२२ वर्षदेखि बेपत्ता टाटेराम थारूका परिवारले कुशको शव बनाएर गरे दाहसंस्कार

बर्दियामा सशस्त्र द्वन्द्वका समय बेपत्ता पारिएका परिवारले घटनाको २२ वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका छन् । बेपत्ता पारिएकाको अवस्थाबारे राज्यले सत्यतत्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्न बाध्य भएका हुन् ।

बारबर्दिया नगरपालिका-७ सोनपुरकी रामदुलारी थारूका श्रीमान् टाटेरामलाई सुरक्षा फौजले ०५९ साल साउन २४ गते बेपत्ता पार्‍यो । घटनाको २२ वर्ष बितिसक्यो, टाटेरामको न सास न त लाश नै भेटियो । यतिका वर्ष कुर्दा पनि सरकार र पार्टीले कुनै सूचना निदिएपछि बाध्य भएर रामदुलारीले कुशको शव बनाएर श्रीमान्‌को काजकिरिया गर्नुभयो । आम्दानी नहुँदा छोराछोरीले पढ्न पाएनन् ।

“सरकारले यतिका वर्षसम्म न लास देखायो न सास देखायो । मैले कतैबाट कुनै सहयोग पाइनँ । सरकारले केही गर्ला भन्ने आशा टरेपछि बाध्य भएर दाहसंस्कार गरें । कुनै नेता, पार्टीको मानिसले केही गरेनन्”, रामदुलारीले बताउनुभयो ।

०५९ असार २७ गते गुलरिया नगरपालिका-१२ भैसाहीका लिखाराम थारू सरकारी सेनामा जागिर खान नेपालगन्जस्थित पृतना पुग्नुभयो । तर सेनाले उहाँलाई माओवादीको आरोपमा नियन्त्रणमा लिई बेपत्ता बनायो ।

बारबर्दिया-७ कि पौती थारूलाई ०५९ साल साउन २६ गते सुत्केरी व्यथा लागेको थियो । सुरक्षा फौज सोही रात उहाँको घरमा पसेर श्रीमान् जगतरामलाई जर्बरजस्ती लग्यो । व्यथाले छपटिएकी पौतीले प्रतिवाद गर्न खोज्दा सुरक्षाकमीले उहाँलाई धकेले । पौतीलाई अब श्रीमान् जीवितै फर्केलान् भन्ने आशा छैन । तर अति कमजोर आर्थिक अवस्था भएकोले उहाँले श्रीमान्‌को किरिया समेत गर्न सक्नुभएको छैन ।

“बिहान ल्याइदिन्छौं भनेर लगेका थिए । नलैजाऊ भन्दै छुटाउन जाँदा मेरो गर्भमा असर पर्ने गरी धकेले । निकै दुखेकाले भोलिपल्ट अस्पताल पुगें । एक महिना अस्पताल बसें । श्रीमान् बेपत्ता भएको पीडा छँदै थियो । छोरा जन्मियो, निकै कम तौलको थियो । समोसा खाएर बाँचें । मलाई श्रीमान् चाहियो सरकार । श्रीमान् भएको भए हामलाई पाल्थे । गरिबीका कारण किरिया समेत गर्न सकेकी छैन”, पौती थारूले बताउनुभयो ।

बर्दियामा द्वन्द्वकालमा राज्य पक्षबाट २३४ र विद्रोहीबाट १६ जना गरी २५० जना बपत्ता भएको तथ्यांक छ । द्वन्द्वका समय बेपत्ता पारिएकाहरूको अवस्था दुई दशक बितिसक्दा पनि अज्ञात छ । राज्यले परिपूरणको व्यवस्था गरी बेपत्ता पारिएको अवस्था सार्वजनिक गर्न जरुरी छ ।

  • कमल पन्थी/कान्तिपुर टिभीबाट

टुल्कु हुङ्कर दोर्जेको शंकास्पद मृत्युमा चीनको भूमिका

तिब्बती समुदाय र मानव अधिकारकर्मीहरूलाई स्तब्ध पार्ने घटनाक्रममा, सम्मानित धार्मिक नेता तथा मानवतावादी टुल्कु हुङ्कर दोर्जेको चिनियाँ नियन्त्रणमा रहँदा अत्यधिक शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। तिब्बतको गोलोग जिल्लास्थित गेडे काउन्टीको लुङ्गोन गुम्बाका दशौं सिंहासनधारी दोर्जेलाई सन् २०२५ मार्चमा भियतनामको हो ची मिन्ह सिटीमा चिनियाँ गुप्तचर निकाय र भियतनामी सुरक्षाकर्मीको संयुक्त अपरेसनबाट गिरफ्तार गरिएको थियो। केही दिनमै, मार्च २८ मा, उनलाई स्थानान्तरण गरिएको सार्वजनिक सुरक्षा ब्युरोको हिरासतमा मृत्यु भएको पुष्टि भएको छ।

यो घटना चीनले तिब्बती धार्मिक र सांस्कृतिक नेताहरूलाई लक्ष्य गरी चलाएको व्यापक दमनको रणनीतिसँग गहिरो रूपमा मेल खान्छ, र सीमापार उत्पीडनको चिन्ताजनक प्रवृत्तिलाई झल्काउँछ। हुङ्कर दोर्जेको गिरफ्तारीको तरिका र त्यसपछिका घटनाले चीनको अन्तर्राष्ट्रिय दायराभित्र पुग्ने क्षमताको बारेमा गम्भीर प्रश्न उठाउँछन्। गिरफ्तारीपछि उनलाई तुरुन्तै चिनियाँ नियन्त्रणमा दिइएको र त्यसको केही घण्टामै मृत्यु भएको विवरणले सो घटनाको स्वाभाविकता माथि गम्भीर शंका उत्पन्न गराउँछ।

उनको शवको व्यवस्थापनसम्बन्धी विवरणहरू अझै रहस्यमय छन्। भियतनामको अस्पतालमा राखिएको भनिएको शवलाई कडा सुरक्षा घेरामा राखिएको छ, र लुङ्गोन गुम्बाका प्रतिनिधिहरूलाई मृत्यु प्रमाणपत्र हेर्न त बोलाइयो, तर तिनलाई त्यसको प्रतिलिपि लिन वा तस्वीर खिच्न अनुमति दिइएन। अवशेष फिर्ता लिन गएका प्रतिनिधिहरूलाई चिनियाँ अधिकारीहरूसँग भेट गरिनसमेत दिइएन।

यदि मृत्यु प्राकृतिक कारणले भएको हो भने यति धेरै गोपनीयता किन? शव फिर्ता गर्न अस्वीकार गर्नु, कागजात जाँच्न रोक लगाउनु, र विस्तृत सुरक्षा उपायहरूले यस घटनामा केहि लुकाइएको छ भन्ने स्पष्ट संकेत गर्छ।

टुल्कु हुङ्कर दोर्जे लामो समयदेखि चीनको नजरमा थिए। २०२४ को अन्त्यतिर उनले तिब्बतमा उत्पीडन बढेपछि भियतनाममा शरण लिएका थिए। चिनियाँ अधिकारीहरूले उनीमाथि “सार्वजनिक शिक्षाको नाममा अव्यवस्था फैलाएको” आरोप लगाएका थिए, जुन उनी ‘बेपत्ता’ घोषित भएको केही समयपछि भएको हो। यस घटनाक्रमले योजनाबद्ध रूपमा उनीमाथि दमन गर्न र मौन गराउन गरिएको प्रयासको संकेत गर्छ।

उनको मृत्यु एउटा एक्लो घटना होइन, बरु चीनले तिब्बती धार्मिक नेताहरूलाई नियन्त्रण गर्न र उनीहरूलाई आफ्नो राजनीतिक चाहनाअनुसार झुकाउने अभियानको हिस्सा हो। गोलोग क्षेत्रमा चिनियाँ नियुक्त पञ्चेन लामाको स्वागत गर्न अस्वीकार गरेपछि, उनीमाथि बनावटी आरोप लगाएर लक्षित गरिएको थियो।

टुल्कु हुङ्कर दोर्जेले तिब्बती समुदायको शिक्षा, संस्कृति संरक्षण र मानव सेवा केन्द्रित कार्यहरू गरेका थिए। उनले स्थापना गरेका विद्यालयहरूले हजारौँ घुमन्ते र कृषक तिब्बती बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गरेका थिए। यस्ता प्रयासले चिनियाँ आत्मसात् नीतिको प्रत्यक्ष चुनौती दिएका थिए, जसले उनीमाथि “अनधिकृत रूपमा विद्यालय सञ्चालन” गरेको आरोप लगाउने सम्म पुगे।यो घटनाको अन्तर्राष्ट्रिय आयामले चिनियाँ दबाबमा परराष्ट्र सरकारहरूले निर्वासित तिब्बतीहरूलाई हिरासतमा लिने सम्भावनालाई देखाएको छ। यदि यस्तो प्रवृत्ति बढ्दै जान्छ भने, निर्वासनमा रहेका तिब्बती नेताहरूका लागि पनि सुरक्षित स्थानहरू सिमित बन्न सक्छन्।

