सुनसरीका सुजित चौधरीको कोरियामा असामयिक निधन, थाकस कोरियाद्वारा आर्थिक सहयोग

वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–४, अन्ह्रामण्ठका सुजित चौधरीको असामयिक निधन भएको छ। सन् २०२२ जुनमा रोजगारीका लागि दक्षिण कोरिया पुगेका चौधरीको गत सेप्टेम्बर २८ मा निधन भएको हो।

चौधरीको पार्थिव शरीर नेपाल ल्याउन तथा शोकसन्तप्त परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले थारू कल्याणकारिणी सभा (थाकस), दक्षिण कोरिया र मुन्ग्यङ नेपाली समाजले संयुक्त रूपमा सहयोग अभियान सञ्चालन गरेका थिए।

थाकस, दक्षिण कोरियाका अध्यक्ष डा. सुवास चन्द्र चौधरीका अनुसार अभियानबाट संकलित ४६ लाख कोरियन वन पार्थिव शरीर नेपाल पठाउने प्रयोजनका लागि सोलस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरिएको छ। त्यस्तै, बाँकी रकम तीन लाख ५४ हजार १५४ कोरियन वन मृतक चौधरीको परिवारलाई सहयोगस्वरूप प्रदान गरिएको छ।

मृतकको पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया तथा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने कार्यमा थाकस दक्षिण कोरियाका पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, शुभचिन्तक र अन्य सहयोगीहरूले योगदान पुर्‍याएको अध्यक्ष चौधरीले जानकारी दिएका छन्।

चौधरीको निधनले उनकी आमा, श्रीमती, पाँच वर्षीय छोरा तथा परिवारका अन्य सदस्य शोकमा परेका छन्। थाकस, दक्षिण कोरियाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

यस दुःखद घडीमा मानवीय सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाता, मुन्ग्यङ नेपाली समाज तथा पार्थिव शरीर नेपाल पठाउने प्रक्रियामा सहजीकरण गर्ने नेपाली राजदूतावास, सोलका कर्मचारीप्रति अध्यक्ष चौधरीले व्यक्तिगत तथा संस्थागत रूपमा आभार व्यक्त गरेका छन्।

थाकस दक्षिण कोरियाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीका परिवारलाई परेको पीडामा साथ दिनु र आवश्यक सहयोग जुटाउनु सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *