कानुन छ कार्यन्वयन छैन [विचार]

उन्नती चौधरी।

लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान विश्व व्यापी सुरु भएको छ । अभियानलाई सफल पार्नको लागि महिला अधिकारकर्मीहरु विभिन्न कार्यक्रम गरी दिवशको रुपमा मनाउदै आइरहेका छन् । सामाजिक, आर्थिक अवस्था र साँस्कृतिक मुल्य मान्यताका कारण हिंसाको स्वरूप फरक होला । तर लिंगको अधारमा हुने हिंसा विश्वव्यापी नै छ ।

नेपालमा हिंसाको स्वरुप हेर्ने हो भने नेपालको कानुनले महिला र पुरुषलाई समाबेश गरेर संविधानमा कानुनी नीति नियम बनाएको छ । एउटा बच्चा आमाको कोखबाट जन्मन साथ यौनांग स्पष्टरुपमा नखुलेको समान्य बच्चा भन्दा व्यवहार फरक रहेकोले उनीहरु आफूलाई समलिंङगी, तेस्रो लिंङगी, दुई लिंङगी, अन्तर लिंङगीमा वर्गिकरण गरेका छन् । तर उनीहरु समान्य मान्छे जस्तै आफूहरुलाई राज्यले आत्मसम्मान नगरेको महशुस गदैछन् । उनीहरु समाजमा आफ्नो पहिचानको खोजी गर्दै गर्दा परिवारबाट नै वहिष्कृत हुनुपर्ने अवस्था छ । उनीहरु आफूलाई सार्वजनिक स्थलको शौचालयले समेत हिंसा गरिरहेका महशुस गरिरहेका छन् । जसले गर्दा सुदुरपश्चिम क्षेत्र भरि ७ हजार तेस्रो लिंङगीको तथ्यांक रहेपनि खुलेर आउनेको संख्या १ सय ५० जना मात्र छन् ।

आफू अन्तर लिंगी भएको खुलासा गर्दै निशान्त रेग्मी भन्छन् ‘म १३ वर्ष सम्म छोरी भएर हुर्के । पछि मेरो शरिरको बाहिरी बनावट पुरुष जस्तै भयो र म सबैको नजरमा पुरुष भए ।’ मेरो अहिले दाह्री जुंगा छ । तर यौनांग भने महिलाको जस्तो छ । उनले पुनः थपे ‘म बाहिर हिडडुल गर्ने क्रममा शौचालय जानु परे एकदमै अप्थ्यारो हुन्छ । किनकी शौचालय महिला र पुरुष भनेर छुट्टयाएको हुन्छ । मेरो शारिरीक वनावट पुरुष जस्तै छ । तर म पिसाब गर्नु परे बसेर गर्छु जसले गर्दा पुरुष लेखिएको शौचालयमा गएर पनि म भित्रको सिटमा पिसाब फेर्नुपर्छ । बाहिर निस्कदा दिसा गरेको भन्दै १० रुपैया माग्छन् । म ५ रुपैयाको लागि हरेक पटक बहस गर्नुपर्छ । तर म रुपैयाको लागि होईन बरु आफ्नो पहिचानको लागि बहस गर्छु ।’

तेस्रो लिंङगीको रुपमा जन्म लिई सकेकालाई उनीहरुको अभिभावकले आफ्नो ईज्जत र प्रतिस्थामा आच आउने डरले आफ्नो बच्चाहरुको पहिचान खुलाउन नचाहेकै कारण त्यस्ता व्याक्तिहरुको भविष्य नै अन्धकार बनेको छ । उनीहरु आफ्नो लागि भन्दा पनि समाज, घर परिवारको लागि बाच्नुपर्ने, आफ्नो इच्छालाई त्यागेर अरुलाई खुशी पार्नुपर्ने बाध्यता रहेको छ । संविधानको धारा १८ मा ३२ वटा समानताको मौलिक हक उल्लेख रहे पनि उनी आफूलाई विभिन्न अधिकारबाट बन्चित गरिएको, विभेद भएको महशुस गरिरहेका छन् । नयाँ संविधानको धारा १२ मा लैंगिक पहिचान र अन्य भनेर नेपाली नागरिकले नागरिकता पाउने व्यवस्था रहे पनि सुदुरपश्चिममा अहिले सम्म १ जना मोनिका शाहीले नेपाली नागरिकता र राहदानी लिएको तथ्यांक छ ।

तेस्रो लिंगी मात्र होईन विश्वमा महिला माथि हुने हिसाको तथ्याकं हेर्ने हो भने हरेक तीन जनामा एक महिलाले जिवनमा कुनै न कुनै किसिमको हिंसा खेप्न बाध्य भएका छन् । चाहे त्यो घरभित्रको हिंसा होस या सार्वजनिक स्थालमा होस । महिला कुनै ठाउँमा सुरक्षित भएको महसुश गर्न पाएका छैनन् ।

युएन ओमनकी कार्यकारी निर्देशक फुम्जाइल म्लाम्बो न्गुका भन्छिन् ‘हामी घरमा सुरक्षित हुन पाउनुपर्छ, सडकमा सुरक्षित रूपमा हिँडडुल गर्न पाउनुपर्छ, बिद्यालय जान पाउनु पर्छ, काम गर्न र सुरक्षित रूपमा बजार जान पाउनुपर्छ, फिल्म हेर्न जान पाउनुपर्छ ।’ यो भनाइले महिला घरभित्रदेखि सार्वजनिक स्थलमा असुरक्षित भएको प्रमाणित गर्छ ।

नेपालमा पनि महिला सबैभन्दा धेरै घरभित्रै असुरक्षित भएको तथ्याङ्क रहेको छ । नेपाल प्रहरीको विवरण अनुसार २०७२÷०७३ मा ९ हजार भन्दा बढि महिला आफ्नै परिवारका सदस्य र आफन्तबाट पीडित भएको बताउछन् । नेपालमा यौन हिंसा, बलात्कार बेचविखन, बोक्सी, छाउपडी जस्ता हिंसा विद्यमान छ ।

महिला माथि हुने हिंसालाई सम्बोधन गर्ने न्यायिक संयन्त्र नभएका पनि होईन्न तर हिंसा पीडित महिलले न्यायिक निकायबाटै हिंसा खेपीहरेको महशुस गरिरहेका छन् । सरकारले नेपाल प्रहरी कार्यालयमा देशैभरी २७० वटा महिला तथा वालवालिका सेवा केन्द्र स्थापना गरेको छ । तर अधिकाशं केन्द्रमा महिला प्रहरी छैनन् । कतिपय केन्द्र त यस्ता छन् कि पीडित महिलालाई राखेर कुरा गर्ने ठाउँको समेत अभाव रहेकोले पीडित आफ्नो गुनासो लिएर त्यो ठाउँ सम्म पुग्ने वातावरण नै बन्दैन ।

पछिल्लो अवस्थामा धेरै घटना मिलापत्र भएको गुनासो सुन्ने गरिन्छ । गैर सरकारी संघ संस्थाको भनाई अनुसार पीडित स्वयम एक्लै जिल्ला प्रहरी कार्यालय जाने हिम्मत गर्दैन् । किनकी जिल्ला प्रहरी कार्यालयमा पीडित एक्लै गएको बेला गर्ने व्यवहार महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था वा व्याक्तिसंग सोही कार्यालय जाँदा गर्ने व्यवहार एकदमै फरक रहेको बताउछन् । उनीहरु भन्छन् सुनुवाई गर्ने निकाय नै “तिमी एउटा महिला हौ । मिलेर बस यदि मिल्ल सकेनौ भने भोली कहाँ जाने आखिर जाने ठाउँ नै त्यही हो” भन्दै मिलापत्र गराएर फर्काउने चलन हाबी भएको छ । र फेरी फेरी उही घटना दोहोरीएको उदाहरण हामी सामु अन्गिति छन् ।

