एनपीएल-३ : स्टार खेलाडीदेखि डेढ करोड पुरस्कारको राशिसम्म
नमिता दाहाल/काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलो संस्करणको उत्साह र दोस्रो संस्करणको अनुभवपछि तेस्रो संस्करणमा प्रवेश गर्न लागेको प्रतियोगितामा यसपटक आठवटै टोली उपाधि लक्ष्यसहित मैदानमा उत्रने छन्।
उपाधिको दौड यसपटक पहिलेभन्दा रोचक हुने देखिन्छ। अघिल्ला दुई संस्करण उपाधि जितिसकेका जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससहित सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र पोखरा एभेन्जर्स मैदानमा उत्रिँदैछन्।
टोलीहरूले स्वदेशी खेलाडीको संयोजनसँगै विदेशी खेलाडीमा पनि लगानी गरेका छन्। अस्ट्रेलियाका पूर्व स्टार ब्याटर डेविड वार्नर, बंगलादेशका अलराउन्डर शकिब अल हसन, इंग्ल्यान्डका मोइन अली, वेस्ट इन्डिजका आन्द्रे रसेल र दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरजस्ता खेलाडीको आगमनले प्रतियोगिताको आकर्षण बढाएको छ।
तेस्रो संस्करणको अर्को महत्त्वपूर्ण पक्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को मान्यता हो। यसपटक एनपीएलका खेल आधिकारिक टी-२० खेलका रूपमा गणना हुनेछन्। डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को प्रयोगले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा पनि यसपटक उपलब्ध हुनेछ।
आयोजकले मैदानको स्तरोन्नतिसहित प्रतियोगितालाई थप व्यवस्थित बनाउने प्रयास गरेका छन्। अब हेर्न बाँकी छ, कुन टोलीले नयाँ चुनौतीसँग आफूलाई सबैभन्दा प्रभावकारीरूपमा अनुकूल बनाउँछ।
सुदूरपश्चिम रोयल्स : दुई पटकको उपविजेतालाई उपाधिको खोजी
पहिलो संस्करणदेखि नै सुदूरपश्चिम रोयल्स एनपीएलको सबैभन्दा प्रतिस्पर्धी टोलीमध्ये एक रहँदै आएको छ। सन् २०२४ मा लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भयो। दोस्रो संस्करणमा पनि टोलीले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा तय गर्यो। तर, दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि उपविजेतामै सीमित रह्यो।
लगातार दुई संस्करण फाइनल खेलेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्ने लक्ष्यमा हुनेछ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीमा नेपाली क्रिकेटका अनुभवी खेलाडीसँगै विदेशी खेलाडीको संयोजन छ।
स्कटल्यान्डका ब्रान्डन म्याकमुलन, न्युजिल्यान्डका स्कट कुगेलेइन र पाकिस्तान मूलका अलराउन्डर साइफ अली जैब टोलीका विदेशी खेलाडीमध्ये महत्त्वपूर्ण नाम हुन्। वेस्ट इन्डिजका ब्याटर शेर्फेन रदरफोर्डको आगमनले पनि टोलीको ब्याटिङमा थप शक्ति प्रदान गर्ने अपेक्षा छ।
दुई पटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भइरहेको यो टोलीका लागि यसपटक लिग चरणको नतिजालाई उपाधिमा परिणत गर्ने उद्देश्य हुनेछ।
जनकपुर बोल्ट्स : पहिलो च्याम्पियनको पुनरागमनको आशा
एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्स दोस्रो संस्करणमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। सन् २०२४ को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको जनकपुर दोस्रो संस्करणमा आठ टोलीमध्ये अन्तिम स्थानमा रह्यो।
पहिलो संस्करणमा लाहिरु मिलान्था, जीमी निसम र अन्य विदेशी खेलाडीको प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। त्यसमा नेपाली खेलाडीले पनि राम्रो साथ दिएका थिए। तर, दोस्रो संस्करणमा एक जित र छ हारको नतिजाले टोलीको कमजोरी उजागर गर्यो।
तेस्रो संस्करणमा जनकपुरले विदेशी खेलाडीको छनोटमा विशेष ध्यान दिएको देखिन्छ। इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जीमी निसम, पाकिस्तानका इफ्तिखार अहमद र अमेरिकाका हरमित सिंह टोलीका महत्त्वपूर्ण खेलाडी हुन्। हरमितले टोलीको कप्तानीसमेत गर्नेछन्। दोस्रो संस्करणमा टोलीको आन्तरिक समायोजनमा नै कमजोर देखिएको जनकपुरले तेस्रो संस्करणको अगाडि नै अलराउन्डर हर्मितलाई कप्तानी दिँदै टिमको लय सम्हाल्ने कोसिस गरेको छ।
अघिल्लो संस्करणको निराशा बिर्सिएर पहिलो संस्करणको सफलतालाई दोहोर्याउनु जनकपुरको लक्ष्य हुनेछ। विदेशी खेलाडीको अनुभवलाई नेपाली खेलाडीसँग मिलाउन सके टोली उपाधि दौडमा फर्किन सक्छ।
लुम्बिनी लायन्स : डिफेन्डिङ च्याम्पियनको परीक्षा
पहिलो संस्करणमा सात खेलमध्ये एक जित मात्रै निकाल्दै आठौं स्थानमा रहेको लुम्बिनी लायन्सका लागि दोस्रो संस्करण पूर्णतः फरक रह्यो। कप्तान रोहित पौडेलको नेतृत्वमा टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्यो।
फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर ९ ओभरमै पूरा गरेको थियो। रोहितको कप्तानी, बलरहरूको प्रभावकारी प्रदर्शन र ब्याटरहरूको आक्रामक खेलले लुम्बिनीलाई च्याम्पियन बनाएको थियो।
तेस्रो संस्करणमा लुम्बिनीको चुनौती उपाधि रक्षा गर्नु हुनेछ। टोलीले रोहित पौडेलसहित नेपाली खेलाडीको मुख्य संरचना कायम राखेको छ। नामिबियाका रुबेन ट्रम्पलमन र श्रीलंकाका निरोशन डिकवेल्लाजस्ता विदेशी खेलाडीको अनुभव पनि टोलीका लागि महत्त्वपूर्ण हुनेछ। अमेरिकाका अलराउन्डर शाड्ली भान शाल्कविकको उपस्थितिले टोलीलाई थप विकल्प दिएको छ।
अघिल्लो संस्करणमा कमजोर सुरुआतबाट उपाधिसम्म पुगेको लुम्बिनीले यसपटक पनि त्यही लय कायम राख्न सक्छ कि सक्दैन भन्ने चासो रहनेछ।
चितवन राइनोज : स्थिर प्रदर्शनलाई उपाधिमा बदल्ने चुनौती
पहिलो संस्करणमा चितवन राइनोजले लिग चरणमा चौथो स्थान हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो। तर, टोलीको यात्रा एलिमिनेटरमै समाप्त भयो। दोस्रो संस्करणमा भने चितवनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन र सात खेलमा दुई जितसहित सातौं स्थानमा रह्यो।
तेस्रो संस्करणमा चितवनले विदेशी खेलाडीको अनुभवलाई आफ्नो मुख्य शक्ति बनाउने प्रयास गरेको छ। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा, इंग्ल्यान्डका रवि बोपारा, श्रीलंकाका चमिका करुणारत्ने र क्यानडाका कलीम साना टोलीसँग जोडिएका चर्चित नाम हुन्। श्रीलंकाका ब्याटर कमिल मिसाराको आगमनले पनि ब्याटिङमा विकल्प थपेको छ।
कुशल मल्लको नेतृत्वमा रहेको चितवनका लागि मुख्य चुनौती ब्याटिङ र बलिङ दुवैमा निरन्तरता कायम राख्नु हुनेछ। विदेशी खेलाडीको अनुभवलाई सही समयमा उपयोग गर्न सके चितवन प्लेअफमा मात्र सीमित नभई उपाधिको दाबेदार बन्न सक्छ।
