थारु विद्यार्थीलाई अमेरिकी थारूहरूको संस्था टीएफएले खुलायो छात्रवृत्ति
थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए) ले शैक्षिक सत्र २०२६/०२७ का लागि छात्रवृत्तिको आवेदन खुलाएको छ। थारु विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आवेदन खुलाएको हो। नेपालमा कक्षा ११-१२, डिप्लोमा तथा स्नातक तहमा अध्ययनरत थारु विद्यार्थीलाई लक्षित गर्दै संस्थाले छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो।
टीएफएका अनुसार छात्रवृत्तिका लागि आवेदन प्रक्रिया सन् २०२६ नोभेम्बर १५ देखि सुरु भइसकेको छ। इच्छुक तथा योग्य विद्यार्थीले सन् २०२७ जनवरी १५ सम्म आवेदन दिन सक्नेछन्।
छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थी थारु समुदायको हुनुपर्नेछ। साथै, नेपालभित्रको मान्यताप्राप्त शैक्षिक संस्थामा पूर्णकालीन विद्यार्थीका रूपमा अध्ययनरत र शैक्षिक अवस्था राम्रो भएको हुनुपर्नेछ। सरकार वा कुनै गैरसरकारी संस्थाबाट अन्य आर्थिक सहायता प्राप्त गरिरहेका विद्यार्थीले भने यस छात्रवृत्तिका लागि आवेदन दिन पाउने छैनन्।
यसअघि टीएफएको छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीले नवीकरणका लागि आवेदन दिँदा अध्ययनरत कार्यक्रम निरन्तरता दिएको हुनुपर्नेछ।
आवेदनका लागि विद्यार्थीले अघिल्लो शैक्षिक तहको लब्धांकपत्र वा शैक्षिक विवरण, अध्ययनरत रहेको प्रमाण वा विद्यार्थी परिचयपत्र, व्यक्तिगत विवरणसहितको निवेदन, स्थानीय वडा कार्यालयको सिफारिसपत्र, शिक्षक वा सामाजिक कार्यकर्ताको सिफारिसपत्र र पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ।
अपांगता भएका, अनाथ तथा पूर्वकमैया वा कमलरी परिवारका सन्तानले सोसम्बन्धी प्रमाणसमेत पेस गर्नुपर्नेछ। आवश्यक सबै कागजात स्क्यान गरी अनलाइन आवेदनसँगै अपलोड गर्नुपर्ने संस्थाले जनाएको छ।
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको नाम सन् २०२७ को सुरुवातमा सार्वजनिक गरिनेछ। छनोटमा परेका विद्यार्थीलाई इमेलमार्फत जानकारी गराउनुका साथै संस्थाको वेबसाइट र फेसबुक पेजमा समेत सूचना प्रकाशित गरिने टीएफएले जनाएको छ।
टीएफएले हरेक वर्ष मेधावी थारु विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस वर्षको छात्रवृत्ति त्यसकै निरन्तरता भएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले बताए। उनका अनुसार टीएफएको वेवसाइट tharus.org मा गएर आवेदन दिन सकिनेछ। कुनै जिज्ञासा भएमा [email protected] मा इमेल गर्न सकिने छ।
यहाँबाट आवेदन दिन सक्नुहुन्छ, सर्तहरू यहाँ हेर्न सक्नुहुन्छ।
Facebook Comment