नेपालमा लिंगको अधारमा रहेक दिन हिंसा खेपीरहेकाहरुले आफू बाँच्ने कुनै विकल्प नै देख्न छोड्छन् र अन्तत उनीहरु सानो विवादमा पनि आत्म हत्या गर्छन् । यदि तिनीहरुको जिवन शैलीको ईतिहास खोतल्ने हो भने त्यो पक्कै पनि आत्महत्या नहोला बरु हत्या भएको प्रमाणित गर्न सकिन्छ । तर हाम्रो नेपालको कानुनी कार्यन्वय गर्ने निकाय फितलो अनुसन्धानको कारण प्रया घटना आत्महत्या भएको प्रमाणित हुन्छ । कैलाली जिल्ला भित्रका तमाम घटना हत्या भएको विभिन्न प्रमाण हुदा हुदै पनि आत्महत्या भएको प्रमाणित गरिएको छ । जसले गर्दा पीडित आफू न्याय नपाएको महशुस गर्न बाध्य छन् ।

नेपालमा हिंसापीडित महिलाको उजुरी लिने संस्था तमाम छन्, तर ती महिलालाई तत्काल चाहिने सरंक्षणको अभाव पनि उत्तिकै मात्रमा छ । हिंसा पीडित महिलाको लागि अवास गृह नहुनु हिंसा पीडितको लागि ठूलो समस्या हो ।

हुन त हिंसा पीडित महिलाको संरक्षणका लागि सरकारले १७ वटा जिल्लामा सुरक्षा आवास गृह स्थापना गरेको छ । तर घरेलु हिंसा पीडितका लागि स्थापित यी आवास गृहमा ४५ दिन मात्रै राख्ने व्यवस्था छ । घरबाट निस्केकी महिला ४५ दिन पछि फेरी कहाँ जाने ? नेपाल प्रहरीको तथ्यांक अनुसार महिला माथि हुने सवै भन्दा धेरै घरेलु हिंसा र त्यस पछिको यौन हिंसा रहेको छ । गत आर्थिक वर्ष २०७२÷७३ मा १ हजार ९० वटा यौन हिंसाका घटना रहेको तथ्यांक छ । यी पीडित महिला सुरक्षित स्थिान खोज्न कहाँ जाने ? नेपालको तराई जिल्लामा दिनानुदिन बोक्सीको आरोपबाट घर निकालिएका छन्, मानसिक सन्तुलन गुमाएका छन्, आगोले जलाईएका छन्, मलमुत्र खुवाई विभिन्न यातना दिएको सामाचार सुनिरहेका हुन्छौ, दाईजोका कारण विभिन्न यातना दिएको सामाचार रहेक दिन सुन्नु परेको छ । छाउपडीको घटना जगजाहेर नै छ । यस्ता खाले पीडित महिलाको लागि आवास गृह कहाँ खोज्ने ?

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कूनै आधारमा शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि उल्लेख गरिएको छ । यदि त्यस्तो कार्य गर्ने व्याक्तिलाई कानून बमोजिम दण्ड वा सजाई हुनेछ । र पीडितलाई कानून बमोजिम क्षतिपुर्ति पाउने हकको व्यवस्था गरिएको छ । तर नेपालको संविधानमा उल्लेखित कानुनको कार्यन्वयन कस्ले गर्ने ? यदि कार्यन्वयन गर्ने हो भने कहिले गर्ने ? यस्ता प्रश्नको खोज नीति यो अभियानले गरयो भने पीडितले न्याय पाएको अभाष हुन्थ्यो होला ।

त्यसैले महिलाको क्षेत्रमा काम गर्ने सम्बन्धीत संघ संस्थाले यो १६ दिने अभियान भरि औपचारिक कार्यक्रम गरेर बजेट सकाउनु भन्दा बरु एउटा उदाहरणीय काम गरे जाति होला । जुन कामले हिंसापीडित महिलाले न्याय पाएको अनुभूति गर्न सकोस् । होईन भने अभियान अभियानमै सिमित हुन्छ, पीडित झन झन पीडित बन्दै जान्छन् र पीडक मोटाउदै जानेछ सबैलाई चेतना भया । [email protected]

शान्ति इन्टरटेन्मेन्टले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

काठमाडौं- शान्ति इन्टरटेन्मेन्टले रौतहटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाका नेपाल संयोजक विकास चौधरीले मंसिर अन्तिम साता रौतहटको सन्तपुरमा स्वास्थ्य शिवर सञ्चालन गर्ने जानकारी दिए। त्यस क्षेत्र वरपरका कम्तीमा एक हजार ब्यक्तिको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने उनले बताए।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले सर्लाहीको बरथवामा न्यानो कम्बल वितरण गर्ने जनाएको छ। ‘रौतहटको स्वास्थ्य शिविरपश्चा हामीले सर्लाहीको बरथवामा रहेका विपन्न परिवारलाई कम्बल वितरण गर्नेछौं,’ उनले भने, ‘अत्याधिक चिसोका कारण वर्षेनि सयौं नेपालीहरुको मृत्यु हुनेगरेकाले बेलैमा त्यस्ता परिवारलाई कम्बल वितरण गर्न लागेका हौं।’

सो संस्थाले राजधानीमा रक्तदान कार्यक्रम पनि आयोजना गर्ने संयोजक चौधरीले बताए। नृत्य निर्देशक संघ र चलचित्र विकास बोर्डको सहयोग र रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम आयोजना हुने उनले बताए।

संगीत पाठशालाको रुपमा खोलिएको उक्त संस्थाले संगीतप्रति रुची राख्नेहरुका लागि निशुल्क कक्षा सञ्चालन पनि गर्ने जनाएको छ। पुसको पहिलो सातादेखि उक्त कार्यक्रम आयोजना हुने संयोजक चौधरीले जानकारी दिए। ‘संगीत सिक्दा मैले धेरै कुरा भोगेको छु। चाहना हुँदाहुँदै पनि आर्थिक समाजिक कारणले मेरो संगीत सिक्ने चाहना तुहिन्थ्यो। तर आज मैले अरुलाई सिकाउनसक्ने भएको छु। संगीतलाई साँच्चै माया गर्नेहरुले त्यस्तो भोग्न नपरोस् भनेर तीन महिने निशुल्क कक्षा सञ्चालन गर्न लागेका हौं,’ संगीताकारसमेत रहेका विकास चौधरीले बताए।

कार्यक्रममा शान्ति इन्टरटेनमेन्टका सल्लाहकार गीतकार ज्ञानेन्द्र गदाल र गायक मुरारी भट्टराई सम्मान गरिएको थियो। गीत संगीत क्षेत्रमा उहाँहरुले पुर्‍याएको योगदानको कदर गर्दै शान्ति इन्टरटेन्मेन्टले तीवै स्रष्टालाई सम्मान गरेको हो। उनीहरु सो संस्थाका सल्लाहकार पनि हुन्।