टुल्कु हुङ्कर दोर्जेको शंकास्पद मृत्युप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चासो देखाउनु अत्यावश्यक छ। चिनियाँ हिरासतमा एक प्रमुख धार्मिक नेताको अकस्मात् मृत्यु स्वतन्त्र र निष्पक्ष अनुसन्धानको विषय हुनुपर्छ। चीनको अघिल्लो इतिहासले विवेकका कैदीहरूमाथि दुर्व्यवहार र उत्पीडन गरिआएको प्रमाणित गर्दै आएको छ।

हुङ्कर दोर्जेको जीवन कार्य तिब्बती भाषा, संस्कृति र पहिचान जोगाउने संघर्षको प्रतीक बनेको थियो। उनको मृत्युले यस संघर्षमा एक गम्भीर क्षति पुर्‍याएको छ। यति मात्र होइन, यो चीनको व्यवस्थित दमनको एउटा गम्भीर उदाहरण पनि हो, जसले एक व्यक्तिमा होइन, सम्पूर्ण समुदायको आत्माको विरुद्ध कार्य गरिरहेको छ।

आज जब तिब्बती समुदाय शोकमा डुबेको छ, उनीहरूले अधिकारिक विवरणलाई स्वीकार्न सकेका छैनन्। अन्तर्राष्ट्रिय समुदायले यो घटनालाई गम्भीर रूपमा लिनुपर्छ, उत्तरदायित्व माग्नुपर्छ र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न दवाव सिर्जना गर्नुपर्छ। टुल्कु हुङ्कर दोर्जेको जीवनले आशा बोकेको थियो, उनको मृत्युले त्यो आशालाई मार्न खोजिएको छ। अब समय आएको छ कि विश्वले यो आवाज सुनेर न्यायका लागि बोलोस्।

घोराही उपमहानगरले थारु भाषाको बुलेटिन प्रकाशन गर्ने

घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ। थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाले जनाएको छ।

बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेटेर थारु भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने बताइएको छ। समाजका लागि सञ्चार पैरवी नेपाल, थारु पत्रकार, लौव अग्रासनसँग समन्वय र सहकार्य गरेर यो वर्षदेखि थारु भाषाको नगर बुलेटिन प्रकाशन हुने चौधरीले बताए।

घोराही उपमहानगरपालिकाले यस अघि थारु भाषालाई सरकारी कामकाज भाषा बनाउने निर्णय गरेको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीको नगर प्रमुखमा निर्वाचित भएर आएपछि नगरप्रमुख नरुलाल चौधरीले कार्यपालिकाको दोस्रो बैठकबाट थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गराएका थिए।

त्यसपछि घोराही उपमहानगरपालिकाले घोराहीमा थारु भाषामा पठन पाठन गराउने समेत निर्णय गराएको थियो। केही सामुदायिक विद्यालयमा थारु भाषामा पठनपाठन भइरहेको छ ।

थारू गुरुवाहरूले यसरी गरे हात्ती पूजा

मानव र हात्तीबिच सहअस्तित्व कायम गर्न थारु समुदायका गुरुवाले हात्ती पूजा गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अगुवाइमा ठाकुरबाबा नगरपालिका-९ हात्तीसार स्थित मंगलबार बिहान हात्ती पूजा गरिएको हो । स्थानीय थारु गुरुबा(पुजारी)हरूले हात्तीलाई शान्त गर्न पूजा गरेका छन् । हात्तीसारस्थित रहेका हात्तीलाई उखु, केरा, केरालगायत फलफूल खुवाएर हात्ती पूजा गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरि थारु समुदायको बढी बाहुल्य रहेको छ । जसले गर्दा थारु समुदाय हात्तीबाट प्रत्यक्ष प्रभावित हुन्छन् । हात्तीको थारु संस्कृतिसँग सम्बन्ध भएकोले थारु गुरुबालाई प्रयोग गरी हात्तीगज स्थानमा मौलो बनाइ हात्ती पूजा गरिन्छ । हात्ती पूजा गरे हात्ती शान्त हुने र मानवीय क्षति नगर्ने विश्वास रहेको थारु समुदायका गुरुबा ठाकुरप्रसाद थारुले बताए ।