कर्णाली याक्स : प्लेअफको अनुभवलाई निरन्तरताको आधार
पहिलो संस्करणमा कर्णाली याक्सले लिग चरणमा चौथो स्थान हासिल गर्दै प्लेअफमा प्रवेश गरेको थियो। एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरे पनि दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग पराजित भएपछि टोलीको यात्रा समाप्त भयो।
दोस्रो संस्करणमा कर्णालीको प्रदर्शन खस्कियो। सात खेलमा दुई जित र पाँच हारसहित टोली छैटौं स्थानमा रह्यो।
तेस्रो संस्करणमा कर्णालीले नेपाली खेलाडीको अनुभव र विदेशी खेलाडीको क्षमता संयोजन गर्ने प्रयास गरेको छ। पाकिस्तानका ब्याटर साहिबजादा फरहान, अलराउन्डर हुसेन तलत र विकेटकिपर अकबर अली टोलीका महत्त्वपूर्ण विदेशी खेलाडी हुन्।
सोमपाल कामी, गुल्शन झा र नन्दन यादवजस्ता नेपाली खेलाडीको प्रदर्शनले पनि कर्णालीको सफलतामा निर्णायक भूमिका खेल्नेछ। अघिल्लो संस्करणको कमजोरी सुधार्दै प्लेअफमा पुग्नु टोलीको पहिलो लक्ष्य हुनेछ।
काठमाडौं गोर्खाज : प्लेअफबाट टाढिएको टोलीको नयाँ प्रयास
पहिलो संस्करणमा काठमाडौं गोर्खाज लिग चरणमा पाँचौं स्थानमा रहँदै प्लेअफमा पुग्न असफल भएको थियो। समान ८ अंक भए पनि नेट रनरेट कमजोर हुँदा टोलीको यात्रा लिग चरणमै रोकिएको थियो। दोस्रो संस्करणमा भने काठमाडौंले पाँच जितसहित तेस्रो स्थान हासिल गर्दै प्लेअफमा स्थान बनायो।
तेस्रो संस्करणका लागि काठमाडौंले विश्व क्रिकेटका चर्चित ब्याटर डेविड वार्नरलाई टोलीमा भित्राएको छ। अस्ट्रेलियाका पूर्व ओपनर वार्नरको उपस्थितिले टोलीको ब्याटिङमा आक्रामकता थप्ने अपेक्षा छ। भारतका विकेटकिपर ब्याटर केएस भरत र श्रीलंकाका अलराउन्डर सहान अराच्चिगे पनि टोलीमा छन्।
कप्तान करण केसीको नेतृत्वमा काठमाडौंले अघिल्लो संस्करणको प्रदर्शनलाई अझ सुधार गर्ने लक्ष्य राखेको छ। वार्नरको अनुभव र नेपाली खेलाडीको क्षमताबीच राम्रो तालमेल कायम गर्न सके काठमाडौं उपाधिको दौडमा बलियो दाबेदार बन्न सक्छ।
विराटनगर किङ्स : नयाँ संयोजनमा ठूलो अपेक्षा
पहिलो संस्करणमा विराटनगर किङ्सले सात खेलमध्ये दुई जित मात्रै निकाल्दै छैटौं स्थान हासिल गरेको थियो। दोस्रो संस्करणमा भने टोलीले सुधार गर्दै पाँच जितसहित लिग चरणमा दोस्रो स्थान प्राप्त गर्यो। यद्यपि, प्लेअफमा अपेक्षित सफलता हासिल गर्न सकेन।
तेस्रो संस्करणमा विराटनगरले विदेशी खेलाडीको छनोटमार्फत आफ्नो टोलीलाई थप बलियो बनाएको छ। वेस्ट इन्डिजका आन्द्रे रसेल, श्रीलंकाका पूर्व कप्तान तथा अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज र ब्याटर चरिथ असलंकाजस्ता खेलाडी टोलीसँग जोडिएका छन्। अमेरिकाका शुबम रञ्जाने पनि टोलीका लागि उपयोगी विकल्प हुन्।
नेपाली राष्ट्रिय टिमका एकदिवसीय फम्र्याटका कप्तान सन्दीप लामिछानेले बलिङ डिर्पाटमेन्ट सम्हाल्नेछन्। सन्दीपको बलिङ अट्याक र अन्य नेपाली खेलाडीको साथमा विराटनगरले यसपटक उपाधि जित्ने लक्ष्य राख्नेछ। आक्रमक ब्याटिङ, बलिङमा विविधता र दबाबका क्षणमा सही निर्णय लिन सक्ने क्षमताले टोलीको सफलताको निर्धारण गर्नेछ।
पोखरा एभेन्जर्स : विदेशी स्टारको साथमा नयाँ सुरुआत