हाम्रो छिमेकीलाई खुलापत्र

२०७३ मंसिर १८ गते, काठमाडौं।

आदरणीय दाजुभाई, दिदीवहिनीहरु,

सप्रेम नमस्कार।

हजारौं वर्ष देखि खोला, जंगलको किनारमा जिविकोपार्जन गर्ने हामी थारुले इतिहासमा प्राकृतिक विषम परिस्थिति वेहोर्दै गोही, विषालु सर्प, विच्छि, हाति, बाघ, भालुसँग पैठेजोरी खेल्दै बाँच्न सफल भयौं। मलेरियाको महामारी पनि पचायौं र इतिहासको कालखण्डमा जुन जुन देशको वासिन्दा भएर राजनीतिक रुपमा बाच्नु परे पनि अर्थतन्त्रको ठूलो हिस्सामा योगदान गर्यौं। यी सब भए हाम्रा इतिहास तर यो पनि सत्य हो कि मलेरिया उन्मुलन पश्चात यहाँ हाम्रा नयाँ नयाँ छिमेकीहरु आए। अहिले सम्म छिमेकी प्रतिको भावना तथा छिमेकीत्वको आदर्श हामीले एकतर्फी जोगाउने काम कर्मद्वारा गरेका छौं भन्ने लाग्छ। हाम्रा छिमेकीहरुबाट हामीले कैयन उपलब्धीहरु हासिल गरेका छौं र हामी जस्तै यहाँ अनेकन प्राकृतिक मानव समुह आफ्नो आफ्नो साँस्कृतिक विशेषता, ऐतिहासिकता तथा ज्ञानपद्धति अनुसार अस्तित्ववान छन भन्ने बुझ्यौं। फरक फरक आस्था बोके पनि सबैको शाश्वत सत्य करुणामय छ भन्ने विश्वास पनि जागेर आयो। अहिले पनि सहअस्तित्व कायम गरेर जीवन जिउने काम भइआएकै छ। परेको बेला एक अर्कालाई साथ दिने काम नभएको पनि होइन। अहिले त नातागोता समेत गाँसिएर मानव समाज निर्माण भएको छ। यसलाई अब कसैले भाँजो हाल्ने औकात राख्दैन। त्यसैले त राजनीतिक खेल हामीलाई स्वार्थी बनाउने प्रयत्न गरे पनि अन्ततः हामी मानवताको त्यो उच्चतम अभ्यास पनि गर्न पुग्छौं जहाँ छिमेकीलाई परेको पीडामा मलम लगाउन अग्रसर भएका घटनाहरु साक्षी छन्।

हाम्रो छिमेकीलाई थाहा भएकै कुरो हो कि जहाँका हामी बासिन्दा हौं, आदिवासी भएर बाँचेका छौं। हामी आदिवासी नै रहन चाहेका हौं। हामीलाई विश्वास छ, हामी आदिवासीवाद मार्फत निर्देशित भएर यो संसार वदल्न चाहन्छौं। त्यसैले आदिवासीत्वको हामी सच्चा पहरेदार भएर यो धरतीलाई रक्षा गर्ने संकल्प गरेका छौं। आदरणीय दाजुभाई, दिदीवहिनीहरु! आधुनिक नेपाल राज्यमा हामी आवद्ध भएको २५० वर्ष भयो। यस अवधिमा राज्यको अहितमा कहिल्यै काम गरेको प्रमाण छैन तर सामन्ति राणा–शाहको शासनकालमा यिनै थारुलाई मासिने मतवालीको कितामा राखे। नेपालको राज्य प्रणालीमा इतिहासकाल देखि नै खेती योग्य जमीन तयार गर्ने यी थारुको स्वाभिमान प्रति शंका भएर नै शासकवर्गले आफ्ना द्वारे, पाले, पुरोहित तथा गुरुहरुको सेवामा ती जमिनहरु बक्सिस तथा जगीरको रुपमा उपलब्ध गराए। प्राकृतिक श्रोत र साधनहरुको पहुँचबाट हामीलाई बिमुख बनाउने काम भयो। हामीलाई जब पञ्चायती व्यवस्थामा एक भाषा, एक भेषको नीति मार्फत दमन गरीयो, हाम्रा संवेदना एका एक तरंगित हुन पुग्यो। हाम्रा परम्परा, प्रथाजनित कानुनहरु लगायत साँस्कृतिक धरोहर माथि धावा बोल्ने काम भयो र हामीलाई पछौटेपनको सुचिमा राख्ने काम नियोजित रुपमा गरे। केही थारु एलिट्सको स्वार्थ समायोजन गर्दै पञ्चायतकाल भरी फुटाउ र राज्य गरको नीति बमोजिम शासन लादिए भने थारु बाहुल्य क्षेत्रमा जंगल फडानी गर्दै पुनर्वास गराउने कामलाई प्राथमिकता दियो। यसले पनि थारुको अर्थराजनीतिमा प्रत्यक्ष प्रभाव पारे।

थारुले पञ्चायतकाल भरी आफू विरुद्ध हुँदै आएको शोषण र जालझेललाई लोकतन्त्रको पुनःस्थापना सँगै समायोजन गरेर संघर्ष चलाए। यसरी ठाउँ ठाउँमा राजनीतिककर्मीहरु शेल्टर लिंदा उनीहरुको भौतिक साधन जुटाउने काममा खटे। किसानहरु मोहियानी हकको सवाल उठाउँदै संघर्ष गर्दा त्यो पञ्चायती व्यवस्थामा राजनीतिक गतिविधि नै मानिन्थे। यसरी अन्तिम समय सम्म राजनीतिककर्मीलाई साथ दिंदै अन्ततः २०४६ सालको जनआन्दोलन सफल बनाए। तर प्रजातान्त्रिक व्यवस्थामा समेत थारु अपमानित जीवन कमैया, कमलहरी, बुक्रही भएर नेतागणको घर घरमा विताउने गरे। बँधुवा मजदुर भई जीवन गुजारा गर्दा पनि हामी थारु छिमेकीहरुको मानमर्दन गरेनौं बरु राजासाहेव,मालिक, माल्किन, हजुर भनेर सम्बोधन गरेको मनमष्तिष्कमा अझै ताजै छ। पहिले हामी भाषिक अधिकारको सवाल उठायौं र राजनीतिबाट धर्म अलग गर्ने विषयसँग एकाकार गर्यौं। तर प्रजातन्त्रमा त्यो पनि संविधानमा उल्लेखित अधिकारको कुरो उठ्दा हामी उपर ज्यादति शुरु भयो र एक दशक पछि श्रावण २ गते वर्षाको समयमा वेघर बनाइएका पीडाहरु पनि छन्। अहिले थरुहट राज्य प्राप्तीको लागि संघर्ष गर्न अग्रसर भयौं जुन हाम्रा छिमेकीहरुलाई असह्य हुँदैछ। यति बेला छिमेकीहरुले नै हामीलाई विखण्डनकारी देख्न थाल्नु भयो जबकी वहाँहरुलाई थाहा छ कि थारु आफ्नो थातथलोको विषयमा कति गम्भिर छ। थारु अनेकन प्राकृतिक प्रकोपका बाबजुद आफ्नो भाग्य अजमाउन बोर्डर पार गरेनन् न त उनीहरु पहाड नै उक्ले। आफ्नो पूर्खाले गुल्जार गरेको भूमी राज्यको ऐनहरुले खोस्ने काम गरे पनि राज्य विरुद्धको विद्रोह गरेको इतिहास छैन। हो, आफ्नो जीवनलाई दाउमा राखेर तत्कालिन माओवादीले उठाएको जनयुद्धमा साथ दिए। हाम्रा छिमेकीहरुलाई यी सबै जानकारी भएकै विषयहरु हुन। अझ थारुको जातीय सफाया गर्ने राज्यको योजना थियो। दोश्रो जनआन्दोलन पश्चात थारुको आफ्नै नेतृत्वमा आन्दोलन गरेको पनि सत्य हो। अहिले पनि उक्त आन्दोलनहरुमा पाँचजना जीवन आहुति दिईसके भने २०७२ साल भाद्र ७ गते टीकापुर घटनाको आवरण भित्र थारुको जातीय सफाया गर्ने राज्यको योजना नश्लीय राजनीति प्रतिबिम्बित गरे। शायद यसले गणतान्त्रिक नेपालको औपनिवेशिक चरित्र सतहमा ल्याएको भन्न सकिन्छ। थारु आन्तरिक औपनिवेशिकताको शिकार भएको महसुस पहिले देखि गरिआएकै हो। टीकापुर घटनाक्रमबाट उत्पन्न परिस्थितिले अझ यसलाई पेचिलो बनाउने काम गर्यो।

CN Tharuहाम्रा छिमेकी अहिले थारुबाट डराउने र थारु उपरोक्त छिमेकीहरुबाट तर्सिने काम हुँदैछ। व्यक्तिगत रुपमा मेरो विन्ती छ कि हाम्रा छिमेकीहरु प्रति त्यस्तो वैमनष्यता हाम्रो छैन। कुनै वेला छिमेकीले र कुनै वेला हामीले छिमेकीलाई ठेलमठेल गर्दा वहाँहरुको चित्त दुखेको होला अथवा हाम्रो पनि चित्त दुखे। यो खुलापत्र मार्फत हाम्रा छिमेकीहरुलाई ठेलमठेलको वेला परेको अन्याय प्रति अथवा आरोप प्रत्यारोपको कारणले हुन पुगेको छिमेकीत्वको उपहास प्रति गम्भिर छलफल गर्न तयार नै छौं। अर्को कुरो छिमेकीको धर्म प्रति सधैं प्रतिबद्ध रहँदै अगामी दिनमा पनि यसलाई प्रगाढ बनाउने दिसा मै हाम्रो योगदान रहनेछ। मेरो तर्फबाट छिमेकीत्व पालना गर्न कुनै कसर बाँकी नराख्ने संकल्प दोहरयाउन चाहन्छु। यससँगै छिमेकीहरुलाई यो पनि ज्ञात रहोस् कि थारुलाई सधैं उपनिवेशमा राख्ने राज्यको सारभूत आधार भत्काउन जुन सुकै विधि अपनाउन तयार हुनेछौं। आदरणीय दाजुभाई दिदीवहिनीहरु! हामी थारु उपनिवेशबाट मुक्ति चाहन्छौं र अब नेपाललाई वहुलराष्ट्रिय राज्यको रुपमा परिवर्तन गर्न अन्तिम लडाई गर्न तयार छौं। यसबाट फेरि पनि हाम्रा छिमेकीहरुलाई नकारात्मक असर पर्न सक्छ। वहाँहरु प्रति संघर्षको वेला जान/अन्जानमा दुरव्यवहार हुन सक्ला। त्यसलाई स्वभाविक रुपमा लिंदै हाम्रा छिमेकीहरुको हितलाई ध्यान दिने राज्य भए पनि हामी त्यसलाई उल्टाउने अन्तिम कोशिश गर्ने छौं तर छिमेकीत्वलाई अमर बनाइ राख्ने हाम्रो प्रतिबद्धतामा कुनै कमी आउन दिने छैन भनी यो खुल्ला पत्र विसाउँदै छु। बाँकी संघर्षको मैदानबाट जे निर्णय हुन्छ सबैले स्वीकार गरौंला। धन्यवाद।

स्नेही,

सीएन थारु

 

नेपाली जनता [विचार]

दिल बहादुर चौधरी।

अहिले जताततै नेपाली जनताको चर्चा छ। देशमा मात्र हैन, बिदेशमा पनि नेपाली जनताको चर्चा छ। हरेक संघ संस्था, दातृ निकायमा मात्र हैन, संयुक्त राष्ट्र संघमा पनि यसको खूब चर्चा छ। राजनीतिक दल, नेता तथा कार्यकर्ताहरुको त मुखमै झुण्डिएको छ, “नेपाली जनता।” Continue reading “नेपाली जनता [विचार]”

तातिए नवलपरासीका थारु, ४ नम्बरमा राखेको भन्दै चक्का जाम

थारु बाहुल्यता भएको क्षेत्रलाई प्रदेश नम्बर ४ मा राखिएको भन्दै नवलपरासीको डण्डामा थारु कल्याणकारिणी सभाले शनिबार बिरोध प्रदर्शन गरेको छ । नवलपरासी जिल्लाको परासी क्षेत्र र नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । Continue reading “तातिए नवलपरासीका थारु, ४ नम्बरमा राखेको भन्दै चक्का जाम”

किसानको आयस्तर नबढेकोमा कृषिमन्त्री चिन्तित

कृषि मन्त्री गौरीशंकर चौधरीले कृषिको विकास र प्रवद्र्धनका लागि कृषकहरुसँग सहकार्य र समन्वय गरेर कार्यक्रमहरु अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छ्न्। उनले दुःख गर्ने कृषकको आयस्तर बढ्न नसकेकोमा चिन्तासमेत व्यक्त गरे। Continue reading “किसानको आयस्तर नबढेकोमा कृषिमन्त्री चिन्तित”

नासपाले पुस ६ गते थरुहट तराईमा चक्का जाम गर्ने

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी (नासपा)ले सरकारले दर्ता गराएको संविधान संसोधन प्रस्तावको बिरोध गरेको छ । आज (शनिबार) मोरङको मोरङको बिराटनगरमा पत्रकार सम्मेलन गरि संविधान संशोधनको विरोध जनाएको हो । Continue reading “नासपाले पुस ६ गते थरुहट तराईमा चक्का जाम गर्ने”

थारु साहित्यको गोरेटो

कृष्णराज सर्वहारी।

थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै, ०११ सालमा जीवराज आचार्र्यको ‘हम्र ओ हमार बन्वा’ पुस्तक प्रकाशित पाइन्छ। यो पुस्तक वनसम्बन्धी महत्वबारे कविता हो भने बढक्क जोर्नी गीतसंग्रह हो।

यसपछि चौधरी रूपलाल महतो र बद्रीनाथ योगीको संकलन ०१६ सालमा प्रकाशित दंगीशरण कथा, वर्कीमार, गुरुबाबक् जल्मौटीले थारु लोकसाहित्यको संकलनको दैलो उघार्‍यो। चितवनबाट जित बहान कथा २०१६ सालमै तथा रामप्रसाद रायको थरुहट के बउवा और बहुरिया गीति नाटक ०१९ सालमा प्रकाशित भयो। थारु कल्याणकारिणी सभाले सखिया– ०२४, प्रफुल्लकुमार सिंह मौनले थारु लोकगीतको संकलन– ०२५ प्रकाशन गरे। यसरी गोचाली पत्रिका प्रकाशन हुनुअघि लोकगीत, लोककाव्य, नाटकको संकलन प्रकाशित भएको देखिन्छ। यस आलेखमा थारु साहित्यको लेखनको अवस्था के–कस्तो छ? आख्यान, कविता, नाटक आदि विधामा के–कस्तो फड्को मार्दै छ? यसको गतिबारे चर्चा हुनु आवश्यक छ।

उपन्यास

आख्यानको महत्वपूर्ण विधा उपन्यासमा पनि थारु समुदाय बामे सर्दैछ। ०७० सम्म थारुभाषाका १४ उपन्यास प्रकाशित छन्। खागरी कैलालीका स्रष्टा उपन्यास लेखनमा अगाडि देखिन्छन्। तेजनारायण पञ्जियारले ०४९ मा बुद्धको जीवनी ‘शाक्य बुद्ध’ लेखे। थारुभाषाको पहिलो मौलिक उपन्यास भने कृष्णराज सर्वहारीको फुटल करम (०५५) हो। मनिराम चौधरीको बिधवा (०५७) थारुभाषाको दोस्रो उपन्यास हो। त्यस्तै, छविलाल कोपिलाको मुक्तिक खोज )(०५९) थारुभाषाको तेस्रो उपन्यास हो। लामो कथाजस्तै लाग्ने २०–२२ पृष्ठको यस उपन्यासमा उपन्यासकारले पस्किन सक्ने धेरै कुरा छुटेका छन्। उपन्यासमा पाइने तत्व पनि थोरै छ।

