१६ वर्षमै एनपीएलमा सनसनी मचाइरहेका राहुल यादव को हुन्? (भिडियो रिपोर्ट)

नेपाल प्रिमियर लिगको तेस्रो सिजनको डेब्यु बलमै विकेट लिएर चर्चा कमाएका १६ वर्षीय राहुल यादवले बिहीबार फेरि आफ्नो प्रतिभा प्रमाणित गरे। काठमाडौं गोर्खाजका चार ब्याटरलाई पेभिलियन फर्काएपछि अहिले नेपाली क्रिकेटमा उनको चर्चा चुलिएको छ। छोटो समयमै प्रभावशाली प्रदर्शन गरेका राहुललाई नेपाली क्रिकेटको उदाउँदो ताराका रूपमा हेरिएको छ।

रौतहटको चन्द्रनिगाहपुरमा क्रिकेट सिकेका राहुलका लागि एनपीएलको यात्रा आफैँमा एउटा ठूलो अवसर थियो। मधेश प्रदेशभरिबाट गरिएको प्रतिभा छनोटमा सात किशोरमध्ये एक बनेका उनी जनकपुर बोल्ट्सको विकास टोलीमा परे। फिटनेस, सीप र खेलप्रतिको लगाव देखाएका राहुललाई जनकपुरले तेस्रो सिजनका लागि आफ्नो ‘आइकोनिक खेलाडी’ का रूपमा छनोट गर्‍यो।

राहुलले उक्त अवसरलाई खेर जान दिएनन्। एनपीएलमा कर्णाली याक्सविरुद्धको पहिलो खेलमै उनले व्यावसायिक क्रिकेटको पहिलो बलमा दीपक डुम्रेलाई बोल्ड गरे। त्यसपछि पाकिस्तानी अलराउन्डर हुसेन तलातलाई पनि तीन रनमा आउट गरे। चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिएका उनले डेब्यु खेलमै आफ्नो क्षमता देखाए।

जनकपुर उक्त खेलमा १९ रनले पराजित भयो। हारका बाबजुद राहुलको प्रदर्शनले सबैको ध्यान खिच्यो। बलिङमा मात्र होइन, ब्याटिङमा पनि उनले दबाब सामना गर्ने क्षमता देखाए। टोलीका अन्य ब्याटर आउट भइरहँदा उनी अविजित रहे।

बिहीबार काठमाडौं गोर्खाजविरुद्ध राहुलले आफ्नो प्रभाव अझ बढाए। उनले ओपनर स्मित पाटिल र साम हेजलेटसँगै कप्तान करण केसी तथा आक्रामक ब्याटर मोहम्मद आदिल आलमलाई आउट गरे। चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएका राहुलले काठमाडौंको ब्याटिङ क्रम ध्वस्त पार्न महत्त्वपूर्ण भूमिका खेले। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा काठमाडौं ११५ रनमा समेटियो र जनकपुरले प्रतियोगितामा पहिलो जित निकाल्यो।

दाहिनेहाते मध्यम गतिका बलर राहुलको विशेषता बलमा रहेको गति र विविधता हो। कम उमेरमै दबाबका क्षणमा पनि आत्मविश्वासका साथ बलिङ गर्न सक्ने उनको क्षमताले धेरैको ध्यान खिचेको छ। उनको यही खुबी देखेर जनकपुरले उनलाई प्रतिभा छनोट कार्यक्रममार्फत टोलीमा भित्र्याएको थियो।

जनकपुरका कप्तान हरमीत सिंह पनि राहुलको क्षमताबाट प्रभावित छन्। कर्णालीविरुद्धको खेलपछि उनले राहुल नेपाली क्रिकेटको अर्को ठूलो स्टार बन्न सक्ने बताएका थिए। उनका अनुसार राहुलसँग राष्ट्रिय टोलीलाई आवश्यक पर्ने गति छ। तर, त्यसका लागि उनले शान्त भएर निरन्तर मिहिनेत गर्नुपर्नेछ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीमा तीव्र गतिका बलरको विकल्प विस्तार गर्नुपर्ने चर्चा भइरहेका बेला राहुलको उदयलाई सम्भावनाका रूपमा हेरिएको छ। करण केसी र सोमपाल कामीपछि तीव्र गतिका बलरको समूहमा नयाँ प्रतिभाको खोजी भइरहेका बेला राहुलले आफ्नो उपस्थिति बलियो बनाएका छन्।

चन्द्रपुर क्रिकेट एकेडेमीमा अभ्यास गरेर एनपीएलको ठूलो मञ्चमा पुगेका राहुलको यात्रा अहिले सुरुवाती चरणमै छ। उनीसँग सम्भावना छ, प्रतिभा छ र आफूलाई प्रमाणित गर्ने अवसर पनि छ। तर, दुई खेलको प्रदर्शनकै आधारमा उनलाई स्थापित खेलाडी मान्न भने हतार हुनेछ।

अहिलेका लागि राहुलले देखाएको प्रदर्शनले एउटा आशा जगाएको छ, निरन्तर मिहिनेत र सही अवसर पाए रौतहटका यी किशोर नेपाली क्रिकेटका भरपर्दा बलर बन्न सक्छन्। नेपाली क्रिकेटले खोजिरहेको अर्को स्टार बन्ने सम्भावनाको ढोका राहुलका लागि खुलेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *