सिकलसेल पीडित थारूले विहे गर्नुअघि हेर्नैपर्ने कुण्डली यस्तो छ

सिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ।

नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै रहेको तुलसीपुर उपमहानगरका उपप्रमुख श्यानी चौधरीले बताइन्। थारू समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नका लागि विवाह गर्दा रोगी भएका व्यक्तिले अर्को रोगी भएका व्यक्तिसँग विवाह गर्न नहुने कुरामा सबैलाई सचेतना दिन आवश्यक रहेको उनको भनाइ थियो।

‘अहिले पनि सिकलसेल रोगी तथा वाहक (सिकलसेलको आधा देखिएको अवस्था) भएकाले अर्को रोगी तथा वाहक भएकासँग बिहे गर्दा सन्तानलाई पनि सताउने गरेको छ,’ उनले भनिन्, ‘त्यसैले गाउँ-गाउँ र टोलटोलमा गएर यो विषयमा सचेतना दिनुपर्छ।’ यो रोगले थारू समुदायलाई निकै सताएको भन्दै अब पनि यो विषयमा सचेतना प्रदान गर्न नसकिएमा यसले थारू समुदायको अस्तित्व नै खतरा पार्न सक्ने भएकाले सबै तहका सरकारले चेतनामूलक कार्यक्रमलाई व्यापक बनाएर लैजानुपर्नेमा उनले जोड दिए।

‘रोगी पुरुषले रोगी महिलासँग विवाह गरेमा यो रोग सन्तानमा पनि सर्छ। त्यस्तै बाहक पुरुषले बिरामी महिला तथा बिरामी पुरुषले बाहक महिलासँग बिहे गर्दा पनि सन्तानमा यो रोग सर्ने गर्दछ,’ उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले भने। यो कुरा सबैमा जानकारी नहुँदा अहिले पनि बिरामी-बिरामीबीच विवाह भइरहेकाले समस्या थप जोखिम बन्दै गएको उनको भनाइ थियो।

न्यौपानेका अनुसार बिरामी पुरुष वा महिलाले सामान्यसँग बिहे गरेमा बच्चामा यो रोग सर्दैन। आमा वा बुबाबाहक भएमा पनि सामान्यसँग बिहे गर्दा बच्चामा रोग नसर्ने उनले बताए। यो विषयमा कुरा थारू समुदायको गाउँ-गाउँमा गएर जनचेतना दिन आवश्यक रहेको उनको भनाइ थियो।

आज अप्टिमिष्ट क्लब तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरको सहयोगमा तुलसीपुर-७ मोतिपुरको थारू बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ। क्लबका अध्यक्ष कमल सापकोटाले जनचेतनामूलक कार्यक्रम जिल्लाका सबै थारू बस्तीमा आयोजना गर्ने गरी सुरुआत गरिएको बताए। दाङका थारू समुदायमा सिकलसेल भयावह अवस्थामा रहेको र उपमहानगरका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताए।

सिकलसेल पीडितलाई राज्यले एक लाखसम्मको उपचारको व्यवस्था गरेको उनले जानकारी दिए। गाउँ-गाउँमा रोग पत्ता लगाउनका लागि स्क्रिनिङ गर्न आवश्यक रहेको उनको भनाइ थियो। हालः तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको स्क्रिनिङ भइरहेको केसीले जानकारी दिए। उनका अनुसार दाङमा गएको वर्षमा दुई हजार आठ सय दुई जनामा गरिएको स्क्रिनिङमा ३७ जनामा सिकलसेल भेटिएको थियो भने तीन सय २८ जनामा बाहक देखिएको थियो।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेटवार्ता भएको छ। दाहाल र मोदीबीच यूएईको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी २८औं सम्मेलन (कोप) को दौरान साइडलाइनमा भेटवार्ता भएको हो। Continue reading “प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता”

थारु संस्कृतिलाई चित्रकलामार्फत् संरक्षण गर्दै मिठु

मिठु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै छन्। उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदैछन्।

कैलालीको जानकी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मिठुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मिठुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे।

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिकरूपमा उनले काम गर्दै आएका छन्। मिठुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार पाएको उनले बताए।

‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ। त्यसबाट रू २५ हजार पाएको थिएँ,’ उनले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक ७० हजारदेखि एक लाखसम्म हुने गर्छ।

यतिबेला उनले बाँकेको बैजनाग गाउँपालिका-१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दैछन्। उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्र्ति कुँदेबापत २५ देखि ३० हजारसम्म लिने गरेको मिठुको भनाइ थियो। व्यावसायिकरूपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए।

राष्ट्रियसभाका एकमात्र थारू सांसदको पद रिक्त हुँदै, माघ ११ गतेको निर्वाचनबाट को बन्लान् सांसद?

सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदैछन्। विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदैछ।

नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्यालको कार्यकाल सकिन लागेको हो।

बैठकले जजारकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ। प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ छ।

जिल्लामा जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति खटाउने निर्णय भएको मन्त्री शर्माले जानकारी दिए। बैठकले नेपाल इञ्जिनीयरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णयसमेत गरेको छ।

वडाध्यक्ष दीपक चौधरीको अगुवाईमा बरघर र गुरुवाको स्वास्थ्य बीमा गरिँदै

कैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएको छ। टीकापुर-२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो।

टीकापुर-२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा आवद्ध गर्न थालिएको जानकारी दिए। उनले वडाका हरेक काममा चिराकीको ठूलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बरघर, चिराकी र गुरुवालाई बीमा गरिदिन थालेको बताए। ‘वर्षौंदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठूलो कुरा हो। बिरामी पर्दा तपाईँ र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बीमामा सघाएका छौं,’ उनले भने।

यसरी सामाजिक सेवा गरिरहेका बरघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बीमा गरिएको हो। स्वास्थ्य बीमाका लागि पाँच जनाको परिवारका लागि रु तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले दुई हजार आठ सय र सात सय बिमित स्वयंले तिरेर बीमा गरिएको छ।

स्वास्थ्य बीमामा आबद्ध भए वर्षमा रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाइन्छ। वडाले बीमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी भएका छन्। अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहेका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउँछन्।

तीस वर्षभन्दा बढी समयदेखि बरघरको जिम्मेवारी सम्हालिरहेका बन्दीपुरका बडघर श्यामलाल डगौराले आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बीमा गरिदिँदा धेरै राहत हुने बताए। वडाले आफूमात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उनको भनाइ छ।

बरघर, गुरुवा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन्। पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बरघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हातेमाइकजस्ता सामग्री सहयोग गर्दै आएका छन्।

बर्दियामा दुर्घटना हुँदा बेहुला खुशीराम चौधरीसहित ८ जना घाइते

बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्।

दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२ वर्षीया सीता चौधरी घाइते भएका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुर नजिकै दुलही लिएर पश्चिमतर्फ गइरहेको बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो।

स्कार्पियो दुर्घटना हुँदा त्यसमा सवार ८ जना घाइते भएका छन्। बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार चालक फरार छन्।

घाइतेहरूको अवस्था मध्यम छ। ७ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सिन्धुलीबाट दुलही लिएर कञ्चनपुर गइरहेको गाडी बर्दियामा दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

रौतहटमा जिहादी आतंकवादविरुद्ध सचेतना कार्यक्रम

रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ। सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताइएको छ। प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख वक्ताको रुपमा सहभागिता रहेको थियो। आफ्नो सम्बोधनमा उनले जिहादी आतंकवाद एउटा गम्भीर समस्या हो जसले देशको एकता र अखण्डतालाई खतरामा पारेको बताए। उनले सो समस्याविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए। त्यस्तै प्रदर्शनमा सहभागी सौरभानाथ महाराजले नेपाल निकट भविष्यमै संघीय हिन्दु गणतन्त्र बन्ने दाबी गरे।

कार्यक्रममा अभियानका मधेश सम्पर्क समितीका संयोजक विनोद सिंह, रौतहटका जिल्ला समितिका संयोजक रामनिवास सिंह, रौतहट जिल्ला समितीका सचिव गुड्डु यादव, महिला संयोजक मिना देवी दास र महिला नेत्री शुशीला देवीलगायतको पनि सहभागिता रहेको थियो। अभियानले जिहादी आतंकवादविरुद्ध कडा विरोध व्यक्त गर्दैआएको छ।

सांसद अशोक चौधरी रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सांसदसमेत रहेका अशोक चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको संयुक्त बैठकले पदाधिकारीसहित केन्द्रीय समिति विस्तार, सचिवालय गठन, पार्टीको मुख्य राजनीतिक मार्गसहित राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको थियो।

बैठकले सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन र महामन्त्री डा मुकुल ढकालको वैचारिक प्रतिवेदनको प्रस्तावना पारित गरेको छ। त्यसैगरी बैठकले पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लिमा अधिकारी, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं तथा सहकोषाध्यक्षमा दीपक बोहोरालाई मनोनित गर्ने निर्णय गरेको छ।

त्यसैगरी १४ जना सांसदलाई केन्द्रीय समिति सदस्य बनाउने र प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य स्वीकार गर्दै केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, डा नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई मनोनीत गर्ने निर्णयसमेत गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री डा ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले २१ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। केन्द्रीय सचिवालयमा पदाधिकारी सभापति लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले, महामन्त्री डा ढकाल, सहमहामन्त्रीत्रय कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्षद्वय वसुमाया तामाङ र दीपक बोहोरा रहेका छन्।

त्यसबाहेक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारसमेत सचिवालयमा मनोनीत हुनुभएको छ भने बाँकी सदस्य पछि मनोनीत गरिने विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयलग निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल र मट्टितेलको मूल्य १६० पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ।

काठमाडौंबासी थारूले मनाए सामा चकेवा (फोटो फिचर)

काठमाडौंमा बसोबास गर्ने थारू महिलाहरूले सामा चकेवा पर्व मनाएका छन्। थारू महिला सभाको आयोजना थारू महिलाहरूले सामा चकेवा मनाएका हुन्। थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा पनि मनाइँदै आएको छ।

कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने परम्परा रहेको थारू संस्कृतिविद् भुलाइ चौधरी बताउँछन्।