इन्जिनियर भवेन्द्र चौधरी पक्राउ
कार्यकक्षमा सहकर्मी इन्जिनियर महिलालाई कुटपिट गरी फरार रहेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर पक्राउ परेका छन् । सहकर्मीलाई कुटपिट गरेर फरार भएका इन्जिनियर भवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इटहरी उपमहानगरपालिका वडा ९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई भवेन्द्रले कुटपिट गरेका थिए ।
भवेन्द्र भने ईटहरी उप महानगर पालिकाको योजना शाखामा कार्यरत छन् । कुटपिटको पछि इन्जिनियर अधिकारीले इन्जिनियर चौधरीका विरुद्ध उजुरी दिएकी थिइन् । उजुरी पछि चौधरी फरार भएका थिए । इन्जिनियर चौधरी आफन्तकोमा लुकिछिपी बस्दै आएको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
घटना गत भदौ २५ गतेको हो । आर्थिक विषयमा इन्जिनियर चौधरीले आफ्नो नाम जोडेपछि इन्जिनियर अधिकारीले विरोध जनाएकी थिइन् । सोही विषयमा विवाद हुँदा कार्यकक्षमा काम गर्दै गरेकी अधिकारीमाथि चौधरीले कुटपिट गरेको आरोप छ।
घटनापछि अधिकारीले भदौ २७ गते इलाका प्रहरी कार्यालयमा प्रमाणसहित किटानी जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । लामो समयसम्म फरार रहेका चौधरीलाई लुकिछिपी बसिरहेको अवस्थामा इटहरीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
Facebook Comment