KRISHNA SARBAHARI PHOTO.doc०६२ मा थारुभाषाका दुई उपन्यास प्रकाशित भए— हरि आसमा महतोको ‘आत्मा भितरक गाथा भेलई जिन्गिक काथा’ र आदर्श बान्धबको चमेलिया। महतोले आफ्नो लघु उपन्यासमा गजलसमेत समावेश गरेर पुस्तकलाई खिचडी बनाएका छन्। कैलालीकै भोजराज चौधरीको उपन्यास तिरिया जलम प्रकाशित छ, ०६३ मा। यसमा पात्रमार्फत् थारु समुदायका सबै चाडपर्वबारे चर्चा गर्ने प्रयास गरिएको छ। कैलालीकै शर्मिला चौधरी ‘सृष्टि’को उपन्यास ‘दुःखके हल्कोरा’ ०६४ मा प्रकाशित छ। थारु महिलाले लेखेको यो पहिलो उपन्यास हो।

कृष्णराज सर्वहारीले नेपाली भाषामा लेखिएको बसाइँ उपन्यासलाई थारुभाषामा अनुवाद गरे, छारा शीर्षक दिएर। उपन्यासमार्फत् लेखकले आफ्नो समुदायको सकारात्मक, नकारात्मक सांगो–पांगो बखान गर्न सक्छन् तर उपन्यासकारको संख्या पर्याप्त रूपमा थपिन सकेको छैन। समसामयिक कथावस्तु आख्यानमा पनि आउन सकेको छैन।

कथा

थारुभाषामा लेखिएका कथाको इतिहास त्यति पुरानो छैन। चितवनबाट ०१६ मा धार्मिक पुस्तक ‘जित वाहन कथा’ प्रकाशित रहेको भेटिन्छ। यसरी धार्मिक कथाबाट थारुभाषाको लेखन परम्पराको सुरुवात भएको देखिन्छ। गोचाली र ०३३ मा थारु संस्कृतिका पत्रिका प्रकाशन हुन थालेपछि त्यसमा कथा छापिने क्रम सुरु भएको देखिन्छ। यद्यपि, ०४६ सालबाट प्रकाशित ‘बिहान’ पत्रिकामा श्रीपति चौधरीका केही कथा छापिएका छन्, जुन कथा ०२२ देखि ०२५ सम्ममा रचना गरिएको भनिएको छ।

त्यसो त ०३२ सालमा बाराका हृदयनारायण चौधरीको ‘कहली, सुनली, बुझली’ थारुभाषामा कथासंग्रह प्रकाशित छ। यो नै थारुभाषाको पहिलो कथासंग्रह हो। यसरी आधुनिक थारुभाषा कथाका जनक बाराका हृदयनारायण चौधरी मानिन्छन्। ‘कहली, सुनली, बुझली’ कथासंग्रहका पाँच कथाको बीचबीचमा कविताका पंक्ति पनि छन्। जसले कथाकारको कवि व्यक्तित्व झल्काएको छ। प्रस्तुत कथासंग्रहमा व्यंग्य कविता पनि समावेश छ। यी कथाले तत्कालीन थारु समाजको अवस्था खोतल्छन्। कथा र त्यसभित्रका कवितांशले थारु साहित्य आधुनिकतातिर लम्किएको देखिन्छ। दोस्रो कथासंग्रह प्रकाशित हुन २३ वर्ष कुर्नुपर्‍यो। थारुभाषाको दोस्रो कथासंग्रह हो— लक्ष्मण किशोर जोगेठ्वा ‘परदेशी’को इज्जतके दाम– ०५५)। ०५५ फागुन २८ देखि ३० सम्म उदयपुरको हडियामा थाकसको स्वर्ण जयन्तीको अवसरमा धेरै पुस्तक प्रकाशित भए। यसै क्रममा छातापिपरा–४ बाराका मधुसुदन चौधरीले आफ्नै नामको शीर्षक राखेर मधु कथासंग्रह (२०५५) प्रकाशन गरे। १० कथा संकलित मधु कथासंग्रहका केही कथामा कविताले पनि स्थान पाएका छन्।

बाराका परशुराम चौधरीको कथासंग्रह प्रकाशित छ, चमत्कार– ०५६ । जसमा मध्यमखालका कथा छन्। कैलालीका मनिराम चौधरी पनि दुई कथासंग्रह लिएर देखापरेका छन्। उनका कथासंग्रह हुन्— रसाइल करम–०५९ र दुखियारी बयिया–०६१। कथाको सामान्य मान्यतालाई त्यागेर दुखियारी बगियामा ४६ पृष्ठको एउटा कथा समावेश छ।

थारुभाषाका अर्का सशक्त हस्ताक्षर हुन्— बर्दियाका सन्तराम धारकटुवा थारु। उनको हमार जुनी– ०६१ प्रकाशित छ। जसमा ६ कथा संग्रहित छन्। यसमा प्रयुक्त विम्बले थारु साहित्यमा उत्तरआधुनिकताको छनक दिन्छन्। यसबाहेक फुटकर रूपमा उनका प्रशस्त कथा छरिएर रहेका छन्। उनका कथा अनुवाद गरेर नेपाली भाषामा प्रकाशन गर्न सके उनी राष्ट्रिय रूपमा चर्चित हुन सक्ने कथाकार हुन्।

कैलाली थारु साहित्यका लागि उर्वर क्षेत्र हो। यहाँका हीरालाल चौधरीले दुःखके भौंरी–०६३ तथा एम टेर्रा वास्तविकले लालमुरै–०६४ कथासंग्रह दिएका छन्। चौधरीभन्दा टेर्राका कथा खँदिला छन्। कञ्चनपुरकी कल्पना चौधरीको उजरल घर दुवार– ०६२ कथासंग्रह प्रकाशित छ। केही पत्रपत्रिकाले कथा विशेषांक प्रकाशित गरे पनि विभिन्न कथाकारको कथा संगालोको रूपमा एक मात्र संग्रह थारु भाषक् प्रतिनिधि कथा–१ (०६८) प्रकाशित छ, जसको सम्पादन शत्रुघन चौधरीले गरेका छन्।

पेसाले शिक्षक रहेका उत्तरगंगा–७ सुर्खेतका मानबहादुर ‘पन्ना’को ककनडरान छोटकी– ०७० कथासंग्रह प्रकाशित छ। हालसम्म थारु कथासंग्रहको एक दर्जन पुस्तक आएको छ। साहित्यको विकासमा मातृभाषाका रचनाको अनुवाद प्रकाशनको उत्तिकै महत्व रहेको हुन्छ। बिहान पत्रिकाले ०६० मा बटकुही लोककथा विशेषांक प्रकाशन गरेको छ। थारु समुदायको लोककथातर्फ संग्रहको रूपमा कृष्णराज सर्वहारीको संकलनमा मामा–भान्जा–०६० तथा थारु लोककथा–१ (०६७) पुस्तक प्रकाशनमा आएको छ। थारु लोककथा– १ ले साझा प्रकाशनबाट ०६७ को लोकसाहित्य पुरस्कार समेत पाएको छ। यद्यपि, पुस्तक नेपाली भाषामा छ। त्यसैगरी थारु लोककथा संग्रहमा सहयोग समाज नेपाल दाङले थारु मातृभाषामा बटकोही लोककथासंग्रह –०६४ प्रकाशन गरेको छ।

कृष्णराज सर्वहारीको बालकथासंग्रह सुुख्ली–०६२ थारुभाषाको एक मात्र बालकथासंग्रह हो। थारुभाषाका अन्य कथाकारमा मंगल थारु, श्रीपती चौधरी, सोम डेमनडौरा, देवराज अमित, धर्मराज चौधरी, ओमप्रकाश गोइंजिहार, नरेश लालकुसम्या, प्रसादु थारु आदि हुन्। तीसको दशकमा लेखिएका कथा र हाल सत्तरीको दशकमा आइपुग्दा सम्म पनि थारु साहित्यको कथा लेखनको शैलीमा खासै भिन्नता आउन सकेको छैन। लावा डग्गर त्रैमासिक (२०६९, पूर्णांक १३) तथा बिहान वार्षिक (२०७०, पूर्णांक १८)मा क्रमशः १६ तथा ८ जना कथाकारका एक एक थान कथा समावेश गरी कथा विशेषांक प्रकाशन गरिएको छ। तर, दुवै विशेषांकमा कथाबारे समालोचना छैन। यस्ता विशेषांक नियमित प्रकाशन हुनु जरुरी छ।

कविता

थारुभाषाको पहिलो कवितासंग्रहको पनि यकिन हुन सकेको छैन। तर, २०४५ सालमा प्रकाशित हृदयनारायण चौधरीको ‘मेहमान’ थारुभाषाको पहिलो कवितासंग्रह मान्छि। कवि हृदयनारायणका मेहमान बाहेक ‘चतुरंगी फूल’ (२०५६) कविता संग्रह र ‘प्रभात रोशनी’ (२०५९) लघु खण्डकाव्य प्रकाशित छ। चतुरंगी फूल कविता पश्चिमी, मध्य, पूर्वी र मध्य पश्चिमी भाषामा प्रकाशित कवितासंग्रह हो। सियाराम चौधरीको ‘पोह फाइट गैले’ (२०४७) र ‘हमर गाम हमर बस्ती’ (२०५०) कवितासंग्रह प्रकाशित छ। संख्यात्मक रूपले थोरै क्रमश १९ र १८ वटा कविता समाविष्ट सियारामका कविता लेखनशैली तथा भावपक्ष हेर्दा अब्बल दर्जाका छन्। यसैगरी कैलालीका रेशमलाल चौधरीले आफ्नो पहिलो पुस्तकाकार कृति ‘एकथो बिरहीन कथा’ (२०५३) कवितासंग्रह प्रकाशन भयो। मधुसुदन चौधरीको ‘मधु’ (२०५५) कवितासंग्रहमा केही बाल कविता पनि भेटिन्छ।

कवयित्री शान्ति चौधरी थारुको बेटी (२०५४), ‘गाँवके पहिचान’ (२०५५) लगायत कवितासंग्रह प्रकाशित छन्। तर, प्रायः संग्रहमा ८/ १० वटा कवितासँगै लेख निबन्ध, पुस्तक पत्रिकाका समाचार समावेश गरिएकोले विशुद्ध थारु कवितासंग्रह मान्न सकिँदैन। कविताका अन्य कृतिमा कविराम थारुको सैहदान (२०५२) मानबहादुर चौधरी पन्नाको ढुकढुकी (२०५७), बालगोबिन्द चौधरी र सुमन चौधरीको बैँशालु जोवन (२०५७) हो। ढुकढुकी र बैँशालु जोवनमा मुक्तक पनि समावेश गरिएका छन्।

त्यस्तै अन्य कविता कृतिमा मनिराम चौधरीको ‘हिमालके मुस्कान’ (२०५८) प्रेमराज चौधरीको ‘कहतुँ मैं’ (२०६०), सुरेश चौधरीको ‘तुहिन’ (२०६१), जीतबहादुर चौधरी ‘ट्रासन’को यी जीतके हटल कविता (कविता संग्रह २०६१), अर्जुन दहितको ‘परिचय’ (२०६२), प्रेमलाल दहितको ‘टुटल झोप्री’ (२०६२), रामबहादुर बखरियाको ‘मुटुक धड्कन’ (२०६२) हो। यी सबै कविता संग्रहमा प्रेम प्रणयका बखान गरिएको छन्। यी कविताहरू संरचना तथा भाव गाम्भीर्यताको हिसावमा कमजोर देखिन्छन्। सन्तराम धारकटुवा थारुको ‘छिटकल भावना’ (२०६२) कवितासंग्रह भने हालसम्म प्रकाशित अब्बल दर्जाको कविता कृति हो। उनका कविता विषयवस्तु, भाव, शैली र कलाकौशलता ध्यान पुगेको देखिन्छ। त्यसैगरी, प्रेमलाल दहितको टुटल झोपडी (कवितासंग्रह २०६१), बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (कवितासंग्रह २०६२), प्रकाशित छ। एम टेंर्राको फूला (२०६३) कवितासंग्रह थारु, राना थारु र नेपाली तीन वटा भाषामा प्रकाशित छ। श्रीराम चौधरीको चिट्किन (२०६४), कैलालीका रामलखन चौधरीको छलमल्की (२०६५), रामलखन चौधरी, मनबहादुर चौधरीको विश्व शान्ति (२०६७), लक्की चौधरीको नेन्धर (२०७१), सुशील चौधरीको नेपाली र थारुभाषामा बिरहुल बसिया (२०७२) प्रकाशित छ। शान्ति चौधरीका कृतिलाई अपवाद मान्दा हालसम्म अढाइ दर्जनजति कवितासंग्रह प्रकाशित देखिन्छ।

खण्डकाव्य, महाकाव्य

रुपन्देहीका बमबहादुर थारुको ‘ई जिन्गी’ (२०५५) खण्डकाव्य थारुभाषाको पहिलो खण्डकाव्य हो। यस खण्डकाव्यमा थारु मौलिक शब्दको भण्डार छ। यस कृतिमा थारुभाषाका अत्यन्त प्राचीन र ठेट शब्दहरूको प्रयोग भएको छ। २०६१ मा मानबहादुर चौधरी पन्नाको ‘किसानके जिन्दगी ‘ खण्डकाव्य प्रकाशित छ। कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’ले मनके फूला (२०६२) खण्डकाव्यमार्फत् नारी मनका संवेदना पस्केकी छिन्। उनको पहिलो गहकिलो वजनदार कृतिले हुने विरूवाको चिल्लो पातको उदाहरण दिएको छ।

पचासको दशकमा जोखन रत्गैयाले ‘भुत्वा’ महाकाव्य लेखेको बताइन्छ। हृदयनारायण चौधरीले बुद्धको जीवनीमा आधारित ‘ललित बिस्तर’ (२०६८) महाकाव्यको थारुमा अनुवाद गरेका छन्। हृदयनारायण चौधरीको अर्को महाकाव्य बन्हन पनि प्रकाशित छ।

मुक्तक, हाइकु तथा तान्का

पहिलो मुक्तक संग्रह कृष्णराज सर्वहारीको ‘दोसर घर जाईबेर’ (२०५६) हो। कैलालीका स्रष्टाहरू टिकाराम चौधरीको आग्रह (२०६३) तथा सागर कुश्मी संगतको आँशके सागर (२०६९), सुन्दर चौधरीको प्रकृतिके अनुराग (मुक्तकसंग्रह–२०७०), दाङ देउखुरीका छविलाल कोपिला, गुरुप्रसाद कुमाल ‘बुलबुल’ र रामप्रकाश चौधरी ‘अन्धकार’ को नेपाली र थारुभाषामा संयुक्त मुक्तक संग्रह ‘समयका डोबहरू’ (२०७१) प्रकाशित छ। हिरालाल सत्गौवाँको पैनस्टोपी (मुक्तकसंग्रह २०७१), विभिन्न कवि गोष्ठी, रेडियो कार्यक्रम अथवा छापा सञ्चार माध्यमहरूमा ६०–७० दशकलाई ‘मुक्तक–गजल’ दशक भन्न सकिने अवस्था भएपनि संग्रहको रूपमा भने कमै प्रकाशित देखिन्छ। फुटकर रुपमा भने यसैको वर्चस्व रहेको छ।

थारु साहित्यमा हाइकु तथा तान्का विधाले खासै प्रभाव जमाउन सकेन। आंशिक रूपमा केही पत्रपत्रिकाबाहेक साहित्यिक कार्यक्रममा समेत वाचन गरिएकोे देखिँदैन। सर्वहारीले २०५९ सालमा थारु र नेपाली दुवै भाषामा ‘समयका उच्छ्वासहरू’ हाइकुसंग्रह प्रकाशित गरे। त्यसैगरी, तुलाराम चौधरी ‘सनम’को ‘तुहिन उपहार’ (२०६१) र छपिलाल चौधरीको ओजरिया रातम (२०६३) हवाई हाइकुसंग्रह प्रकाशित छ। त्यसपछि अहिलेसम्म कुनै हाइकु संग्रहित रूपमा आउन सकेका छैनन्। दिप लाइफ कियरले गोजी आकारमा ‘तुँहार लग फूला’ (२०६३) नामक थारुमा नौलो बिधा तान्का निकालेका छन््।