पहिलो संस्करणमा पोखरा एभेन्जर्सले सात खेलमध्ये दुई जित मात्रै निकाल्यो। दोस्रो संस्करणमा पनि टोलीले तीन जित र चार हारको नतिजा निकाल्दै पाँचौं स्थान हासिल गर्यो। दुवै संस्करणमा प्लेअफ पुग्न नसकेको पोखराका लागि तेस्रो संस्करण महत्वपूर्ण अवसर हो।
यसपटक पोखराले बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसनलाई टोलीमा भित्राएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गरेका शाकिबको उपस्थितिले टोलीको ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्ने अपेक्षा छ। बंगलादेशका मोहम्मद सैफुद्दिन र श्रीलंकाका धनञ्जय लक्षण पनि टोलीका विदेशी खेलाडी हुन्।
कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराले यसपटक आफ्नो पुरानो कमजोरी सुधार्नुपर्नेछ। व्यक्तिगत प्रदर्शनलाई टोलीको नतिजामा रूपान्तरण गर्न सके पोखरा प्लेअफको दौडमा बलियो रूपमा प्रस्तुत हुन सक्छ। यसमा विदेशी खेलाडी र नेपाली खेलाडीलाई समायोजनमा खेलाउनु पर्ने हुन्छ।

तेस्रो सिजनमा बढ्यो पुरस्कार रकम
तेस्रो संस्करणको एनपीएल सुरु हुनु अघि नेपाल क्रिकेट संघ(क्यान)ले आइतबार एक पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको विजेताले पाउने पुरस्कार रकम बारे जानकरी गराएको थियो। पहिलो र दोस्रो संस्करणको विजेताले १ करोड १० लाख पाएका थिए। तेस्रो संस्करणमा भने एनपीएलको विजेताले १ करोड ५० लाख पाउनेछ। उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थानको टोलीले ३० लाख पुरस्कार रकम पाउने छ। पत्रकार सम्मेलनमा बोल्दै क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले क्यानले यस वर्ष प्रयोजनबाट पाउने तथा टिकटिङ र बोडकास्टिङबाट पाउने रकमको पनि खुलासा गरेका थिए।
उनले पत्रकार सम्मेलनमा भने, ‘यस संस्करणमा स्पोन्सर(प्रायोजन) बाट २० करोड र टिकटिङ र ब्रोडकास्टिङबाट ७० करोड रुपैंयाभन्दा बढी आम्दानी हुने अपेक्षा राखेका छौं।’ यसको कारण पुरस्कार रकममा पनि बृद्धि गरिएको उनले जानकारी दिए। तेस्रो संस्करणको एनपीएलको कुल आम्दानी १ अर्ब ५० करोड हाराहारीको हुने अनुमान रहेको खड्काले जानकारी दिएका थिए।
एनपीएलका अघिल्ला दुई संस्करणले एउटा कुरा स्पष्ट पारेका छन्, चर्चित खेलाडीको उपस्थिति मात्रै उपाधि जित्न पर्याप्त हुँदैन। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले टोलीगत प्रदर्शनकै आधारमा उपाधि जितेका थिए। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स फाइनलसम्म पुगे पनि अन्तिम खुड्किलो पार गर्न सकेन।
तेस्रो संस्करणमा विदेशी खेलाडीको संख्या र स्तर दुवै बढेको छ। वार्नर, शाकिब, रसेल, मोइन अली, निसम र मिलरजस्ता खेलाडीको उपस्थितिले प्रतियोगिताको स्तर र दर्शकको आकर्षण बढाउने अपेक्षा छ। तर, उनीहरूको उपलब्धता, फिटनेस र मैदानमा प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुनेछ।
आइसीसीको मान्यता र डीआरएसको प्रयोगले यसपटकको प्रतियोगितालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। खेलाडीको व्यक्तिगत प्रदर्शनसँगै अम्पायरिङ, खेलको निष्पक्षता, मैदानको अवस्था र व्यवस्थापन पनि चर्चाको विषय हुनेछन्।
Facebook Comment