शाखा अधिकृत सृष्टि चौधरीको थारूसम्बन्धी कलाकृति एफएओको आवरणमा प्रकाशित
काठमाडौं : थारू समुदायको भूमि, प्रकृति र परम्परागत ज्ञानसँगको सम्बन्धलाई चित्रण गरिएको सृष्टि चौधरीको कलाकृति संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को एक महत्त्वपूर्ण प्रकाशनको आवरणमा समावेश भएको छ।
सरकारकी शाखा अधिकृतसमेत रहेकी चौधरीको उक्त कलाकृति एफएओले सन् २०२४ मा आयोजना गरेको आदिवासी जनजातिसम्बन्धी कला प्रतियोगितामा विजयी कलाकृतिमध्ये एक हो।
एफएओको प्रकाशन ‘द ह्वाइट/ते ओराङ्गा पेपर अन इन्डिजिनस पिपुल्स-ओभरकमिङ नन-इन्क्लुसिभ रुरल ट्रान्सफर्मेसन’ को आवरणमा आफ्नो चित्र समावेश भएकोमा खुसी व्यक्त गर्दै चौधरीले यसले कलाकृतिको महत्त्व अझ बढाएको बताएकी छन्।
उनका अनुसार विश्व खाद्य दिवस र विश्व खाद्य मञ्चको अवसरमा इटालीको रोमस्थित एफएओको मुख्यालयमा आयोजित कार्यक्रममा उक्त प्रकाशन औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। आदिवासी जनजातिका खाद्य तथा ज्ञान प्रणालीसम्बन्धी विश्वव्यापी केन्द्रको चौथो वार्षिक बैठकका क्रममा प्रकाशन सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेपालकी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, इक्वेडरकी उपराष्ट्रपति मारिया जोसे पिन्टो, बोलिभियाका दिगो विकास, वातावरण तथा जलसम्बन्धी मन्त्री ओस्कार मारियो जस्टिनियानो, सुरक्षित खानेपानी तथा सरसफाइसम्बन्धी मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक पेड्रो आरोहो–आगुडो र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को प्राविधिक कार्यसम्पादन कार्यालयका प्रबन्ध निर्देशक पिटर्नेल बोगार्डलगायत सहभागी थिए।
उद्घाटन समारोहमा एफएओका महानिर्देशक क्यु डोङयुले आदिवासी जनजातिसँग सबै मानिसको साझा इतिहास र पुर्ख्यौली सम्बन्ध रहेको स्मरण गराएका थिए। उनले आदिवासी जनजातिबाट सिक्न र उनीहरूसँग सहकार्य गर्दै राम्रो भविष्य निर्माणका लागि निरन्तर काम गर्न सहभागीहरूलाई प्रोत्साहित गरेका थिए।
नेपालकी मन्त्री गीता चौधरी स्वयं थारू समुदायबाट हुनु र आफ्नो कलाकृति सार्वजनिक गरिएको कार्यक्रममा उनको उपस्थिति रहनुले यो क्षणलाई थप विशेष बनाएको सृष्टिले उल्लेख गरेकी छन्। आफ्नो चित्रको एउटा अंश मन्त्री चौधरीले समुदायका लागि गरेको काम र सक्रियताबाट प्रेरित रहेको उनको भनाइ छ।
‘यति महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक गरिएको प्रकाशनमा आफ्नो कलाकृति समावेश भएको देख्दा यसको महत्त्व अझ बढेको अनुभूति भएको छ,’ उनले भनेकी छन्। चौधरीको कलाकृतिले थारू समुदायको भूमि, प्रकृति र परम्परागत ज्ञानसँगको गहिरो सम्बन्धलाई चित्रण गर्छ। कलामार्फत समुदायका कथा सुनाउन, संस्कृतिलाई जोड्न र आवश्यक आवाजहरूलाई स्थान दिन पाएकोमा उनले कृतज्ञता व्यक्त गरेकी छन्।
उनको यो उपलब्धिले थारू समुदायको मौलिक संस्कृति, परम्परा र ज्ञान प्रणालीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्याएको छ।

Facebook Comment