नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने

नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने भएको  छ। नेपाल क्रिकेट संघ नेपालले बिहीबार उक्त कुराको जानकारी दिएको हो। नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बरमा उक्त सिरिज खेल्न लागेको हो।

क्यानका अनुसार सेप्टेम्बर २७, २८ र ३० मा उक्त खेलहरू हुन्छन्। क्यानले न्युट्रल भेन्युको रूपमा पहिलो पटक देश बाहिर आयोजकको रूपमा युएईको सारजाह क्रिकेट रंगशालालाई प्रयोग गर्ने भएको हो। नेपालमा अन्तर्राष्ट्रिय रंगशाला नहुँदा नेपालले टेष्ट राष्ट्रसँग खेल्न न्युट्रल भेन्यु प्रयोग गर्न लागेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

नेपालले गत टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग निकै प्रतिस्पर्धात्मक खेल खेलेपछि क्रिकेट जगतमा नेपालको चर्चा चुलिको थियो। नेपालले दक्षिण अफ्रिकासँग १ रनको हार व्यहोरेको थियो भने बंगलादेशलाई जम्मा १०६ रनमा रोक्न सफल भएको थियो। बंगलादेशसँगको खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

त्यसपछि आयोजना भएको नेपाल प्रिमियर लिगमा वेस्ट इन्डिजका क्रिकेट लेजेन्ड ब्रायन लारा नेपाल भ्रमण गरेका थिए। उनले नेपाली प्रतिभाहरूलाई देखेर प्रशंसा पनि गरेका थिए।

न्यायाधीश खुसीप्रसाद थारुलाई कालोमोसो छ्यापियो, तीन जना पक्राउ

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई नेकपा बहुमतले कालो मसी छ्यापेको छ। बिहीबार न्यायाधीश थारूको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारूलाई कालो मसी छ्यापेका हुन्।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका नेपाली कांग्रेसका नेता अफताब आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।

यसैबीच कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको हो। वीरगन्जस्थित उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन्।

भारतको गुजरातमा बस्तीमै खस्यो २४२ जना सवार एयर इन्डियाको जहाज

भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानस्थालबाट १:३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

पूर्वमुख्यमन्त्री पनि थिए सवार
एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी उक्त विमानमा सवार रहेको बताइएको हो। भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई१७१ फ्लाइट नम्बरको उडान केही मिनेटमै दुर्घटना भएको थियो। उक्त विमान अहमदाबादको मेघानी नगरमा दुर्घटना भएको हो। विमानमा क्रुसहित २४२ जना सवार रहेको बताइएको छ।

किष्ट अस्पताल अब एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालकै पहिलो अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पताल बनेको छ।

अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब) ले लामो समयको अनुगमन र परीक्षणपश्चात तोकिएका ६०० भन्दा बढी मापदण्डहरू पूरा गरेपछि सन् २०२५ अप्रिल २४ मा अस्पताललाई यो मान्यता प्रदान गरेको हो।

उक्त मान्यता प्राप्त गरेसँगै अब अस्पतालले गुणस्तरमा संस्थाले तोकेको अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने छ। यसले बिरामीको सेवाका लागि अस्पताल थप उत्साहित भएको तथा सेवाको गुणस्तरमा सेवाग्राहीले थप विश्वास गर्ने वातावरण बनेको अस्पतालका प्रबन्ध निर्देशक अविशेक थापाले बताए। जुनसुकै प्रकारका बिरामीले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय गुणस्तरको उपचार सेवा पाउने अवसर अस्पतालले प्रदान गरेकोले अस्पताललाई थप जिम्मेवार बनाएको र यसले अस्पताल प्रति सेवाग्राहीको थप विश्वास बढ्नेमा विश्वाससमेत व्यक्त गरे।

के हो नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (न्याब)?
एनएबिएचले भारत तथा भारत बाहिरका स्वास्थ्य सेवा प्रदायकहरुको गुणस्तर मापन गर्ने गर्दछ। न्याबले अस्पताल एक्रेडिटेशन कार्यक्रम सन् २००५ मा सुरु गरेको थियो। सार्वजनिक तथा निजी अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्ने र बिरामीको सुरक्षामा ध्यान दिने उदेश्यले न्याबले यो कार्यक्रम सुरु गरेको थियो।

न्याबको यो कार्यक्रम भारत र भारत बाहिरका देशमा समेत फैलिएको छ। न्याब इन्टरन्याशनल सोसाइटी फर क्वालिटी एसुरेन्स इन हेल्थ केयरबाट प्रमाणित भएको छ। न्याबको गुणस्तर मापदण्ड प्राप्त गर्नका लागि अस्पतालले बिरामीको सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा केन्द्रित भएर अस्पतालको सेवा सुधार गर्ने आधारहरु प्रस्तुत गर्नुपर्छ। त्यस्तै, अस्पतालको पूर्वाधार, उपकरण लगायतका मापदण्ड पालना गर्नुपर्छ।

न्याबको गुणस्तर प्राप्त गर्न अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा प्रमाणित ६०० भन्दा बढी मापदण्डहरूमा परीक्षण गराउनुपर्छ। सेवा सुरक्षा देखि संक्रमण नियन्त्रण, बिरामीको अधिकार, कर्मचारीको तालिम, दस्तावेज व्यवस्थापन, आकस्मिक सेवा तयारी जस्ता धेरै क्षेत्रहरूमा अस्पतालले मापदण्ड पुरा गर्नुपर्छ। यी मापदण्ड पुरा नगर्ने अस्पताललाई न्याबले गुणस्तर मान्यता प्रमाणपत्र दिँदैन। किष्ट अस्पतालले दुई वर्षभन्दा बढी समय लगाएर सम्पूर्ण आन्तरिक प्रक्रिया पूरा गरी यो मान्यता प्राप्त गरेको हो।

बि.स. २०६२ सालमा स्थापित ग्वार्को, ललितपुरस्थित किष्ट अस्पताल अत्याधुनिक बहुविशेषज्ञ अस्पताल हो। किस्टले सामान्य स्वास्थ्य सेवा देखि विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय मृगौला तथा कलेजो प्रत्यारोपण, मुटु रोग तथा क्यान्सर रोग सम्बन्धि सेवामा किष्ट अस्पतालले फड्को मारेको छ। नेपालमै पहिलो पटक एकै व्यक्तिमा कलेजो र मृगौलाको सफल प्रत्यारोपण समेत अस्पतालले गरिसकेको छ।

थारू समुदायको आस्थाको धरोहर मरूवा/डेउठन्वाको लागि खोइ बजेट?

शत्रुघन चौधरी।

थारू समुदायको आस्थाको धरोहर र पहिचानको प्रतिकको रूपमा रहेका डेउठन्वा, मरूवा, ग्रामथान, डिहवार थान पूर्वी तराईको झापादेखि पशचिम कन्चनपुरसम्म हरेक थारू बस्तीमा स्थापना गरिएको हुन्छ। जहाँ थारूहरूका विभिन्न देवी देउताहरू राखिएका हुन्छन्।

डेउथानहरूमा स्थानीय परम्परा र संस्कृतिअनुसार विशेष पूजाआजा गर्ने प्रचलन रहिआएको छ। यो हजारौं वर्षदेखि चलिआएको छ। यसरी पूजा गर्दा गाउँको सीमा रक्षा हुने, कसैलाई पनि रोगव्याधी नलग्ने, दैवी प्रकोपबाट जिउधनको रक्षा हुने, बालीनाली सप्रिने, बालीनाली किराकाँटीले हानी नोक्सानी नगर्ने, पशु चौपायाको रक्षा गर्ने जनविश्वास रहिआएको छ। यहाँका पूजा र संस्कारहरूले समुदायको एकता र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन्।

हरेक पूजामा गुरूवाको महत्वपूर्ण भूमिका हुन्छ। जोसँग अथाह थारू गुरूवा ज्ञानको भण्डार हुन्छ। यसैगरी पूजाआजाका लागि गुरूवापछि बरघरको अहं भूमिका हुन्छ। प्रायजसो पूजा सामूहिकरूपमा गरिन्छ। विविध कारणले विखण्डित हुँदै आएको समाजलाई यस प्रकारका आस्थाका धरोहरले एकशुत्रमा जोड्ने काम गर्छ, अनुशासन कायम गर्छ, सभ्य सुसंस्कृत समाजको निर्माण गर्न मद्दत पुग्छ।

मरूवा, डेउठन्वा डिहवारलगायतका धरोहर कति संख्यामा छ भन्ने एकिन छैन। तर, हरेक थारू वस्तीमा कम्तीमा एउटा डेउठान स्थापना गरिने भएकाले हजारौंको संख्यामा रहेको सहजै अनुमान लगाउन सकिन्छ। पछिल्लो समय केही पालिकाले मरूवा, ठन्वा, डिहवार, ग्रामथान विकासकालागि केही बजेट बिनियोजन गरी मर्मत सम्भार तथा पक्की नयाँ निर्माण गरेको पाइन्छ। तर, अधिकांश मरूवा, ठन्वा, डिहवार उचित संरक्षणको अभावले बेवारिसे र अलपत्रजस्तै देखिन्छन्।

पूजाको समय त्यस क्षेत्रमा सरसफाइ गरिन्छ। अघिपछि बेवारिसेजस्तै हुन्छ। थारू समुदायको अति महत्त्वपूर्ण त्यस्ता धरोहरहरूमा केन्द्र सरकारले पनि खासै ध्यान गएको छैन। हरेकलाई आ-आफ्नो संस्कृति, परम्परा प्यारो लाग्छ। त्यसैले मरूवा ठन्वा बचाउनका लागि राज्यस्तरबाटनै पहल हुन जरूरी छ।

संघीय सरकारबाट संस्कृति र विकासका निमित्त गत आर्थिक वर्षमा ११ अर्ब ९१ करोड बजेट बिनियोजन गरिएको थियो। आगामी आर्थिक वर्ष २०८२/८३ मा संस्कृति मन्त्रायमा संस्कृति र विकासमा १३ अर्ब रकम विनियोजन गरिएको छ। अर्बौं बजेट संस्कृति विकासका नाममा छुट्याउँदा पनि थारू समुदायको आस्थाको धरोहर मरूवा, ठन्वा, डिहवार, ग्रामथान संरक्षण विकासका लाग बजेट बिनियजन गरेको सुनिँदैन।

कतै छुट्ट्याइएको छ भने अत्यन्त न्यून बजेट हुन्छ। आस्थाको धरोहरलाई बचाइ राख्नका लागि राज्यकोषबाट खर्च हुन जरूरी छ। कहाँ-कहाँ कति कति खर्च हुँदोरहेछ? सबैले आ-आफ्नो स्थानबाट खोजी गर्ने बेला आएको छ।

थारु आयोग पदाधिकारी नियुक्त : निर्णय सुनाउने मिति असार १८ लाई सारियो

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो।

केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो।

उक्त नियुक्तिमा थारू आयोगका पदाधिकारीहरू पनि पर्छन्।

थारू आयोगका चारैजना पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज (बुधबार) आफ्नो निर्णय सुनाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो ।

सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले १ जेठमा मुद्दाको सबै सुनुवाइ सकेपछि आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।

विवादको विषयवस्तु, त्यसमा जोडिएको संवैधानिक प्रश्न र अहिलेको अवस्था हेर्दा सर्वोच्च अदालतले दिने फैसला मूलतः तीन विकल्पको सेरोफेरोमा केन्द्रित हुने देखिन्छ ।

थारू आयोगका चारैजना पदाधिकारीको नियुक्ति ‘धराप’मा
थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारू, सदस्यहरू भोला चौधरी, डा. उमाशंकर प्रसाद चौधरी र अधिवक्ता शान्ती मोदी सोही नियुक्तअन्तर्गत सदस्य बनेका हुन्। तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ माघ २१ र २०७८ असार १० उनीहरूलाई थारू आयोगको सदस्यमा नियुक्त गरेका थिए। सर्वोच्चमा रिट परेसँगै उनीहरूको पद धरापमा परेको थियो। सर्वोच्च अदालतले निवेदकको मागबमोजिम फैसला सुनाएर चारै जनाको पद जाने पक्का देखिन्छ।

त्यस्तो फैसला आएमा थारू आयोग पदाधिकारीविहीन बन्ने अवस्था आउनसक्छ। अहिले आयोगको अध्यक्ष पद पनि रिक्त रहेको छ। माओवादीबाट अध्यक्ष भएका बर्दियाका विष्णु चौधरीको कार्यकाल सकिएको छ। ज्यष्ठताका आधारमा आयोगका सदस्यसमेत रहेका सुबोध सिंह थारुलाई आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको रोमाञ्चक जित

नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित दर्ता गरेको हो।

डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो।

नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। उनले ६० बलमा ३ चौका प्रहार गरे। ३.२ ओभरमा म्याक्सलाई ललित राजवंशीको हातमा क्याच गराउँदै नेपालका लागि डेब्युटेन्ट नन्दन यादवले पहिलो सफलता दिलाएका थिए।

नेदरल्यान्ड्सले ८.३ ओभरमा नेदरल्यान्ड्सले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको थियो। पावरप्ले सकिँदा डच साइडले १ विकेटको क्षतमिा ६१ रन बनाएको थियो। पावरप्लेमा नेपालभन्दा अगाडी रहेको नेदरल्यान्ड्सले ११.३ ओभरमा सन्दीप लामीछानेले माइकल लेभिटलाई एलबीयडब्ल्यू आउट गरे। नेदरल्यानड्सले ६५ रन बनाउँदा दोस्रो विकेट गुमायो।

२०.२ ओभरमा नेदरल्यान्ड्सका लागि तेस्रो विकेट गयो। नेदरल्यानड्सले ३ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। ४५.२ ओभरमा नेदरल्यान्ड्सले २०० रन पूरा गर्‍यो। कप्तान स्कट इड्वार्डले ३० रन बनाए। ओपनर मिचेल लेभिटले २७ रन बनाए। तेजा निदामानुरुले १७, नोरा क्रसले २२, केल केलिनले २५ र मान डेरले १६ रन बनाए। अन्य ब्याटरको ब्याट चल्न नसक्दा डच नेपाली टिमको अगाडि कमजोर परेको हो।

नेपालका लागि बलिङतर्फ डेब्यु गरेका नन्दन यादव र अनुभबी लेग स्पिनर सन्दीप लामिछानेले समान ३-३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। आरिफले मिडल अर्डर सम्हाल्दै ८४ रनको उत्कृष्ट पारी खेले। उनले ८५ बलमा ७ चौका २ छक्का प्रहार गरे।

पावरप्लेमा नै दुवै ओपनरलाई गुमाउँदै नेपालले ३७ रन बनाएको थियो। तेस्रो विकेटको लागि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ५१ रनको अर्धशतकीय साझेदारी गरे। दुवै ब्याटरले ३५/३५ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए। बसिर अहमद र करण केसीले ११-११ रन बनाए। नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट लिए।

नेपालले पहिलो खेलमा स्कटल्यान्ड्समाथि १ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो। यससँगै नेपालले स्कटल्यान्ड सिरिजको ४ खेलमा ३ जितसहित सुखद अन्त्य गरेको छ।

आमाको नामबाटै नागरिकता जारी गर्ने व्यवस्थासहितको विधेयक समितिबाट पारित

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो। समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकताविहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए। सबै समिति सदस्यहरूको सहमतिमा सर्वसम्मत रूपले विधेयक पारित भएको उनले बताए।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्त्वपूर्ण रहेको बताए। गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उनले बताए।

उनले गैर आवासीय नेपालीका विषयमा छुट्टै विधेयक ल्याउन लागिएको बताए। विधेयकले थप सहजीकरण गर्ने उनको भनाइ छ।

बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने विषय विधेयकमा मुख्यरूपमा समेटिएको उनले बताए। उनले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पारे। नागरिकता वितरणका कानुनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने भएको छ।

चीनमा कोभिड संकट, तथ्य लुकाउँदै सरकार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनको आधिकारिक रूपमा सार्वजनिक गरिएको कोभिड–१९ मृतक संख्या अत्यन्तै कम मूल्याङ्कन गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। यो संकट विशेषगरी ग्रामीण क्षेत्रमा झनै गहिरिएको देखिन्छ, जहाँ स्वास्थ्य सेवा र चिकित्सकीय स्रोतहरूको ठूलो अभाव छ।

शान्सी प्रान्तबाट प्राप्त रिपोर्टहरूका अनुसार कफिन निर्माताहरू अति व्यस्त छन्, र केही गाउँहरूमा त कफिन नै अभावमा परेका छन्। अन्त्येष्टि स्थलहरू र शवदाह गृहहरूमा अत्यधिक चाप परेकाले मृतकको अन्त्येष्टि गर्न परिवारहरूले दिनौं कुर्नु परेको अवस्था देखिएको छ।

उत्तरी शान्सीको सिन्झाउमा कफिन बनाउने सीपयुक्त शिल्पकारहरूले आफूहरूलाई थाक्न समेत फुर्सद नभएको बताएका छन्। एक गाउँलेले पत्रकारलाई भनेका छन्, “कहिलेकाहीं कफिनहरू पूरै बिक्री भइसकेका हुन्छन्।” अन्त्येष्टि उद्योगमा संलग्न कर्मचारीहरूका अनुसार दफन तथा अन्त्येष्टि सजावटको माग अघिल्ला वर्षहरूको तुलनामा दोब्बर वा तेब्बर भएको छ।

चलिरहेको यो संकटले चीनको आर्थिक समस्यालाई झनै तीव्र बनाएको छ। व्यापक बिरामी र मृत्युका कारण व्यवसायहरू श्रमिक अभावको सामना गरिरहेका छन् भने उपभोक्ता खर्च घटिरहेको छ। तर, यतिबेला अन्त्येष्टि उद्योग भने तीव्र गतिमा फस्टाएको छ, नयाँ शवदाह गृहहरू खोलिँदै छन् र पुरानाहरू क्षमताभन्दा बढी सञ्चालनमा छन्।

साथै, सरकारले पारदर्शिताको कमी देखाएको भन्दै जनताबीच असन्तुष्टि र आक्रोश बढ्दो छ। धेरै नागरिकहरू विश्वास गर्छन् कि बिना पर्याप्त तयारी, एकाएक शून्य–कोभिड नीति अन्त्य गर्ने चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को निर्णयले अहिलेको संकट जन्माएको हो। संकटको वास्तविकता स्वीकार्न सरकार अनिच्छुक देखिनु र तथ्याङ्कहरू दबाइनुले जनताको विश्वासमा गहिरो चोट पुगेको छ। सामाजिक सञ्जालमा नागरिकहरूले आफैंले देखेका वा भोगेका घटनाहरू सार्वजनिक गर्न थालेका छन्।

चीनमा बिग्रँदो कोभिड–१९ संकटले गलत सूचना र कमजोर जनस्वास्थ्य नीति कत्तिको खतरनाक हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ। अचानक मृत्युको संख्यामा बढोत्तरी, भरिएका अस्पतालहरू, र कफिनको अभावले चिनियाँ जनजीवनमा व्यापक विपद् उत्पन्न भएको चित्र प्रस्तुत गर्छ। सरकारद्वारा तथ्य लुकाइरहँदा महामारीको वास्तविक स्थिति अझै अनिश्चित नै रहेको छ।

आगामी महिनाहरू चीनले यो संकट नियन्त्रणमा लिन सक्छ कि सक्दैन भन्ने कुरा निर्णायक हुनेछ। तर अहिलेका लागि, सामाजिक सञ्जालमा आफ्ना अनुभवहरू बाँडिरहेका नागरिकहरूको आवाजले महामारीको मानवीय मूल्यबारे गहिरो स्मरण गराइरहेको छ।