टीकापुरमा सद्‍भावका लागि पहल कसले गर्ने ?

कृष्णराज सर्वहारी।

मलाई तिमी’नि उस्तै लाग्छ तिम्रो बानी देखेर,

खै! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर,

सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनु–

अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर।

©

हलो जुवाको साटो उसको हातमा जंजीर छ,

निर्दोष भएर’नि अपराधी हुनुमा ठूलो पीर छ,

हत्याको अभियोगमा थुनामा परेको दिन देखि–

उसको आँखामा मात्र दुश्मनको तस्वीर छ।

माथि उल्लेखित दुइ मुक्तक धनगढी, कैलालीका सत्य नारायण दहितको हो। २०७३ साउन २३ गते उनले आफ्नो फेसबुक वालमा सम्प्रेषण गरेका यी दुइ प्रतिनिधि मुक्तकले टीकापुरको समग्र अवस्थाको प्रतिनिधित्व गर्छ। पहिलो मुक्तकले कर्फ्यूका बीच पनि घर जलाइएका पीडित थारुहरुको पीडा ओकलेको छ भने दोस्रो मुक्तकले निर्दोष भएर नि थुनिनु पर्दा बदलाको भाव झल्किन्छ। टीकापुर घटनाको पृष्ठभूमि केही महिना, वर्षको कालखण्डको होइन। विभिन्न कोणबाट विश्लेषण गर्दा टीकापुर घटनालाई समयमा सही सम्बोधन नगरिने हो भने अवस्था झन जटिल बन्ने अवस्था छ।

यसै सन्दर्भमा मित्र गणेश चौधरीसंगको सहकार्यमा थरुहट आन्दोलनः टीकापुर कथा नामक पुस्तक लेखिएकोमा सार्वजनिक हुँदैछ। यस पुस्तकमा संग्रहित मेरो लेखन थारु कल्याणकारिणी सभाः विगतदेखि वर्तमानसम्म तथा थरुहट आन्दोलनको दशा र दिशा आलेख मधेस अध्ययन जर्नलको क्रमश तेस्रो (२०७०) र पहिलो अंक (२०६९) मा प्रकाशित छ। ती आलेखलाई यस पुस्तकमा संशोधन गरी राखिएको छ। यी दुवै आलेख प्रकाशित गर्ने नेपाल मधेस फाउण्डेशन तथा सुझावका लागि तात्कालीन मधेस अध्ययन जर्नलका सम्पादक राजेन्द्र महर्जन तथा तुलानारायण साहप्रति आभारी छु। बि.सं २००५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस) नेपालकै पहिलो अग्रणी सामाजिक संस्थामा दरिन्छ। पुस्तकको ३ वटै मुख्य आलेखमा यसको गतिविधिबारे चर्चा छ। स्थापना कालको लामो कालखण्डमा शासकहरुको कुममा कुममात्रै जोडेको थाकसले पहिलो थरुहट आन्दोलन (२०६५) बाट मात्र बलजफ्ती आन्दोलनमा होमिएको देखिन्छ। २०७३ सालको मध्य बिन्दुमा आइसक्दा पनि थाकसको राजनीतिक मागको चित्र प्रष्ट छैन, साथै यसका हालका अगुवा धनिराम चौधरी टीकापुर आन्दोलनका कारण भूमिगत रहने अवस्था रहेकोमा कार्यबाहकको जिम्मेवारी पनि कसैको काँधमा देखिदैन। यसले समग्र थरुहट आन्दोलनलाई पनि असर पारेको छ, किनकि थरुहट आन्दोलनको संयोजन थाकसले नै गरिरहेको छ। यसले पनि थरुहट आन्दोलनको दशा र दिशा झल्किन्छ। हालः टीकापुर घटनाको आरोपमा हिरासतमा रहेका माओवादी पृष्ठभूमिबाट आएका थरुहट/थारुवान आन्दोलनको उठानमा लक्ष्मण थारुको ठूलो हात देखिन्छ। टीकापुर घटनाका कैदीहरुलाई कसरी दुर्व्यावहार गरिएको छ भन्ने दृष्टान्त परिशिष्टमा उनी आफैँले भोगेको कथा पढ्दा थाहा हुन्छ।