गजल

थारु साहित्यमा गजल विधा संख्यात्मक हिसाबले सबैभन्दा धेरै पाइन्छ। थारुभाषाको पहिलो गजलसंग्रह जोखन रत्गैंयाको ‘चोराइल मन’ (२०५७) हो। त्यस्तै, अन्य गजल संग्रहमा भुवन चौधरीको ‘आछत’ (२०६१), लक्की चौधरीको ‘सहीदान’ (२०६१), छविलाल कोपिलाको ‘भौगर’ (२०६१) हुन्। भौगर नेपाली र थारुभाषा दुवै भाषामा छ। कोपिलाको थारु बाल गजलसंग्रह कहिले फूल्छ ऊ (२०६३) पनि नेपाली र थारुभाषा दुवै भाषामा छ। लक्कीको अन्तर्भाव (गजलसंग्रह २०६३) अन्तर्भाव पनि नेपाली र थारुभाषा दुवैमा प्रकाशित छ। गुर्वावा प्रकाशन प्रालिको अग्रासन मासिकले (२०६२ पूर्णांक ७) लाई गजल विशेषांकको रूपमा ‘कैहदेऊ गुर्वावा संग्रह’ भनी प्रकाशित गरेको छ। थारुभाषा तथा साहित्य उत्थान समूहको लावा लौझी त्रैमासिक (२०६५ अंक–४) गजल विशेषांकमा २९ जना गजलकारका गजलहरू समेटिएका छन्। लाहुराम चौधरी ‘जहर’को फुलरिया (गजलसंग्रह २०६६), हस्ताक्षर (२०६८), फुटल पोक्री (२०६८), खुशीराम उमंग चौधरीको विक्षिप्त मुटु (२०६९) को ५२ थान गजलमा १२ वटा मात्र थारुभाषामा छन्। मोतीराम चौधरी ‘रत्न’ को मनके बोझा (२०७०), रामचरण चौधरी ‘एकल यात्री’को मोर टुटल झोपरी (२०७०), चन्द्रप्रसाद चौधरीको गजल माला (२०७०), कञ्चनपुरका अशोक चौधरीको मनके आवाज (२०७०) जिल्लागत दृष्टिकोणले सम्भवतः उनको यो संग्रह नै कञ्चनपुरबाट प्रकाशित हुने थारुभाषाको कृतिमध्ये पहिलो हो, रविना चौधरी रब्बुको ओंरी (२०७१)लाई थारु महिला गजलकारद्वारा लिखित पहिलो प्रकाशित कृति मानिएको छ। जंग्रार साहित्यिक बखेरी नेपालगञ्जको प्रकाशन रहेको डिउली (२०७१), जंग्रारकै मुम्बई शाखाको जेउनास (२०७१), ठुम्रार साहित्यिक शृंखला काठमाडौँको पहिलो प्रकाशन परगा (२०७२) मा पनि विभिन्न शंृखलामा वाचन गरिएका गजलहरू संयुक्तरूपमा प्रकाशित भएको छ। २०७२ सालमा पस्नक पन्ह्वा संयुक्त गजल, सीता थारु निश्चलको परगोह्नी, पुनाराम चौधरी (कर्याबरिक्का) को अँख्वा गजलसंग्रह प्रकाशन भए। २०७३ मा दाङका बुद्धिराम चौधरीको चिन्हारी तथा महेश चौधरी एमके कुशुम्याको मैंयक बौछार गजलसंग्रह प्रकाशन भएको छ। थारुभाषामा भित्रिएको गजलमा रदिफ र काफियामा नेपाली भाषाको प्रभाव मनग्गे भेटिन्छ। फुटकर रूपमा कविता, गजल लेख्नेहरूको तालिका लामो छ।

थारु साहित्यमा गीत लेखनको अवस्था कमजोर छ। बिहान, दिउँसो, राति छुट्टाछुट्टै गीत गाइए पनि लोकगीतको संकलन समेत निकै कम भएका छन्। जस बर्दियाको ‘लौव चलन– भाग १ (२०५७) तथा भाग २ (२०६०) मा लोकगीत शैलीमा आधुनिक गीतको प्रस्तुति छ। छविलाल कोपिलाको सम्पादनमा थारु लोकगीत (२०७२) प्रकाशित छ। गीतको पुस्तक संकलनसँगै ४ दर्जनभन्दा बढी थारु गीति क्यासेटको संकलन बजारमा आएको देखिन्छ। थारुभाषामा ८५ वटा चलचित्र निर्माण गरिएको भनिएकोमा लोकगीत भने अत्यन्त न्यून समेटिएको छ।

नाटक

थारु साहित्यमा नाटक प्रकाशन र मञ्चनको दृष्टिले कमजोर दखिन्छ। रामप्रसाद रायले २००७ सालमा थारु कल्याणकारिणी सभाको जनचेतना अभियानअन्तर्गत खासगरी पूर्वी थरुहटमा नाटक मञ्चन गरेका थिए। उनको थरुहटके बउआ और बुहरिया (२०१९) पुस्तकलाई गीति नाटक भनिएको छ।

बसाइसराइको विषयवस्तु समेटिएको महेश चौधरीको छारा (२०२८) नाटक प्रकाशित भए पनि यो हाल अप्राप्य छ। पुनर्प्रकाशन गर्नलाई एक प्रति पनि नपाइएको स्वयं नाटककार बताउँछन्। छारा दाङका विभिन्न विद्यालयमा मञ्चन गरिएको थियो। राजधानीमा थारु समुदायका मुद्दा केन्द्रित नाटक पनि फाट्टफुट्ट मात्रै मञ्चन भएका छन्।

राजधानीमा स्वान संस्थाको पहलमा कमलरी (२०६१) नाटक गुरुकुल बानेश्वरमा करिब २ हप्ता मञ्चन भएको थियो। त्यस्तै शिल्पी काठमाडौँ, शान्तिको लागि युवा सञ्जाल बर्दिया तथा कपिलवस्तु नाट्य समूह, तौलिहवाको संयुक्त आयोजनामा २०७० बैशाख ८ गते त्रिवि कीर्तिपुरमा ‘दहितान ढेंकी’ नाटक मञ्चन गरिएको थियो। दुवै नाटकमा भाषा पनि थारु नै थियो।

निबन्ध

थारु साहित्यमा कुनै कृतिमा एकदुइटा निबन्ध परेका छन्, तर निबन्धको कुनै सिँगो कृति प्रकाशित भएको देखिन्न। लक्की चौधरीले ‘तिहुवार’ (२०६१), मोर पहुरा (२०७०), मनिराम चौधरीले ‘हरबड्डा’ (२०६२) तथा भुलाई चौधरीको ‘थारु सस्ंंकृति’ (२०६१) ले निबन्धको झल्को दिन्छन्। यद्यपि, भुलाईको संग्रहमा नेपाली लेखसमेत समाविष्ट छ। तिहुवारमा थारु चाडपर्वबारे जानकारी दिइएको छ भने मोर पहुरामा नेपाली पत्रपत्रिकामा प्रकाशित लेखलाई थारुमा अनुवाद गरिएको छ। यसरी विशुद्ध साहित्यिक निबन्धसंग्रह अझै पनि थारु सहित्यमा प्रकाशन हुन सकेको छैन।

बिसौनी

थारु साहित्यमा कथा र उपन्यास विधामा अझै पनि दर्जनकै हाराहारीमा मात्रै कृति देखिएका छन्। तर, आख्यानमा समयअनुसारको चिन्तनको अभाव देखिन्छ। कमैया मुक्तिको घोषणा भएको डेढ दशक नाघिसक्यो, तर आख्यानमा कमैया पात्रले जमिनदारबाट दुःख पाएको पुरानै प्रसंग भेटिन्छ। एक दशकको जनयुद्धमा हजाराँै थारुले बलिदानी दिए पनि त्यस विषय केन्द्रित आख्यानको अभाव छ। साहित्यकार सुशील चौधरीको प्रश्न छ– थारु स्रष्टाहरूले अव युगको माग अनुसार कलम चलाउन सुरु गर्नु पर्दैन त? सम्मानपूर्ण जीवनका लागि, मानव अधिकारका लागि किन साहित्यिक आन्दोलन नछेड्ने?

