एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, यसरी हेर्नुस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। २०८१ को एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना र २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीहरू ९९ हजार १२४ जना रहेका छन्।

त्यस्तै २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीहरू ४८ हजार ४७९ जना र २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीहरू ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउनेहरू ८ जना रहेको बोर्डले जनाएको छ। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष शर्माले बताए।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार एसईईको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआर सेवाबाट हेर्न सकिन्छ।

बोर्डका अनुसार नेपाल टेलिकमको वेवसाइट तथा १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ। त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, एनसेल एपलगायत वेवसाइटबाट नतिजा हेर्न सकिन्छ।

रूपन्देही ३ मा मोर्चाको तर्फबाट नाउपाको दाबेदारी, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग

संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले दाबेदारी प्रस्तुत गरेको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बोलाएको मोर्चाको बैठकमा भएको उपनिर्वाचनसम्बन्धी एजेन्डामा नाउपाले दाबी प्रस्तुत गरेको हो।

राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउने तयारी गरिरहेका बेला मोर्चाले पनि साझा उम्मेदवार बनाउने विषयमा बिहीबार छलफल गरेको हो। पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार मोर्चामा आबद्ध दलहरूमध्ये नाउपाले धेरै मत ल्याएको भन्दै संरक्षक चौधरीले दाबी प्रस्तुत गरेको बताए।

‘रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा मोर्चा छलफल अगाडि बढाएको छ। गत संसदीय निर्वाचनमा उक्त क्षेत्रमा हाम्रो पार्टीले धेरै मत ल्याएको छ। स्वतः त्यस क्षेत्रमा हाम्रो दाबी रहन्छ,’ संरक्षक चौधरीले थारूवानसँग भने।

मोर्चामा आबद्ध दलहरूमध्ये उक्त क्षेत्रमा नाउपाले धेरै मत ल्याएको थियो। समानुपातिकतर्फ नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए। प्रत्यक्षतर्फ पनि नाउपाले चौथो नम्बरमा रहेको थियो। सोही आधारमा उक्त क्षेत्रको दाबी प्रस्तुत गरेको नाउपाले जनाएको छ।

सो विषयमा टुंगो भने लागेको छैन। ‘आज प्रस्तुत भएका एजेन्डामाथि पार्टीमा छलफल गरेर फेरि आइतबार बस्ने कुरा छ,’ संरक्षक चौधरीले भने। बैठकमा उपनिर्वाचनसहित मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ, लाल आयोगको प्रतिवेदनलगायत विषयमा छलफल भएको थियो।  बैठकमा मोर्चामा आबद्ध दलहरूका शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा जसपा नेपालका उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा, नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, लालबीर चौधरी, अरुण चौधरी, लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतका अब्दुल खान, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, सीएन थारू, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाका वृषेशचन्द्र लाल, ब्रज किशोर सिंह सहभागी थिए।

रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्रलाई २५ लाख बजेट

थारू समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय’ स्थापना हुने भएको छ। मधेु प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय स्थापनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस कदमलाई थारू समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने ऐतिहासिक प्रयासको रूपमा लिइएको छ। थारू समुदायका अगुवा रामानन्द सिंह थारूको नाममा केन्द्र स्थापना गर्ने योजना ल्याइएको हो। जनमत पार्टीले थारू समुदायसँगको ऐतिहासिक सम्बन्धलाई मूल्यांकन गर्दै सांस्कृतिक उत्थानका विषयलाई नीति तथा कार्यक्रममा समेटेको बताएको छ।

थारूको भाषा, कला, परम्परा र सामुदायिक इतिहासमाथि अध्ययन, अनुसन्धान र प्रदर्शनी गर्न सकिने संरचना निर्माण गरिने उक्त मन्त्रालयले जनाएको छ। सप्तरी क्षेत्र नम्बर १, अग्निकृष्णा सबरन गाउँपालिका- प्रसवनी निवासी सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थारू, मधेसी र आदिवासी/जनजातिको हक–अधिकारका लागि उल्लेखनीय योगदान गरेका छन्।

रामानन्द सिंह थारूले थारू समुदायको पहिचानबारे लेखिएको “The Real Story of the Tharus” नामक अनुसन्धानात्मक पुस्तक लेखेका छन्। त्यस्तै गीता र बौद्ध धर्मसम्बन्धी एक दर्जन पुस्तकहरू थारू भाषामा अनुवाद गरेका छन्, जसले थारू भाषाको साहित्यिक कोषमा अभूतपूर्व योगदान पुर्‍याएको छ।म यो वर्षदेखि विधिवत् रूपमा अगाडि बढाइने छ।

एउटा थारूलाई राजनीतिक नियुक्ति गर्दा प्रदेशभर खैलाबैला मच्चिएको छ : मन्त्री लेखी

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले थारू समुदायका व्यक्तिलाई राजनीतिक नियुक्तिमा दिँदा प्रदेशभर खैलाबैला मच्चिएको बताएका छन्। बुधबार जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री लेखीले आफूले मुलुकको संविधान र प्रचलित कानुनअनुसार थारू समुदायका एक जना अध्यक्ष पदमा र दलित समुदायका एक जनालाई सदस्यको रूपमा नियुक्त गरेको बताए। तर, सो कदमलाई लिएर अनावश्यक राजनीतिक तरंग सिर्जना गरिएको उनको भनाइ छ।

संविधानअनुसार थारू र दलितलाई नियुक्ति गरेको उनको भनाइ छ। ‘मधेस प्रदेशका विभिन्न समिति, आयोग र प्रतिष्ठानमा सयौंको संख्यामा नियुक्ति हुँदा आवाज उठ्दैन। तर, मैले एक जना थारू र एक दलितलाई अवसर दिएपछि लेखीले के गर्न खोज्यो भनेर हल्ला फैलाइन्छ,’ उनले भने।

मन्त्री लेखीले आफू कुनै व्यक्ति वा शक्तिको डरले झुक्ने खालको नभएको प्रष्ट पार्दै संविधान, प्रचलित ऐन तथा नियमावली बमोजिम अघि बढ्ने बताए। उनले दलित, थारू, आदिवासी जनजाति, मधेसीलगायतका ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

उनले चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डका अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेका थिए। सोही नियुक्तिलाई अतिरञ्जित भ्रम फैलाइएको उनको भनाइ छ।

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई बुधबार ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए। आज नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए।

पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो। नेपालमाथि उक्त जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको अभियोग छ।

माडी नगरपालिकाको उत्कृष्ट निर्णय, थारूका परम्परागत घरको संरक्षण गरिने

चितवनको माडी नगरपालिकाले आदिवासी थारू जातिको सघन बसोबास भएका वडाहरूमा थारूहरूका परम्परागत घरहरूको संरक्षण तथा सम्बर्द्धनका लागि प्रोत्साहन गर्ने भएको छ। नगर प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको नीति तथा कार्यक्रम पेस गर्दै आदिवासी थारू जातिको बाहुल्यता भएको क्षेत्रमा परम्परागत थारूका घरहरू मासिन नदिन त्यस्ता घरहरूको संरक्षण गर्ने नीति लिएको जानकारी दिइन्।

पछिल्लो समयमा थारूका परम्परागत घरहरू भत्काएर कंक्रिटका संरचना बनाउन थालेपछि नगरपालिकाले मौलिक र परम्परागत घरहरूको संरक्षणलाई प्रोत्साहन गर्ने नीति लिएको बताइन्।

माडी नगरपालिकाको वडा नं. १,२, ३ मा थारू जातिको सघन बसोबास छ। पालिका प्रमुख र उपप्रमुख दुबै थारू जातिबाट निर्वाचित भएका छन्। पालिकाले एक टोल एक रंगको घर निर्माण गर्न प्रोत्साहनसमेत गर्ने नीति लिएको छ।

पालिकाले बेरुजु घटाउन फोकल पर्सन तोकेर काम गर्ने भएको छ। नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको बढ्दो बेरुजु घटाउन फोकल पर्सन तोक्ने बताइकी छन्। माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ पुगेको छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन।

पालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले सो भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने भएको छ। करको दायरामा नआएका उद्योग व्यवसायले २०८२ पौष मसान्तभित्र दर्ता हुन आए विशेष छुट दिइने पालिकाले जनाएको छ।

माडी नगरपालिकाले विद्यालयहरूमा ‘रमाइलो शुक्रबार’ र ‘सिकाइसँगै उत्पादन’ कार्यक्रम सहित शैक्षिक सुधारका २६ बुँदे नीति तथा कार्यक्रमहरु ल्याएको छ। सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, इन्टरनेट सेवा विस्तार गर्ने र शिक्षामा प्रविधिकरणमा जोड्ने नीति नगरपालिकाले लिएको नगर प्रमुख महतोले बताइन्। नगरपालिकाले बघौडा अस्पताललाई आइसीयु, पोष्टमार्टम, ल्याब सेवा र ब्लड बैंकसहित स्तरोन्नति गरी रेफरल अस्पतालको रूपमा विकास गर्ने नीति लिएको छ।

थारू आरक्षण र राजनीतिक सहमति कार्यान्वयन गराउन थाकसले प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापन पत्र

थारू कल्याणकारिणी सभा (थाकस)ले प्रधानमन्त्री केपी शर्मा ओ‍लीलाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायका माग मुद्दाका सबालमा सरकारसँग भएका विभिन्न माग मुद्दाको कार्यान्वयनका निम्ती मंगलबार साँझ थाकसले ज्ञापन बुझएको हो।

त्यस्तै निजामती विधेयकमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबमोजिम थारू आरक्षणको व्यवस्था गर्न पनि थाकसले ध्यानाकर्षण गराएको । संविधानले व्यवस्था गरेको समानुपाति समावेशीताको हक अधिकार बमोजिम थारूको जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गर्न अदालतले दिएको आदेश कार्यान्वय गर्न ज्ञापन पत्र बुझाएको थाकसका सभापति प्रेमीलाल चौधरीले बताए।

त्यस्तै सरकार र थारूबीच भएको ६ बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरिएको उनले बताए। त्यस सहमति बमोजिम विभिन्न आन्दोलन र राजनीतिक घटनामा मुछिएका थारूहरूको मुद्दा फिर्ता र रिहाइ समेटिएको सभापति चौधरीको भनाइ छ।

ज्ञापत्र बुझाउने टोलीमा सभापति चौधरीसहित एमालेका सांसद भगवती चौधरी, केन्द्रीय सदस्य गीता चौधरी, धर्मबहादुर चौधरी, उपत्यका समितिका सभापति सुमन चौधरी, अधिवक्ता श्रवणकुमार चौधरीलगायत सहभागी थिए।

नाउपाका १५ सांसदहरूको भेलापछि रञ्जिताले भनिन्- पार्टी तबमात्र बाँच्छ, जब हामी एकतामा अडिग रहन्छौं

नागरिक उन्मुक्ति पार्टीका संघीय तथा प्रदेश सांसदहरूको भेला काठमाडौंमा सम्पन्न भएको छ। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा संघ र प्रदेशका १५ जना सांसदहरूले पार्टीको भावी रणनीति र कार्यदिशका बारेमा छलफल गरेका छन्।

बैठकमा मधेस प्रदेशकी सांसद उर्मिला देवी सिंह अनुपस्थित थिए। विशेष कारणले उनी बैठकमा उपस्थित हुन नसकेको बताइएको छ।

बैठकपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा तस्बिर पोस्ट्याउँदै भावुक स्टाट्स लेखेकी छन्। उनले पार्टी रहे सांसद रहने कुरा उल्लेख गरेकी छन्। ‘पार्टी रहे सांसद रहन्छन्। एकता र संघर्षको आधार नभए न पार्टी बाँच्छ, न पहिचान टिक्छ,’ उनले भनेकी छन्।

उनले पति रेशम चौधरीको बलिदानी र संघर्षबाट पार्टी जन्मिएको र पार्टी नै पहिचान भएको उनको भनाइ छ। ‘हामी सांसदमात्र हैनौं। हामी रेशम चौधरीको बलिदान र संघर्षबाट जन्मिएको पहिचान हौं। हामी जनताको साहस र आवाज हौं। त्यही मूल्य र मार्गदर्शनले हामीलाई अघि बढाइरहेको छ,’ उनले भनेकी छन्।

उनले सबै एक नहुने हो भने पद पनि खाली हुने र पहिचान पनि हराउने बताइन्। ‘जब हामी एक ढिक्का हुन्छौं। तब संसद हाम्रो माध्यम हुन्छ। जनता हाम्रो शक्ति र न्याय हाम्रो लक्ष्य हुन्छ। हामी र हाम्रो पार्टी दुवै तबसम्म बाँच्छ जबसम्म हामी एकताको शक्तिमा अडिग रहन्छौं। संघर्षबाट जन्मिएको आन्दोलनको यो यात्रा अझ मजबुत बनाउँदै लैजानेछौं,’ उनले भनेकी छन्।

बैठकमा सुदूरपश्चिम प्रदेशका ७, लुम्बिनी प्रदेशका ४ र संघका ४ जना सांसदको सहभागिता रहेको थियो। बैठकमा पार्टी संरक्षक रेशम चौधरीले पनि पार्टीको नीति र सिद्धान्तका विषयमा प्रशिक्षण दिइएको बताइएको छ।

मुताई काण्ड: चिनियाँ सत्ताको बोतलमा बन्द भ्रष्टाचार

मुताई काण्ड केवल अभिजात वर्गको विलासी जीवनशैलीको अर्को उदाहरण मात्र होइन; यो चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) भित्र गहिरिएको भ्रष्टाचार, विशेषाधिकार र राजनीतिक उन्मुक्तिको प्रकृति उजागर गर्ने एउटा महत्त्वपूर्ण झ्याल हो।

यो घटना हेनान प्रान्तमा सुरु भएको थियो, जहाँ एक स्थानीय पार्टी अधिकारी एक राजनीतिक बैठकको क्रममा अत्यधिक मात्रामा प्रिमियम रक्सी सेवन गरेपछि मृत्यु भएका थिए। सुरुमा सामान्य लाग्ने यो घटना चाँडै राष्ट्रिय स्तरको लज्जाको विषय बन्यो, जसले सीसीपीलाई सार्वजनिक रूपमा जवाफ दिन बाध्य बनायो। केन्द्रीय नेतृत्वले “मदिरा संस्कृति” विरुद्ध कारबाहीको घोषणा गर्‍यो। तर यस बयानबाजीको पछाडि अझ गम्भीर यथार्थ लुकेको छ—एक यस्तो प्रणाली, जहाँ विलासिता, प्रभाव र भ्रष्टाचार एकैसाथ प्रवाहित हुन्छन्, प्रायः ब्रान्डेड रक्सीको बोतलमार्फत।

यो विवादको केन्द्रमा रहेको छ मुताई, चीनको प्रतिष्ठित रक्सी, जुन एक समय राष्ट्रिय गौरव र कूटनीतिक सौजन्यको प्रतीक थियो। आज भने यो राजनीतिक मुद्रा बनेको छ—धुँवाधुलो लाग्ने भोजशालामा प्रस्तुत गरिने, गोप्य लेनदेनमा साटिने, र पार्टी पदसोपानमा प्रभावको सूचकका रूपमा प्रदर्शन गरिने। अनुसन्धानहरूले देखाएका छन् कि “विशेष आपूर्ति” भन्दै नक्कली मुताईको भूमिगत कारोबार मौलाउँदै गएको छ। यी बोतलहरूलाई प्रिमियम ब्याच भनेर झूटा लेबल लगाइन्छ, जुन उच्च नेतृत्व, सैन्य निकायहरू र सरकारी मन्त्रालयहरूका लागि मात्र आरक्षित हुने दाबी गरिन्छ।

यस्ता “आन्तरिक प्रयोग” भनेर चिनिने नक्कली बोतलहरू वास्तवमा औद्योगिक-स्तरको मदिराले भरिएका हुन्छन् र आकर्षक प्याकेजिङमा सजिएका हुन्छन्। उत्पादन लागत अत्यन्तै कम भए तापनि, यिनीहरू उपहार र लाभको माध्यमबाट महँगो मूल्यमा बेचेिन्छन्।