२०७२ भदौ ७ र ८ को टीकापुर घटना हुँदा त्यसबीच म राजधानीको एक पुस्तक लेखनको १० दिने गोष्ठीमा थिएँ। टीकापुर घटनाले म कति बिचलित, किंकर्तव्यबिमुढ भएँ भने यस एक वर्षको अवधिमा टीकापुरबारे एकाध कविता लेख्नुबाहेक विश्लेषणयुक्त लेख लेख्न हिम्मत जुटाउन सकिनँ। यसको पृष्ठभूमि समेटिएको घटना दस्तावेजीकरण गर्ने विचार भने त्यसैबेला पलाएको थियो। टीकापुर घटनापछि राजधानी खाल्डोमा बस्ने मेरा अभिन्न, लेखक गैरथारु मित्रहरुले मलाईसमेत थारु आतंककारीको रुपमा व्यवहार गर्दा मन कटक्क खायो। के एउटा घटनाले समुदायका सबैलाई एउटै नजरियाले, एउटै चश्माले, एकै डालोमा हालेर हेर्न मिल्छ? आन्दोलनको भीडतन्त्रलाई रोक्न सकिन्न। सामान्य बन्द कार्यक्रममा आयोजकभन्दा भड्काउने समूह गाडी, घरका सीसा फुटाउन बढी उद्धत रहन्छ। भदौ ७ को नहुनुपर्ने अप्रिय घटना भयो। तर अर्को दिन भदौ ८ को आगजनीको घटना सिंगो थारु समुदायकेन्द्रित थियो। थारुहरुको लडाईँ सिंगो राज्यसँग थियो, यदि उनीहरुले नश्लवादी आन्दोलन गरेका भए टीकापुर घटनामा थारु जातिका प्रहरी मारिने थिएनन्। थारुहरुको घरमा छानी छानी आगजनीको घटनाले भने नश्लवादी आन्दोलनको छनक दिएको छ, जो निकै नै खतरनाक छ। सिसाको घरमा बस्नेले अरुको घरमा सिसा हान्नु हुँदैन। भदौ ७ को हत्याको अभियोगमा थुनिएकाहरु दोषी भए कारबाही अघि बढाए हुन्छ तर भदौ ८ को आगजनीको घटनामा खै कारबाही, खै क्षतिपूर्ति?

Tikapurko kathaटीकापुर डेटलाइनमा रही पत्रकार मित्र गणेश चौधरीले सन्तुलित ढंगले टीकापुर घटनाको बस्तुनिष्ठ व्याख्या गरेका छन्। उनको आफ्नै घर पनि टीकापुर हो। जसले टीकापुर बस्ती बसाए, जसले टीकापुरलाई मलजल गरे, आज उही थारु, मगर समुदाय टीकापुरको फाइदा लिनबाट वञ्चित भएको छ। प्रशासनमा गैरथारुकै बोलवाला भएपछि कानुनी दृष्टिले कमजोर भइ आदिवासीहरुले घरजग्गा गुमाएका छन्। देश संघीयतामा गएपछि आदिवासीहरुले अग्राधिकार पाउन छाडेर आदिवासीहरुको उठीबास गराउने एक कडीको रुपमा टीकापुर घटना देखिएको छ। यस घटनालाई नजीर मानी धमिलो पानीमा माछा मार्नेहरुबाट राज्य सचेत हुनुपर्छ, विडम्वना राज्य नै धमिलो पानीमा माछा मार्नेहरुलाई सघाउन थालेपछि स्थिति भयावह बन्दै छ। गणेशजीले यस्तै प्रसंग उठाएका छन्।