थारु साहित्यमा सबाल्टर्न पात्रहरू प्रशस्त छन्, तर तिनीहरू विद्रोही हुन सकिरहेका छैनन्। जबकि यथार्थ के हो भने माओवादीको १० वर्षे युद्धमा हताहत हुने सबैभन्दा बढी थारु समुदायकै थिए।

थारु साहित्यको स्रोत नेपालमात्र हो। छिमेकी मुलुक भारतमा लाखौँको संख्यामा थारु बसोबास रहे पनि त्यहाँ थारुभाषा बोलिँदैन। सबैभन्दा सघन बस्ती रहेको भारतको पश्चिम चम्पारनका थारुहरूले भोजपुरी भाषा बोल्छन्। कामको सिलसिलामा विभिन्न देशमा बसोबास गर्ने थारुहरू त्यहाँबाट गजल, मुक्तकलगायत साहित्य सिर्जना गरिरहेका छन्।

अनलाइनमा थारु साहित्यिका समाचार, कथा, कविताले थोरै ठाउँ पाएको छ। थारु साहित्य पनि अब डिजिटल दुनियाँमा अघि बढ्न थालेको छ।

थारु साहित्यको सिर्जनामा सामूहिक प्रयासको अभाव छ। २०७३ बैशाख ३ र ४ गते दाङमा थारु थारु साहित्यिक मेला भएजस्तो राष्ट्रिय स्तरको थारु साहित्यिक कार्यक्रम नियमित भएको छैन। राजधानीमा २०६९ माघदेखि नियमित थारु साहित्य केन्द्रित कार्यक्रम भए पनि गुणस्तरीय काम हुन सकेको छैन। राष्ट्रिय रूपमा थारु साहित्यकारहरूको जमघट नहुँदा, साहित्यमा लागिपरेकाहरूलाई प्रोत्साहन नहुँदा यसले गति पक्रन सकेको छैन। तर, थारु साहित्यमा निराशाको बादल भने विस्तारै फाट्दै गएको छ, विविध विधामा इन्द्रधनुषी सप्तरंगले स्थान बनाउन थालेको छ। थारुहरूको चाहना साहित्यमा मुखरित हुन थालेको छ। देश संघीयतामा गएपछि थारु साहित्यको विकास, विस्तारमा अझ फड्को मार्ने देखिन्छ। विद्यालय तहमा मातृभाषामा पठनपाठनको अभियानलाई तीव्र पार्न सके थारुलगायत अन्य भाषाको पनि विकास हुनेछ।

नयाँ गाउँ सामुदायिक होमस्टेमा स्वागत छ !

थारु जीवनशैली, संस्कृति र आत्मिय व्यवहारका कारण नयाँ गाउँ सामुदायिक होमस्टे चम्किँदै छ। बाँकेको महादेवपुरी गाविस–६ का १० घरमा होमस्टे सुविधा छ। जहाँ एकै रात २० जना बास बस्न सक्छन्।
कोहलपुरबाट ११ किलोमिटर पूर्व, महेन्द्र राजमार्गबाट २५ मिटर भित्र पर्छ नयाँ गाउँ। बाँके निकुञ्ज नजिकै भएकाले त्यहाँ बसेर हात्ती सफारी गर्न पाइन्छ। गाउँबाट ६ किमि दुरीमा हात्तीसार छ। जंगलमा जनावर देखिन्छन्। गाउँमा थारु परिकारमा रमाउन सकिन्छ। साँस्कृतिक कार्यक्रममा छोकरा, मजुरा, लाठी र हुर्दुङा नाच देखाइन्छ। साँस्कृतिक कार्यक्रम प्याकेजको दुई हजार रुपैयाँ तिर्नु पर्छ।
naya-gau-banke-03नेपालगञ्जबाट नजिकै राजमार्ग छेवैको गाउँ भएकाले नयाँ गाउँको संभावना धेरै देखिन्छ। राम्रो प्रचार हुन सके चहलपहल बढाउन सकिन्छ। बाँकेका सरकारी कार्यालयहरुले त्यहाँ तालिम, गोष्ठि जस्ता कार्यक्रम गराउने र बेलाबेला घुम्न जाने बानी विकास गरेमा नयाँ गाउँलाई अघि बढ्न सजिलो हुने थियो।
भर्खर पर्यटनमा पाइला चाल्दै गरेको नयाँ गाउँ अब त पुरानो भैसक्यो। गाउँकी जेष्ठ नागरिक ज्ञानी थारुका अनुसार ०२४ सालमा मात्रै त्यहाँ बस्ती बसालिएको हो। तिनताका दाङबाट आएका थारुले जंगल फाँडेर ५ घर बनाए। त्यही भएर ‘नयाँ गाउँ’ भनिएको। आज ३८ घर भैसके। खेती किसानीबाटै जिविकोपार्जन गर्छन गाउँले। त्यहाँ धान, मकै, मसुरो, चना, गहुँ आदि उत्पादन हुन्छ। आकाशे पानीको भरमा खेतीपाती गरिन्छ।
naya-gau-banke-02गाउँका केही युवा सेना र प्रहरीमा जागिरे छन्। केही बस चलाउँछन् भने केही बसका सहयोगी बनेका छन्। आय आर्जन बढाउन होमस्टे थालियो। गाउँलेको होस्टेमा तराई भुपरिधि कार्यक्रम (ताल), सामुदायिक वन समन्वय समिति महादेवपुरी, जलन्धारा सामुदायिक वन उपभोक्ता समिति र महादेवपुरी गाविसले हैंसे गरेका छन्। होमस्टे ०७२ जेठदेखि होमस्टे सुरु गरिएको थियो।
जलन्धारा सामुदायिक वन उपभोक्ता समितिका सचिव मंगल थारुका अनुसार गाउँमा तालिम हल र सभा भवन बन्दै छ। दुई महिनाभित्र भवन बनिसक्ने छ।

नयाँ गाउँको मेनु

सादा खाना पेटभरि १००
उसिनेको आलु प्लेट ४०
पुरी–तरकारी सेट ४०
दूध कप २०
घोंगी प्लेट ८०
मुसाको सेकुवा प्लेट १००
कोठा डबल बेड ३००
सम्पर्क : ९८६८०७५९७९–मंगल थारु

mangal-chaudhariआउनुस् है : मंगल थारु
अगुवा, नयाँ गाउँ सामुदायिक होमस्टे
पर्यटनबाट आय आर्ज गर्न हामीले गाउँमा होमस्टे सुरु गरेका हौं। हामी पाहुनाको राम्रो सत्कार गर्छौं। लोकल परिकार खुवाउँछौं। नाच्छौं र नचाउँछौं। दुई रात बस्ने गरी हाम्रो होमस्टे आउनुहोस्, हामी तपाइँलाई गाउँघर र वन जंगल घुमाउँछौं। सस्तोमा खाना र बास सुविधा दिन्छौं।

सहमतिका लागि प्रमुख दललाई फकाउँदै गच्छदार

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रमुख दललाई सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने विषय महत्वपूर्ण भएको बताए। Continue reading “सहमतिका लागि प्रमुख दललाई फकाउँदै गच्छदार”