वास्तवमा जीवित देउता गणेश (हात्ती)मात्र रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताए । ‘हात्तीलाई छुन, महसुस, नमस्कार र आफूले हृदयदेखि पूजा गर्न सक्छौँ,’ उनले भने, ‘तर जंगलमा उनीहरूको अस्तित्व संकटमा छ ।’ जंगलमा हात्तीको बासस्थान र उनीहरू हिँड्ने बाटोहरू सुरक्षित गर्नुपर्ने सँगसँगै स्थानीय जनताहरूको जीविकोपार्जनसँग हात्तीबाट हुने विभिन्न क्षतिलाई न्यूनीकरण गर्न विभिन्न कार्यक्रम भए पनि धार्मिक सम्बन्ध गणेशजीसँग भएकोले मानव हात्ती द्वन्द्व घटोस्, मानवको हात्ती प्रति धारणा सकारात्मक होस् भन्ने उद्देश्यले हात्ती पूजा गरिएको प्रमुख संरक्षण अधिकृत डा. रामले धारणा व्यक्त गरे ।

पहिला हात्तीसारमा दसैंको दिन हात्तीबाट सुँगुर कुल्चाएर हात्ती पूजा गर्ने चलन रहेको चोरी सिकारी नियन्त्रण युवा परिचालनका अध्यक्ष हेमन्त आचार्यले बताए । ‘पहिला ठूलो मेलाको रूपमा हुन्थ्यो,’ उनले भने, ‘बीचमा केही समय बन्द भयो, विसं २०७१ सालदेखि हात्तीद्वारा सुँगुर नकुल्चाएर अन्य गतिविधिमा हात्ती महोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आयौँ ।’ पछिल्लो समयमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । विसं २०७३ पछि यहाँका स्थानीय गुरुबाको सहयोगमा मानव र हात्तीबिचको द्वन्द्व न्यूनीकरणको लागि विशेष हात्ती पूजाको थालनी भएको उनले बताए।

‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँग द्वन्द्व र हानी नोक्सानी’ भन्ने नाराका साथ सोमबारदेखि ३०औँ वन्यजन्तु सप्ताह सुरु भएको छ । दोस्रो दिन मंगलबार हात्ती पूजा गरिएको छ । सात दिनसम्म विविध कार्यक्रम गरी सप्ताह व्यापी कार्यक्रम गर्ने निकुञ्जको तयारी छ ।

रामप्रसाद चौहान/कान्तिपुर साभार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

भुटानी लिग खेल्दै बिर्सना चौधरी

नेपाल पुलिस क्लबका ३ खेलाडीले भुटानी लिग खेल्ने भएका छन्। नेपाल पुलिस टिमकी डिफेन्डर पूजा राना मगर र मिडफिल्डर बिर्सना चौधरी र सम्झना लावतीले भुटानी लिग खेल्ने भएका हुन्।

तीनै जना खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट लिग खेल्नेछन्। राष्ट्रिय टिमकी समेत स्टार डिफेन्डर रहेकी पूजाले दोस्रो पटक भुटानी लिग खेल्न लागेकी हुन्। बिर्सना र सम्झनाले भने पहिलो पटक विदेशी लिग खेल्न लागेको पुलिसका प्रशिक्षक भोला सिलवालले जानकारी दिए। बिर्सना यू१९ राष्ट्रिय टिमकी सदस्य समेत हुन्। उनीहरू आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

‘भ्वाइस अफ नेपालबा’बाट बाहिरिए विकास थारु, कोच र प्रतिस्पर्धीले ३ लाख २० हजार दिने

‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजन अन्तिम ८ मा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तको एपिसोडमा कोच उदय सोताङको टिमबाट सुजन खड्का र कोच मेलिना राईको टिमबाट विकास थारु बाहिरिएपछि प्रतिस्पर्धा झनै कसिलो बनेको छ ।

अहिले उत्कृष्ट ८ मा कोच राजु लामाको टिमबाट विराट तामाङ र प्रेमश राई, कोच मेलिनाको टिमबाट रोशन राई र सार्थक लामा, कोच खेम सेन्चुरीको टिमबाट इन्द्रकला राई र प्रोसेस पाण्डे, कोच उदयको टिमबाट अर्पणा आचार्य र दावा लामा छन् ।

प्रतियोगिताबाट बाहिरिए पनि विकास रित्तै हात घर फर्किनुपरेन । चारैजना कोचले आ-आफ्नो तर्फबाट ५०/५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उत्कृष्ट १२ मा पुगेका हरेक ट्यालेन्टले आ-आफ्नो तर्फबाट विकासलाई १०/१० हजार रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन् ।

‘द भ्वाइस’कै प्रतिस्पर्धी दावा लामाले विकासको लागिग एउटा गीत तयार पार्ने प्रतिबद्धता जनाएका छन् । ‘द भ्वाइस अफ नेपाल’ हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।

शिकार खेल्न गएका बेला लाग्यो गोली, तीन जना थारू पक्राउ

जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका-९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरु जना शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली लागेर गब्दहवाकै २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भएको कपिलवस्तुका एसपी निरन्जदत्त भट्टले बताए ।

३० चैतको दिउँसो उनीहरु शिकार खेल्न बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए । यता गाहा मगर पनि बाख्रा चराउन र शिकार खेल्न भनेर गएको प्रहरीको भनाइ छ । प्रमेश भने बन्दुक लुकाउन सहयोग गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

शिकार खेल्न गएकाहरुले चलाएको गोली लागेर गाहा मगर घाइते भएका थिए । उनलाई उपचारका लागि शिकार खेल्न गएका दुई जनाले भैरहवा मेडिकल कलेजमा ल्याएका थिए । अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरविरुद्ध ज्यान कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुबाट दुई थान भरुवा बन्दुक समेत बरामद भएको छ ।

सुदूरपश्चिम प्रदेशले पहिलोपटक छुट्यायो थारू/राना थारू कोटा, सातौं तहमा २ जना माग

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ।

आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ। यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ।

त्यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन खुलेको छ।

त्यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ। यसका लागि थारु/राना थारुका लागि पनि २ वटा कोटा छुट्याइएको छ।

त्यसैगरी प्राविधिकतर्फ ८ जनाका लागि विज्ञापन खुलेको छ। आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दरखास्त बुझाउन सकिने छ। परीक्षा केन्द्र धनगढी कैलाली तोकिएको छ। लिखित परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ।

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव वसन्तप्रसाद कोइरालाका अनुसार थारु कोटा छुट्याएर पदपूर्तिका लागि विज्ञापन खुलाएको यो पहिलो पटक हो। ‘प्रदेशको निजामती सेवा ऐन र नियमावली अनुसार थारु कोटा छुट्याएर पदपूर्ति गर्न लागिएको हो,’ सचिव कोइरालाले भने, ‘मंसिरमा नियमावली आयो, त्यसपछि थारु कोटा छुट्याएर विज्ञापन खोलेको यो पहिलो हो ।’

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनमा थारु/राना थारुका लागि १३ प्रतिशत आरक्षण छ। त्यसैगरी महिलाका लागि ३३, दलितका लागि १४, आर्थिक रुपले विपन्न खस आर्यका लागि ११ प्रतिशत छुट्याइएको छ। त्यसैगरी आदिवासी जनजातीका लागि १०, पिछडिएको क्षेत्रका लागि १० र अपांगका लागि ४ प्रतिशत आरक्षण छ।

फाेनिज अध्यक्षमा लक्की चाैधरी निर्वाचित, यस्तो छ ४५ सदस्यीय नयाँ कार्यसमिति

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भए। विगत १६ वर्षदेखि गोरखापत्रमा आबद्ध उनी गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यसमेत अुज्। धनगढी-५, कैलाली निवासी चौधरी यसअघि फोनिजको वरिष्ठ उपाध्यक्ष थिए। समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफील)मा अध्ययनरत छन्।

फोनिजको अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना शिल्पकार, महासचिवमा समिर बलामी र अल्पसङ्ख्यक सचिवमा लिला दरई सर्वसम्मत निर्वाचित भए।

त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ निर्वाचनमार्फत चुनिए। सचिवमा आठ जनाको प्रतिस्पर्धा भएको थियो। १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको नवनिर्वाचित सचिव मिलन गाहाले जानकारी दिए।

त्यस्तै सात प्रदेशको इन्चार्जतर्फ प्रदेश १ मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बिनीमा गजेन्द्र गुरुङ, कर्णालीमा रत्न सुनुवार र सुदूरपश्चिममा राम लखन चौधरी निर्वाचित भए।

सदस्यमा अतित योङहाङ, प्रदिप कुमार चौधरी, प्रज्वल श्रेष्ठ, निरज रञ्जित, अमिर लामा निर्वाचित भए भने संस्थागत सदस्यतर्फ प्रदिप कुमार लेखी, साहिला तामाङ, दान बहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य निर्वाचित भए।

महिला सदस्यतर्फ विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु, रिया आले, अल्पसङ्ख्यक सदस्यद्वयमा संगीता चेपाङ, प्रितम भुजेल निर्वाचित भए।

सदस्यमा विनोद श्रेष्ठ (विदेश), लेखा समितिको संयोजकमा गजेन्द्र राई र लेखा समितिको सदस्यमा प्रविण कुमार गाहा निर्वाचित भए। फोनिज केन्द्रीय कार्य समितिमा १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन हुन्छ। थप चार जना संस्थागत सदस्य मनोनित गरिने उनको भनाइ छ।