टीकापुर घटनाको प्रसंग समेटिएको यो पुस्तकको प्रारम्भ र बिसौनीमा दिइएका दुई कविताले समेत थारु साहित्यकारहरु आफ्नो समुदायको दुःख पीडा लेखनीमा दस्तावेजीकरण गर्न उद्धत छन् भन्ने देखाउँछ। यस्ता रचनाको छुट्टै गतिलो पुस्तक बन्ने देखिन्छ। पाण्डुलिपि प्रेसमा पठाउँदा समेत केही थारु अगुवा बुद्धिजीबीहरुले टीकापुरबारे लेख्नेहरुलाई अझै पनि खतरा छ, त्यसैले पुस्तक प्रकाशनबारे अझै सोँच्न आग्रह नगरेका होइनन्। तर सधैं जित्नेहरुको इतिहास पढ्ने बानी बसालेका हामी यो हरुवाहरुको इतिहासको कडी हामीले नलेखे कसले लेख्ने भन्ने विचारले पुस्तकको रुपमा ल्याइएको हो। यसमा राज्यका अगुवामात्रै होइन, आफ्नै समुदायका अगुवाहरुको पनि कमी कमजोरी केलाइएको छ।

थारुवान डटकम तथा नागरिक दैनिकका सञ्चारकर्मी मदन चौधरीले २०७३ साउन २० गते आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए- २०७३ साउन २० गते प्रचण्ड पुनः प्रधानमन्त्री बने। त्यसका लागि थारु, मधेसी नेताहरुले पनि काँध थापे। के अब थारु, मधेसीले उठाउँदै आएका माग सम्बोधन हुन्छ? टीकापुर घटनामा झुटा मुद्दा खेपेर जेल जीवन बिताइ रहेकाहरु छुट्लान्? ब्यापार फस्टाएकै कारण जलाइएका निरु ट्रेडर्स, फुलबारी रिसोर्ट, मीरा फर्निचरका पीडितहरुले क्षतिपूर्ति पाउलान्? प्रहरी भयले पलायन भएका थारुहरु फर्किएलान्? भयभित टीकापुरमा शान्ति छाउला? मनमा अनेकौं प्रश्नहरु उब्जिएका छन्। संघीय गठबन्धनको तीन बुँदे सम्झौता गच्छदारले बुझाएको ८ बुँदेजस्तै सत्ताको भर्‍याङमात्र त होइन?’ मदनले उठाएका प्रश्न सबैका आम प्रश्न हुन्। किनकि गैरथारु सम्मिलित छानबिन समितिले नै घटनाका दोषीलाई पत्ता लगाई कानुनी कारबाही गर्नुपर्ने र भौतिक सम्पत्तिको क्षति भएका पीडित परिवारलाई राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सकेको खण्डमा सामाजिक वातावरण सुध्रिन गई सद्भाव फैलिने देखिन्छ भन्ने सुझाव दिएको छ। सद्भावका लागि पहल कसले गर्ने? कहिले गर्ने?

र, अन्तमा २०७३ साउन ५ को कान्तिपुर दैनिकमा थारुरुहरु देउडा नाचेको खबर आयो। तर दुई चार जना थारु देउडा नाच्दैमा टीकापुरमा थारुहरुउपर भएको धरपकड, घर जलाइएका थारुहरुको क्षतिपूर्ति असुल उपर हुँदैन। दशैँमा सख्या नाच्न नपाएको थारुहरुले भुलेका छैनन्, अटवारी अस्टिमकी चाडमा थारु दिदी बहिनीहरुले अग्रासन (कोशेली) नपाएको भुलेका छैनन्। पहिला घर जलाइएका थारुहरुको क्षतिपूर्तिको व्यवस्था होस्। टीकापुरका निर्दोष बन्दी छुटुन्। भागाभागको अवस्था अन्त्य होस्। राज्य थारुहरुको पनि हो भन्ने अनुभूति होस्, टब बल्ल सद्भावको बाटो खुल्ला  कि?

