दिपसना चौधरी, जसले ल्याइन् ४ जीपीए

दिपसना चौधरी

मैले ए लेबल पढ्न सुरु गरिसकेको थिएँ। बिहीबार पनि सधैं झैं कक्षा चलिरहेको थियो। कक्षामा एसईईको नतिजा प्रकाशन भएको खबर आयो। म कम्प्युटर ल्याबमा गएँ र चेक गरेँ। ४ जीपीए आएछ। सुरुमा त विश्वासै लागेन। साथीहरूले पनि हो भनेपछि बल्ल ढुक्क भएँ।

मेरो नतिजा राम्रै आउँछ भन्नेमा विश्वस्त थिएँ। नयाँ ग्रेडिङ सिस्टमले गर्दा लिखितमै ए प्लस आउनुपर्ने भएकाले ४ जीपीए नै आउँला भन्ने लागेको थिएन। सामाजिक अध्ययन नेपाली भाषामा दिनुपर्ने भएकाले यसले असर गर्ला कि भन्ने डर थियो। तर, नतिजा सोचेभन्दा राम्रो आयो। धेरै खुसी छु।

मलाई कतिखेर यो खबर घरमा सुनाउ जस्तो भएको थियो। तर, ममीले पहिले थाहा पाइसक्नुभएको रहेछ। उहाँ त मलाई बधाई दिन भनेर कलेज छुट्टी भएपछि गेटमा कुरेर बस्नुभएको रहेछ। ममीबाबाले ममाथि गर्व गर्न पाउनु हुँदा मलाई सबैभन्दा बढी आनन्द लाग्यो।

सबै विद्यार्थीको आआफ्नै क्षमता हुन्छ। कसैलाई १० घण्टा त कसैलाई त्यही कुरा ३ घण्टा पढे पुग्छ। एसईईमा राम्रो नतिजा ल्याउन कक्षा १० मा पुगेदेखि नै मेहेनत गर्ने बानी बसाल्नुपर्छ। मैले कक्षामा पढाएको विषयको कन्सेप्ट बुझेर घरमा आएर रिभिजन गर्थे।

प्रत्येक दिन कम्तीमा २ घण्टा पढाइलाई छुट्ट्याउँथे। विद्यालयमा पनि हामी सबैलाई अतिरिक्त कक्षामार्फत नबुझेको विषय बुझाइन्थ्यो।

मेरो पढाइमा गुरु र गुरुआमाको साथै अभिभावकको पनि ठूलो साथ रह्यो। म राति अबेरसम्म बस्दा उहाँहरू नसुति बस्नुहुन्थ्यो। म बिहान सबेरै उठेर पढ्न थाले, उहाँहरू पनि बिहानै उठ्नुहुन्थ्यो। साथीहरूले पनि तिमी ४ जीपीएको क्यान्डिडेट हौंभन्दा मलाई ठूलो हौसला मिल्यो। मलाई विदेशमा डाक्टर पढेर, नेपालमै फर्की सबैको सेवा गर्ने रहर छ।

(चौधरी काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, नयाँ बानेश्वरकी छात्रा हुन्।)




One thought on “दिपसना चौधरी, जसले ल्याइन् ४ जीपीए

Leave a Reply to raj bahadur chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *