कतारका थारूहरू मनाए जितिया पर्व
थारू कल्याणकारिणी सभा, कतार च्याप्टरको महिला विभागले जितिया पर्व मनाएको छ। थारू समुदायको भाषा, कला, संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार दोहास्थित मेस क्याफे रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा थारू समुदायको जितिया पर्वको इतिहास, परम्परा, विधि र महत्त्वबारे जानकारी दिइनुका साथै जितिया कथा वाचन गरिएको थियो। कार्यक्रममा थारू तथा नेपाली मौलिक गीत, संगीत र नृत्यसमेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
थारू कल्याणकारिणी सभा, कतार च्याप्टरकी महिला विभाग प्रमुख शर्मिला चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, कतारकी महिला विभाग संयोजक रबिना मगर प्रमुख अतिथि तथा नेपाली महिला समाज कतारकी उपाध्यक्ष लीला राई विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा थारू कल्याणकारिणी सभा, कतार च्याप्टरका पदाधिकारीसहित नेपाल आदिवासी जनजाति महासंघ, कतारका प्रतिनिधि, विभिन्न मातृ तथा जिल्ला संस्थाका पदाधिकारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी तथा बुद्धिजीवीको सहभागिता थियो।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलन तथा जितिया पूजाबाट गरिएको थियो। त्यसपछि नेपाली राष्ट्रिय गान बजाइएको थियो भने दिवंगत ज्ञात–अज्ञात व्यक्तिहरूको सम्झनामा मौनधारण गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा रहेर पनि मौलिक भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए। कार्यक्रम संयोजक गंगा चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् भने औपचारिक कार्यक्रमको सञ्चालन गुन्जा चौधरीले गरेकी थिइन्। सभापति शर्मिला चौधरीको मन्तव्यसँगै औपचारिक कार्यक्रम समापन भएको थियो।
Facebook Comment