तर यो कारोबार केवल आर्थिक अपराध होइन, यो सीसीपीको विशेषाधिकारयुक्त अर्थतन्त्रको प्रतिफल हो। पूर्व अधिकारी तथा कानुनी विज्ञहरूका अनुसार, उच्च गुणस्तरको मुताई सामान्य जनता वा बाह्य बजारमा विरलै देखिन्छ; यसको वितरण पूर्ण रूपमा नियन्त्रित छ। तैपनि नक्कली संस्करणहरू व्यापक रूपमा फैलिनुले स्पष्ट गर्छ—यी वस्तुहरूले स्थिति, पहुँच र परस्पर लाभको संरचनालाई बलियो बनाउँछन्। चिन्ताको विषय केवल रक्सीको प्रामाणिकता होइन; यो शासन प्रणालीको प्रामाणिकता हो, जहाँ विलासिताले योग्यता र जवाफदेहितालाई विस्थापित गरेको छ।

मुताईसँग जोडिएको भ्रष्टाचार कुनै पृथक घटना होइन। सन् २०१९ देखि २०२५ सम्म, राज्यस्वामित्वमा रहेको क्वेइचो मुताई समूहका कम्तीमा तीन वरिष्ठ कार्यकारीहरूलाई भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको थियो। उनीहरूमाथि क्षेत्रीय अधिकारीहरूसँग मिलेर वितरण च्यानलहरूमा एकाधिकार कायम गर्नुका साथै ४ करोड युआनभन्दा बढीको अवैध नाफा कमाएको आरोप लागेको थियो। यी गिरफ्तारीहरू प्रायः सीसीपी भित्रको गुटबन्दी परिवर्तन वा शक्ति संघर्षपछिका ‘भ्रष्टाचार विरोधी’ अभियानसँग मेल खान्छन्। आलोचकहरू भन्छन्—यी अभियानहरूको उद्देश्य न्याय होइन, केन्द्रीकृत नियन्त्रण पुनः स्थापित गर्नु हो।

२०२४ को जुन महिनामा सरकारद्वारा गरिएको राष्ट्रव्यापी कारबाहीले ३,१८,००० भन्दा बढी नक्कली मुताई बोतलहरू जफत गर्‍यो, करिब ५० आपराधिक सञ्जालहरू भत्काइयो, र ८९० मिलियन युआन बराबरको कारोबार ट्र्याक गरियो। ४०० भन्दा बढी व्यक्ति पक्राउ परे। यी तथ्यहरू सतही रूपमा प्रभावशाली देखिए पनि, यो भूमिगत कारोबारको विशालता र राज्य निरीक्षण प्रणालीको विफलता दर्साउँछ।

प्रश्न केवल नक्कली बोतलहरूलाई नियन्त्रण गर्ने होइन, यिनीहरूलाई शक्ति र पहुँचको प्रतीक बनाउने संस्कारलाई उखेलेर फ्याँक्ने हो। किनभने यी वस्तुहरूले त्यो नौकरशाही संस्कृतिलाई समर्थन गर्छन् जुन अस्पष्टता, अनौपचारिक पहुँच र विशेषाधिकारमा आधारित छ।

सीसीपीको पूर्व भ्रष्टाचार विरोधी निकायका वरिष्ठ अधिकारी वाङ युचुआनले थप गहिरो चेतावनी दिन्छन्। उनी भन्छन्—चीनको “विशेष आपूर्ति” प्रणाली केवल कुनै सानो समस्या होइन, यो सत्ता कसरी बाँडिन्छ र कायम गरिन्छ भन्ने प्रणालीको केन्द्र हो। हरेक प्रमुख मन्त्रालय, सैन्य कमाण्ड र प्रान्तीय ब्यूरोले उच्च-गुणस्तरको मदिरा, विशेष परिकार, र आयातित विलासी वस्तुहरूको भण्डार राख्छन्। यस्ता वस्तुहरू प्रभाव र आज्ञापालनको इन्धन हुन्—कानुनी नियमभन्दा बढी पार्टीप्रति वफादारीको मूल्यांकनमा आधारित।

