजोको घटनाले दुखी पनि बनाएको छ । संयमित भएर हामी शक्तिको रुपमा परिणत गर्नेछौं । अदालतको सम्मान गर्छौं,’ चौधरीले भने, ‘तर, अदालतको आदेश विधि नपुग्दै पक्राउ पुर्जीबिना गरिने यस्तो थुनाइ कानुनी होइन ।’ उनले देशमा निराशा, आक्रोश र अन्याय भएको भन्दै उनले सरकार दलाल र ठेकेदारको सेवक बनेको आरोप लगाए ।

‘देशमा निराशा छ, आक्रोश छ, अन्याय छ, तर आज सरकार दलाल र ठेकदारको सेवक बनेको छ । बेरोजगारीले युवा विदेशिन बाध्य भएका छन् । विद्यार्थी शिक्षा नपाएर दिक्दार भएका छन्,’ उनले भने, ‘मजुदर पेट पाल्न संघर्ष गरिरहनु परेको छ । के अब यो लुटतन्त्र सहिरहने हो ? हैन, अब समय आएको छ । अब एक हुने बेला आएको छ ।’

थारू विद्यार्थी समाजको महाधिवेशनको तयारी पूरा, खेलकुदमन्त्रीले उद्‍घाटन गर्ने

थारू विद्यार्थी समाजको महाधिवेशनको तयारी पूरा भएको छ। नपलपुरको डण्डामा शनिबारदेखि सुरू हुने महाधिवेशनको तयारी पूरा भएको समाजले जानकारी दिएको छ।

समाजले शुक्रबार पत्रकार सम्मेन गर्दै महाधिवेशनको तयारीबारे जानकारी गराएको थियो। जसअनुसार शनिबार विहान ११ बजेदेखि झाँकी र्‍याली सुरू हुनेछ। डण्डामा हुने झाकी र्‍याली थारु म्युजिमसम्म जाने र उद्‍घाटन सत्र सुरू हुने समाजले जानकारी दिएको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द सत्र पनि शनिबार साँझदेखि गर्ने तयारी रहेको समाजले जनाएको छ। समाजको सातौं महाधिवेशनमा २५ जिल्लाबाट करिब ५०० प्रतिनिधि सहभागी हुने बताइएको छ।

हेर्नुस् समाजको प्रेस विज्ञप्ति
थारु विद्यार्थी समाज देश भरीका थारु विद्यार्थीहरुको साझा छाता संगठन हो । बि.सं. २०५२ सालमा स्थापना भई करिब ३ दशक इतिहास बोकेको थारु विद्यार्थी समाज, थारु समुदायको विद्यार्थीहरुको शैक्षिक अधिकार मात्र नभई सामाजिक, राजनैतिक, सांस्कृतिक लगायतका अधिकारहरुको बुलन्द आवाज बन्दै आएको एक शसक्त संगठन हो। थारु विद्यार्थी समाज नेपाल देशको पूर्वदेखि पश्चिमका २५ वटा तराईका जिल्लामा मात्र सिमित नभई काठमाडौंमा समेत बलियो सांगठनिक आधार निर्माण गरेको छ।

थारु विद्यार्थी समाज स्थापनाकाल देखि नै नेपालको राजनितिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक परिवर्तनका हरेक आन्दोलनहरुमा अग्रणी भुमिका खेल्दै आएको यस गौरवशाली संगठन दोस्रो जनआन्दोलन, कमलरी कमैया मुक्ति आन्दोलन, थरुहट थारुवान आन्दोलन, नेपालको लोकतान्त्रिक संविधान २०७२ को निर्माणको आन्दोलन र त्यस संविधानमा थारु लगायत सिमान्तकृत समुदायको जाती, वर्ग, संस्कृति, भाषा, भुमि लगायतको पहिचान तथा समावेशिताको अधिकार सुनिश्चितताका लागी हरेक तहतप्कामा गरिँदै आएका हरेक आन्दोलनहरुमा अग्रस्थानमा उभिएर नेतृत्व गर्दै आइरहेको छ। अधिकार र पहिचानको आन्दोलनहरुमा अग्रिणी सहभागिता रहेको गौरवशाली ईतिहास बोकेको यस संगठन पहिचानको राज्य पुनः संरचना र सिमांकनको लडाई होस्, जनसंख्याको आधारमा पूर्ण समानुपातीक सहभागिता, शैक्षिक आरक्षण, निजामति लोकसेवा र मातृभाषा शिक्षाको लागि गरिने आन्दोलन र सांस्कृतिक उत्थान तथा संरक्षणका लागि नितिगत तह मात्र नभई सडक मार्फत समेत अभियान र आन्दोलनको नेतृत्व गर्दै आइरहेको छ ।

