असार ७ गते थारू कलाकाहरूले काठमाडौंलाई झुमाउने

राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। विश्व संगीत दिवसको अवसरमा थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको मञ्चका अध्यक्ष विनय वैद्यले जानकारी दिए।

उनले भने, ‘विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारहरूको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं। जसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले प्रस्तुति दिनुहुनेछ।’

अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रकारको प्रस्तुति दिनेछन् । उनले पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा पनि हुने जसमा केही विधान संशोधन हुने जानकारी दिए।

‘कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो दिन ‘भाषा, कला-संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ भन्ने मूल नारासहित वृहत्त थारू सांस्कृतिक कार्यक्रम हुन्छ,’ उनले भने, ‘दोस्रो दिन वार्षिक साधारणसभा गर्छौं।’

कार्यक्रमको प्रमुख अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी रहने उनले बताए । यसका यसका अतिरिक्त, कार्यक्रममा थारू परिकारहरूको स्वाद लिन सकिने स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामाग्रीहरूको प्रदर्शनी पनि राखिनेछन्।

राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेकाले अर्थ व्‍यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा टिकट खुल्ला गरिएको उनले बताए। यो कार्यक्रम किन गर्न लागिएको भन्‍ने पत्रकारको प्रश्न‍मा उनले भने, ‘यो केवल मनोरञ्जनको माध्यम नभई थारू पहिचानको संरक्षण र सशक्तिकरणतर्फको सार्थक प्रयास हो। यसले अरू जातिलाई पनि आफ्नो कला र संगीत जोगाउने चेतना आओस भन्‍ने हाम्रो उद्देश्य हो। साथै भाषा पनि बचोस् भन्‍ने हाम्रो ध्येय हो।’

उनले कार्यक्रमलाई भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण थारू संघसंस्था, संस्कृति प्रेमी र सरोकारवालालाई सहभागी हुन अपिल गरे।

सिकलसेल रोगले थारू जाति संकटमा छ, निशुल्क उपचार गरी कम्तीमा ५ लाख प्रदान गरियोस् : नाउपा सांसद चौधरी

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सिकलसेल एनेमिया रोगका कारण थारू वंश नाश हुने सम्भावना रहेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद चौधरीले सिकलसेल रोगको निशुल्क उपचार गरी थारू जातिलाई बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले एक लाख सहयोगले केही नहुने भन्दै कम्तीमा ५ लाख सहयोग गर्न माग गरे।

‘बजेटमा सिकलसेल एनेमियाको उपचारका लागि नविनतम् प्रविधि अपनाउने भनिएको छ। तर, सिकलसेल रोगको उपचार निशुल्क गर्न सकिएन भने थारू वंश नाश हुने सम्भावना छ। सरकारमाथि थारू जातिको ठूलो प्रश्न खडा भएको छ। थारू जातिलाई बचाउने सरकारको प्रमुख दायित्व र कर्तव्य पनि हो। सिकलसेल लागेका थारूहरूलाई निशुल्क उपचारसहित कम्तीमा ५ लाख सहयोग गरियोस्,’ उनले भने।

सांसद चौधरीले तीन करोडका नाममा योजनाहरू ठगिएको बताए। भूगोलअनुसार बजेट पनि विनियोजन नभएको उनको भनाए छ। ‘यसपाली अंक तीनले झुक्यायो। ३ करोडको नाममा योजना ठगिएको छ। भूगोल नबनाएर बजेट विनियोजन गरिएको छ। सबै विषयवस्तु र नागरिकको योजना समेट्न सफल भए पनि यो बजेट समावेशी भएको छैन,’ उनले भने।

उनले कृषिलाई प्राथमकितामा राखेर चामललाई आत्मनिर्भर बनाउने भनिए पनि किसानहरू सधैं मारमा परेको बताए। उनले हालसम्म किसानले धानको समर्थन मूल्य नपाएको गुनासो गरे। ‘मलमा आत्मनिर्भर बन्ने भनिएको छ। तर, प्रतिक्विन्टर ३१९८ तोकिएको धानको मूल्य अहिले २१ सय देखि २५ सयमात्रै छ। यो मूल्य एक वर्षका लागि तोकिन्छ कि सरकार फेरिपछि मूल्य पनि फेरिन्छ,’ उनले आरोप लगाए।

सांसद चौधरीले किसानलाई ठग्ने धन्दामात्र भइरहेको आरोप लगाए। उनले कैलालीका ७५ प्रतिशत किसानले धान रोप्न सुरू गरे पनि सरकारले हालसम्म समर्थन मूल्य नतोकेको बताए। उनले किसानले उचितरूपमा मल पनि नपाएको गुनासो गरे।

संकटमा बंगलादेश: मोहम्मद युनुसको इस्लामिक कट्टरपन्थीहरूप्रति झुकाव

बढ्दो आलोचना र असन्तुष्टिको सामना गरिरहेका बंगलादेशका अन्तरिम सरकार प्रमुख सल्लाहकार मोहम्मद युनुसले इस्लामिक कट्टरपन्थीहरूलाई आफ्नो पक्षमा पारेर सत्तामा टिक्न खोजिरहेका छन्। प्रधानमन्त्री शेख हसिनाको धर्मनिरपेक्ष अवामी लिग पार्टी प्रतिबन्धित गरिएको छ भने कट्टरपन्थी जमात-ए-इस्लामीमाथि लगाइएको प्रतिबन्ध हटाएर पुनः दर्ता गराइएको छ।

सेना र बंगलादेश राष्ट्रवादी पार्टी (BNP) ले यस वर्षभित्र निर्वाचनको माग राख्दा पनि युनुसले आगामी वर्षको अप्रिलमा मात्र निर्वाचन हुने घोषणा गरेका छन्। पर्यवेक्षकहरूका अनुसार, कट्टरपन्थी जमात-ए-इस्लामी र नागरिक पार्टीको समर्थनमा आफ्नो हैसियत बलियो बनाउने रणनीति अन्तर्गत उनले निर्वाचनको मिति टारेका हुन्। यद्यपि, अप्रिलमा चुनाव हुने भन्ने कुरामा स्पष्टता छैन।

गत अगस्टमा सत्ताको बागडोर सम्हाल्ने क्रममा, युनुसले स्वतन्त्र र निष्पक्ष निर्वाचन, जवाफदेही शासन प्रणाली र न्यायिक सुधारको वाचा गरेका थिए। तर हालसम्म तीमध्ये कुनै पनि सुधार कार्यान्वयन भएको छैन। युनुसलाई विश्वास छ— यदि अहिले निर्वाचन भयो भने उनी सत्तामा फर्किने सम्भावना कम छ।

सत्ता जोगाउन, युनुसले म्यानमारको राखाइन क्षेत्रतर्फ मानवीय सहायता पुर्‍याउने उद्देश्यसहित “मानवीय च्यानल” खोल्ने प्रस्ताव गर्दै अमेरिका (ट्रम्प प्रशासन) को समर्थन खोज्ने प्रयास गरेका छन्। अर्कोतर्फ, चीनलाई रिझाउन उनले भारतका रणनीतिक चासोहरूमाथि असर पर्ने गरी बंगलादेशमा चिनियाँ उपस्थितिलाई प्रोत्साहित गरेका छन्। यिनै गतिविधिका कारण उनी राजनीतिक द्विविधामा परेका छन्। सेना प्रमुखले अन्तरिम सरकारले आफ्नो सीमाभन्दा बाहिर गएर निर्णय गर्न नहुने भनेर स्पष्ट चेतावनी दिइसकेका छन्।

संयुक्त राष्ट्रसंघसँग गरिएको “मानवीय च्यानल” को छलफल पनि सेनासँग परामर्शविना भएको थियो। यस्तो करिडोरले बंगलादेशलाई म्यानमारसँग प्रत्यक्ष द्वन्द्वमा तान्न सक्ने खतरा रहेको भन्दै सेना प्रमुख जनरल वाकर-उज-जमानले आपत्ति जनाएका छन्। चीनले विकास गरेको क्याउकफ्यू बन्दरगाहलाई अवरुद्ध गर्न अमेरिकी रणनीति अनुसार म्यानमारको अरकान विद्रोहीलाई सहयोग पुर्‍याउन यस्तो च्यानल खोल्ने प्रस्ताव आएको विश्लेषकहरूको भनाइ छ।

