विशाल र सुस्माले जिते मिस्टर एण्ड मिस थारू आइकनको उपाधि
थारु कला, संस्कृति र युवाको प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस थारु आइकन-२०२६’ को उपाधि विशाल चौधरी र सुस्मा चौधरीले जितेका छन्।
विराटनगरमा सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीलाई पछि पार्दै विशाल ‘मिस्टर थारु आइकन-२०२६’ र सुस्मा ‘मिस थारु आइकन-२०२६’ घोषित भएका हुन्। उपाधिसँगै दुवैले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
प्रतियोगितामा एकलव्य माझी र स्वस्तिका कुमारी सरदार फर्स्ट रनरअप तथा विश्वन चौधरी र सृष्टि चौधरी सेकेन्ड रनरअप घोषित भए। फर्स्ट रनरअपले जनही ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले जनही २० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले थारु युवाले आफ्नो मौलिक कला, भाषा र संस्कृतिको संरक्षणसँगै राज्यका विभिन्न निकायमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम बन्नुपर्ने बताए। उनले समाजमा बढ्दै गएका विकृति न्यूनीकरण गर्न युवाहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस्ता अभियानमा आफ्नो साथ रहने बताए।
कार्यक्रममा वक्ताहरूले थारु समुदायको पहिचान संरक्षणका लागि मातृभाषाको प्रयोग र पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै बालबालिकासँग घरमै थारु भाषामा संवाद गर्न आग्रह गरे।
थारु कला केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष बी.एन. चौधरीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्राप्त सुझावका आधारमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने बताए।
कार्यक्रमको सहजीकरण थारु कला केन्द्रका महासचिव सुनिल चौधरी र सोनम चौधरीले गरेका थिए। कार्यक्रममा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, पूर्वजनप्रतिनिधि, थारु कल्याणकारिणी सभाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले थारु युवाको प्रतिभा उजागर गर्नुका साथै मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा युवाको नेतृत्व विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Facebook Comment