हिरासतमा बिताएका युवा अभियन्ता अर्णव चौधरीका ती दिन
दाङको गढुवा गाउँपालिका-७, मानपुरस्थित सामान्य परिवारमा मेरो जन्म भयो । मानपुरमा दुईखाले समाज थिए- जमिनदार र जमिनविहीन, जसलाई दामोदर रोड (हुलाकी राजमार्ग) ले विभाजन गरेको थियो । उत्तरतिर जमिनको स्वामित्व भएका परिवारहरू थिए । दक्षिणतिर अभावको धूलोमा लपेटिएका कमैया र मुक्त कमैयाको बस्ती थियो ।
अधिकांशको जीवन खेती किसानीको परिश्रममा बित्थ्यो, मिहिनेत गर्दा पनि भोकमरीको छाया सधैं मडारिरहन्थ्यो । थारूहरूको बाहुल्य भए पनि पहाडी समुदायका मानिसको पनि बसोबास छ । उनीहरू पनि फरर थारू भाषा बोल्छन् ।
म उत्तरतिर जमिनको स्वामित्व भएको समुदायमा जन्मिएँ । बाजे आजी (हजुरबा-हजुरआमा) सहितको संयुक्त परिवार थियो । सानैदेखि उचित शिक्षा पाएकामा म गर्व गर्छु । मेरो शैक्षिक यात्रा गाउँकै प्रावि स्कुल ‘ज्ञान कुञ्ज’ मा सुरु भयो । पानी पर्दा खरको छानाबाट कक्षाकोठाभित्रै पानी चुहिन्थ्यो । खासमा त्यो पाठशाला ज्ञानभन्दा बढी अभावको एउटा चुहिने भाँडो थियो । त्यहाँ पढाइ हुन्थ्यो तर शिक्षाको गहिराइ थिएन ।
जब मेरा बाबाले आर्थिक अवस्था सुधारेर मलाई ‘ज्ञान ज्योति’ बोर्डिङ स्कुलमा भर्ना गराउनुभयो, मेरो अध्ययनको पाटो फेरियो । पुराना साथीहरूको जीवनशैलीसँग दूरी बढ्यो । साथीहरू बिहानै खोलानाला र खेततिर लाग्थे, म भने बिहानै ट्युसन र होमवर्कको यातना बोकेर स्कुल जान्थें ।
दसैं बिदामा खेलकुद हाम्रो साझा उत्सव थियो । जंगलमा आँप टिप्ने, काँक्रा चोर्ने, खोलामा दिनभर पौडी खेल्ने, यी सब हाम्रो बाल्यकालको चञ्चलताका प्रतीक थिए ।
दसैं बिदामा होमवर्कको तनाव मेरो साथी हुन्थ्यो । खेमराज यादव सरको गणितको सूत्र र लाल सरको व्याकरणको सूत्र घोक्न नसक्दाको भय आज पनि उत्तिकै गह्रौं लाग्छ । खेमराज सरले यति धेरै होमवर्क दिनुहुन्थ्यो कि दिमाग खराब हुन्थ्यो । म पढाइमा राम्रो (कक्षामा फस्ट वा सेकेन्ड हुने) भएकाले खासै पिटाइ खानुपरेन । अरू साथीले भने ‘कर्पोरल पनिसमेन्ट’ (शारीरिक सजाय) निकै भोग्थे । उनीहरूलाई इँटा राखेर हात ठाडो पार्न लगाइन्थ्यो, भाटाले पिटिन्थ्यो ।
होमवर्कको त्रासका बीच पनि मलाई मामाघर जाने रहरले कहिल्यै रोकेन । मीठो परिकार र ‘दक्षिणा’ को लोभले मामाघरतर्फ आकर्षित गर्थ्यो । मामाघरका दाजुभाइले लगाएका नयाँ जिन्स पाइन्ट र जुत्ता मेरा लागि ‘स्टाटस सिम्बोल’ थिए । मामाघरका हजुरबाले एक पटक मलाई जिन्स पाइन्ट किनिदिनुभयो । त्यो नै मेरो पहिलो जिन्स पाइन्ट थियो । बिदा सकिएपछि त्यही पाइन्ट लगाएर स्कुल गएँ । सरले गाली गर्दै पिट्नुभयो । त्यो नै पहिलो र अन्तिम पिटाइ रह्यो ।
