Author: admin
राजधानीको माघी महोत्सवमा फुट, रंगशालामा प्रधानमन्त्री र खुलामञ्चमा बाबुराम आउँदै
राजधानीमा बसोबास गर्ने थारु समुदायकोे माघी महोत्सवमा विभाजन भएर दुई ठाउँमा मनाउने तयारी गरेको छ। माघी महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको दुवै आयोजक पक्षले जनाएका छन्। खुलामञ्चमा माघी महोत्सव मनाउने पक्षले पुस २८ गते रिपोर्टस क्लब, भृकुटी मण्डपमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। थारु कल्याणकारिणीसभा (उपत्यका समिति) बाट असन्तुष्ट पक्षहरुले छुट्टै महोत्सवको आयोजना गरेका हुन्। थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्ने महोत्सवमा आर्थिक पारदर्शिता नभएको र युवाहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले खुलामञ्चमा छुट्टै महोत्सवको तयारी गरेका हुन्। Continue reading “राजधानीको माघी महोत्सवमा फुट, रंगशालामा प्रधानमन्त्री र खुलामञ्चमा बाबुराम आउँदै”
महिलाले जोगाएको थारु संस्कृति
बाबा कही सगर गैनु, मुरीया लहान रे हाँ ।
सखिय हो, टिकुली छुटल पानी घाट ।।
राई खेत मसुरी, मसुरी खेत राई रे हाँ ।
सखियै हो, जौन खेत रे मोर टिकुली हेरा ।।
कालो चोली र सेतो गोन्या (गुन्यो) लगाई सेतो फुन्ना (पुतली) उनेको रातो झोवन्नाले चुल्ठी पारेका महिलाहरुले दुईतिरबाट घेरा लगाएर थपडी र कस्टार बजाउँदै गीत गाइरहेका थिए । घेराको बीचमा खैरो रंगको सर्ट र जिन्स पाइन्ट पहिरिएका एक पुरुषले मादल बजाइरहेका थिए । त्यही मादलको ताल र गीतको सुरमा रातो, निलो, हरियो छिटको लंहगा, त्यसमाथि रातै चोली पहिरिएकी एक युवती मयुरले प्वाँख फैलाएजस्तै गरी रातो फरिया फैलाउँदै नाचिरहेकी थिइन् । गत वर्षको माघे संक्रान्तिमा धनगढी५ तारानगरमा यसैगरी मघौटा नाचिरहेका थिए
मघौटा नाचको एकातिर महिला र अर्कोतिर उत्तिकै संख्यामा पुरुषले पालैपालो गीत गाउने र बीचमा जोडीमा महिला नाच्ने र पुरुषले मादल बजाउने चलन छ । पछिल्लो समयमा थारु समुदायको नाचगानमा पुरुषहरुको उपस्थिति उत्साहजनक देखिदैन । सखिया र मुङ्ग्रह्वा नाच बाहेकका मघौटा, हुर्डुङ्वा, झुम्रा लगायतका सबै नाचहरुमा महिला र पुरुषहरुको यस्तै कम्बीनेशन हुन्छ । अझै पुरुषले सेतो कमिज र र सेतै धोती पहिरिने चलन थारु समुदायमा छ ।
तर पछिल्लो समयमा ठीक उल्टो हुँदै गएको छ । पुरुष बस्ने घेरामा पनि महिलाले देखिन्छन् भने पुरुषको भूमिकामा रहेर महिलाले नै गीत गाउने गरेका छन् । बीचमा मादल बजाउने पुरुषले संस्कृति अनुसारका पोशाक पनि लगाएको देखिदैन । कतिपय ठाउँमा महिलाले नै मादल बजाएको पनि देखिने गरेको छ ।
सन्दर्भः माघी महोत्सव
त्यसैगरी, सखिया नाचमा भने पुरुषहरुले मादल बजाउने र महिलाहरुले नाच्ने चलन छ । पहिले पहिले यो नाचमा थुप्रै पुरुषहरुले मादल बजाउँथे र महिलाहरुले लहरै बसेर नाच्थे । अबका दिनहरुमा बढिमा दुई जना पुरुषले मादल बजाउँछन् र १८ जना भन्दा बढि महिलाहरुले नाच्ने गरेका छन् ।
