त्रिविमा एआई प्रयोग गरे परीक्षा रद्द हुने, समयसीमा कटेका विद्यार्थीलाई मौका परीक्षा

त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय गरेको हो।

यसैगरी वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ। समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

रेशम-रञ्जिताबीच ‘भद्र सहमति’, डाकियो संयुक्त बैठक

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच ‘भद्र सहमति’ भएको छ। काठमाडौंमा उनीहरूबीच भद्र सहमति भएको हो। पार्टी र पारिवारिक दुवै सम्बन्धलाई सुदृढ बनाउनेगरी उनीहरूबीच सहमति भएको स्रोतले जानकारी दिएको छ।

दुईबीचको विवादले उग्र रूप लिँदा पार्टीलाई ठूलो क्षति पुगेको उनीहरूले समीक्षा गरेका थिए। एक भएर अगाडि बढेमात्रै पार्टीलाई जोगाउन सकिने निचोडमा पुगेको उनी ती स्रोतको भनाइ छ। ‘अलग-अलग पार्टी सञ्चालन गर्दा ठूलो क्षति पुगेको उहाँहरूको निष्कर्ष छ। मनमुटावले पारिवारिक जीवनमा पनि बाधा आएको उहाँहरूको समीक्षा छ। जस्तोसुकै परिस्थिति आए पनि श्रीमान श्रीमती मिलेर अगाडि बढ्ने निर्णयमा पुग्नुभएको छ,’ अन्नपूर्णसँग स्रोत भन्छ।

श्रीमान श्रीमतीबीचको सहमतिसँगै दुवै पक्षका नेताहरू सम्मिलित बैठक डाकिएको छ। अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशम चौधरीको हस्ताक्षरसहित असोज १८ र १९ गते संयुक्त बैठक डाकिएको छ। ‘एक हौं र एक रहनेछौं’ भन्ने सन्देश दिन बैठक डाकिएको स्रोतको भनाइ छ।
बैठकमा टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचन सम्पूर्ण पदाधिकारी र सदस्यलाई पनि बोलाइएको छ। रेशम-रञ्जिताबीच टकराव आउनुको मुख्य कारण पनि महाधिवेशन रहेको थियो। महाधिवेशनलाई मान्यता दिने वा नदिने, रेशम चौधरीलाई अध्यक्षको मान्यता दिने कि नदिने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

‘उपरोक्त सम्बन्धमा हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी ‘हामी एक हौं र एक रहनेछौं’ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम माहधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा काठमाडौंमा बस्ने हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेशित गरिएको छ,’ पत्रमा भनिएको छ।

बैठक बोलाइए पनि समय र स्थान भने तोकिएको छैन। त्यसका लागि नेता गंगाराम चौधरीलाई समर्पक गर्न भनिएको छ।

संविधान संशोधन कांग्रेस -एमालेको एजेण्डा होइन,बहाना मात्रै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभइ सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको बताएका छन्।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरूले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’अध्यक्ष प्रचण्डले भने,‘त्यसैले यो उहाँहरूको एजेण्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’

वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उनले स्पष्ट गरे। उनले भने,’ ‘काग्रेस एमालेका नेताहरूले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो,जनतालाई पनि लुकाएर राखियो तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो तर त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।’

कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको तर त्योभन्दा अघि कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ। संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन ठूला दलहरूको सहयोग नपाएको स्मरण गराउँदै उनले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको, बल्लतल्ला पुर्याउँदा पनि त्यसलाई पारित गर्न तत्परता नदेखाएको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताए।

उनले यो संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताए।

देउखुरीमा व्यवस्थित सहर बनाउने योजना अघि बढाउँदै सरकार

लुम्बिनी सरकारले प्रदेश राजधानी देउखुरीमा सहर निर्माणका लागि लगानी खोज्ने भएको छ। सुन्दर र व्यवस्थित सहर निर्माणका लागि तयार पारिएको गुरु योजनाअनुसार राजधानी क्षेत्रमा सहर निर्माणका लागि लगानी खोज्न लागिएको हो।

एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमूना सहर निर्माणका लागि लगानीको खोजी सुरु गरेको हो। पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।

राजधानी सहर निर्माणका लागि चाहिने स्रोतको खोजी भइरहेको छ। ऋण लिएर भए पनि जग्गा एकीकरण, सहर निर्माणको कामलाई तीव्रता दिने योजनामा प्रदेश सरकार छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘यसका लागि मुख्य गरी स्थानीय, राजनीतिक दल, जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ। उहाँहरूको प्रतिबद्धता प्राप्त भएकै दिनबाट सरकारले ऋण प्राप्तिको प्रक्रिया थाल्छ।’

प्रदेश सरकारको बजेटले राजधानी सहर निर्माण धान्न नसक्ने उनको भनाइ छ। यसका लागि दातृ निकायहरूको साथ र सहयोग अपरिहार्य छ। यही कारण प्रदेश सरकार लगानी खोज्ने अभियानमा लागेको उनले बताए।

यसैबीच लुम्बिनी प्रदेश सरकारले राजधानी सहर निर्माणबारे हालसम्म भएका प्रगति र भाबी योजनाको बारेमा सरोकारवाला पक्षसँग छलफल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरूको विशेष उपस्थितिमा राजधानी सहर निर्माणबारे हालसम्म भएका प्रगति र भाबी योजनाबारे छलफल गरिएको छ।

राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीलगायत सरोकारवाला पक्षसंग राजधानी सहर निर्माणबारे छलफल र सुझाव संकलन गरिएको छ। जग्गा एकीकरणको कामले गति लिनुपर्ने, सरकारले लिएको लक्ष्यअनुसार छिटो सहर निर्माणको काम अघि बढाउन सरोकारवालाले सुझाव दिएका थिए।

संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी सरकारको मात्रै नभएर राजधानी क्षेत्रका स्थानीय बासिन्दाहरूको रहनुपर्ने बताए। ‘राजधानी व्यवस्थित गर्ने जिम्मेवारी राजधानीबासीको पनि हो। भविष्यका पुस्तालाई सुविधायुक्त जीवन र सुविधा सम्पन्न सहर सुम्पिने दायित्व सबैको रहन्छ संस्थापक मुख्यमन्त्री पोख्रेलले भने, ‘कसैले त्याग नगर्दा सम्म राम्रो सहर बन्न सक्दैन। भर्जिनल्याण्डमा आउनुको कारण आधुनिक सहर निर्माणको उद्देश्य हो। अव्यवस्थित र समस्याग्रस्त राजधानी सहर चाहिएको छैन। सहर निर्माणबारे अब हामीले दृष्टिकोणमा बदल्न जरुरी छ।

१४ प्लट निर्माण
प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार जग्गा एकीकरणको काम अघि बढेको छ। एक हजार विघा जग्गालाई १४ वटा प्याकेजमा बाँडेर नमूना प्लट निर्माणको काम अघि बढेको प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए। जग्गा एकीकरणको कामलाई तीव्रता दिन, पूर्वाधार निर्माण गर्न स्रोतको अभाव रहेको उनले बताए।

भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल आउँछु भन्नु भएको छ : परराष्ट्रमन्त्री राणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी मोदीबीच सोमबार बिहान भएको साइडलाइन भेटवार्ता भएको हो।

भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने भनेको बताएकी हुन्। उनले भनिन्, ‘दुई देशका प्रधानमन्त्रीबीच भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले आफू छिट्टै नेपाल आउने योजना बनाएको बताउनुभएको छ।’

आजको भेटमा राणाले नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर देखिएका समस्या समाधान गर्ने सहमति भएको बताइन्। भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतका विदेशमन्त्री एस. जयशंकर र अन्य अधिकारीसमेत सहभागी थिए।

भेटपश्चात नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले ट्विट(एक्स)मार्फत ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेर छलफल भएको बताए।

ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेट भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच सोमबार बिहान (न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ) भेटवार्ता भएको हो।nullभेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

भेटपश्चात प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको जानकारी दिएका छन्। यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहेको ट्विट(एक्स)मार्फत जानकारी दिएका छन्। उनले छलफल ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको बताएका छन्।

उनले भनेका छन्, ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।’ भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी थिए। ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारत र नेपालका प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता हो।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए।

समाजवादी मोर्चा सक्रिय बनाउन खोज्दै माओवादी केन्द्र, सातै प्रदेशमा प्रशिक्षण गर्दै

सत्ताबाट बाहिर गएपछि प्रदेशस्तरीय परामर्श समितिको बैठक गरेको माओवादी केन्द्रले समाजवादी मोर्चा नेपाललाई अगाडि बढाउने तयारी थालेको छ। केन्द्रीय समिति बैठकअघि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बीच परामर्श बैठक गरेको माओवादी केन्द्र – एकीकृत समाजवादीसँग मिलेर सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाएर अगाडि बढ्न लागेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत आफ्नो विपक्षी मोर्चामा सहभागी गराउन प्रयत्न गरेपनि तत्काल माओवादीको मोर्चाको जान नसकिने नेताहरुले बताएका छन्। संसद्मा प्रमुख प्रतिपक्ष रहेको माओवादी केन्द्र तेस्रो र रास्वपा चौथो रहेका छन् भने उनीहरुले सरकारविरुद्ध अघोषित रुपमा मोर्चा बनाएका छन्।

प्रतिपक्षमा पुगेका माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले मुद्दाका आधारमा सहकार्य गर्न सकिने निष्कर्ष भने निकालेका छन्। रास्वपाका सभापति रवि लामिछानेको बिहीबार राजनीतिक प्रतिवेदन पारित गर्दै मुद्दा मिल्ने दलसँग सहकार्य गर्ने जनाएका छन्। प्रमुख प्रतिपक्ष दल माओवादीसँग मुद्दाका आधारमा संसद्‍मा सहकार्य हुने रास्वपाका नेताहरुको भनाई छ। प्रचण्डले पनि सत्तामा रहेका उपेन्द्र यादव, प्रभु शाह र रास्वपालाई आफ्नो पक्षमा ल्याउन प्रयत्‍न भइरहेको बताउँदै आएका छन्। यता, डा. बाबुराम भट्टराईले भने नेसपा (महिन्द्र राय यादव पक्ष सहभागी भएपछि) लाई मोर्चामा आबद्ध गराइएको भन्दै आपत्ति जनाउँदै आएका छन्।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि शुक्रबार एमाले र कांग्रेसले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका थिए। ‘समयमै यो कुरामा होस् जाओस्। मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनीय छ। आलोच्य छ।’ उनले भनेका थिए, ‘हामी सबै कुरामा छलफल गरेको चाहन्छौं। हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ। एकताबद्ध भई हातेमालो गर्न तयार छौं।’

माओवादी केन्द्रको दोस्रो साता बसेको स्थायी समिति बैठकबाटै समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरिसकेको छ। सोही अनुसार समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मोर्चा एवम् एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता प्रमेश हमालले मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलनलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको बताए। हमालले मोर्चामा आबद्ध पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए।

समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रहेका छन्।

सुदूरपश्चिमको बजेटमा नागरिक उन्मुक्ति पार्टीको असन्तुष्टि

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सांसद चक्रबहादुर मल्लले त मन्त्रीको खट्टुा छुँदा पनि बजेट नपरेको बताए।

‘हामी निर्वाचन क्षेत्रका जनतालाई विकासका योजना ल्याउने भनेर भोट मागेका हुन्छौं, उनीहरू आशमा बसेका हुन्छन्। मैले बजेटका लागि मन्त्रीलाई अनुरोधमात्रै होइन, खुट्टा समातेको छु,’ मल्लले आक्रोश पोखे।