स्वतन्त्र पत्रकारिता चीनमा निकै कठिन भएकोले यस्ता प्रकरणहरूको निष्पक्ष अनुसन्धान लगभग असम्भव छ। राष्ट्रिय सञ्चार माध्यमहरू सरकारको कडा नियन्त्रणमा छन्, र आलोचनात्मक आवाजहरू प्रायः मौन पारिन्छन्। यसैले, यस्ता घोटालाहरू जब कहिले काँही सतहमा आउँछन्, तब मात्र सीसीपीको अनुशासन र एकताको आवरणभित्र लुकेको वास्तविक संरचनाको झलक पाइन्छ।

मुताई, जो एक समय हानिरहित सांस्कृतिक प्रतीक मानिन्थ्यो, आज भ्रष्ट शासनको प्रतीक र लक्षण दुवै बनेको छ, त्यो शासन, जसले कानुनमाथि वफादारीलाई प्राथमिकता दिन्छ, र जहाँ विशेषाधिकार प्राप्त वर्ग जनताको मूल्यमा विलासी घुट्काहरू लिन्छ।

मुटुको कुरो के हो भने, मुताई काण्डको मुख्य मर्म नक्कली रक्सी होइन, नक्कली शासन संस्कृति हो। यस्तो प्रणालीमा जहाँ प्रभाव र पहुँच विलासी वस्तुहरूमार्फत निर्धारण गरिन्छ, र नियमहरू चयनात्मक रूपमा लागू हुन्छन्, त्यहाँ भ्रष्टाचार कुनै अपवाद होइन, त्यो त प्रणालीकै विशेषता हो।

रक्सीका बोतलहरू जफत गरिएला, केही कार्यकारीहरू जेल परुन्, तर जबसम्म शासनका आधारभूत प्रोत्साहनहरू परिवर्तन हुँदैनन्, अर्को घोटाला केवल अर्को भोजको बहाना हुनेछ। अभिजात वर्गले पिएको प्रत्येक घुट्काले जनतालाई तीतो अनुभूति दिलाउँछ, जसलाई कुनै पनि नाराले धोइदिँदैन।

नाउपा सांसदहरूको भेला काठमाडौंमा, रञ्जिताले भनिन्- गल्ती स्वीकारौं, बाटो बिग्रिन नदिऔं

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गल्ती स्वीकारेर अगाडि बढ्नुपर्ने बताएकी छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेपछि रञ्जिताले पार्टी टुक्रिन नदिने प्रतिबद्धता जनाएकी हुन्।

लुम्बिनी प्रदेशका ४ जना सांसद र सुदूरपश्चिम प्रदेशका २ जना सांसदसँग आइतबार भइकझ भेट सकारात्मक, सरल र सार्थक भएको उनको भनाइ छ। ‘हामीहरू एउटै परिवार हौं। राजनीतिक संगठनमात्र होइन, साझा मूल्य र भरोसाको बन्धन पनि हो,’ उनले भनेकी छन्।

पार्टीभित्र केही समय अगाडि अलग-अलग सोच, मनमुटाव र आत्मकेन्द्रित प्रवृत्तिहरू देखा परेको स्वीकार गर्दै उनले कुनै पनि जीवित र स्वतन्त्र पार्टीमा कहिलेकाहीँ यस्ता समस्या देखा पर्ने बताए। तर, नेतृत्वको जिम्मेवारी भनेकै यस्तो संवेदनशील अवस्थालाई संवाद, समझदारी र साहसिक निर्णयबाट सही मार्गतिर फर्काउनु रहेको उनको भनाइ छ।

‘म अध्यक्षको हैसियतले कुनै गुनासो होइन। सकारात्मक ऊर्जा, अनुशासन र समर्पणको भाव बोकेर संगठनलाई अघि बढाउने दृढ संकल्पमा छु। हामी गल्ती स्वीकार गर्छौं, तर बाटो बिग्रन दिँदैनौं। हामी फरक-फरक हुन सक्छौं, तर टुक्रिन्छौं भन्ने छैन। आजको भेट त्यसैको संकेत हो। पार्टी अब अझ संयमित, आत्मविश्वासी र जनउत्तरदायी बन्ने बाटोमा छ,’ अध्यक्ष रञ्जिताले भनेकी छन्।

यसैबीच आज नाउपका संघ तथा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना हुँदैछ।