जनमत पार्टीसँग एकता गर्ने नाउपाको औपचारिक निर्णय

नागरिक उन्मुक्ति पार्टीले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम केन्द्रीय समितिको बैठकले वैशाख १७ गते जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो।

त्यस्तै बैठकले पार्टी एकतापछि केन्द्रीय कमिटीको ५० प्रतिशत केन्द्रीय सदस्य समायोजन हुने सहमति पनि गरेको छ। केन्द्रीय कार्यकारिणी समितिमा भने ५१ सदस्यीय बन्ने भएको छ। दुवै पार्टीबाट २५-२५ जना र संरक्षकरूपमा रहने रेशम चौधरी गरी ५१ सदस्यीय समिति बन्न लागेको हो।

त्यस्तै १७ गते पार्टी एकतापछि प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरिएको छ। १८ गते बिदा परेकाले वैशाख १९ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय भएको हो।

पहलगाम घटनामा मारिएका न्यौपानेका लागि न्याय माग्दै पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

भारतको जम्मू-काश्मिरको पहलगाममा मारिएका रुपन्देहीका सुदीप न्यौपानेका लागि न्याय माग्दै प्रदर्शन भएको छ। काठमाडौंको चुनदेवी मन्दिरसँगै रहेको पाकिस्तानी दूतावासअगाडि सोमबार नेपाली युवा समाजले प्रदर्शन गरेको हो। यसअघि विभिन्न संघसंस्थाले शनिबार प्रदर्शन गर्दै पाकिस्तानी दूतावासमा ज्ञापनपत्रसमेत बुझाएका थिए।

पाकिस्तान संरक्षित आतंकवादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दूतावासअगाडि प्रदर्शन हुन थालेको हो। हिजोमात्र थारू सम्बद्ध संघसंस्थाहरूले घटनाको निन्दा गरेका थिए। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्।

दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको उक्त घटनाको भर्त्सना गर्दै थारू संस्थालेहरूले आतंकवादविरुद्धको लडाइँमा एक हुन आह्वन गरेका छन्। निहत्था नागरिकहरूको क्रूर हत्या गरिएको भन्दै संलग्नहरूलाई कडा कारबाही र आतंकवादलाई खत्तम पार्न ती संस्थाहरूले विश्व समुदायसँग अपील गरेका छन्।

वैशाख ८ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। बुटवलका सुदीप न्यौपानेको घटनामा मृत्यु भएको छ। हिन्दू भएकै कारण आतंककारीहरूले गोली प्रहार गरी उनीहरूको हत्या गरेका थिए। लगत्तै भारत सरकारले उनीहरूविरुद्ध अपरेशन सुरू गरेको थियो। भारतीय एजेन्सीहरूले घटनामा संलग्न ३ जनाको स्केच पनि सार्वजनिक गरेको छ। मुसा, युनुस र आसिफ नामका तीनै जना लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ।

यस्तो देखियो नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक

नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम बैठक बसेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्नुअघि नाउपाले महत्त्वपूर्ण निर्णय गर्न बैठक बसेको हो। Continue reading “यस्तो देखियो नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक”

सांसद चौधरीको व्यक्तिगत लेनदेनलाई जब राजनीतिक रंग दिन खोजियो

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीविरुद्ध झुटा विवरण प्रस्तुत गरी चरित्र हत्या गरिएकोप्रति आपत्ति जनाइएको छ। व्यक्तिगत लेनदेनलाई ‘भ्रष्टाचार, घुस, लेनदेन’जस्ता शब्द प्रयोग गरी प्रचारवाजी गर्न खोजिएको भन्दै आपत्ति जनाइएको हो।

चौधरी मन्त्री भएका बेला कञ्चनपुर निवासी गजेन्द्र साउदबीच आर्थिक लेनदेन भएको थियो। उनीहरूबीच अन्य समयमा पनि आर्थिकलगायत कुरा लेनदेन हुँदै आएको थियो। उक्त विषयलाई राजनीतिक रंग दिन खोजिएको साउदले जानकारी दिएका छन्।
उनले व्यक्तिगत लेनदेनलाई राजनीतिक स्वार्थपूर्तिको निम्ति प्रयोग गरिएको आरोप लगाएका छन्। ‘निजी विषयलाई तोडमोड गरेर, राजनीतिक स्वार्थपूर्तिको निम्ति प्रयोग गरिनु दुर्भाग्यपूर्ण छ। यस्तो गलत प्रचारप्रति सर्वसाधारणलाई सावधान रहन र भ्रममा नपर्न अनुरोध गर्दछु,’ विज्ञप्ति जारी गरेर उनले भनेका छन्।