पुरुषहरुले आफ्नो भूमिका पुरा गरेका छैनन् । उनीहरुले संस्कृति संरक्षणको लागि महिलाहरुलाई पूर्ण रुपमा साथ दिनुपर्ने हो । तर थोरै मात्रामा साथ दिएका छन् । थारु कल्याणकारिणी सभाकी सहमहामंत्री इन्दिरा चौधरीले भनिन्, थारु संस्कृति संरक्षणमा महिलाहरुकै भूमिका बढी छ । पुरुषहरु बाहिर बाहिर जान्छन् । बाहिरिया कुराहरु बढी सिकेका छन् । तर महिलाहरु घरमै बस्छन् । उनीहरुले घरपरिवारको रेखदेख गर्नुका साथै आफ्नो परम्परागत संस्कारमा रहन सिकेका छन् । त्यसैले संस्कृति संरक्षण गर्न पनि भ्याएका छन् ।
पछिल्लो समयमा पश्चिम नेपालका थारु समुदायका पुरुषहरुले नाचगान जस्ता पौराणिक सांस्कृतिक कार्यमा देखिन छाडेका छन् । विशेष गरी कैलाली, कञ्चनपुरमा यस्तो देखिन्छ । थारु संस्कृति युवाहरुमा हस्तान्तरण भएको देखिदैन भने युवतीहरुले थारु संस्कृति र संस्कार सिकेको पाइन्छ । छोरीले जान्नुको अर्को कारण उनीहरु घरमा बसिरहनुको पर्ने र छोराहरु बाहिरतिर घुमफिर गर्ने छुट पाउनु हो ।
सखिया नाच्न होस् या मघौटा । गुन्योचोली लाउन होस् या सिलाउन । परम्परागत परिकार बनाउन होस् या दुनाटपरी गाँस्न । थारु गाउँका महिलाहरुले नै अगाडि हुन्छन् । तारानगरकी प्रेमा चौधरी पनि सांस्कृतिक काममा सधैं अगाडि बढ्छिन् । उनको नेतृत्वमा गाउँका महिलाहरुले नाचगान गर्नदेखि चाडपर्व मनाउन सधैं अग्रसर हुन्छन् । तर उनका श्रीमान् सन्तोष डगौरा थारुलाई न नाच्न आउँछ, न मादल बजाउन नै । सन्तोषलाई थारु पोशाक लगाउन पनि झन्झट लाग्ने गरेको छ । थारु समुदायका कुनै पनि परिकार बनाउन पनि उनलाई आउँदैन ।
पोशाक लगाउन मात्रै होइन, बनाउनमा पनि प्रेमा अगाडि छिन् । उनी लहंगा, चोलो, गुन्यो सिल्नमा पनि पोख्त छिन् । सादा र रंगीन ढकिया, डलैया बनाउन, दुना टपरी गाँस्न र बेर्रा, सिह्रट्टा लगायतका सामान बनाउन पनि उनले जानेकी छन् । डेहरी, कुठ्ली, चुलो बनाउन पनि उनलाई नै आउँछ । ढिक्री, जाँर, दारु, खेर्या, फूलौरी, बर्या, अन्डिक भात लगायतका परिकार बनाउन पनि परिवारमा प्रेमालाई अगाडि बढ्नुपर्छ । यस्तो कुनै पनि काम मलाई आउँदैन, प्रेमाका श्रीमान् सन्तोषले भने, मेरी श्रीमतीले यी सबै काम सजिलै गर्न सक्छे ।
प्रेमाको परिवारमा कुनै पनि पुरुषहरुले सांस्कृतिक पोशाक लगाउँदैनन् । तर महिलाहरुले उनले जानेका धेरैजसो काममा सहभागी हुने गरेका छन् । महिलाको काम भनेर हामी उनीहरुकै जिम्मामा छोडिदिन्छौं, सन्तोषले भने, परिकार बनाउने, दुना टपरी गाँस्ने, भेषभुषा, गरगहना लगाउने काम महिलाको हो भन्ने सोंच हाम्रो समाजमा छ । त्यसैले पनि पुरुषहरुले हात लगाउँदैनन् र युवाहरुले आफ्नो समुदायको भेषभुषा लगाउन लाज मान्छन् । सन्तोषले आफूलाई पनि थारु पोशाक लगाउन नआएको र त्यो लगाएको भेला असजिलो महसुस हुने गरेको बताए ।
प्रेमाले भनिन्, संस्कृति संरक्षणमा पुरुषको भूमिका नभएको होईन । भूमिका निर्वाह नगरेका मात्रै हुन् । पछिल्ला समयमा पुरुषहरु पनि अग्रसर हुनुपर्ने कुरा उठिरहेको छ । सांस्कृतिक कार्यक्रमहरुमा अब केही थारु अगुवाहरु परम्परागत पहिरनमा देखिन्छन् ।
थारु समुदायमा पुरुषले पनि गैजा, छत्री, हलो जुवा बनाउने परम्परा थियो । तर अहिले गैजा र छत्री लोप जस्तै भइसकेका छन् । तर महिलाले बनाउने धेरै सामानहरु अझै गाउँ गाउँमा देख्न पाइन्छ । महिलाले धेरै हदसम्म थारु संस्कृति जोगाएका छन्, सन्तोषले भने, थारु संस्कृति अहिलेसम्म रहिरनुमा महिलाहरुकै भूमिका महत्वपूर्ण छ । उनीहरु अग्रसर नभए थारु संस्कृति लोप भइसक्थ्यो होला ।
छोरीहरुले विवाहमा डेलवा, ढकिया, बेर्रा जस्ता उपहार लिएरै जानुपर्ने बाध्यता छ । त्यसैले पनि महिलाहरुले बनाउने समान अझै पनि गाउँघरमा देख्न सकिन्छ । थारु महिला सभा कैलालीकी अध्यक्ष दुर्गा कुश्मीले भनिन्, पुरुषले बनाउने समानमा कतै कतै मात्र देख्न पाइन्छ । यस्तो हुनुले थारु पुरुषहरुमा सांस्कृतिक सीप हराउँदै गएको र उनीहरु संस्कृति संरक्षणमा सक्रिय नरहेको देखाउँछ ।
थारु कल्याणकारिणी सभाले प्रशिक्षण भेला गर्ने
थारु कल्याणकारिणी सभाले प्रशिक्षण भेला गर्ने, भारतका थारू पनि अाउने
थारु कल्याणकारिणी सभाले केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै सभाले सिरहाको लहानमा माघ २३ गतेदेखि २५ गतेसम्म तीन दिने भेला आयोजना हुने जानकारी दिएको छ ।
थारु आन्दोलनलाई प्रभावकारी बनाउन भेला आयोजना गर्नुपरेको सभाका सचिवालय सदस्य राजकुमार लेखीले जानकारी दिए । उनका अनुसार भेलामा सभाका गाउँ, नगर र जिल्ला कमिटी, भातृ संगठनका पदाधिकारी, केन्द्रीय पदाधिकारीसहित एक हजार प्रतिनिधि सहभागी हुनेछन् । भेलामा संगठनका युवा, विद्यार्थीदेखि केन्द्रीय नेताहरुको पनि सहभागिता रहने सभाले जनाएको छ । Continue reading “थारु कल्याणकारिणी सभाले प्रशिक्षण भेला गर्ने, भारतका थारू पनि अाउने”
रामजनम चौधरीको सम्पत्ति : १ लाख ४० हजार नगद, १५ लाख ऋण
स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकाे आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख छ। Continue reading “रामजनम चौधरीको सम्पत्ति : १ लाख ४० हजार नगद, १५ लाख ऋण”
लक्ष्मण थारुको जेल डायरी : एसपी सापले चिया खान बोलाएर गिरफ्तार गर्नुभो
लक्ष्मण थारु
मलाई गिरफ्तार गरिएको होइन । २०७२ साल भाद्र २३ गते भैरहवामा हुने बिरोध सभाको तयारी गर्दै गर्दा बिहान एसपी राजेन्द्र भण्डारीले मेरा मित्र देवीप्रसाद चौधरीलाई फोन गरी निम्तो गरे चिया खाना आउनुस् नेताजी, केही कुराकानी पनि गर्नु छ ।
देबीजीसँगै जिप्रका भैरहवा पुग्यौँ । एसपीको कोठामा बस्यों । चिया आयो । एसपी भण्डारीले हाँस्दै भने लक्ष्मणजी, तपाई गिरफ्तार हुनु भो । दुःख नमान्नु होला, माथिको आदेश हो ।
देबीजीले सोध्नु भो के गल्ती । के अपराध । के कसुरमा गिरफ्तारी ?
कुनै उत्तर नदिएर लगत्तै वहाँलाई बाहिर लगियो । मलाई अर्काे गाडीमा कोच्दै गर्दा बुहुको फोन आयो तर खोसियो । मोबाइल अफ भो ।
मैले आफूलाई भन्दा उनलाई सोच्न थालें । फोनमा कुरा गर्दागर्दै कस्तो तड्पिन होला उता काठमाण्डौमा । उनको छटपटी के केमा हुन्छ, मलाई राम्रै थाहा छ ।
गिरफ्तारीको एक घण्टामै इप्रका बुटवल गेटभित्र गाडी छियौं । त्यहाँ कडा सुरक्षामा राखियो । दुई घण्टापछि अर्काे गाडीमा कोचियो ।
मैले सोधें धनगढी लाने हो ?
एकजनाले नबोल भन्यो ।
अर्काेले मुन्टो हल्लाउँदै मतलब हो को ईशारा गयो ।
शासकहरूको नयाँ मामला होइन यो भनेर चित्त बुझाएँ । खै कति बजेको थियो, कपिलबस्तुको चन्द्रौता प्रहरी चौकीमा पुग्दा । त्यहाँ टिभीमा एकछिन झुलुक्क समाचार हेर्ने मौका पाएँ । टीकापुर घटनाको शंकास्पद योजनाकार लक्ष्मण थारू भैरहवामा गिरफ्तार भनेर फलाक्दै थियो । बल्ल थाहा पाएँ, २०७२ भदौ ७ को टीकापुर घटनाको केरकारका लागि लगिदै गरेको भनेर ।
दर्जनभन्दा बढी गाडी अदलबदल गर्दै राती साढे ११ बजेतिर धनगढी पुयायो । सिधै सेती अञ्चल अस्पताल लगियो । करिब एक सयको संख्यामा पुलिस, म एक्लो थिएँ । हतार हतार मेडिकल चेकपछि कैलाली जिप्रकाको कैदी कोठामा हतकडीसहित कोचियो ।
१२ जना लागू औषधका बन्दीहरू रहेछन् त्यहाँ । उनीहरूसंग केही बेर कुराकानी गरें । बाहिरबाट पुलिसले ईशारा गयो । लागू औषधका बन्दीहरूले लात र मुक्काले अन्धाधुन्ध हान्न थाले । उनीहरूले कति लात र मुक्का बर्साए, थाहा भएन । बेहोश भएछु । होशमा ल्याउन शायद पानी छ्यापेछन् क्यारे । होश खुल्दा आफूलाई निथुरुक्क भिजेको पाएँ । टोलाउँदै बाहिर एक नजर दौडाएँ ।
बन्दुकधारी मनुवा गार्डले नजिकै आएर भन्यो देख्ने ठाउँमा नहान केटा हो । तर कामै नलाग्ने गरी मर्मत गर ।
बन्दुकधारीको उर्दी भुइमा झर्न नपाउँदै फेरि लात र मुक्का बर्सियो । पुनः अचेत भएछुँ । पहिलो मुक्का बर्सिदा सुनेको थिएँ साला, तँलाई थरुहट चाहियो होइन ? अखण्ड सुदुर पश्चिम स्वीकार्छस् कि ? नभए आजै मारि दिन्छौं । लगत्तै फेरि बेहोश भएछँु ।
मलाई बिहान बाहिर निकालियो । एसपी र एसएसपीसँग लामै कुराकानी भयो । रातीको निर्घात कुटाई र थरुहट आन्दोलनको राजनैतिक, आर्थिक, सामाजिक र आन्दोलनको अवस्थाबारे बेलीबिस्तार लगाएँ । तीन घण्टाको छलफलपछि मलाई अर्काे कोठामा सारियो ।
अर्काे कोठामा पुग्दा फोरम लोकतान्त्रिक कैलाली ३ नं. का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरीलाई भेटें । एकैछिनपछि थरुहटथारूवान कैलालीका संयोजक लाहुराम चौधरी अजगरलाई त्यही ल्याइयो । सामान्य जानकारी गराएँ । कुटाईले थला परेको देखेर मलाई आराम गर्न भनियो । छाती, बाँया कोखा, टाउकोमा टुटुल्कै टुटुल्का, असाध्यै दुखिरह्यो । हात र पिठ्यू दामै दामले कालो थियो । भेट्न आउनेलाई दुई दिनसम्म कसैलाई भेट्न दिइएन । सुतेर बिताउँदा नि सन्तोष भएन ।
मेरो सोचाईको बादल मडारिन थाल्यो । निर्घात कुट्नेहरू नि कैदी हुन् । लागू औषधका यी सबै कैदी अखण्ड पक्षधर ? सोधें आफैलाई कि तीन लाख पचास हजार थारू भएको कैलाली जिल्लाको कुन कार्यालयमा थारू प्रमुख छ ? तर उत्तर पाइनँ ।
आठौ दिन म्याद थपको लागि अदालत लगियो । त्यही टीकापुर घटनामा संग्लग्न भनेर गिरफ्तार गरिएका २२ जना भेट भयौं । केही चिनजानका रहेछन् । पुलिसको हावादारी अनुसन्धानकै आधारमा सरकारी वकिलले कर्तब्य ज्यान मुद्दा गरिसकेको रहेछ ।
२०७२ असोज सात गतेबाट बयानका लागि नियमित अदालत लान थालियो । सबैले सबैले आआफ्नो भोगाई सुनाए । सबैलाई चरम यातना दिइएको रहेछ । उनीहरू हाँस्दा पनि त्रसित देखिन्थे । त्यसमा एक जना १३ बर्षिय नाबालक पनि थिए । मैले उनीसंग वार्तालाप गरें ।
नाम के हो ?
करण थारू ।
तिमीलाई किन ल्यायो ?
उ बोलेन । खिसिक्क हाँस्दै दुबै खुट्टामा लागेको गोलीका दामहरू देखायो । फेरि सोधे,
के भयो ?
गोली लाग्यो ।
पुलिसले निर्घात पिटेको पिठ्युको दाम देखाउँदै सुक्क सुक्क रोयो । मुसार्दै फेरि सोधे,
कति बर्ष भयो ?
१३ बर्ष ।
पढ्छौ ?
सात कक्षामा ।
कसरी गोली लाग्यो ?
आन्दोलनमा पुलिसले हान्यो ।
घरमा को को छ ?
म र हजूर बा मात्रै ।
बा आमा नि ?
बाबा इन्डिया कमाउन ।
आमा भन्न सकेन उ । किनकी आमा सौतेनी ।
कसरी समात्यो ?
घरमै गएर । हजुरबाले बाकसभित्र राखेर ताल्चा लगाई दिनु भाको थियो त्यहीबाट समात्यो ।
म तिनछक परे उसको घटना भन्दा जवाफ दिने शैलीले । अझै कुरा जान्न तल तल भो । तर त्यहाँ कुराकानी गर्ने सिमा थियो ।
भाग १
लक्ष्मण थारुको प्रकाशोन्मुख कृति जेल डायरीबाट
झापा, मोरङ र सुनसरी दुई नमुबर प्रदेश मिसिन चाहन्न : गच्छदार

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराई मधेसमा दुई प्रदेश असम्भव रहेको स्पष्ट पारेका छन् । ‘मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन्,’ काठमाडौंमा आइतबार रिपोर्टर्स क्लवको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने, ‘यी जिल्ला दुई नम्बर प्रदेशमा जाने सम्भावना छैन । त्यहाँ म पनि छु । दुई प्रदेशले मधेसको समस्या समाधान गर्दैन । तराईमा तीनसहित आठ प्रदेश बनाए त्यसले सबैको माग सम्बोधन गर्छ ।’ Continue reading “झापा, मोरङ र सुनसरी दुई नमुबर प्रदेश मिसिन चाहन्न : गच्छदार”