(कृष्णराज सर्वहारी तथा गणेश चौधरीबाट लेखिएको थरुहट आन्दोलनः टीकापुर कथा नामक यो पुस्तक २०७३ भदौ ७ गते युनियन हाउस, अनामनगर, काठमाडौमा दिउँसो २ बजे विमोचन हुँदैछ। पुस्तकको लेखकीयलाई मूल आधार लिइएको यो संशोधित लेख हो)

कांग्रेसमा मन्त्रीको सूची तयार, थारुको नाम परेनन्

पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको तीन साता बित्नै लाग्दै सत्ताघटक नेपाली कांग्रेसले पार्टीका तर्फबाट थप नाम पठाउन गृहकार्य थालेको छ। सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेट्ने गरी सूची तयार पारेका छन्। Continue reading “कांग्रेसमा मन्त्रीको सूची तयार, थारुको नाम परेनन्”

पिटाई खाने पत्रकारले भने- दाेषीलाई कारबाही गरियाेस्

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सञ्चारकर्मीको सुरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने जानकारी दिएका छन् । काठमाडौंमा आयोजित अन्तर्क्रियामा सचिव थपलियाले संविधानले नै पत्रकारको सुरक्षाको प्रत्याभुति गरेको र त्यसलाई कार्यान्वयन गर्न छिट्टै नयाँ निर्देशिका ल्याउने बताएका हुन् ।

मन्त्रालयले स्थलगत रिपोर्टिङ्मा जाने पत्रकारको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा निकाय, गृहमन्त्रालय, सञ्चार मन्त्रालय, पत्ररकार र सम्बन्धित निकायवीच समन्वय गर्दै विशेष तालिमको व्यवस्था गरिने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले फिल्डमा खटिने पत्रकारलाई सुरक्षामा खटिने अधिकारीले नियतवश दुव्र्यवहार नगरेको दावी गरे । राष्ट्र सेवामा खटिने सबै निकायवीच समन्वय, समझदारी बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । त्यस्तै, सशस्त्र प्रहरी बलका प्रवक्ता अतिरिक्त महानिरिक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका प्रवक्ता नायव महानिरिक्षक माधव जोशीले फिल्डमा खटिएका पत्रकारमाथि प्रहरीबाट दुव्र्यवहार भएको ठहरिए तत्काल छानविन गरी दोषीलाई कारवाही गर्ने स्पष्ट पारेका थिए ।

त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय सुरक्षा र संवेदनशिलताको बहाना बनाएर पत्रकारमाथि आक्रमण गर्न नपाईने भन्दै राजपत्रमा प्रकाशित भएअनुसार पत्रकारले न्यूनतम पारिश्रमिक पाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पीडित पत्रकारद्धय किशोर चौधरी र चन्द्र आलेले आफूहरुमाथि भएको दुव्र्यवहारवारे स्पष्ट पार्दै दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

एमए नेपाली विषयको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । Continue reading “एमए नेपाली विषयको परीक्षाफल प्रकाशित”

अर्थसमितिमा रहेकी मञ्जु चौधरीलाई एमालेले लेखा समितिमा पठायो

प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्मा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति आफ्नो पार्टीले पाउने भएसँगै केही प्रभावशाली सांसद्को संसदीय समिति हेरफेर गरेको छ ।

एमालेले विष्णु पौडेल र आनन्दराज पोखरेललाई लेखा समितिमा पठाएको छ। अघिल्लो सरकारमा मन्त्री हुनु पहिले पौडेल वातावरण संरक्षण समिति तथा पोखरेल जलस्रोत तथा कृषि समितिको सदस्य थिए।

एमालेले यसअघि अर्थ समितिमा रहेकी सांसद् मञ्जुकुमारी चौधरीलाई पनि लेखा समितिमा नै पठाएको छ।

एमालेले आइतबार ११ जना सांसद्को संसदीय समिति हेरफेर गराएकामा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले भने सरकारमा सहभागी हुनु पहिले जस्तै अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति रोजेका छन्।

यस्तै, राप्रपा नेपालकी सांसद् कुन्तीकुमारी शाही कृषि तथा जलस्रोत समिति छोडेर विधायन समिति गएकी छन्। संसद्को आइतबार बसेको बैठकले १९ जना सांसद्को संसदीय समिति हेरफेर सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।

गोविन्द चौधरी र जितेन्द्र सोनल पार्टी कार्यालय जानै छाडे

महामन्त्रीबाट घटुवा गरेर केन्द्रीय सदस्य बनाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा तीव्र विवाद सुरु भएको छ । पार्टी स्थापना भएपछि तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल, जितेन्द्र सोनल र गोविन्द चौधरीलाई महामन्त्री बनाएका थिए । तर, हालै सम्पन्न प्रथम महाधिवेशनपछि ठाकुरले शुक्ललाई उपाध्यक्ष तथा चौधरी र सोनललाई घटुवा गरी केन्द्रीय सदस्य बनाएपछि तमलोपाको विवाद सतहमा आएको हो । Continue reading “गोविन्द चौधरी र जितेन्द्र सोनल पार्टी कार्यालय जानै छाडे”

अण्डा खानुका फाइदाहरु

– अण्डामा भिटामिन ए, डी, बी–१२, रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छन् । Continue reading “अण्डा खानुका फाइदाहरु”

टीकापुरमा थारू पहाडीले सँगै खेले देउडा

सामाजिक न्याय तथा मानव अधिकार समितिका सदस्य तथा सांसद प्यारेलाल राना सुदूर तथा मध्यपश्चिम पहाडको प्रसिद्ध डेउडा गीतमा मजाले नाचे । टीकापुरथित हाटबजारमा डेउडा नाच्ने उनी एक्ला थारू थिएनन् । उनीसँगै गंगा चौधरी, जोधी चौधरी लगायतले गीतको तालमा पहाडी समुदाय सँगै पाइताला मिलाए । Continue reading “टीकापुरमा थारू पहाडीले सँगै खेले देउडा”

धनगढीमा भब्य हरेरी पूजा महोत्सव [फोटो फिचर]

अविनाश चौधरी/धनगढी।
थारु समुदायको पुरानो पहिरन र प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्। मौलिक विशेषता झल्काउने कलाकृतिका कतिपय सामाग्री देखिनै छाडी सके। सो समुदायबाट लोप हुने खतरामा रहेका त्यस्ता सामाग्री भने यहाँ एउटै थलोमा देख्न पाइन्छ। Continue reading “धनगढीमा भब्य हरेरी पूजा महोत्सव [फोटो फिचर]”

टीकापुरको कथा : जब मलाई मार्ने खबर पाएँ…

गणेश चौधरी।

टीकापुर घटनापछि करिब एक महिना लगातार टीकापुरमा कर्फ्यु लाग्यो। भदौ ७ को घटना हुनु ३ अघि नै यहाँ कर्फ्यु सुरु भएको हो भदौ ४ गतेदेखि। यहाँका स्थानीय तथा राष्ट्रिय मिडियामा कर्फ्युकै समाचारले बढी स्थान ओगट्यो। जिल्ला प्रशासन कार्यालयले दिनहुँ जारी गर्ने कर्फ्यु तालिकाको समाचार सबै स्थानीय एफएममा मुख्य समाचारको दर्जामा रहदै आयो। टीकापुर घटनापछि कैलालीमा तनाव, अभाव र सद्भाव पत्रकारिताले स्थान ओगट्यो। Continue reading “टीकापुरको कथा : जब मलाई मार्ने खबर पाएँ…”