चीन भ्रमणका क्रममा युनुसले बंगलादेशमा चीनको आर्थिक उपस्थिति बलियो बनाउन आह्वान गर्दै भारतको उत्तरपूर्वी क्षेत्रमा सागरप्रति पहुँच नभएको भनी तर्क गरे। उनले चीनलाई टिस्टा नदी व्यवस्थापनमा ५० वर्षे गुरुयोजना तयार पार्न आग्रह गरे र मोंगला बन्दरगाहको आधुनिकीकरणमा चिनियाँ लगानीलाई पनि स्वागत गरे। यो सबै चीनको प्रभाव बढाउने उद्देश्यले गरिएको भन्दै भारतमा चिन्ता उत्पन्न भएको छ।

तर यस्ता निर्णयमा सेना सम्मिलित नभएको र चीनको बढ्दो उपस्थिति बंगलादेशको स्वतन्त्रता तथा सुरक्षा प्रणालीमा गम्भीर प्रभाव पार्न सक्ने भन्दै सेनाले युनुसको आलोचना गर्दै आएको छ। सेना प्रमुखले अन्तरिम सरकारलाई २०२५ भित्रै चुनाव सम्पन्न गर्न स्पष्ट निर्देशन दिएका छन्।

अर्कोतर्फ, इस्लामिक कट्टरपन्थीहरूमा निर्भर हुने युनुसको रणनीतिले बीएनपीलाई पनि प्रभावित बनाएको छ। अवामी लिगमाथि प्रतिबन्ध लगाइएपछि बीएनपीले अहिलेको अनुकूल परिस्थितिमा २०२५ भित्रै चुनाव चाहेको छ। अप्रिल २०२६ सम्म चुनाव टार्ने घोषणाले बीएनपीमा निराशा उत्पन्न गराएको छ। रमजान, परीक्षा र गर्मीको आँधीबेहरीका कारण अप्रिल उपयुक्त समय होइन भन्ने बीएनपीको तर्क छ।

यसका अतिरिक्त, मे महिनादेखि राष्ट्रव्यापी रूपमा सरकारी कर्मचारीहरू नयाँ सार्वजनिक सेवा ऐनविरुद्ध आन्दोलनमा उत्रेका छन्। यो ऐनले अधिकारीहरूलाई सजिलै बर्खास्त गर्न सकिने व्यवस्था गरेपछि प्रशासन पक्षाघात हुने खतरा देखिएको छ।

यी सबै घटनाक्रमबीच, युनुस अब इस्लामिक कट्टरपन्थीहरू—जमात-ए-इस्लामी र नागरिक पार्टी—को समर्थनमा नै आफ्नो राजनीतिक अस्तित्व जोगाउने विकल्पतर्फ उन्मुख छन्। सेना र जनसाधारण दुवैको विश्वास गुमाउँदै गएको वर्तमान अन्तरिम नेतृत्व चाँडै वा ढिलो संकटको अन्त्यतिर उन्मुख भएको संकेत देखिन्छ।

थारू समुदायप्रति राज्यले गरेको अतिरिक्त विभेद

पार्वता चौधरी

बेला-बेलामा जातीय विभेदको विषय पेचिलो बन्ने गरेको छ। जातीय विभेदसँग जोडिएका कतिपय घटनाहरू पनि हामी विभिन्न माध्यमबाट देख्न, सुन्न पाउँछौं। तर यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विभेद र उत्पीडनमा परेका व्यक्तिलाई मात्र महसुस हुँदोरहेछ। जोकोहीले जातीय विभेदको असरका बारेमा महसुस गर्न पाउँदैनन् र सक्दैनन् पनि।

हामी राज्यका हरेक तह, तप्कामा समावेशिता, सहभागिताको कुरा गर्छौं। संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्छ भनेर समाजका अगुवा, राजनीतिज्ञ, अधिकारकर्मी सबैले सभासमारोह, कार्यक्रमहरूमा चर्को भाषण गरेको सुनिन्छ। तर खै कार्यान्वयन भएको? संविधान परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो तर अवस्था भने परिवर्तन भएन किन? व्यक्तिको मानसिकता परिवर्तन नभएकाले हो?