उनले लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका चौधरीको चरित्र हत्या गर्ने आशयले प्रचारवाजी गरिएको र उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘माननीयज्यूसँगको मेरो व्यक्तिगत सापटी लेनदेनको विषयलाई राजनीतिक पूर्वाग्रहका आधारमा तोडमोड गरी प्रस्तुत गरिएको छ। माननीयज्यूसँगको मेरो सापटी लेनदेन पहिलेदेखि नै स्पष्टरूपमा चल्दै आएको छ। जसअन्तर्गत उहाँले लिएको रकम फिर्ता गरिसक्नुभएको छ,’ उनले भनेका छन्।

साउदले आफूहरूबीच भविष्यमा पनि यस्ता सापटी लेनदेन हुने जानकारी दिएका छन्। यसखालका निजी विषयलाई प्रचारवाजी नबनाउन उनले आग्रह गरेका छन्।

थारू संस्थाहरूले गरे पहलगाममा भएको आतंकवादी हमलाको विरोध (फोटो फिचर)

भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्।

दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको उक्त घटनाको भर्त्सना गर्दै थारू संस्थालेहरूले आतंकवादविरुद्धको लडाइँमा एक हुन आह्वन गरेका छन्। निहत्था नागरिकहरूको क्रूर हत्या गरिएको भन्दै संलग्नहरूलाई कडा कारबाही र आतंकवादलाई खत्तम पार्न ती संस्थाहरूले विश्व समुदायसँग अपील गरेका छन्।

यस दुःखद घडीमा आफूहरू भारतीय जनता सरकारको साथमा रहेको र आतंककारीहरूको विरुद्धको लडाइमा साथ र समर्थन रहेको मिलन चौधरीले प्रतिवद्धता जनाए। ‘भारतमा भएको आतंककारी हमलाको कडा निन्दा र भर्त्सना गर्न चाहन्छौं। यस किसिमको घटनाविरुद्ध हामी सबै एक हुन जरुरी छ। आतंकवादविरुद्ध लड्न हामी सधैं भारतीय जनता र त्यहाँको सरकारको साथमा छौं,’ मिलनले भने।

वैशाख ८ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। बुटवलका सुदीप न्यौपानेको घटनामा मृत्यु भएको छ। हिन्दू भएकै कारण आतंककारीहरूले गोली प्रहार गरी उनीहरूको हत्या गरेका थिए। लगत्तै भारत सरकारले उनीहरूविरुद्ध अपरेशन सुरू गरेको थियो। भारतीय एजेन्सीहरूले घटनामा संलग्न ३ जनाको स्केच पनि सार्वजनिक गरेको छ। मुसा, युनुस र आसिफ नामका तीनै जना लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ।

घटनापछि भारत सरकारले पाकिस्तानसँग कडारूपमा प्रस्तुत हुने घोषणा गरिसकेको छ। नेपाल सरकारले पनि आतंकवादको लडाइँ नेपाल भारतको साथमा रहेको बताइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आफूहरू साथमा रहेको उल्लेख गरेका थिए।

जनमतसँग पार्टी एकता गर्न नाउपाले बोलायो केन्द्रीय समिति बैठक

जनमत पार्टीसँग एकता हुनुअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १५ बैठक बोलाएकी हुन्। बैठकको दुई दिनपछि वैशाख १७ गते सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता हुनेछ। Continue reading “जनमतसँग पार्टी एकता गर्न नाउपाले बोलायो केन्द्रीय समिति बैठक”

थारू समुदायलाई ठूलो राहत, भारत सरकारले सहयोग गर्‍यो सिकलसेल बिरामीका लागि भ्याक्सिन

भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका हुन्।

भारतले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख रुपैयाँ (चार लाख अमेरिकी डलर) मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको छ। मन्त्रालयका अधिकारीका अनुसार अब थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण प्रक्रिया सुरु गरिने छ।

थारू समुदायले वंशाणुगत रूपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना भएको छ। अब भ्याक्सिन सिकलसेल एनिमियिा तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालमा मार्फत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

थारू समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरूलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ। भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टिकापुर अस्पताल लगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरूका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए।

‘आवश्यकता परेका तथा उपचार हुने सबै ठाउँमा भ्याक्सिन उपलब्ध गराइनेछ,’ उनले भने। भारतीय राजदूत श्रीवास्तवले सहयोग दुई देशबीचको आपसी सम्बन्ध विस्तारको एक अंश भएको बताए। भ्याक्सिन प्रभावित क्षेत्रमा उपलब्ध गराउने गरी भण्डारणका लागि स्वास्थ्य सेवा विभागले आपूर्ति व्यवस्थापन केन्द्र बुटवल लुम्बिनीमा पठाइनेछ।

नेपालका थारू समुदायमा यो वंशाणुगत रोगका रूपमा रहेको छ । जसको हालसम्म औषधि उपलब्ध भैसकेको छैन। तर, यो रोगका कारण बिरामीको प्रतिरोध क्षमता कमजोर भएर निमोनिया, मेनिन्जाइटिसलगायतका रोग लाग्ने जोखिम उच्च रहेकाले जोगिन भ्याक्सिन वितरण गर्ने तयारी सरकारले गरेको हो।

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउनू : सर्वोच्च अदालत

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

त्यस्तै देशभरका बालबालिकालाई नियमितरूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगराउन आदेशमा भनिएको छ। त्यस्तै तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईईको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्था सिर्जना हुन नदिन र कक्षा १२ को परीक्षा समयमा गर्न आदेश दिइएको छ।

‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेक देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने,’ आदेशा भनिएको छ।

अधिवक्ता  श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

जनमत पार्टी कार्यालयमा पुगेर रञ्जिताले भनिन्- मधेस र थरुहटको मुटुलाई जोड्दैछौं

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जनमत पार्टी कार्यालयमा स्वागत गरिएको छ। मध्य बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा अध्यक्ष सीके राउतले श्रेष्ठलाई स्वागत गरेका हुन्। दुई पार्टीबीच वैशाख १७ गते एकता घोषणा हुँदैछ। त्यसैको तयारीस्वरुप नाउपा अध्यक्ष श्रेष्ठ जनमत पार्टी कार्यालय पुगेकी हुन्।

जनमत पार्टी कार्यालयको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले वैशाख १७ गते इतिहास बदल्ने दिन रहेको उल्लेख गरेकी छन्। उनले जनमत र नाउपाको माटो र आवाज पनि एकै भएकाले एकता सम्भव भएको प्रस्ट पारेकी छन्।
उनले दुई पार्टीबीचको एकता केवल राजनीतिक निर्णय नभएर मधेस र सुदूरपश्चिमका जनताको आँशु, संघर्ष र सपना सँगाल्ने निर्णय भएको बताइन्।

‘मधेसका ती गर्मीको डिलमा पसिना बगाउने किसान होस् वा थरुहट-पश्चिमका जंगल र खोलामा अधिकार खोज्ने युवा, सबैको घाउ एउटै थियो, बेवास्ता। सबैको चाहना एउटै हो, सम्मान। आज, हामी मधेस र सुदूरपश्चिमको मुटुलाई जोड्दैछौं। हामी एउटै माटोका सन्तान हौं। जहाँ मधेसको सास फुक्दछ, त्यहीँ थरुहटको मुटु धड्कन्छ। यो एकता, विभाजनको अन्त्य हो। यो एकता, हाम्रो पहिचान, सम्मान र अधिकारका लागि साझा यात्रा हो। अब हामी छुट्टाछुट्टै क्षेत्र होइनौं, एउटै आन्दोलन हौं। एउटै सपना हौं, समानताको, स्वाभिमानको, समावेशी राष्ट्रको,’ उनले भनेकी छन्।

नाउपा र जनमतबीचको एकता घोषणा वैशाख १७ गते

डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् ।

उनले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता दुवै पार्टीको बिचमा हुन लागेको बताए । ती दुवै पार्टीका बिचमा एकताका लागि करिब डेढ दुई वर्षदेखि प्रयास भइरहेको थियो ।

यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बिचमा एकता हुने निश्चित भएको छ । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा डा.सिके राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको स्रोतले जनाएको छ । पार्टीको नाम ‘जनमत पार्टी’ रहनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ ।

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखेका छन्,  ‘धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ ।’

तर विगत सात आठ महिनादेखि शक्तिशाली भएको देख्न नचाहने तत्त्वले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई तहसनहस गर्न लागेको उनले आरोप लगाएका छन् । त्यसका लागि विभिन्न शक्ति लागि परेको उनको आरोप छ ।

उनले भनेका छन्, ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधन स्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन् ।

तर आफूहरू नआत्तिएको बताउँदै उनले जनताको भावना र आकाङ्क्षा अनुसार पार्टी एकता हुन गइरहेको बताएका छन् । पार्टी एकता भएपछि सङ्घीय संसदमा जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।

दुवै पार्टीका बिचमा एकता भइसकेपछि पूर्वको कमान्ड सिके राउतले गर्नेछन् भने पश्चिमको कमान्ड रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ । पूर्वी मधेसमा सिके राउतको पार्टी बलियो छ भने पश्चिम मधेसमा रेशम चौधरीको पार्टी बलियो छ ।