त्यसैगरी थारु विद्यार्थी समाजले क्याम्पस, कलेज देखि विश्वविद्यालय स्तरमा राजनितिक पहुँच बढाउन स्वतन्त्र विद्यार्थी यूनियन ( स्ववियू ) निर्वाचनमा सहभागिता र नेतृत्वको लागि अहम भूमिका समेत निर्वाह गर्दै आइरहेको छ ।

थारु विद्यार्थी समाजको स्थापनाकाल देखि उठाएको आवाज “ थारु विद्यार्थी एक हुई शैक्षिक अभियान आगे बढाई” भन्ने मूल नारा लिएर थारु बिद्यार्थीहरुलाई एक शुत्रमा बाँढ्दै पाइला अगाडि बढाएको यस संगठन हाल ७ औं राष्ट्रिय महाधिवेशन सम्म आइपूग्दा देश भरिका थारु विद्यार्थीहरुको मात्र नभई सम्पूर्ण थारु समुदायको शैक्षिक, राजनितिक, समाजिक, सांस्कृतिक मुद्दाको लागि संघर्षशिल बलिदानीपूर्ण इतिहास भएको विश्वास योग्य गर्विलो संगठनको रुपमा स्थापित भएको छ ।

नेतृत्व हस्तान्तरण र नवयुगको नेतृत्व, आन्दोलन र बहसलाई मार्ग निर्माणका लागि थारु विद्यार्थी समाजको ७औं राष्ट्रिय महाधिवेशन देशको केन्द्रबिन्दु मात्र नभई थारु अधिकार र पहिचानको आन्दोलनको समेत केन्द्रबिन्दुको रुपमा पहिचान निर्माण गरेको थरुहट भुमि नवलपरासी जिल्लाको डण्डामा थारु पहिचान समावेशी शिक्षामा हाम्रो अभियान, मातृभाषा शिक्षामा जोड, निजामति र राजनितिमा शशक्त विद्यार्थी आन्दोलन हाम्रो अभियान” भन्ने मुल नारा सहित यहि २०८१ चैत्र २३,२४ र २५ गते आयोजना हुन गई रहेको छ। यस महाधिवेशनमा देश भरिका २५ वटा जिल्लाबाट ५०० प्रतिनिधिको सहभागिता हुने जानकारी सहित सम्पूर्ण थारु विद्यार्थी, अतिथि, बुद्धिजीवी,नेतृत्वकर्ता तथा शुभचिन्तकहरुलाई सक्रिय सहभागिता र भव्यताका साथ सफल पार्न आह्वान गर्दछौ ।

लुम्बिनी प्रदेशको सरकारी कामकाज भाषामा समेटिएला थारू? आयोगले गर्‍यो छलफल

लुम्बिनी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी ऐनको विधेयक बनाउने विषयमा सरोकारवालासँग छलफल भएको छ। विधेयकको मस्यौदा तयार गर्न थारू, अवधि र भोजपुरी भाषा सम्बद्ध संस्थागत उपस्थित सहभागीलाई जिम्मेवारी दिइएको छ।

भाषा आयोगले मापदण्डको आधारमा लुम्बिनी प्रदेशमा थारू, अवधि र भोजपुरी भाषालाई सिफारिस गरेको छ। उक्त विधेयक लुम्बिनी प्रदेशबाट पास भएपछि कामकाजको भाषामा थारू भाषा प्रयोग गर्न पाउने बाटो खुल्ने छ। यसअघि बागमती प्रदेश, मधेश प्रदेशमा पास भइसकेको छ।

गण्डकी प्रदेशमा पास हुने चरणमा रहेको छ। अन्य प्रदेशमा लागू गर्दा देखिएका समस्या समेतलाई मध्यनजर गर्दै विधेयकको मस्यौदा तयार गर्ने विषयमा समेत छलफल भएको थियो। भाषा आयोगले तोकेको भाषाबाहेक क्षेत्र विशेषको भाषालाई समेत स्थानीय तहले कानुन बनाई प्रयोग गर्न पाउने विषयलाई खुला राख्ने बताइएको छ।

उक्त छलफल भाषा आयोगका अध्यक्षमा गोपाल ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो। छलफलमा भाषा आयोगका पदाधिकारी, थाकस, अवधि संस्था, संस्थाका प्रतिनिधि तथा कानुन संघ, मुस्लिम संघ, भोजपुरि संस्थाका प्रतिनिधि तथा कानुनविद्, भाषाविद्लगायतको उपस्थिति रहेको थियो।