थारू संस्थाहरूले गरे पहलगाममा भएको आतंकवादी हमलाको विरोध (फोटो फिचर)

भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्।
दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको उक्त घटनाको भर्त्सना गर्दै थारू संस्थालेहरूले आतंकवादविरुद्धको लडाइँमा एक हुन आह्वन गरेका छन्। निहत्था नागरिकहरूको क्रूर हत्या गरिएको भन्दै संलग्नहरूलाई कडा कारबाही र आतंकवादलाई खत्तम पार्न ती संस्थाहरूले विश्व समुदायसँग अपील गरेका छन्।
यस दुःखद घडीमा आफूहरू भारतीय जनता सरकारको साथमा रहेको र आतंककारीहरूको विरुद्धको लडाइमा साथ र समर्थन रहेको मिलन चौधरीले प्रतिवद्धता जनाए। ‘भारतमा भएको आतंककारी हमलाको कडा निन्दा र भर्त्सना गर्न चाहन्छौं। यस किसिमको घटनाविरुद्ध हामी सबै एक हुन जरुरी छ। आतंकवादविरुद्ध लड्न हामी सधैं भारतीय जनता र त्यहाँको सरकारको साथमा छौं,’ मिलनले भने।
वैशाख ८ गते भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो। बुटवलका सुदीप न्यौपानेको घटनामा मृत्यु भएको छ। हिन्दू भएकै कारण आतंककारीहरूले गोली प्रहार गरी उनीहरूको हत्या गरेका थिए। लगत्तै भारत सरकारले उनीहरूविरुद्ध अपरेशन सुरू गरेको थियो। भारतीय एजेन्सीहरूले घटनामा संलग्न ३ जनाको स्केच पनि सार्वजनिक गरेको छ। मुसा, युनुस र आसिफ नामका तीनै जना लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ।
घटनापछि भारत सरकारले पाकिस्तानसँग कडारूपमा प्रस्तुत हुने घोषणा गरिसकेको छ। नेपाल सरकारले पनि आतंकवादको लडाइँ नेपाल भारतको साथमा रहेको बताइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आफूहरू साथमा रहेको उल्लेख गरेका थिए।
Facebook Comment