उनले यसपालीको बजेटमा आफ्नैहरूले धोका दिएको बताए। ‘हामीहरू आफ्नै गोरुद्वारा मारिएका छौं,’ उनले भने, ‘प्रदेश सरकार सुकिलाको पक्षमा लाग्यो।’ उनले ४ बुँदे र २५ बुँदे आचारसंहितामा टेकेर आफूहरूले योजना पठाएको तर बजेट हेर्दा त्यो लागू नभएको गुनासो गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीले आफ्नै पार्टी नेतृत्वको सरकार र आफ्नै पार्टीका आर्थिक मामिला मन्त्री भएर पनि बजेटमा सन्तुलन नभएको गुनासो गरे। ‘आफ्नो निर्वाचन क्षेत्रमा बजेट हाल्न सकेन भनेर मेरो पार्टीको जिल्ला समितिले मलाई दार्चुला प्रवेशमा प्रतिबन्ध लगाएको छ। पार्टी पदाधिकारिहरूले मलाई दार्चुला प्रदेशमा लगाएको प्रतिबन्धको निर्णय मेरो मोबाइलमा पठाएका छन्’ धामीले भने।

उनले आर्थिक मामिला मन्त्रालयको कम्प्युटर इन्ट्रीको काम मन्त्रीको नियन्त्रण बाहिर गएको आरोपसमेत लगाए। ‘मैले मन्त्रीसँग छलफल गरे। मन्त्रीलाई भने तर योजना इन्ट्री गर्ने संयन्त्र उनको नियन्त्रण बाहिर रहेको पाए। यस्तो अवस्था कहिलेसम्म रहिरहने हो? यस्तै भयो भने सांसद मन्त्रीको के काम?,’ प्रमुख सचेतक धामीले प्रश्न गरे।

उनले बजेट आकारको २० प्रतिशतभन्दा बढी योजना पुरानै बजेटमा भएका योजना इन्ट्री भएको दाबी गरे। ‘२० प्रतिशतभन्दा बढी योजना पुरानै बजेटका इन्ट्री भएका छन्। यो अवस्थाबाट निस्कनका लागि संसदमा छलफल आवश्यक भइसक्यो,’ धामीले भने। उनले सांसद मन्त्रीहरू सचेत भएनन् भने यो परम्परा निरन्तर जानेतर्फ सचेत गराए।

त्यस्तै एमालेकी जानकी ऐर बमले मुख्यमन्त्रीले मिठो गरी बोलेका कुरा लागू नगरेको आरोप लगाइन्। भनिन, ‘मुख्यमन्त्रीज्यू मिठो गरि बोल्नुहुन्छ। तर अति आवश्यक कुराहरू छुटेका छन्। गाउँका लागि साना योजना पनि अपरिहार्य हुन्छन्, तर ती सबै छुटेका छन्। बजेटको समानुपातिक बाँडफाँड भएन,’ उनले भनिन्।

सत्ता गठबन्धनभित्रकै नागरिक उन्मुक्ति पार्टीको पनि बजेटमाथि विमति देखियो। नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक समेत रहेका खुसीराम डँगौरा थारूले बजेट परिमार्जनको माग गरे। ‘यसपालीको बजेटमा पनि विचौलियाको गन्ध आएको छ। मन्त्रीहरू कम्प्युर अधिकृतले गरेको हो, सचिवले गरेको हो भनेर पन्छिन् मिल्छ?,’ खुसीरामले प्रश्न गरे।

उनले नेपालका संविधान, बेदपुराण र बाइबल संसोधन भइसकेको भन्दै बजेटको पीडीएफ पनि संशोधन हुनुपर्ने माग गरे। ‘नेपालका संविधानहरू परिवर्तन भइसके। बेद पुराण र बाइबलमा संशोधन भइसक्यो, तर यो बजेटको पीडीएफ किन संशोधन हुन सक्दैन?,’ उनले भने।

प्रतिपक्षले दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले सरकारले सांसदहरूलाई ढाँटेको आरोप लगाए। उनले सरकारले संघसंस्था, ब्यक्तिगत फर्महरु, प्रतिष्ठानहरूमा बजेट नहाल्ने भनेपनि त्यो कार्यान्वयन नभएको आरोप लगाए। उनले बजेटको भाग २ नेपालको संविधान र नेपालका कानुन विपरीत आएको आरोप लगाए।

पार्टीभित्र अराजक गतिविधि गर्नेलाई छुट दिइँदैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन्। पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनको सन्देशसभा विषयक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट नै पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै पार्टीभित्रको अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे।

महाधिवेशनमा पराजय भएका कारण पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग नै पैदा गरेको उनले बताए। उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए। अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा भद्दा हुँदै गएको कार्यशैली नेकपा एकीकृत समाजवादीमा स्वीकार्य नहुने बताए। देशको हितमा आट र हिम्मतका साथ आफ्नो कुरा विश्वमाझ राख्नसक्ने कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता रहेको उनले बताए। त्यस्तै खनालले पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिने स्वीकार्य नहुने स्पष्ट पारे।

‘असोज ३ कालो दिन’ : श्रीमती, भाइभतिजा र आसेपासे पोस्ने यो फेलियर संविधान हो (अन्तर्वार्ता)

संविधान जारी भएको असोज ३ गते थारूहरूले कालो दिवसको रूपमा मनाउँदै आएको छ। विसं २०७२ मा संविधान जारी भएयता थारू अगुवाहरूले यसको विरोधमा कालो दिवसको रूपमा मनाउँदै आएका छन्। आज पनि काठमाडौंलगायत थारू बाहुल्य क्षेत्रमा संविधानको विरोधमा सभाहरू भए, संविधान जलाइए। तर, थारूहरूले किन आजको दिन कालो दिनका रूपमा मनाउँछन्? संविधानमा थारूका असन्तुष्टि के हुन्? संविधानमा थारूहरूले के चाहेका छन्? यिनै प्रश्नहरूसहित थारूवान डटकमले युवा नेता सिताराम थारूसँग प्रश्न गरेको छ। उनी थरूहट थारूवान राष्ट्रिष मोर्चाको युवा संगठनको संयोजक र बर्दियाली थारू विकास मञ्च काठमाडौंको अध्यक्ष पनि हुनुहुन्छ।

थारूहरूले संविधान दिवसको दिन कालो दिन मनाउनुको कारण के हो?
थारू, मधेसी, मुस्लिम, जनजाति, दलित तथा पीछडा वर्गको रगतले लेखिएको संविधानमा उनीहरूकै अधिकारलाई कुल्चिएको छ। यो दिनलाई थारूलगायत पीछडा वर्गले विगत ९ वर्षदेखि कालो संविधानमन रूपमा मनाउद्ददै आएका छन्।

संविधानमा थारूहरूको असहमति के-के हुन्?
हजारौं वर्षदेखि थारू समुदायले बसोबास गर्दै आएको भूगोललाई ६ टुक्रा पारेर जुन किसिमले थारूहरूको पहिचान, अस्तित्व र उनीहरूको इतिहास मेटाउने गरी प्रदेश सीमाकंन र नामाकंन गरियो, यो नै सबैभन्दा ठूलो आपत्ति र दुर्भाग्य थियो। दोस्रो गल्ती, समानुपातिक समावेशी रोजगारीको हकमा संविधान बनाउँदा ठग्ने काम भएको छ। अन्तरिम संविधान २०६३ धारा ३८ मा स्पष्ट व्याख्या गरिएको थियो, जहाँ समाजिका न्यायको हक, सरकारी जागिरमा जातीय जनसंख्या र विविधताको आधारमा समानुपातिक सुनिश्चितता गरिएको थियो। तर, अहिले यो ब्यवस्था हटाएको छ। लोकसेवा आयोग पनि वैज्ञानिक छैन। अझ यसले एकल जातिलाई कानुनीरूपमा संरक्षित बनाएको छ। मातृभाषामा सूचनाको हक र मातृभाषामा पढ्न पाउने हकको ग्यारेन्टी अन्तरिम संविधानले व्यवस्था गरेको थियो। तर, अहिलेको संविधानमा यो पनि हटाएको छ। पछाडि पारिएका जातव, वर्ग, समुदायको पहुँच नपुगोस् उनीहरूलाई संविधानसभामा सांसद बनेर नछिरुन् भनेर निर्वाचन प्रणालीलाई उल्टाइएको छ। ४० प्रतिशत प्रत्यक्ष र ६० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीलाई उल्टाएर कानुनीरूपमा बन्देज लगाइएको छ। अझ प्रत्यक्ष १ जना निर्वाचित सांसद र ३ प्रतिशत थ्रेस होल्डको जबर्जस्ती ब्यवस्था लादेर साना दल र राज्यसत्तामा पहुँच नभएकाहरूको ढोका बन्द गर्दै समानुपातिक प्रणालीको गलत अभ्याससहित आफ्नै श्रीमती, भाइ, भतिजा आसेपासेलाई भर्ती गर्ने बाटो बनाएको हामी जनताले प्रत्यक्ष देखिरहेका छौं। योभन्दा लाजमर्दो र घृणित काम के हुनसक्छ?

थारू समुदायलाई कस्तो संविधान चाहिएको हो ?
पहिचान सहितको थारूहरूको सघन बसोबास बाहुल्यता रहेको भूगोललाई थरूहट/थारूवान प्रदेश बनाउनुपर्छ दोस्रो कुरा, जातीय जनसंख्याको आधारमा राज्यको हरेक अंगमा पूर्ण समानुपातिक समावैशी प्रणालीको व्यवस्था गर्नुपर्छ। संविधानको अस्पष्ट धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ लाई संशोधन गर्नुपर्छ। थारू आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्छ। स्थानीय सरकार बनाउन त्यही स्थानीय जनतालाई स्वतन्त्र अधिकार दिनुपर्छ। पार्टीले हस्तक्षेप र सहभागी जनाउनु हुँदैन। राणातन्त्र होस् या राजतन्त्र होस् वा गणतन्त्र होस्, राज्यले आफ्नो जनतामाथि बर्बर दमन गर्दै आएको छ। यसरी विभिन्न कालखण्ड र इतिहासमा गरिएको दमन, अत्याचार र शोषणलाई स्वीकार गर्दै राज्यले आफ्नो जनतासँग क्षतिपूर्तिसहित माफी माग्नुपर्छ।

थरूहट/थारूवान जातीय राज्य हो। यसले जातजातिबीच द्वन्द्व सिर्जना गर्छ। अझ नेपालमा सयभन्दा बढी जातिहरू छन्। यस्तो जातीय राज्य दिएर सम्भव हुँदैन भनेर ठूला दलका ठूला नेताहरूले विरोध गरेको पाइन्छ। यो विषयमा के भन्नु हुन्छ?
एकदम सही विषय उठाउनुभयो। २०६२-०६३को जन आन्दोलनपछि राज्य पुनःसंरचना गर्दा विज्ञहरूले १४ प्रदेशको पहिचानसहित राज्य बनाउने सुझाव दिएका थिए। तर, ठूला दलका ठूला नेताहरूले मानेन। पछि फेरि ११ प्रदेशमा छलफल भयो त्यो पनि मानेनन्। अन्तिममा ७ प्रदेश बनाए। यो ७ प्रदेश अन्तरिम संविधान विपरीत हो। यिनिहरूले आफैंले गरेको निर्णयलाई लत्याए। अन्तरिम संविधानले पहिचानका ५ र सामर्थ्यका ४ आधारमा टेकेर प्रदेश बनाउने स्पष्ट व्यवस्था गरेको थियो तर त्यो मानेनन्। विशेष गरेर नेपाली काङ्ग्रेस, एमाले र राप्रपाले मानेन, जसको एउटै कारण थियो, यो उनीहरूको पार्टीले बोकेको एजेन्डा थिएन। उनीहरूको एउटै आरोप थियो, जातीय राज्य दिनु हुन्न यसले द्वन्द्व निम्त्याउँछ। यसमा माओवादी, मधेसवादी दलले आफ्नो अडान लिन सकेनन्। फरक धार, फरक एजेन्डा बोकेर आएको पार्टीहरू त्यही नेपाली काङ्ग्रेस र एमालेको सत्ता समीकरण बिलिन हुँदै आफ्ना एजेन्डाहरू ध्वस्त बनाउँदै गयो आज रिजल्ट तपाईं हामीसँगै छ। पहिचानसँग जोडिएको एजेन्डालाई यति धेरै भ्रमित बनाएकी थरूहट, मगरात, लिम्बुवान, खम्बुवान, नेवा, ताम्सालिङ यसलाई जातीय राज्यसँग जोडेर विरोध गरे। सत्य यो हो थरूहट भनेको भौगोलिक पहिचान हो, नेपालको सभ्यता हो, देशको सम्पदा हो। तर, यसलाई गलत व्याख्या गर्दै कमजोर बनाए। यो नै देशकै लागि विडम्बना बन्न गयो। आज थारूलाई जातिवादी देख्नेहरू ६ वटा प्रदेश आफ्नो बहुमतको प्रदेश बनाए अझ आफूलाई असुरक्षित अल्पमतमा नपरोस् भनेर जिल्ला नै टुक्राए। उनीहरू अन्तरिम संविधान विपरीत जान हुने अनि थारूहरूले पहिचानसहितको राज्य माग्दा जातिवादी बिल्ला भिराउने, यस्तो अन्याय गर्न मिल्छ? यो देशको जातिवादी, बिखण्डकारी को हुन्? जनताले राम्ररी चिनेका छन्।

एक दिन कालो दिवस मनाएरमात्रै यी अधिकारहरू पाइन्छ त?
कालो दिवस सधैँ मनाउने होइन। यो १ दिन नै हुन्छ। जुन संविधानको लागि जनताले जनआन्दोलन गरे, जनविद्रोह गरे, थरूहट आन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन विभिन्न पहिचानवादी शक्तिहरूको आन्दोलनबाट हजारौं जनताले ज्यान गुमाए, सहिद भए, टुहुरा भए, बिधुवा भए, अंगभंग भए। तर, यही १ दिन अर्थात् असोज ३ गते जारी भएको संविधानले सहिदहरूको सपनालाई कुल्चिएको छ। उनीहरूले गरेको बलिदानी कुल्चिएको छ। आम जनताको भविष्यलाई कुल्चिएको छ। त्यसैले असोज ३ गते जारी भएको जनविरोधी संविधान संशोधन हुनुपर्छ।

थारू नेताहरूबीच नै मेलमिलाप देखिँदैन। थरूहट आन्दोलन गरेका नेताहरू पनि अहिले अलग अलग पार्टीमा छन्। यसरी संविधानमा थारूका अधिकार पाइएला र?
यो एकदमै गम्भीर प्रश्न हो। व्यक्तिको मौलिक अधिकारलाई उनीहरूको स्वतन्त्रतालाई कसैले खोस्न सक्दैन र खोस्नु पनि हुन्न। सबै थरूहट आन्दोलनमा लागेको नेताहरू एउटै पार्टीमा बसुन् भन्ने थारू समुदायको माग पनि होइन, त्यो सकिँदैन पनि। थारू समुदायको एउटै माग हो, थारूहरूको साझा मुद्दामा एकजुट हुन, एक ढिक्का भएर आफ्नो जाति समुदायको मुक्तिका लागि आफ्नो पार्टीभन्दा माथि उठेर समुदायको लागि लडुन भन्ने हो। यो कुरा यी नेताहरूलाई स्पष्ट थाहा छ कि हामी जबसम्म साझा मुद्दामा एकजुट हुँदैनौं, तबसम्म थारूले अधिकार पाउनेवाला छैनन्। शासकले टेर्नेवाला छैनन्। अब पार्टीको दास बन्ने कि जनताको प्रिय नेता बन्ने निर्णय आफैंमाथि छ।