काठमाडौंका गल्लीमा साइकलमा फलफूल बोकेर घरघर बेच्न ल्याउनेहरूलाई ‘भैया’ भनेर सम्बोधन गरिन्छ। ‘भैया’ भनेको दाइभाइ हो तर प्रयोग भएको ‘भैया’ शब्दको लवजमा हेपाहा प्रवृत्तिको ध्वनि पाइन्छ। काठमाडौं सहरभित्रको कुरा गर्दा कालो वर्णका छाला भएकालाई अरू नै कुनै ग्रहबाट आएको जस्तो व्यवहार गरिन्छ। सामान्य उदाहरण, उनीहरूले धारा नै देखेका हुँदैनन् भन्ने खालको धेरैजसो घरबेटीको धारणा पाइन्छ।

कोठा खोज्दै जाँदा उनीहरूले धारा चलाउन सिकाउन पनि भ्याउँछन्। पानी चलाउने क्रममा कतै धारा बिग्रिहाले पनि धाराको पानी चलाएको छैन होला, धारा त देखेकै छैन होला? भन्दै धारा बिग्रिएकोमा आरोप लगाउने घरबेटीहरू पनि छन्। यो कस्तो खालको विभेद हो? जकडिएको मानसिकताको प्रतिबिम्बित ऐनाका रूपमा व्यवहार उत्रिएको हो? व्यक्ति मात्रै हैन, राज्यबाटै कतिपय समुदाय हेपिएका छन् अनि विभेदमा परेका छन्।

भनिन्छ, मानिस जुन परिवेशमा जन्मिन्छ, हुर्किन्छ उसले जस्तो वातावरण पाउँछ। जब व्यक्तिमाथि दमन बढ्छ तब त्यसको प्रतिवादस्वरूप विद्रोह हुन्छ भन्ने पनि हामीले सुन्ने गरेका छौं। तराईको डोम, चमार दलित समुदायबाट अहिलेसम्म ४ जना डाक्टर बनिसकेका छन्।

थारू समुदायको जनसंख्या चौथो नम्बरमा छ। समानुपातिक सहभागिताको व्यवस्था भएको देशमा थारू समुदायका व्यक्तिले हरेक निकायमा आफ्नो सहभागिताका लागि लडाइँ नै गर्नुपर्छ। संविधानमा समेत जात र पहिचान त्यसैगरी मानव विकास सूचकांकका आधारमा सहभागिता समावेशी बनाउने उल्लेख छ। तर लागू हुन सकेको छैन।

निजामती क्षेत्रमा थारूको सहभागितालाई लिएर सर्वोच्चले परमादेश जारी गरिसक्दा पनि थारू भने अझै लडिरहेका छन्। आदिवासी जनजातिको क्लस्टरमा राखे पनि थारूहरूको सहभागिता न्यून छ। आदिवासी जनजातिको नामबाट सञ्चालित संस्था, संगठनहरूमा पनि थारूको सहभागिता नगण्य मात्रामा हुन्छ। थारू समुदायका व्यक्तिलाई त्यस्ता प्लेटफर्ममा सहभागिताका लागि बोलाइँदैन अथवा बोलाए पनि सहभागिता नै हुँदैन।

निजामती सेवामा समेत संविधानको व्यवस्था अनुसार कार्यान्वयन गर्नु भनेर सर्वोच्चको आदेश आइसक्दा पनि अझै कार्यान्वयन हुन सकेको छैन। के यो समग्र समुदायमाथिको विभेदकारी दमन हैन? कानुनतः समावेशिता र सहभागिताका लागि किन कुनै विज्ञ, नेता अग्रसर हुँदैनन्? किन उनीहरू यसका लागि आवाज बुलन्द गर्न सक्दैनन्?

सदियौंदेखि समाजमा व्याप्त जातीय विभाजन र छुवाछूतजस्ता अमानवीय तथा विभेदकारी प्रथाहरूले समानता, समावेशिता र सामाजिक न्यायमा गम्भीर असर पुर्‍याउँदै आएको छ। आरक्षणको व्यवस्था गरे पनि समान सहभागिता हुन सकेको छैन। एउटै व्यक्तिले अवसरहरू उपयोग गरिरहँदा जसका लागि छुट्याएको हो, त्यस्ता लक्षित वर्गका व्यक्ति भने वञ्चित हुँदै आएका छन्।

यस्ता खाले विभेद अन्त्यका लागि नीतिगत रूपमा सरकारले कदम नचालेसम्म पछि पारिएका समुदायको सशक्तीकरण हुन कठिन छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मधेशमा आयोजित एउटा कार्यक्रममा सम्बोधनका क्रममा मधेश हरेक किसिमले सुगम भए पनि कर्णालीभन्दा दुर्गम भएको उल्लेख गर्नु भएको थियो।

प्रधानमन्त्री ओलीले महसुस गर्नु भएको विषय मधेशमा बस्ने, मधेशबाट अन्य क्षेत्रमा गएर बस्ने हरेक व्यक्तिले महसुस गर्छन् तर किन पछि पर्‍यो? त्यतातिर भने कसैले ध्यान दिँदैनन्। मधेशी, दलित, पिछडा वर्गले मससुस गरेका व्यवहारका बारेमा नीति निर्माण तहमा बसेकालाई पनि थाहा छ तर त्यसलाई परिवर्तन गर्न कसैले पहल भने गरेको पाइँदैन।

दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधान हुँदै वर्तमान संविधानको एउटा मुख्य विशेषता समानुपातिक समावेशी प्रणाली हो। मुलुकको विविधता अनुसार, उत्पीडत समुदाय र वर्गलाई अवसर दिने उद्देश्यसहित समानुपातिक समावेशी प्रणालीलाई संवैधानिक रूपमा स्पष्ट पारिएको छ। तर संविधानमा उल्लिखित कतिपय व्यवस्था कार्यान्वयन हुन नसक्दा बहिष्करणमा परेका समुदाय अझै राज्यका निकायमा समेटिन सकेका छैनन्। त्यसमाथि समानुपातिक समावेशी प्रणालीलाई दलहरूले नै विकृत बनाउँदै गएको टिप्पणी हुन थालेका छन्।

संविधानको भाग २४ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५० को निर्देशक सिद्धान्तमा समानुपातिक समावेशीकरण लगायत सिद्धान्तलाई अंगीकार गर्ने व्यवस्था गरिएको छ। स्थानीय स्वायत्तता र विकेन्द्रीकरणका आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपयोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्दै लैजाने राजनीतिक उद्देश्य छ।

तर समावेशिताको सिद्धान्त अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। समतामूलक, सभ्य र न्याययुक्त समाज निर्माण गर्नु साझा जिम्मेवारी हो। साथै, राज्यका प्रत्येक संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु सबैको दायित्व पनि हो। सबैमा आत्मसमीक्षा, सहिष्णुता र समानताको भावना अभिवृद्धि भए मात्र व्यक्तिमा, समाजमा व्याप्त विभेदीकरणको अन्त्य हुन सक्छ।

कान्तिपुर दैनिकबाट साभार

न्याय सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा

न्याया सेवाअन्तर्गत थारू समुदायका तीन अधिकृतको सरुवा भएको छ। न्याय सेवा आयोगको आइतबार बसेको बैठकले उनीहरूको सुरुवा गरेको हो।

आयोगले धनुषा जिल्ला अदालतका इजलास अधिकृत प्रेक्षा चौधरीलाई उच्च अदालत पाटनमा, सहायक न्यायाधिवक्त रविशंकर चौधरीलाई कर्णालीबाट मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशमा र सहायक जिल्ला न्यायाधिवक्ता भानु चौधरीलाई मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिम प्रदेश सरुवा गरिएको हो।

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ४५ रुपैयाँ पर्नेछ।

पाँचथरमा बेलिब्रिज भाँचिदा बाराका तीना थारू कामदारको मृत्यु

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका-१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो। जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गएराति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए।

दुर्घटनामा परेर बाराको सिमरा उपमहानगरपालिका १२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाईते भएका छन् ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो। हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो। फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ। बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए।

२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो। तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ।

उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो।

दुर्घटनामा सहायक प्रहरी हवल्दार जितेन्द्र चौधरीको मृत्यु

मोरङस्थित पथरी-कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। बेलबारी नगरपालिका-४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका-७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

शनिबार साँझ ८ बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१-०२-०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते भएका छन्।

विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ। उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ। विमला जितेन्द्रसँगै प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी जवान हुन्।

मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना भएको हो। यस क्षेत्रमा काकडभिट्टा-लौकही सडक निर्माण क्रममा छ। पूर्वपश्चिम महेन्द्र राजमार्गमा धेरै डाइभर्सन असुरक्षित भएका कारण दुर्घटना बढ्दै गएको छ।

अनिशा थारूले जितिन् कीर्तिमानी स्वर्ण

बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा आज नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन्। अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भङ्ग गरेकी हुन् ।

लुम्बिनीकी पिन्जु चौधरी दोस्रो तथा कर्णालीकी सरिता शाही तेस्रो भए। छात्रा ट्रिपलजम्पसहित छात्रछात्राको चार गुणा एक सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने। छात्र चार गुणा एक सय मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, सन्त दराई, सुविन लामा र नीरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे।

बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारू, तुलसीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन्। गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो बने।

सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चँदै कीर्तिमान स्थापित गरे।

लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो। लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए। गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहे।

एयर इन्डिया विमान दुर्घटनाबाट बाँच्न सफल रमेश, सुनाए दर्दनाक कहानी

भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन्। उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। त्यसैक्रममा ४० वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बेलायती नागरिक रमेशले आफन्तलाई भेट्न भारत आएको बताए। भारत बसाइका क्रममा दाजु अजयसँग विभिन्न स्थानमा घुमघाम पनि गरेको उनको भनाइ छ। एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी सवार रहेका थिए। आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको उनले गुनासो गरे।

रमेशले विमान उडेको ३० सेकेन्डमै पड्किएको जस्तो आवाज आएको बताए। ‘विमान उडेको झण्डै ३० सेकेन्डपछि ठूलो आवाज आयो र त्यसपछि दुर्घटना भयो,’ उनले भनेका छन्। सबै कुरा यति छिटो भयो केही सोच्नै नसकेको उनको भनाइ छ।

दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लाशहरू देखेको उनले बताए। ‘जब म होसमा आएँ, मेरो वरिपरि लाशहरू थिए। म डराएँ। उठेर दौडिएँ। चारैतिर विमानका टुक्रा-टुक्रा फैलिएका थिए। कसैले मलाई समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए,’ उनले भने।

रमेश विगत २० वर्षदेखि लन्डनमा बस्दै आएका छन्। उनकी पत्नी र बच्चााहरू पनि लन्डनमै बस्छन्। उनले आफ्ना दाजु अयजलाई खोजिदिन अपील पनि गरे। दाजु र आफू फरक फरक ठाउँमा बसेको उनको भनाइ छ।

बिहीबार १:३९ बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको ७८७ विमान केही क्षणमै दुर्घटनामा परेको थियो। उक्त विमान डाक्टरहरू बस्ने होस्टलमा खसेको थियो। विमानमा क्रुसहित २४२ जना सवार थिए। जसमध्ये १६९ जना भारतीय नागरिक र ६१ जना विदेशी नागरिक थिए। विदेशीमध्ये पनि ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानाडाका नागरिक थिए।

मृतकको संख्या २०४ पुग्यो
यसैबीच विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ। अहमदाबादका प्रहरी अधिकारी जीएस मलिकले २०४ जनाको शव फेला परेको पुष्टि गरे। उनले दुर्घटनाबाट कोही बाँचेको पनि हुनसक्ने बताए। अस्पतालमा भने ४१ जनाको उपचार भइरहेको उनको भनाइ छ।