रामधुनीका तत्कालीन उपमेयर सविनाकुमारी चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो। आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्धारिकाप्रसाद दाहाल, इञ्जिनियर देवेन्द्रनारायण चौधरी, सवइञ्जिनियर हर्षलाल चौधरीविरुद्ध दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार रामधुनी नगरपालिका-३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौं सुनिलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ। जाल्पा सिद्ध निर्माण सेवा पकली सुनसरीमा प्रोपाइटर नानुकुमारी निरौलाविरुद्ध पनि दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको तीन करोड ३२ लाख तीन हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन गरे।

भारत सरकारको अनुदान विद्यालय तथा प्रयोगशाला भवन निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको हो।

हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तार

हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीले संगठन विस्तार गरेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा जिल्ला कार्य समिति गठन गरिएको हो।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्धबहादुर कार्कीको संयोजकत्वमा २५ सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरिएको जानकारी दिए।

डोल्पा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

डोल्पामा नागरिक उन्मुक्ति पार्टीको विजारोपण भइसकेकाले अब बलियो पार्टी बन्दै जाने संयोजक कार्कीले बताए। संगठन विस्तारका लागि शनिबार हवाइजहाजमा डोल्पा पुगेका चौधरी सोमबार फर्किने बताइएको छ।

स्कुल बस दुर्घटना हुँदा दुई विद्यार्थी सम्या चौधरी, विकास चौधरीसहित तीनको मृत्यु

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको हो।

शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा सवार उनीहरूको ज्यान गएको हो। उनीहरू पिकनिक खाएर फर्कदै गरेका थिए। दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।

बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिए।

टीकापुर राजबन्दीहरूको कैद मिनाहा गर्ने निर्णयमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका तीन जना दोषीको कैद सजाय मिनाहा गर्नुको लिखित कारण पेस गर्न सरकार र राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ।

रदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहिबार उक्त आदेश जारी गरेको हो।

सरकारले संविधान दिवसको अवसर पारेर गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीको बाँकी कैद मिनाहा गरिदिएका थिए। कैद मिनाहापछि गत असोज ३ गते उनीहरु जेलमुक्त भएका थिए।

२०७२ भदौमा कैलालीको टीकापुरमा आठ सुरक्षाकर्मी र एक दूधेबालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर छुटेका थिए। रेशमको कैद माफी मिनाहाविरुद्ध शारदा कडायतले सर्वोच्चमा दायर गरेको अर्को रिट भने विचाराधीन छ।

अफगानी शरणार्थीको निष्कासन रोक्न पाकिस्तान, इरान, टर्कीलाई आह्वान

पाकिस्तान, इरान र टर्कीबाट निर्वासित अफगानहरूले शरणार्थीहरूलाई निष्कासन नगर्न आयोजक राष्ट्रहरूलाई आह्वान गरे। उनीहरूले अफगान शरणार्थीहरूप्रति आयोजक देशका प्रहरीले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरे।

तीन सन्तानकी आमा नाजियाले आफूलाई हालै इरानबाट निकालिएको बताइन् । नाजियाले उनका श्रीमानलाई पनि इरानी प्रहरीले पक्राउ गरेको बताइन् ।

“उनीहरूले इरानमा हामीबाट ६० लाख [इरानी मुद्रा] लगे। उनीहरूले हामीलाई बलुचिस्तान प्रान्तको नजिक ल्याए र हामी निजी यातायातबाट यहाँसम्म आइपुग्यौं, ”उनले भनिन्।

यसैबीच, पाकिस्तान र टर्कीबाट निष्कासन गरिएका अफगानीहरूले पनि प्रहरीले दुर्व्यवहार गरेको गुनासो गरेका छन्।

पाकिस्तानबाट निर्वासित अफगान शरणार्थी जावादले भने, “म उनीहरूलाई शरणार्थीहरूलाई विचलित नगर्न र जाडोमा महिला र बालबालिकालाई निर्वासन नगर्न आग्रह गर्दछु।”

“टर्की पुलिसले हामीलाई धेरै उत्पीडन गरिरहेको छ। तिनीहरूले हामीलाई 21 दिनसम्म हिरासतमा राखे र त्यसपछि हामीलाई देश निकाला गरे,” टर्कीका एक निर्वासितले भने।

यसैबीच, शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले एक महिनाभित्र पाकिस्तानबाट २ लाख ९५ हजार र इरानबाट ९५ हजार अफगान शरणार्थीलाई देश निकाला गरेको जनाएको छ ।

पाकिस्तान र इरानले हालै आफ्नो भूमिबाट अफगान शरणार्थीहरूलाई देश निकाला गर्ने क्रम बढाएको बेला यस्तो भएको हो।

प्रभावकारी सेवा प्रदान गर्न मुख्यमन्त्री चौधरीको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रदेश सरकारका सचिवहरूसँग आज मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए। उनले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउनसमेत आग्रह गरे। ‘अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुनसकेको छैन, अब त्यो अवस्था आउन दिनु हुँदैन,’ उनले भने।

सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौं। चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीररूपमा लिन आग्रह गरे। उनले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिनसमेत आग्रह गरे।

मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्नसमेत मुख्यमन्त्री चौधरीले आग्रह गरे। त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्नसमेत उनले निर्देशन दिए। त्यसैगरी योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउनसमेत मुख्यमन्त्री चौधरीले निर्देशन दिए।

थारू सहिदको शालिकमा छेडछाड, तत्काल पक्राउ गर्न माग

बर्दियाको मधुवन नगरपालिका-१ सूर्यपटुवाको डल्ला चोकमा रहेको जनयुद्धका सहिद स्वर्गीय वेदप्रसाद योगीको शालिकमा कालो लगाई झण्डा जलाउने व्यक्तिलाई कारबाहीको माग गरिएको छ। नेकपा माओवादी केन्द्र मधुवन नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै कालो लगाउने हर्कतविरुद्ध खेद प्रकट गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

सोमबार राति अज्ञात व्यक्तिले शालिकमा टांगिएको झण्डा जलाई मुखमा कालो पोतिदिएका छन्। नेकपा माओवादी केन्द्र मधुवन नगरसमितिका इन्चार्ज सुरेस पन्थ, अध्यक्ष हरिहर चौधरी र सचिव युक्तसिंह केसीले संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गर्दै यस्ता गतिविधिबाट पार्टी सचेत भई गम्भीरतापूर्वक लिइएकाले सजगताका साथ निगरानी गर्दै सम्यमतापूर्वक तरिकाले अघि बढ्ने बताएका छन्।

कायरतापूर्ण हरकतले कुना कन्दरमा बैरी अवशेषको अनुभूति दिलाएको बताउँदै निन्दनीय गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित निकायसँग माग गरिएको छ। २०१३ सालमा जन्मिएका जनयुद्धका सहिद योगी द्वन्दका क्रममा ज्यान गुमाएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ०७३ जेठ ३० गते शालिकको शिलान्यास गरेका थिए।

नवलपुरमा नचियो थारू समुदायको पौराणिक मेडरी नाच, तस्बिरमा हेर्नुस्

थारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको हो।

नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन्। संस्कृतिको जर्गेना गर्न प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन मेडरी नाच देखाउने प्रचलन छ।

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताका सहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ। थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ। प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन कावासोती १५ मा अवस्थित गुन्द्रही मेलामा आफूहरूले पनि मेडरी नाच नचाउने गरेको मध्यबिन्दु ३ का थारू अगुवा जुगतराम थनेतले बताए।

‘मेडरी नाच कृष्णलीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ। महाभारतको लडाइँमा पाँच पाण्डवहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ। यस नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ,’ मध्यबिन्दु ३ का वडाध्यक्ष मानबहादुर महतोले भने।

थारु समुदायको गहनाको रूपमा रहेको ‘दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैं, तिहारलगायत पर्वमा नचाइने गरिन्छ। अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ,’ उनले भने, ‘पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ।’ अहिलेको नयाँ पुस्ताले भने मेडरी नाचको महत्व बिर्सिँदै गएको थनेतको बुझाइ छ।

तस्बिर : नेत्र थनेत

हराउँदै थारू समुदायको परम्परागत डेहरी

कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेहरी) बनाउँदै आएकी छन् । माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेहरी बनाउँदै आएको उनले बताइन् ।

‘चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी वषौँंसम्म प्रयोगमा ल्याउन सकिन्छ’ उनले भिनन्’, ‘भकारी बनाउने कार्य पछिल्लो पुस्ताले आत्मसात् नगर्दा हराउँदै जान थालेको छ ।’ थारु समुदायका माटो र काठले बनेका परम्परागत मौलिक घरका ठाउँमा पक्की घर ठड्याइन थालेपछि माटोका भकारी बनाउने कार्यमा कमी आएको उनले बताए ।

‘घरका बुढापाकाबाट भकारी बनाउन सिकेका हौंँ’ उनले भने, ‘नयाँ पिँढी भकारी बनाउने सीप सिक्न तयार छैनन्, यस कार्यले थारु समुदायको रहनसहनसँगै संस्कृतिसँग जोडिएको भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको छ ।’

भकारी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले बनाउने काममा अवरोध हुँदै आएको थारु अगुवा मीनादेवी डगौरा बताउँछन् । ‘परम्परागत घरमा डेहरीले नै कोठा छुट्ट्याउने गरी राखिने गरेको थियो’, उनले भने , ‘परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका भकारी बनाउन छाड्दै गएका छन् ।’

‘टिन, बाँस, निगालो र प्लास्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत भकारी बनाउने काममा यसको प्रभाव परेको छ’, परदेशी चौधरीले भने, ‘सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले थारु संस्कृतिसँग जोडिएको भकारीलााई बिर्सदै जान थालेका छन् ।’ भकारी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उनको भनाइ रहेको छ । ‘यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ’, उनले भने ।

भकारी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ ।’यसमा राखिने अन्न वर्षौँंसम्म राख्दासमेत रोग कीरा लाग्ने र बिग्रने डर हुँदैन’, धनबहादुर कुश्मिले भने, ‘ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिर्र्गदैन ।’ उनका अनुसार हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बुढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ । धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ । भकारी(डेंहरी) धेरै प्रकारको हुने गरेको छ ।

जसमा डेहरी, पटाहा डेहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् । पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्ट्याउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ । पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन रहेको थारु अगुवा हबल्दार चौधरीले बताए। उनका अनुसार पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ ।

त्यो किलामा झोरर्या (झोली) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धूप राखिएको हुन्छ । डेहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ । कुठली अरु डेहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेहरीकै नजिक राखिन्छ । अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नून, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ ।