थापाथली क्याम्पसमा अध्ययनरत थारू विद्यार्थीलाई मन्त्री चौधरीको आर्थिक सहयोग

थापाथली क्याम्पसमा अध्ययनरत निरज कुमार चौधरीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन्। थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीको पहलमा मन्त्री चौधरीले २५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

पुल्चोक क्याम्पसमा अटोमोबाइल इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत निरजलाई प्रोजेक्ट वर्कका लागि पैसाको खाँचो परेको थियो। आर्थिक अवस्था कमजोर रहेको निरजले जसरी पनि प्रोजेक्ट वर्कलाई राम्रो बनाउनुथियो।

त्यसैक्रममा निरजले आर्थिक सायहाताका लागि थारू विद्यार्थी समाजलाई पहल गरेका थिए। समाजका अध्यक्ष विमलले यस विषयमा मन्त्री चौधरीसँग पहल गरेका थिए। शैक्षिक अभियन्ताका रूपमा पनि आफूलाई चिनाउने मन्त्री चौधरीले निरजलाई आर्थिक सहयोग गरेका हुन्।

मन्त्री चौधरीले सतौन स्मृति ट्रस्टबाट पनि विभिन्न सहयोग गर्दै आएका छन्। उनले यसअघि गायक विकास चौधरीलाई आर्थिक सहयोग गरेका थिए। त्यस्तै थारू पत्रकारलाई पनि नगदराशिसहित मन्त्री चौधरीले पुरस्कार प्रदान गर्दै आएका छन्।

मेटमणिविरूद्व जाहेरी दिने व्यक्ति प्रहरी सम्पर्कमा आएनन्, पठाए जाहेरी फिर्ताको अर्को पत्र

प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ। रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए।

उनै बुढाले आइतबार दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र पठाएका र प्राप्त भएको दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए। ‘सुरुमा आएको उजुरी र आज उजुरी फिर्ताको पत्र दुबै सक्कली हुन् होइनन् सनाखत गरेर मात्र यकिन गर्न सकिन्छ’, एसपी तिमिल्सेनाले भने, ‘उजुरीबारे सनाखत गर्न बोलाएको उहाँ आउनुभएन, हामी उहांलाई ल्याएर सनाखत गराउंछौं त्यसपछि सत्य के हो थाहा हुन्छ।’

राज्यले थारूहरूलाई जेल हालिदिन्छु भनेर तर्साउँदैछ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए।


उनले गत वैशाख १७ गते राज्यले थारूहरूलाई धम्की दिएको बताए। ‘अस्ती १७ गते रेशम चौधरीलाई जेल हालेको होइन। बर्ता बोलिस भने थारू तँलाई फेरि डिल्लीबजार जेल हालिदिन्छु भन्या हो। थारू संस्कृति र पहिचानका निम्ती राज्यले पटक-पटक धावा बोल्दै आएको छ,’ उनले भने।

उनले टीकापुर घटना पनि राज्यले नियोजितरूपमा घटाएको बताए। तर, टीकपुर घटनाका नाममा थुप्रै थारू चेलीहरूको चीर हरण भएको उनको भनाइ छ। ‘थारूका साइकल र मोटरसाइकल जलाउँदा कोही पनि बलेनन्। ‘थरुहट प्रदेश लेख्छौं’ भन्दा राज्यले नियोजित रूपमा टीकापुर घटना घटायो। अनि रेशम चौधरीलाई जेलमा कोच्यो,’ उनले भने। उनले आफू जेलमा रहँदा पनि सांस्कृति क्रान्ति गरेको बताए।

संरक्षक चौधरीले थारूहरू पनि नेपाली भएर बस्न चाहेको बताए। त्यसका लागि राज्यले थारूहरूलाई न्याय दिनुपर्ने उनको भनाइ छ।

देशभरिका थारू कलाकारले झुमाए काठमाडौं

देशभरिका थारू कलाकारहरूले काठमाडौंबासी थारूहरूलाई झुमएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरिका थारू कलाकारहरूले शनिबार प्रज्ञा प्रतिष्ठानमा आफ्नो प्रस्तुती दिएका हुन्।

कार्यक्रममा थारू नाटक, थारू लोक नाचसहित गायका गायिका तथा अभिनेता-अभिनेत्रीहरूले आफ्नो प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्‍घाटन नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गरेका थिए। कार्यक्रममा देशभरिबाट थारू कलाकाहरू सहभागी भएको मञ्चका अध्यक्ष विनय वैद्यले बताए।

संगीत दिवसको अवसरमा थारू भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष वैद्यको भनाइ छ।

बढ्दो संक्रमण र निरन्तर खतराका कारण पाकिस्तानको पोलियो उन्मूलन अभियान कमजोर बन्दै

पोलियोबाट धेरै हदसम्म मुक्त भइसकेको यस संसारमा, जहाँ अधिकांश देशहरूले गर्वका साथ आफूलाई “पोलियो-मुक्त” घोषणा गरेका छन्, पाकिस्तान भने २०२५ मा पनि पुनरुत्थान, प्रतिरोध र जोखिमको दुष्चक्रमा फसेको छ।

दशकौँदेखि चलिरहेको देशको रोग उन्मूलन अभियान—जसलाई कुनै बेला विश्वव्यापी सफलताको गाथा मानिन्थ्यो, अहिले अर्को कठिन चरणमा प्रवेश गरेको छ। अरबौँ रुपैयाँको कोष, घर-घरमा सञ्चालित अनगिन्ती खोप अभियानहरू, र अन्तर्राष्ट्रिय दबाबका बाबजुद पनि यो भाइरस पाकिस्तानमा मात्र टिकिरहेको छैन, बरु खतरनाक रूपमा पुनरागमन गरिरहेको छ।

सन् २०२५ को जुन महिनासम्ममा पाकिस्तानले आफ्नो आदिवासी क्षेत्र र शहरी बस्तीहरूमा दर्जनौँ नयाँ पोलियो सङ्क्रमणका घटनाहरू रिपोर्ट गरेको छ, जुन विगतका वर्षहरूको तुलनामा तीव्र वृद्धि हो। यो पुनरुत्थानले आसन्न उन्मूलनको आशालाई चकनाचुर पारेको छ र अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तथा आर्थिक परिणामहरूको डरलाई पुनर्जीवित गरेको छ। निरन्तर चुनौती दिने केवल भाइरस मात्र होइन, बरु अभियानलाई सुरुदेखि नै बाधा पुर्‍याएका जटिल मानवीय, राजनीतिक र वैचारिक अवरोधहरू पनि हुन्।

समाप्त हुनुपर्ने एउटा संकट
पोलियो, वा पोलियोमाइलाइटिस, कुनै समय विश्वव्यापी महामारी थियो। अधिकांश देशहरूमा यसको उन्मूलनलाई जनस्वास्थ्यको सबैभन्दा ठूलो विजयमध्ये एक मानिन्छ। यद्यपि पाकिस्तानमा, जहाँ यो रोग अझै पनि स्थानीय छ (अफगानिस्तान अर्को यस्तै देश हो), पोलियोविरुद्धको युद्ध अपेक्षा गरिएको भन्दा धेरै लामो समयदेखि चलिरहेको छ।

वास्तवमा, पाकिस्तान यसलाई धेरै पटक निर्मूल पार्न नजिक पुगेको थियो, तर रसदको कमी, समुदायहरूको प्रतिरोध र स्वास्थ्यकर्मीहरू विरुद्धको निरन्तर हिंसाका कारण प्राप्त उपलब्धिहरू गुमाउनु पऱ्यो। सन् २०२५ मा जोखिम पहिलेभन्दा बढी छ।