थारू नेताहरू फेरि मुद्दाका लागि एक भएर आन्दोलन चर्किने सम्भावना छ?
अहिले शासकहरू पहिचानका मुद्दालाई कमजोर बनाइ सकेका छन्। नयाँ पुस्तालाई यो विषयमा त्यति वास्ता छैन। सत्यलाई लुकाएर अहिले युवापिढीलाई गलत स्कुलिङ गरिरहेका छन्। यसर्थ तत्काल सडक आन्दोलन गर्न गाह्रो छ। अर्कोतिर, थारू नेताहरूले आफ्नो जनविश्वास गुमाइसकेको अवस्था छ। एकले अर्को नेताको अस्तित्व स्वीकार्न सकिरहेका छैनन्। यसले झन् चुनौती थपिएको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो समुदायको हितको लागि एकजुट भएर एक ठाउँमा आए भने मात्र आन्दोलन चर्किन सक्छ। नत्र भने सम्भावना कम छ।

टीकापुर आन्दोलनको जगमा खुलेको नागरिक उन्मुक्ति पार्टी एजेन्डाविहीन छ। थरूहट थारूवान राष्ट्रिय मोर्चा पनि निस्क्रिय छ। अनि कसरी आन्दोलन चर्किएला?
टिकापुर आन्दोलनबाट खुलेको नागरिक उन्मुक्ति पार्टी थरूहट तराई पार्टी नेपालको एजेन्डालाई आत्मसात गरेको छ। थरूहट तराई पार्टी नेपालको चुनाव चिन्हदेखि लिएर थरूहट प्रदेश, जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी, स्वयत्त शासन, आत्मनिर्णयको अधिकार लगायतका एजेन्डाहरू छन्। तर विडम्बना यी मुद्दा, एजेन्डाहरू गुम्राहमा राखेर रेशम चौधरीलाई मात्र प्रमुख मुद्दा बनाए र रेशमको प्रचार गरे। यो नै नागरिक उन्मुक्ति पार्टीको लागि दुर्भाग्य हो। व्यक्ति बलियो भएर पार्टी बलियो हुँदैन। यो कुरा नागरिक उन्मुक्ति पार्टीलगायत अरु दलले पनि बुझ्नुपर्छ। आजको परिणाम पनि यही हो। थरूहट थारूवान राष्ट्रिय मोर्चा आफ्नो एजेन्डामा स्पष्ट हुँदाहुँदै जिल्ला जिल्लामा संगठन कमजोर भएको कारण सशक्तरूपमा आन्दोलन गर्न सकेको छैन। यो सुधार्नुपर्ने जरुरी छ। अबको आन्दोलन फरक धार फरक तरिकाबाट गर्नुपर्छ।

थारू नेताहरूलाई एक ठाउँमा उभ्याएर थारू अधिकारका निम्ति लड्न के गर्न पर्ला?
यसका लागि पहिलो कुरा लोभ लालच र ब्यक्तिगत स्वार्थ त्यागेर पार्टीको दास मानसिकताबाट बाहिर आएर आफ्नो समुदायको मुक्तिको लागि एकजुट हुनुपर्छ। एकले अर्कोको अस्तित्व स्वीकार गरेर समस्या पहिचान गरि एक ढिक्का भएर लड्नुपर्छ। थारू नेता मात्र होइन, थारू अधिकार र मुद्दाको विषयमा थारू बुद्धिजीवी, थारू युवा, किसान, विद्यार्थी सबै गम्भीरतापूर्वक छलफल, बहस र पैरवी गर्नुपर्छ। यदि नेताहरू थारू समुदायप्रति गद्दारी गरिरहेका छन्, पटक-पटक धोका दिइरहेका छन् भने त्यस्ता नेताहरूलाई पहिचान गरी सामाजिक बहिष्कार गर्नुपर्छ।