बिदापछि स्कुलमा साथीभाइसँग भेट्दाको नौलोपन छुट्टै हुन्थ्यो । नयाँ सामान देखाउने गरिन्थ्यो । त्यसमा एकअर्काबीच प्रतिस्पर्धा नै चल्थ्यो । हामीबीच फिल्मको सीडी (चक्का) सेयर गर्ने चलन थियो । २०/२५ रुपैयाँमा सीडी किनेर जसको घरमा टीभी छ, त्यहीं गएर हेर्थ्यौं ।
चेतनाको कक्षाकोठा
ज्ञान ज्योतिमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । ५ कक्षापछि मेरो शिक्षाको गन्तव्य फेरियो । म शुभतारा इङलिस बोर्डिङ स्कुलमा गएँ । त्यहाँ नै मेरो वैचारिक जागरणको ढोका खुल्यो । मेरा लागि त्यो विद्यालय केवल पढाइको थलो थिएन, असल शिक्षक र विद्रोही विचारहरूको संगम थियो ।
त्यही स्कुलमा पढ्दा मैले समाजलाई नजिकबाट बुझ्ने मौका पाएँ । सानैदेखि बोल्न र मञ्चमा उभिन रुचाउने ममा केशवसिंह ठकुरी सरले बहस र कविताको बीउ रोपिदिनुभयो । त्यसले मलाई लेख्न र मञ्चमा आफ्नो कुरा राख्न थप बलियो बनायो । भगवान दास यादव सरले ‘माल्कम एक्स’ र ‘मार्टिन लुथर किङ’ जस्ता उदाहरणीय पात्रहरूबारे थाहा दिनुभयो । विक्रम रजौरे सरले समाज र यसका संरचना (जातीयता, समाजवाद) बारे पढाउनुहुन्थ्यो । हामी ६ जना मात्र विद्यार्थी थियौं । कक्षामा पढाइभन्दा बढी छलफल हुन्थ्यो ।
मेरा ‘भ्याकेसन’हरू अलि भिन्न हुन थाले । म बिदाका समयमा समाजमा सकारात्मक परिवर्तन ल्याउनेहरूको अध्ययनमा लागें । मार्टिन लुथर किङको ‘आई ह्याव अ ड्रिम’ जस्ता निबन्धहरू भ्याकेसनका मेरा साथी बने । बुबाले पनि ‘मुना’, ‘युवा’ जस्ता पत्रिका र पुस्तकहरू ल्याइदिनुहुन्थ्यो ।
म सामाजिक काममा पनि जुट्दै गएँ । ‘बाल क्लब सञ्जाल’ को उपाध्यक्ष बनेर बालविवाह र बालश्रम रोक्ने काम गरें । गाउँमा बालमैत्री गाविस घोषणा गर्ने अभियान चलेको थियो । सानै उमेरमा पछाडि दुई जना प्रहरी लिएर हिँड्दा आफ्नो सान बढेको महसुस गर्थें ।
बाल क्लबमै भएका कारण पनि म बिदाको समयमा हुने खेलमा खुबै रुचि राख्थें । हाम्रो बस्तीको बीचमा एउटा ठूलो मैदान थियो, जहाँ अहिले वडा कार्यालय बनेको छ । त्यहाँ उत्तर र दक्षिण दुवैतिरका साथीहरू जम्मा भएर खेल्थे । चाडपर्वमा स्टेज बनाएर कार्यक्रम गरिन्थ्यो । मलाई याद छ, उर्मिला चौधरी दिदी (पछि मुक्त कमैया नेता) कार्यक्रम चलाउनुहुन्थ्यो, उहाँको बोलीचाली र सानले हामीलाई प्रेरणा मिल्थ्यो ।
हिरासतका ती रात
एसएलसीको तयारीका क्रममा आएको बिदा मेरो जीवनको सबैभन्दा अविस्मरणीय बन्यो । दाङकै सिर्जना चौधरीको बलात्कार र हत्याको घटनाले २०७१ मा थारू आन्दोलनलाई उत्कर्षमा पुर्याएको थियो । मेरा बुबा हीरालाल चौधरी आन्दोलनको संयोजक हुनुहुन्थ्यो । घरको छलफलबाटै म पनि आन्दोलनको मैदानमा ओर्लिएँ ।
आन्दोलनकै बेला एक दिन गाडी रोक्ने क्रममा प्रहरीसँग झडप भयो । हामीलाई प्रहरीले लखेट्यो । हामी हिलैहिलो दौडियौं । हिलो लागेको कपडा खोज्दै प्रहरी मेरो डेरासम्म आइपुग्यो । म पक्राउ परें । म लमहीको पुलिस थानाको हिरासतमा सात दिन बसें । त्यहाँको वातावरण निकै फोहोर थियो । प्रहरीहरूको व्यवहार निकै क्रूर थियो ।
हिरासतमा खाने व्यवस्था पनि गतिलो थिएन । एकदम झ्याउ लाग्थ्यो । एउटा पत्रिका आउँथ्यो । त्यही पत्रिका म ९ पटकसम्म पढ्थें । त्यसपछि नै मलाई पत्रिका पढ्ने बानी बस्यो । पत्रकार दशरथ झिम्रे दाइको प्रयासपछि म हिरासतबाट मुक्त भएँ । त्यो सातदिने थुना मेरो राजनीतिक चेतनाको अर्को कडी थियो । हिरासतबाट मुक्त भएपछि एसएलसी दिएँ । गाउँमा उर्मिला चौधरी दिदीको नेतृत्व कला, सहरमा बुनु थारू दिदीको वाक् कलासँग पहिल्यैदेखि लोभिएको थिए । उहाँहरू जस्तै बन्नुपर्छ भन्ने लाग्थ्यो ।
थारू कल्याणकारिणी सभाको महाधिवेशनमा भाग लिन झापा जाँदा बुनु दिदीलाई भेटेको थिएँ । दिदीको हातमा संविधान थियो । त्यसबारे उहाँले भनेपछि मलाई कानुन पढ्न रहर जाग्यो । तर घरको अवस्था अर्कै थियो । घरका कसैलाई डाक्टर बनाउनु थियो त कसैलाई इन्जिनियर । ‘दाङमा पढ्ने भए ह्युम्यानिटिज, काठमाडौं जाने भए साइन्स’ भन्ने सर्त आएपछि मैले काठमाडौं रोजें ।
काठमाडौं आइपुगेको दोस्रो दिन १२ वैशाखमा भूकम्प आयो । बानेश्वर चोकमा हजार रुपैयाँ बोकेर एक्लो उभिएको थिएँ । दुई रात संसद् भवनको चौरमा बिताएँ । तेस्रो दिन दाइ आउनुभयो र लिएर जानुभयो । काठमाडौंको सीसीआरसी कलेजमा साइन्स पढ्न सुरु गरें । तर भौतिक विज्ञानको सूत्रले मेरो मन छोएन । म हरेक टर्ममा फेल हुन्थें ।
इन्जिनियरिङका लागि तयारी गर्ने पैसा लिएर लाङटाङ घुम्न गएँ । भृकुटी मण्डपको पुस्तकालयमा गएर अध्ययन गरें । ओस्कार कलेजमा अन्तर्राष्ट्रिय सिनेमाहरू हेरें र माइतीघरको हरेक आन्दोलनको साक्षी बनें । म आन्दोलनकारीहरूसँग कुरा गर्थें, उनीहरूको भोगाइ बुझ्थें । अन्ततः मैले विज्ञान छोडेर कानुन अध्ययन गर्ने अठोट गरें र म आज अधिवक्ता बनेको छु । साइन्स फेल भएकै कलेज सीसीआरसीमा पढाउँछु पनि ।
आज, मेरो ‘बिदा’ वा फुर्सदको समय समाज रूपान्तरणका लागि खर्च हुन्छ । गाउँमा बाटो निर्माण, वृक्षरोपण र सरसफाइको काम गर्छु । मेरो हरेक कदममा त्यो माटोको गन्ध र अभावको कथा सधैं साथमा हुन्छ । पुलिसको बुट खाँदै हिरासतमा बिताएको त्यो अविस्मरणीय बिदाले नै मलाई आजको यो अर्णव चौधरी बनाएको हो ।
कान्तिपुर कोसेलीबाट साभार
Facebook Comment