स्वास्थ्य विज्ञहरूले पाकिस्तानमा जंगली पोलियो भाइरसको पुनरुत्थानलाई “गहिरो चिन्ताजनक” भनेर व्याख्या गरेका छन्, किनकि धेरै नयाँ घटनाहरू आंशिक वा कुनै खोप नपाएका बालबालिकाहरूमा रिपोर्ट गरिएका छन्, जसको मुख्य कारण छुटेका खोप राउन्डहरू हुन्। यो भाइरस ती क्षेत्रहरूमा फस्टाउन जारी छ जहाँ सरकारी पहुँच कमजोर छ, पूर्वाधार अविकसित छ, र सार्वजनिक अविश्वास व्यापक छ।

सुरक्षा खतराहरू: अदृश्य शत्रु
पाकिस्तानको पोलियो अभियानले सामना गरिरहेका सबैभन्दा डरलाग्दो चुनौतीहरूमध्ये एक हिंसा हो। सन् २०२५ मा पनि स्वास्थ्यकर्मीहरू लक्षित हत्याको त्रासमा काम गर्छन्, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा, जहाँ आतंकवादी समूहहरूले पोलियो कार्यक्रमलाई पश्चिमी षड्यन्त्र वा जासुसीको बहानाका रूपमा हेर्न जारी राख्छन्।

यस वर्षको मे महिनाको सुरुमा सुरक्षा अवस्थाले गम्भीर मोड लियो, जब बन्दुकधारीहरूले उत्तरी वजिरिस्तानमा तीन पोलियो कर्मचारीको हत्या गरे—पाँच महिनामा यस्तो प्रकारको यो सातौँ आक्रमण हो। यीमध्ये धेरै हत्या अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्ट नभए पनि सरकारी पहलहरूप्रति पहिले नै शंका गर्ने समुदायहरूमा यसको ठूलो प्रभाव पर्छ। प्रहरीको सुरक्षा घेरामा हुँदा पनि खोपकर्मीहरूले प्रायः धम्की, डर र आक्रमणको सामना गर्छन्।

यसको परिणामस्वरुप केही टोलीहरूले निश्चित छिमेकहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, जसले गर्दा हजारौँ बालबालिकाहरू जोखिममा पर्छन्। तालिबान र यस क्षेत्रका अन्य अतिवादी समूहहरूले खोपले बाँझोपन निम्त्याउँछ वा फराकिलो पश्चिमी एजेन्डाको हिस्सा हो भनी दाबी गर्दै गलत सूचना प्रवाह गर्न जारी राख्छन्। धार्मिक विद्वान र धर्मगुरुहरूले यस्ता मिथकहरूलाई हटाउने प्रयास गरे पनि, विशेष गरी रूढिवादी पश्तून जनसंख्यामा गहिरो रूपमा जरो गाडेको अविश्वास कायमै छ।

तल्लो तहमा प्रतिरोध
हिंसाबाहेक, अभियानलाई संरक्षण गर्न खोजिएका समुदायहरूबाट असहयोगले कमजोर बनाएको छ। पाकिस्तानमा खोप हिचकिचाहट कुनै सीमान्त घटना होइन—यो सांस्कृतिक, धार्मिक र राजनीतिक मनोवृत्तिमा गहिरो रूपमा गाँसिएको छ। केही अवस्थामा, परिवारहरूले पानीको अभाव, बिजुली कटौती, वा शिक्षाको कमीजस्ता असम्बन्धित गुनासोहरूको विरोधको रूपमा खोप अस्वीकार गर्छन्।

धेरैका लागि पोलियो अभियान राज्यको विकृत प्राथमिकताहरूको प्रतीक बनेको छ: खोपका लागि लाखौँ रुपैयाँ, तर सफा पिउने पानीका लागि भने केही पनि होइन। स्वास्थ्यकर्मीहरूले आफ्ना अगाडि ढोका बन्द गरिएको, नक्कली खोप रेकर्डहरू, र खोप दिनमा आफ्ना बच्चाहरूलाई लुकाउने परिवारहरूको कथाहरू सुनाउँछन्।

सामाजिक सञ्जालले समस्यालाई बढाएको छ। तथ्य-जाँचका प्रयासहरू भन्दा षड्यन्त्रका सिद्धान्तहरू छिटो फैलिन्छन्, र पोलियो खोपहरूलाई पक्षाघात वा मृत्युसँग झूटो रूपमा जोड्ने भिडियोहरू घण्टाभित्रै भाइरल हुन्छन्।

कराची र लाहोरजस्ता शहरी क्षेत्रहरूमा पनि, जहाँ पूर्वाधार बलियो छ, गलत जानकारी फस्टाउँछ। सुसंगत सञ्चार रणनीति र एकरूप जनस्वास्थ्य सन्देशको अभावमा, खोप सुरक्षासम्बन्धी मिथकहरू कायमै छन्, जसले प्रायः आधिकारिक जानकारीलाई overshadow गर्छन्।

थकान, कोष र विभाजन
२५ वर्षभन्दा बढीको निरन्तर खोप अभियानपछि, थकान बढ्दै गइरहेको छ—स्वास्थ्यकर्मी र समुदायहरूमा मात्र होइन, नीति निर्माताहरू र दाताहरूमा पनि। अभियान एक नियमित घटना बनेको छ, जसले प्रायः उदासीनता वा उपेक्षाको सामना गर्नुपरेको छ। विश्व स्वास्थ्य सङ्गठन (WHO), यूनिसेफ (UNICEF), र गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूले पहललाई कोष दिन जारी राखेका छन्, तर समन्वय, निरीक्षण र जवाफदेहितामा दरारहरू देखिन सक्छन्।

सन् २०२५ मा, पाकिस्तानको सार्वजनिक स्वास्थ्य प्रणाली अत्यधिक बोझमा छ र कम वित्त पोषित छ। राजनीतिक अस्थिरता, हडताल र नोकरशाही प्रक्रियागत ढिलाइले बारम्बार आधारभूत खोप कार्यक्रमहरूलाई बाधा पुर्‍याउँछ।

उच्च प्राथमिकतामा भए पनि, पोलियो कार्यक्रम यी समस्याहरूबाट मुक्त छैन। सङ्घीय नेतृत्व र प्रान्तीय कार्यान्वयनबीचको विच्छेद फराकिलो भएको छ, विशेष गरी विकेन्द्रीकरण सुधारहरू पछि जसले स्वास्थ्य नीतिलाई धेरै हदसम्म प्रान्तीय सरकारहरूको हातमा छोडेको छ। यसैबीच, अग्रपङ्क्तिमा काम गर्ने कार्यकर्ताहरू, जसमध्ये धेरै महिलाहरू छन्, अझै पनि थोरै वा कुनै सहयोगबिना खतरनाक परिस्थितिमा काम गरिरहेका छन्।

धेरैले महिनौँसम्म भुक्तानी नपाई काम गरेका छन्, जबकि अरूले उत्पीडन र आफ्नो जीवनको डरका कारण अभियानलाई पूर्ण रूपमा छोडेका छन्।

विश्वव्यापी आँखाले हेरिरहेको छ
पाकिस्तानमा पोलियोको पुनरुत्थान केवल राष्ट्रिय सङ्कट मात्र होइन, यो विश्वव्यापी चिन्ताको विषय हो। विश्वभरका स्वास्थ्य अधिकारीहरू चिन्तित छन् कि यदि भाइरस चाँडै निर्मूल गरिएन भने, यो अन्य देशहरूमा, विशेष गरी कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा फैलिन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले बारम्बार चेतावनी दिएको छ कि यस चरणमा आत्मसन्तुष्टिले दशकौँको प्रगतिलाई उल्ट्याउन सक्छ। पहिले नै, केही देशहरूले यात्रा प्रतिबन्धहरू पुन: लागू गरिसकेका छन्, जसमा पाकिस्तानी यात्रीहरूले प्रवेश गर्नुअघि पोलियो खोपको प्रमाण देखाउन आवश्यक छ। पहिले नै कमजोर अर्थतन्त्रसँग जुधिरहेको राष्ट्रका लागि यस्ता प्रतिबन्धहरूको व्यापक कूटनीतिक र वित्तीय प्रभाव पर्न सक्छ।

पोलियो उन्मूलन गर्न असफल हुनु पनि प्रतिष्ठामा धक्का हो। पाकिस्तानले लामो समयदेखि यो रोग उन्मूलन गर्ने क्षमता र इच्छाशक्ति रहेकोमा जोड दिँदै आएको छ। यद्यपि हरेक नयाँ घटना, हरेक मारिएका स्वास्थ्यकर्मी, र हरेक असफल अभियानले देशले आफ्नो सबैभन्दा आधारभूत स्वास्थ्य लक्ष्यहरू पनि सुरक्षित गर्न सक्दैन भन्ने धारणालाई बढावा दिन्छ।

व्यापक असफलताको प्रतीक
पाकिस्तानमा पोलियोको निरन्तरता केवल एउटा भाइरस मात्र होइन। यसले शासनको असफलता, अनियन्त्रित अतिवादको परिणाम र राज्य तथा यसका जनताबीचको खाडलको प्रतीक हो। यसले गलत सूचना, गरिबी र सीमान्तीकरणले सबैभन्दा राम्रोसँग वित्त पोषित जनस्वास्थ्य प्रयासहरूलाई पनि कसरी विफल पार्न सक्छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ। जहाँ विश्व अगाडि बढिरहेको छ, नयाँ महामारी, उदीयमान स्वास्थ्य प्रविधिहरू र डिजिटल स्वास्थ्य प्रणालीहरूमा ध्यान केन्द्रित गर्दै, पाकिस्तान विगतमा नै छोडिनुपर्ने रोगसँगको लडाइँमा फसेको छ।

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनसहित विजयी भएको हो।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ६ बलमा ७ रन चाहिएको थियो। अन्तिम ओभर सुरु हुनुअघि सेट भएका आरिफ शेख ‘रिटार्यड हर्ट’ भए। त्यसपछि आएका लोकेश बमले अन्तिम ओभरको पहिलो बलमा छक्का हान्दै खेल नेपालको पक्षमा पारेका थिए। लगातार २ बल डट खाँदा १९.४ ओभरमा अर्को छक्का प्रहार गर्दै लोकेश बम १२ र उनीसँगै दीपेन्द्र सिंह ऐरी १६ रनमा अविजित रहे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। उनले ५१ बलमा ६ चौका प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो। २.५ ओभरमा नेपालले ओपनर आसिफ शेखको विकेट गुमायो। उनी ७ रन बनाउँदै पेभेलियन फर्किए।

दोस्रो विकेट तेस्रो क्रममा आएका भिम सार्कीको विकेट गयो। भिमले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा भान डी मार्वेको बलमा बोल्ड भए। उनले ओपनर कुशल भुर्तेलसाग ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए।

तेस्रो विकेट कप्तान रोहित पौडेलको गयो। उनलाई ११.२ ओभरमा जाच क्याचेटले ५ रनमा एलबीडब्लयू आउट गर्र्दै पेभेलियन फर्काए। ११.५ मा ३ विकेट गुमाउँदै नेपालले १०० रन पूरा गरेको थियो। नेपालका लागि चौथो विकेट ओपनर कुशल भुर्तेलको गयो। अन्तिम ओभर सुरु हुनुअघि आरिफ शेख ३९ रनमा रिटार्यड हर्ट हुँदै मैदानबाट बाहिरिए। उनले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। नेदरल्यान्ड्सका लागि बलिङ तर्फ बेन फेल्टचर, जाच लिओन क्याचेट, रिलोफ भान मार्वे र आर्यन दत्तले १-१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले लागि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। तितवुड क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका ओपनर ब्याटर माइकल लेभिटको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नेपाललाई सम्मानजनक लक्ष्य दिएको हो। माइकल लेभिटले सर्वाधिक ८६ रनको पारी खेले । उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

अर्का ओपनर ब्याटर विक्रमजित सिंह डकआउट भए। त्यसपछिका चार वटा ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सकिब जुलफिकरले १४ रनको पारी खेले । रोइलोफ भान मेर्वी ३६ र आर्यन दत्त १७ मा अविजित रहे। अन्य ब्याटरको ब्याटबाट भने दोहोरो अंकमा रन बन्न सकेन।

नेपालका लागि करण केसीले सर्वाधिक २ विकेट लिए। ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामीछानेले समान १-१ विकेट लिए। जारी शृंखलाको पहिलो खेलमा नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपालले तेस्रो सुपर ओभरमा गएर नेदरल्यानड्ससँग हार व्यहोरेको थियो। दोस्रो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो। नेपालले टी-२० शृंखलाको अन्तिम खेल घरेलु टिम स्कटल्यान्डसँग शुक्रबार खेल्नेछ।

न्यायाधीश खुसीप्रसाद थारूमाथि छानबिन सुरू

न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ। बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो। अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ। त्यही व्यवस्था अनुसार, बिहीबार समिति गठन भएको हो।

अब न्यायाधीश शर्माको एक सदस्यीय समितिले सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिसँग सोधपुछ गर्न पाउने व्यवस्था छ। समितिले तोकिएको समयभित्र राय सहितको प्रतिवेदन न्यायपरिषदमा बुझाउनुपर्नेछ।

कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएको भन्दै न्यायाधीशद्वय थारु र महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका थिए।

मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको बैंकिङ कसुरमा जाहेरी

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ। जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ। चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन्। चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो।

उनी दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए। जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए।

स्रोतका अनुसार प्रहरीले चौधरीविरूद्ध बैंकिङ कसुर र ठगीमध्ये कुन मुद्दा चलाउने भन्नेबारे कानुनी परामर्श थालेको छ। प्राप्त उजुरीका बारेमा थप छानबिन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन।

सुदूरपश्चिममा मुख्यमन्त्री र नाउपा मन्त्रीबीच टसल, राजीनामा गर्न रामेश्वरलाई उर्दी

गत जेठ ४ गते मन्त्रीमा नियुक्त भएका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीको पद धरापमा परेको छ। अख्तियार दुरुपयोगसहितको विभिन्न आरोप लागेपछि उनलाई पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीमाथि अनुदानमा पावर टिलर दिने भन्दै किसानसँग पैसा संकलन गरेको र खप्तड पर्यटन विकास समितिमा गरिएको मनोमानी निर्णयपछि मुख्यमन्त्री शाहले उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढाएका हुन्।

मुख्यमन्त्री शाहले भने, ‘उहाँ (रामेश्वर)को बारेमा वातावरण राम्रो छैन। मन्त्रीबारे पार्टीभित्र राम्रोसँग छलफल र निर्णय गर्नूस भनेर मैले नाउपासँग आग्रह गरेको छु।’ मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरीका साथै नाउपा आन्तरिक परामर्शमा जुटेको छ। नाउपाका एकपछि अको मन्त्रीको बर्खास्तीले नाउपामाथि यतिबेला राजनीतिक र नैतिक संकट परेको छ ।

नाउपाबाटै मन्त्री बनेका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीमाथि पनि वनको विषयमा आर्थिक लेनदेनकै आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए। यसैबीच चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नगरेकोले पदबाट राजीनामा नदिने जवाफ फर्काएका छन्। मन्त्री चौधरीले भने आफूले पदीय मर्यादाविपरीत कुनै काम नगरेको भन्दै पदबाट राजीनामा नदिने अडान लिएका छन्।

चौधरीले मुख्यमन्त्री शाहलाई अधिकार प्रयोग गरेर आफूलाई बर्खात गर्न चुनौती दिएका छन् । ‘उहाँले मलाई दुईपटक फोन गरेर तपाईंले राजीनामा गरेर सहयोग गरिदिनुपर्‍यो भन्नुभएको थियो’, मन्त्री चौधरीले भने, ‘मैले कुनै गल्ती गरेको छैन । किन राजीनामा गर्ने ? यदी कुनै गल्ती गरेको छु भने आफ्नो अधिकार प्रयोग गरेर बर्खास्त गर्नुहोस् भनेको छु ।’

मन्त्री चौधरीले बाहिर सार्वजनिक भए जस्तो आफूले कृषिमन्त्री हुँदा कुनै बदमासी नगरेको दाबी गरेका छन् । खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको विषयलाई लिएर मुख्यमन्त्री शाहले आफूलाई पदबाट हटाउन खोजेको चौधरीको भनाइ छ ।

‘कुरा बाहिर आएजस्तो होइन । हामीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक खेम जोशीलाई नियुक्त गरेर पठायौं । त्यसमा उहाँले आफ्नो मान्छे परेन भनेर राजीनामा गर्नुहोस् भन्नुभएको हो’, मन्त्री चौधरीले भने, ‘कृषि मन्त्री हुँदा पावर टिलरको अनुुदान वितरणमा कुनै कमजोरी भएको छैन । त्यो मलाई बदनाम गर्न बनाइएको फण्डा मात्र हो ।’

नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले पहिलो पटक स्कटल्यान्डलाई हराएको हो।

तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

अन्तिम ओभरमा जितका लागि ४ रन चाहिएको अवस्थामा १९.४ ओभरमा नेपालले आठौं विकेट गुमायो। नेपाललाई जितको लागि १ रन मात्रै चाँहिदा किरण ठगुन्ना क्याच आउट भए। करण केसी ३ र सन्दीप लामीछाने १ रनमा अविजित रहे।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा २.४ ओभरमा लोकेश बमलाई गुमाए। २१ रन बनाउँदा नेपालले पहिलो विकेट गुमाएको हो। उनलाई ब्रान्डन म्याकमुलेनले जर्ज मुन्सेको हातमा क्याच गराएका हुन्।

३.१ ओभरमा नेपालले दोस्रो विकेटको रुपमा अनिल शाहलाई गुमायो। उनी ३ रन बनाउँदै ज्याक जार्भिसको बलमा बोल्ड भए। पावरप्लेमा २ विकेट गुमाउँदै नेपालले ३१ रन बनायो। त्यसपश्चात्, ७.२ ओभरमा कप्तान रोहित पौडेलको विकेट गयो। उनलाई ७ रनमा सफ्यान सरिफले बोल्ड आउट गरेका थिए। १० ओभरमा नेपालले ३ विकेट गुमाउँदै ४९ रन बनाएको थियो।

१२.१ ओभरमा नेपालले चौथो विकेटको रुपमा कुशल भुर्तेललाई गुमायो। उनलार्ए मार्क वाटले एलबीडब्ल्यू आउट गराएका हुन्। पाँचौं विकेटको रूपमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीको विकेट गयो। १४.६ ओभरमा १४ रन बनाउँदै क्याच आउट भए। छैटौं विकेटको रूपमा बसिर अहमद १३ रनमा माइकल लिस्कको हातबाट कट एण्ड बोल्ड भए। सातौं विकेट रुपेश सिंहको गयो। उनी ६ रन बनाउँदै क्याच भए।

स्कटल्यान्डका लागि माइकल लिस्क रसफ्यान सफिकले समान २-२ विकेट लिए। ब्रान्डन म्याकमुलेन, मार्क वाट, ज्याक जार्भिस र जास्पर डेविटसनले समान १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाएको थियो। स्कटल्यान्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय जर्ज मुन्से र मार्क वाटले क्रमशः ८ र १ रन बनाउँदै पेभेलियन फर्किए। ब्रान्डन म्याकमुलेनले १० रन बनाउँदा कप्तान म्याथ्यु क्रसले १५ रन बनाउँदै पेभेलियन फर्किए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामीछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए।
नेपालले शृंखलाको पहिलो खेलमा नेदरल्यानड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो।

नेपालले १२ वर्षपछि स्कटल्यान्डसँग टी-२० फर्म्याटको खेल खेलेको थियो। यो नेपाल र स्कटल्यान्डको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल थियो। यसअघि नेपालले २०१३ मा पहिलो पटक स्टकल्यान्डसँग आइसीसी विश्वकप टी-२० क्वालिफार्यस खेलेको थियो। जसमा नेपाल ८ विकेटले पराजित भएको थियो।