चीनका ग्राजुयट युवाहरू रोजगार बजारमा कमजोर हुँदै

चीनको महत्त्वाकांक्षी आर्थिक विकास लक्ष्य मानवीय पूँजीको एक गम्भीर अवरोधसँग जुधिरहेको छ, यस्तो कार्यबल जसका सीप र सोच अत्यधिक केन्द्रीकृत र विचारधारात्मक रूपमा प्रेरित शिक्ष प्रणालीले निर्माण गरेको छ, जसले व्यवहारिक र सृजनात्मक क्षमताहरूलाई महत्त्व दिन सक्दैन। विश्वविद्यालय भर्ना दरमा दशकौंको तीव्र वृद्धिका बाबजुद पनि, चीनका तृतीय शिक्षाका स्नातकहरूमा अक्सर नवप्रवर्तन र उद्यमशीलता सञ्चालन गर्न आवश्यक व्यवहारिक सीप र आलोचनात्मक सोचको अभाव देखिन्छ। यो असन्तुलनले युवावर्ग बेरोजगारी सङ्कटलाई गहिरो बनाएको छ, जसलाई आधिकारिक तथ्याङ्कले निकै कम देखाएको छ, १६ देखि २४ वर्षका व्यक्तिहरूमा वास्तविक बेरोजगारी दर ४६.५ प्रतिशतसम्म पुगेको अनुमान छ। यस्तै, कमजोर गुणस्तरका शैक्षिक संस्थाहरूमा अत्यधिक भर्ना भएपछि बजारको माग अनुसार तयार नभएका स्नातकहरूको आपूर्ति भएको छ, जसले दीर्घकालीन आर्थिक चञ्चलता कायम गर्न थप कठिनाइ उत्पन्न गराएको छ।

आधिकारिक तथ्याङ्कअनुसार, १६ देखि २४ वर्षका शहरबासी युवाहरूको बेरोजगारी दर जुन २०२३ मा २१.३ प्रतिशतसम्म पुगेको थियो, त्यसपछि तथ्याङ्क सङ्कलन स्थगित गरी पुनः परिभाषित गरियो — जसमा विद्यार्थीहरूलाई गणना नगरिने बनाइएको छ। तर पेकिङ विश्वविद्यालयकी प्रोफेसर झाङ डन्डानका अनुसार यदि सबै बेरोजगार युवाहरूलाई समेटेर हेरिने हो भने मार्च २०२३ मा वास्तविक बेरोजगारी दर ४६.५ प्रतिशतसम्म पुग्न सक्थ्यो। तथ्यान्कीय विधिमा परिवर्तन आए पनि, शेन्जेन् जस्ता प्रमुख शहरहरूमा थिंक ट्याङ्कहरू र रोजगार एजेन्सीहरूका अनुमान अनुसार, हालसालै स्नातक गर्ने विद्यार्थीमध्ये ३० प्रतिशतभन्दा कमले स्नातक हुनु अगावै रोजगारी पाएका छन्। अत्यधिक प्रतिस्पर्धा हुने नागरिक सेवाका जागिरहरूमा — एक पदका लागि ६५ जना सम्मको आवेदन — देखिने हतारोले प्राविधिक वा उद्यमशीलताको बाटोमा युवाहरू जान नचाहनुको कारण देखाउँछ।

यद्यपि निर्माण, प्रविधि र सेवाक्षेत्रमा तीव्र सीपको अभाव छ, चीनका अधिकांश युवाहरू सरकारी वा राज्य नियन्त्रित संस्थाहरूमा जागिर खोज्न प्राथमिकता दिन्छन्। स्ट्यानफोर्ड विश्वविद्यालयको एक सर्वेक्षण अनुसार, ६४ प्रतिशत स्नातकहरू राज्य क्षेत्रमै रोजगारी चाहन्छन्, जसका कारण प्राविधिक शिक्षालयहरूमा विद्यार्थीको संख्या अपेक्षाभन्दा कम देखिएको छ, जबकि उद्योगहरूले भने दक्ष प्राविधिकहरूको माग गरिरहेका छन्। सन् २०२२ मा प्राविधिक शिक्षालयहरूमा ७६,००० भन्दा बढी विद्यार्थी भर्ना भए, जुन अघिल्लो वर्षको तुलनामा ८४ प्रतिशत वृद्धिको सूचक हो — तर उद्योगको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न नसक्ने अवस्थामा। यस असन्तुलनले दक्ष जनशक्तिको आपूर्ति प्रभावित बनाउँछ, जसका कारण प्रमुख क्षेत्रहरूमा स्थायी रूपमा रिक्त पदहरू रहन्छन्।

चीनको तृतीय शिक्षाको सकल भर्ना दर सन् १९७८ मा २.७ प्रतिशत मात्र रहेकोमा सन् २०२३ सम्म आइपुग्दा यो ६० प्रतिशतभन्दा बढी पुगेको छ, जसले उच्च शिक्षाको तीव्र विस्तार देखाउँछ। विश्व बैंकका तथ्याङ्क अनुसार, चीनको तृतीय भर्ना दर सन् २०२१ मा करिब ५४ प्रतिशत थियो, जुन धेरैजसो मध्यम-आय भएका देशहरूभन्दा बढी हो। तर यो वृद्धिको मूलमा गुणस्तरीय शिक्षण क्षमताको विस्तार नभई, तीव्र भर्ना अभियान थियो। विश्वविद्यालयहरूले भर्नालाई आम्दानीको स्रोतको रूपमा हेरिन्, र विद्यार्थीहरूलाई आवश्यक स्रोत तथा योग्य शिक्षकको अभावमा पनि भर्ना गर्दै गए, जसले व्यवहारिक सीपविहीन, कागजी योग्यता मात्र बोकेका स्नातकहरू उत्पादन गर्‍यो।

विवरणहरू अनुसार, विशेष गरी कृत्रिम बुद्धिमत्ता र नवीकरणीय उर्जाका क्षेत्रहरूमा योग्य शिक्षकमै chronic अभाव देखिएको छ, बजेटको सीमाना र केन्द्रीय स्तरबाट हुने नियुक्ति नियन्त्रणका कारण। पाठ्यक्रमहरू अझै पनि अत्यधिक सैद्धान्तिक छन्, जहाँ परीक्षाको तयारीमा जोड दिइन्छ, व्यवहारिक सिकाइमा होइन। यसको परिणामस्वरूप स्नातकहरू रटानमा निपुण भए पनि समस्या समाधान, समूहमा काम गर्न सक्ने क्षमता, र अनुकूलता जस्ता सीपहरूमा कमजोर देखिन्छन् — जुन सीपहरू अहिलेको विश्वव्यापी रोजगार बजारमा अत्यन्त आवश्यक छन्।

चिनियाँ विद्यार्थीहरूले गणित र पठनमा PISA जस्ता मापनमा उत्कृष्ट नतिजा ल्याउँछन्, तर सृजनात्मक र आलोचनात्मक सोचको मूल्याङ्कनमा पछि पर्छन्। चिनियाँ भाषाका अक्षरहरू रट्नुपर्ने आवश्यकतासँगै परीक्षा-केन्द्रित शिक्षण शैलीले गहिरो विश्लेषणको सट्टा सतही सिकाइलाई प्रवर्द्धन गर्छ। एक तुलनात्मक अध्ययन अनुसार, मुख्य भूमिका चिनियाँ विद्यार्थीहरूले सृजनात्मक सोच परीक्षणमा अन्य उच्च प्रदर्शन गर्ने क्षेत्रका विद्यार्थीहरूभन्दा कम प्रदर्शन गरे, जसले नवप्रवर्तनमा चिन्ताजनक खाडल देखाउँछ।

सन् २०२१ देखि, चिनियाँ सरकारले विश्वविद्यालयहरूमा विचारधारात्मक नियन्त्रण अझ कडा बनाएको छ। “सी जिनपिङ विचारधारा” अनिवार्य कोर्स बनाइएको छ र विश्वविद्यालयभित्रको अभिव्यक्ति स्वतन्त्रता कडाइका साथ नियमन गरिएको छ, जसले पार्टीको दृष्टिकोणलाई बलियो पार्ने प्रयास गरिएको छ। यस्तो राजनीतिकरणले बहसलाई दबाउँछ, असहमतिलाई हतोत्साहित गर्छ, र विद्यार्थीहरूलाई आदेश पालना गर्न प्रेरित गर्छ — जुन जिज्ञासा र जोखिम उठाउने सोचसँग विपरित हुन्छ, र यिनै गुणहरू नवप्रवर्तनको मूल आधार हुन्। ScienceDirect मा प्रकाशित एक अध्ययन अनुसार, विचारधारात्मक शिक्षाले सबै तहमा स्थान लिएको छ, जसको कारण शिक्षण नवप्रवर्तन र शैक्षिक स्वतन्त्रता बाधित भएको छ।

सरकारी नियन्त्रण मिडिया र अनलाइन प्लेटफर्महरूमा मात्र सीमित नरही कक्षाकोठासम्म फैलिएको छ, जहाँ पाठ्यपुस्तक र शिक्षण सामग्रीहरूमा सम्वेदनशील विषय वा ‘विप्लवविरोधी’ विषय हटाइएका हुन्छन्। Human Rights Watch ले वैदेशिक चिनियाँ विद्यार्थीहरूमा पनि आत्म-सेंसर गर्ने प्रवृत्तिको प्रमाण प्रस्तुत गरेको छ, जसले दण्डको डरले अभिव्यक्तिको स्वतन्त्रता र अन्तर-सांस्कृतिक अध्ययनलाई पनि दबाएको छ। देशभित्रै पनि, यस्तो डरले अनुसन्धानमा विश्वास घटाएको छ र प्रतिभाशाली शैक्षिकहरूलाई नयाँ विचारमा अनुसन्धान गर्न हतोत्साहित गराएको छ।

यी शैक्षिक कमजोरीहरूको असर नवप्रवर्तनमा कमी भएर देखा परेको छ। ग्लोबल इनोभेसन इन्डेक्स २०२४ अनुसार, चीन विश्वमा ६औं देखि १२औं स्थानमा रह्यो — जहाँ चीनले इनपुटभन्दा आउटपुटमा राम्रो प्रदर्शन गरे पनि, यसको अनुसन्धानी महत्वाकांक्षाहरू र कार्यबलको आधारभूत सीपबीच तनाव स्पष्ट देखिन्छ। प्रत्यक्ष वैदेशिक लगानी (FDI) पनि घट्दै गएको छ — सन् २०२३ मा FDI प्रवाह १३.७ प्रतिशतले र २०२४ मा थप २९.१ प्रतिशतले घट्यो, जसले नियामकीय अनिश्चितता र कमजोर श्रम बजारप्रति लगानीकर्ताको असहजता देखाउँछ। उता, लामो समयदेखि रोजगार सिर्जनाको प्रमुख स्रोत रहँदै आएको सम्पत्ति बजार पनि मन्दीमा छ, जहाँ बिक्री र सरकारी जग्गा बिक्री राजस्व दुबै तीव्र रूपमा घटेका छन्, जसले रोजगारी सिर्जनामा थप अवरोध ल्याएको छ।

चीनको शिक्ष प्रणाली अहिले दोबाटोमा उभिएको छ: कडा विचारधारात्मक नियन्त्रण र परीक्षा-केन्द्रित शिक्षालाई कायम राख्नु पार्टीको दृष्टिकोणलाई सुदृढ गर्न सक्ने भए पनि, यसले व्यवहारिक सीप र सृजनात्मक क्षमतामा बाधा पुर्‍याउँछ, जुन भावी पुस्ताको आर्थिक विकासको लागि अत्यावश्यक छ। “मध्य-आयको फन्दाबाट” जोगिन र प्रविधि नेतृत्वको लक्ष्य पूरा गर्न बेइजिङले अब प्राविधिक तालिम, आलोचनात्मक सोच, र शैक्षिक स्वतन्त्रतामा आधारित पाठ्यक्रमतर्फ मोडिन आवश्यक छ। यसको लागि विचारधारात्मक नियन्त्रण कम गर्नु, शिक्षक विकासमा लगानी गर्नु, र विश्वविद्यालय तथा उद्योगबीच बलियो सहकार्य स्थापित गर्नु अपरिहार्य हुनेछ। अन्यथा, चीनले स्नातक बेरोजगारी र नवप्रवर्तनहीनताको चक्रलाई निरन्तरता दिने खतरा व्यहोर्नु पर्नेछ, जसले उसले खोजिरहेको आर्थिक पुनर्जागरणलाई नै कमजोर पार्न सक्छ।

 

उच्च जोखिममा पाकिस्तानको सेयर बजार

पहिले नै कमजोर समष्टिगत आर्थिक अवस्थाबाट ग्रसित पाकिस्तानी सेयर बजारले थप झट्का त्यसबेला सहनु पर्‍यो जब भारतीय सेनाले पाकिस्तानभित्र क्षेप्यास्त्र आक्रमण गर्‍यो। त्यस घटनापछि सेयर बजार एकै दिनमा ६,४८२ अंकले ओरालो लाग्यो, जसले लगानीकर्ताको करिब १.३ अर्ब पाकिस्तानी रुपैयाँ (PKR) डुबायो। यसले देखाउँछ कि कमजोर आर्थिक आधारभूत संरचना र भू-राजनीतिक तनावका कारण पाकिस्तानी सेयर बजार कति अस्थिर र जोखिमपूर्ण अवस्थामा रहेको छ।

पाकिस्तानी सेयर एक्सचेन्ज (PSX) आन्तरिक तथा बाह्य समस्याप्रति अत्यन्तै संवेदनशील रहँदै आएको छ, जसले विगत केही वर्षमा लगानीकर्तालाई ठूलो क्षति पुर्‍याएको छ।

सन् २०१४ मा, जब विपक्षी दलहरूले सरकारविरुद्ध प्रदर्शन सुरु गरे, त्यसको अनिश्चितताले बजार ४.६ प्रतिशतले ओरालो लाग्यो। कराँचीस्थित शेर्मन सेक्युरिटिजका अनुसन्धान विश्लेषक फरहान महमूदले सो गिरावटबारे टिप्पणी गर्दै भनेका थिए, “लगानीकर्तामा त्रास फैलिँदा एकै दिनमा बजारमा आएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो।” यो घटनाको विशेषता के थियो भने त्यसबेला पाकिस्तानले आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुधार गर्दै अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मूडीजबाट आफ्नो दृष्टिकोण ‘नकारात्मक’ बाट ‘स्थिर’ मा परिवर्तन गराएको थियो।

यो घटना पछिल्ला ६–७ वर्षको सबैभन्दा ठूलो गिरावट थियो, जसले केवल लगानीकर्ताको विश्वासमात्र कमजोर बनाएन, तर पाकिस्तानी रुपैयाँको मूल्यसमेत घटायो। पाकिस्तानका प्रमुख कम्पनीहरू जस्तै ओइल एण्ड ग्यास डेभलपमेन्ट कर्पोरेसन र MCB बैंकका सेयरहरूमा तीव्र गिरावट आएको थियो। बजारमा आएको गिरावटले विगतका सुधार प्रयासहरूलाई समेत क्षति पुर्‍याएको बताइएको थियो। तत्कालीन प्रधानमन्त्री नवाज शरीफले भनेका थिए, “प्रदर्शनको योजना अर्थतन्त्र उकास्नका लागि आवश्यक शान्तिमा बाधा पुर्‍याउनेछ।”

सन् २००८ मा, पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या पछि पाकिस्तानी सेयर बजार धराशायी भयो। त्यो बेला बजार ४.७ प्रतिशतले घट्यो र बजारमा त्रास फैलियो। आरिफ हबीब इन्भेस्टमेन्ट्सका प्रमुख कार्यकारी नसिम बैगले चेतावनी दिएका थिए कि बजार पूर्ण रूपमा ढल्ने जोखिममा छ। “विदेशी पोर्टफोलियो लगानीकर्ताहरूले पूँजी फिर्ता गर्न थाल्ने सम्भावना उच्च छ, र त्यसो भयो भने ठूलो संख्यामा सेयर बेचिनेछ,” उनले भनेका थिए। त्यतिबेला क्षति तीव्र र विशाल भए पनि सुधार कहिले होला भन्नेबारे अनिश्चितता थियो।

रोचक कुरा के थियो भने, उक्त हत्यापछि तीन दिनसम्म बजार बन्द गरियो। तर पाँच दिनपछि खुलेको बजारमा पनि ४.७ प्रतिशतको गिरावट आयो। बजार विश्लेषक आकिफ मोश्ताकले भनेका थिए, “यो अलि अप्रत्याशित थियो।” सो हत्याले सैनिक शासनबाट नागरिक नेतृत्वमा सत्ताको हस्तान्तरणलाई प्रभावित पारेको थियो। सुरक्षा सम्बन्धी चिन्ताले विदेशी लगानीकर्ताहरूलाई बजारबाट पैसा फिर्ता गर्न प्रेरित गर्‍यो। “जति लामो समयसम्म अनिश्चितता रहन्छ, त्यति नै गहिरो र दीर्घकालीन क्षति हुनेछ,” सो बेला AKD सेक्युरिटिजका प्रमुख कार्यकारी नदिम नक्वीले भनेका थिए।

सानो आतंकवादी हमला हुँदा पनि PSX ले तीव्र प्रतिक्रिया जनाउँछ। सन् २००९ मा, उत्तरी वजिरिस्तानमा सेनामाथि भएको घातक झडपपछि एक साता भित्र बजार १० प्रतिशतले घट्यो। सन् २०१७ मा लाहोरमा भएको आत्मघाती विस्फोटपछि बजार एकै दिन ४३५ अंकले घटेको थियो। सुरक्षा स्थितिबारेको डर र बजारमा आउने सम्भावित गिरावटबारे एलिक्सिर सेक्युरिटिजका विश्लेषक फैसल बिलवानीले भनेका थिए, “सोमबारको आतंकवादी आक्रमणले कानून-व्यवस्थाप्रतिको चिन्ता बढायो, जसका कारण बजारमा हल्का कारोबारमा नेगेटिभ सुरुवात देखियो भने तेल कम्पनीहरूले अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य घटेसँगै घाटा खेपे।”

नोभेम्बर २०२४ मा पनि राजनीतिक अस्थिरताका कारण PSX ३,५०५ अंकले घट्यो। इमरान खानलाई सत्ता हटाएपछि देशमा लगातार राजनीतिक तनाव देखिएको थियो। त्यसैबीच, स्टेट बैंक अफ पाकिस्तानले कम्पनीहरूका लागि परम्परागत बैंकमा न्यूनतम निक्षेप दर हटाएपछि वित्तीय बजारमा थप समस्या उत्पन्न भयो। “राजनीतिक अनिश्चितता र वैदेशिक लगानी बाहिरिने डरका कारण बजार निरन्तर कमजोर देखियो,” आरिफ हबीब कमोडिटिजका प्रबन्ध निर्देशक अहसन मेहन्तीले भने। “राजधानीमा पीटीआईको लामो समयसम्म चलेको प्रदर्शनका कारण राजनीतिक उथलपुथलबीच PSX मा भयावह रूपमा सेयर बिक्री देखियो।”

अहिले, पछिल्लो सैन्य द्वन्द्वले PSX विदेशी कारकहरूप्रति कति संवेदनशील छ भन्ने थप प्रमाण दिएको छ। भारतको सेयर बजारमा सामान्य गिरावट देखिँदा पाकिस्तानमा भने ठूलो मात्रामा सेयर बिक्री भयो। “पहलगाम आक्रमणपछि कराँची इन्डेक्स ६ प्रतिशतभन्दा बढी घटेको छ, जबकि निफ्टी करिब १ प्रतिशतले उकालो लागेको छ,” जियोजित इन्भेस्टमेन्ट्सका प्रमुख लगानी रणनीतिकार डा. वीके विजयकुमारले भने। “आज निफ्टी हरियो क्षेत्रमा बन्द हुँदा कराँची इन्डेक्स रातो हुनु भनेको पाकिस्तानको उच्च जोखिमयुक्त अवस्था दर्शाउँछ।”

खुसीरामको उजुरीले नाउपा सुदूरपश्चिममा हंगामा, दलका नेताविरुद्ध छानबिन गर्न माग

सुदूरपश्चिम प्रदेशको मन्त्री बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र मतभेद् देखिएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले रामेश्वर चौधरीलाई मन्त्रीमा सिफारिस गरेपछि विवाद बढेको हो।

नाउपा सुदूरपश्चिम सांसद खुसीराम डंगौराले पार्टीको सुशासन समितिमा नेता घनश्यामविरुद्ध उजुरी दिएका छन्। उनले रामेश्वर चौधरीलाई मन्त्री सिफारिस गर्ने विषयमा कुनै छलफल नभएको भन्दै मनोमानी ढंगबाट मुख्यमन्त्री कार्यालयमा पत्र पठाएको आरोप लगाएका छन्। नेता घनश्यामले दलको बैठक नबोलाई मनोमानी ढंगले निर्णय गर्नु गम्भीर प्रकृतिको त्रुटि रहेको भन्दै छानबिन गर्न माग गरेका छन्।

त्यतिमात्र होइन, सांसद खुसीरामले धनगढीस्थित मुख्यमन्त्री कार्यालयमा पनि पत्र पठाएर रामेश्वरको सपथग्रहण रोक्न माग गरेका छन्। उनले आफूले नेता घनश्यामलाई मन्त्री बन्नका लागि सहमति दिएको तर रामेश्वरलाई नदिइएको पत्रमा उल्लेख गरेका छन्।

उनले संसदीय दलको विधान विपरीत कार्य गरिएको भन्दै रामेश्वरको सपथग्रहण रोकिदिन मुख्यमन्त्री कार्यालयलाई आग्रह गरेका छन्। यता खुसीरामको पत्रपछि मुख्यमन्त्री कार्यालयले सपथग्रहण रोकेको जानकारी दिएको छ। ‘मन्त्री छनोटमा विवाद देखियो। समझदारी नहुन्जेलसम्मको लागि शपथ ग्रहण रोकिएको छ,’ मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ।

 

नाउपामा कागजमै बनाइए तीन मन्त्री, शपथग्रहणको छैन टुंगो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा एक-एक गरी तीन जनाको नाम मन्त्रीको लागि सिफारिस गरे पनि शपथको टुंगो अझै लागेको छैन। एक-एक गरी प्रदेश सांसद कैलाश चौधरी, घनश्याम चौधरी र रामेश्वर चौधरीलाई मन्त्रीको लागि सिफारिस गरियो। तर, मुख्यमन्त्री कमल बहादुर शाहले शपथग्रहणमा विलम्ब गरेका छन्।

गत वैशाख ३० गते नाउपा सुदूरपश्चिमको संसदीय दलको बैठक बसेको थियो। बैठकले मन्त्री सिफारिस गर्न नसकेपछि केन्द्रलाई सिफारिस गरिदिने व्यवहोरासहितको निर्णय गरेको थियो। ‘सरकारको मन्त्रीमा सहभागीता सम्बन्धमा यही हप्ताभित्र केन्द्रबाट निर्णय दिने वा दलको कार्यालय स्वयंलाई त्यो अधिकार प्रदान गर्ने वा सरकार बाहिर बस्ने कि प्रतिपक्षमा बस्ने त्यसको पनि सूचना प्रदान गर्ने,’ निर्णयमा भनिएको थियो।

सोही दिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना पक्षका कैलाश चौधरीलाई मन्त्रीमा सिफारिस गरेका थिए। उनले नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्राचार गरी कैलाशलाई मन्त्री बनाउन निर्देशन दिएका थिए। तर, त्यो पत्रले २४ घन्टा बित्न नपाउँदै निष्प्रभावी बन्न पुग्यो। किनकि रेशम चौधरी पक्षका नेता कैलाशलाई पटक-पटक मन्त्री बनाउने पक्षमा थिएनन्। उनी यसअघि पनि दुई पटक मन्त्री बनिसकेका थिए। रेशम पक्ष चाहन्थ्यो, नयाँ अनुहारले मन्त्रालय सम्हालून्।

नभन्दै रेशम पक्षले जेठ १ गते संसदीय दलका नेता घनश्यामलाई नै मन्त्रीका लागि अघि बढाउने सहमति जनाए। तर, उनी मन्त्री बन्न इच्छुक देखिएनन्। आफू दलको नेता र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकाले मन्त्री बन्न इच्छुक नरहेको संरक्षक रेशमलाई सन्देश पठाएका थिए।

उनी इच्छुक नभएपछि रामेश्वर चौधरीलाई मन्त्रीको लागि सिफारिस गरिएको छ। दलका नेता घनश्यामले रामेश्वरलाई मन्त्रीमा सिफारिस गरिएको व्यवहोराको चिट्ठी मुख्यमन्त्री कार्यालयमा पठाइसकेका छन्। संसदीय दलको निर्णयअनुसार सांसद रामेश्वर चौधरीालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पदमा नियुक्त गरी सपथ ग्रहण गराइदिनु अनुरोध गरिएको पत्रमा उल्लेख छ। उक्त पत्र वैशाख ३१ गतेकै मितिमा बनाइएको छ।

मख्यमन्त्रीलाई सम्बोधन गरिएको पत्र काटिए पनि रामेश्वर चौधरीले हालसम्म सपथग्रहण गर्न पाएका छैनन्। सपथग्रहण नभएसम्म को मन्त्री हुन्छ भन्ने विषय अनिश्चित बनेको नाउपा नेताहरूले बताएका छन्।

थारू आयोगका चारैजना पदाधिकारीको नियुक्ति ‘धराप’मा, जेठ २८ मा आउँदैछ फैसला

सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा अन्तिम सुनुवाइ गर्दै जेठ २८ गते निर्णय सुनाउने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो। बिहीबार दुवै पक्षको बहस र जवाफी बहस समेत सुनेपछि सर्वोच्च अदालतले दुई साताभित्र(१६ जेठभित्र) बहस नोट पेस गर्नपनि दुवै पक्षलाई आदेश दिएको छ।

१३ वटा संवैधानिक निकायका कूल ६१ पदमध्ये रिक्त ५२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले अध्यादेशमार्फत २०७७ मंसिरमा ३२ र २०७८ वैशाखमा २० गरी ५२ लाई संवैधानिक परिषद्‌मार्फत विवादास्पद नियुक्तिको सिफारिस गरेको थियो। जसलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै पटक सदर गरेकी थिइन्।

संवैधानिक परिषद्का कूल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने मौजुदा व्यवस्थालाई संशोधन गरी अध्यादेशमार्फत तत्कालीन सरकारले अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने प्रावधान ल्याएको थियो। यसरी उपस्थित ध्ये अध्यक्षसहितको बहुमतले सिफारिस गर्न सक्ने व्यवस्था पनि अध्यादेशमा थियो।

त्यसविरुद्ध २०७७ पुस १ देखि २०७९ साउन १० सम्म छुट्टाछुट्टै मितिमा १५ रिट परेका थिए। सर्वोच्चले सुनुवाइ नगरी लामो समयसम्म अल्झाएर राखेको भनी आलोचना भएको यो मुद्दा पन्ध्रौं पेशीपछि गत फागुन ३० गते देखि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले अन्तिम टुंगो नलागेसम्म मुद्दाको सुनुवाइ निरन्तर हुने भनी सबै रिटहरूलाई ‘हेर्दाहेर्दै’ को सूचीमा राख्ने आदेश गरेको थियो। त्यसपछि ११ दिन भएको बहसपछि बिहीबार इजलास उठ्नुअघि जेठ २८ मा यसबारे निर्णय सुनाउने आदेश गरेको हो।

थारू आयोगका चारैजना पदाधिकारीको नियुक्ति ‘धराप’मा
थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारू, सदस्यहरू भोला चौधरी, डा. उमाशंकर प्रसाद चौधरी र अधिवक्ता शान्ती मोदी सोही नियुक्तअन्तर्गत सदस्य बनेका हुन्। तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ माघ २१ र २०७८ असार १० उनीहरूलाई थारू आयोगको सदस्यमा नियुक्त गरेका थिए। सर्वोच्चमा रिट परेसँगै उनीहरूको पद धरापमा परेको थियो। सर्वोच्च अदालतले निवेदकको मागबमोजिम फैसला सुनाएर दुवै जनाको पद जाने पक्का देखिन्छ।

त्यस्तो फैसला आएमा थारू आयोग पदाधिकारीविहीन बन्ने अवस्था आउनसक्छ। अहिले आयोगको अध्यक्ष पद पनि रिक्त रहेको छ। माओवादीबाट अध्यक्ष भएका बर्दियाका विष्णु चौधरीको कार्यकाल सकिएको छ। ज्यष्ठताका आधारमा आयोगका सदस्यसमेत रहेका सुबोध सिंह थारुलाई आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

अचानक मृत्युको बढ्दो घटनाले चिनियाँ नागरिक चिन्तित

२०२५ अप्रिल महिनाभरि, मुख्य भूमि चीनका विभिन्न क्षेत्रमा अकस्मात् र अस्पष्ट कारणले मानिसहरू मृत्यु भएको खबरहरू चुपचाप तर निरन्तर रूपमा देखा परिरहेका छन्। The Epoch Times सँग साझा गरिएका विवरणअनुसार ग्वाङडोङ, हेनान, लिआओनिङ, र सिचुवानजस्ता टाढाटाढाका प्रान्तहरूका बासिन्दाहरू अकस्मात् बेहोस भएर लड्ने वा मृत्यु हुने घटनाहरूमा वृद्धि भएको विवरण दिइरहेका छन्, कतिपय सार्वजनिक स्थानमा, कतिपय घरमै, र कुनै पूर्वसूचना वा लक्षणबिना नै।

यी असामान्य घटनाले पहिले नै कोभिड-१९ को प्रभाव र कमजोर सार्वजनिक स्वास्थ्य प्रणालीबाट थाकेका समुदायहरूमा त्रास फैलाइरहेको छ। यद्यपि चिनियाँ अधिकारीहरूले यस घटनालाई औपचारिक रूपमा स्वीकार गरेका छैनन्, प्रत्यक्षदर्शी बयान, सेन्सरबाट बचेर फैलिएका सामाजिक सञ्जालका क्लिपहरू, र स्थानीय समुदायभित्रको कानाकान कुराकानीबाट तस्वीर बिस्तारै स्पष्ट हुँदैछ। घटनाको ठ्याक्कै मापन कठिन छ, तर चिन्ता भने दिनानुदिन बढ्दो छ।

स्पष्ट ढाँचाहरू देखिन थाल्यो
अप्रिलको अन्त्यतिर झेङ्झाउका एक विश्वविद्यालयकी विद्यार्थीले बताइन् कि उनका दुई जना प्राध्यापक, दुबै स्वस्थ र मध्यम उमेरका, एक साताभित्र अचानक मृत्यु भए। दुबैलाई कुनै पुरानो रोग थिएन र दुबै अकस्मात् ढलेका थिए। “उनीहरू एक दिन कक्षा लिइरहेका थिए, अनि अर्को दिनै गायब। कसैले यसबारे खुलेर कुरा गर्दैन, तर सबै डरेका छन्,” ती विद्यार्थी भन्छिन्।

अर्को घटनामा, ग्वाङ्झाउमा एक बस चालक रुटको बीचमै सन्चो नभई स्टेयरिङमा लडे, जसले सानो दुर्घटना त गरायो, तर यात्रुहरूलाई चोटपटक भएन।
५० को दशकको प्रारम्भमा रहेका ती चालक अस्पताल पुग्ने बित्तिकै मृत घोषणा गरियो। यस्ता अकस्मात् मृत्युका घटनाहरू साना सहरहरूमा पनि देखिएका छन्, तर ती प्रायः मौनतामै ढाकिएका छन्, र स्थानीय अधिकारीहरूले अस्पष्ट वा न्यूनतम विवरण मात्र दिएका छन्।

माथिल्लो तहको मौनता
चीनमा संवेदनशील विषयहरूमाथि स्वतन्त्र पुष्टि गर्न गाह्रो हुन्छ। राज्य सञ्चालित मिडियाले यस विषयमा कुनै रिपोर्ट गरेको छैन, र स्थानीय समाचार संस्थाहरूले पनि मृत्युदरमा खासै वृद्धि नभएको बताइरहेका छन्। अस्पताल र शवगृहहरूलाई सोध्दा उनीहरूले टिप्पणी गर्न अस्वीकार गर्ने वा कुनै असामान्य गतिविधि नभएको बताउने गरेका छन्।

तर, अस्पतालभित्रका गोप्य सन्देशहरूको स्क्रीनशटहरू, अनामिक खाताहरूमार्फत चुहिएका, हृदयघात, स्ट्रोक, र अचानक कार्डियाक अरेस्टका घटनाहरूमा वृद्धि भएको संकेत गर्छन्। यी कागजातहरूमा भाषा सावधानीपूर्वक र चिकित्सा शैलीमा लेखिएको भए तापनि, सन्देश स्पष्ट छ, केही न केही गडबड छ।

सरकारी मौनताले सिर्जना गरेको खाली स्थानमा विभिन्न अडकलबाजीले स्थान लिएको छ। कतिपयले श्वासप्रश्वासजन्य भाइरसको पुनः संक्रमण वा रूपान्तरण भएको आशंका व्यक्त गरेका छन्। अरूले कोभिड-१९ का दीर्घकालीन असरको रूपमा हेरेका छन्, जसले अचानक मृत्यु गराइरहेको हुनसक्ने ठान्छन्। केही गम्भीर अड्कलबाजीहरू इनक्रिप्टेड मञ्चहरूमा फैलिरहेका छन्, जस्तै खराब औषधि वा खोपका साइड इफेक्टहरू, यद्यपि यस्ता कुनै दावी प्रमाणित भएका छैनन्।

थाकेका र सरकारप्रति अविश्वासी जनता
यो नयाँ चिन्ताको लहर यस्तो समयमा आएको छ, जब जनताको सरकारप्रति विश्वास अझै कमजोर छ। धेरै मानिसहरूलाई सन् २०१९ को अन्त्य र २०२० को सुरुमा कोभिड-१९ महामारी फैलिँदाको सुरुवात सम्झनामा छ, जब संक्रमणको सुरुवात अस्वीकार गरियो, सूचनादाता डाक्टरहरू दमनमा परे, र तथ्यांक कडाइका साथ नियन्त्रण गरियो। त्यो विरासत अझै बाँकी छ, र अहिलेका अफवाह र मौनतालाई बुझ्ने तरिकामा गहिरो असर पारिरहेको छ।

“अब त मानिसहरूले समाचारमै विश्वास गर्दैनन्,” चोङछिङका एक सेवानिवृत्त शिक्षकले भने। “सरकारले सबै ठीक छ भन्यो भने बल्ल डर लाग्न थाल्छ।”

चिन्ता केवल रोगको कारण होइन; त्यो रोग वरिपरिको अन्योल र अस्पष्टताले उत्पन्न भएको हो। केही क्षेत्रमा अन्त्येष्टि गृहहरूले लामो समयसम्म काम गरिरहेका छन्, र दाहसंस्कारका लागि समयहरू बढेको खबर छ। परिवारहरू शान्त र छिटोछरितो अन्त्येष्टि गरिरहेका छन्, कतिले सरकारको “सिफारिस” अनुसार ठूलो जमघट नगर्नु भन्ने कारण देखाएका छन्, जुन लकडाउनको समयमा दिइएको औचित्यसँग मेल खान्छ।

सामाजिक सञ्जालको भूमिका
चीनको कडा डिजिटल नियन्त्रणको बाबजुद, छोटा भिडियोक्लिप र लेखहरू केही समयका लागि भए पनि फैलिन सफल भएका छन्। मेट्रो स्टेशन, सपिङ मल वा व्यस्त सडकमा मानिस लडेको देखाउने क्लिपहरू देखा पर्नासाथ हटाइन्छन्। तर, यिनले आफ्नो असर छोडेर जान्छन् र तिनका स्क्रीनशटहरू च्याट समूह वा वैकल्पिक प्लेटफर्ममा सुरक्षित गरिन्छन्।

सामाजिक सञ्जाल, सेन्सर भइरहे पनि, बासिन्दाहरूले आफ्नो चिन्ता व्यक्त गर्ने, ढाँचा जोड्ने, र चेतावनी साटासाट गर्ने एक मात्र स्थान बनेको छ।
यस अर्थमा, डिजिटल भूमिगत संसारले वैकल्पिक पत्रकारिताको भूमिका खेलिरहेको छ, त्यहाँ जहाँ डरले स्वर पाउँछ, जब राज्यको आवाज मौन हुन्छ।

कतिपय प्रयोगकर्ताहरूले व्यक्तिगत ब्लग र सन्देश बोर्डमा अचानक मृत्युका घटनाहरूलाई क्षेत्र र शंका गरिएका कारणअनुसार ट्र्याक गर्न थालेका छन्।
यी अनौपचारिक नक्सा अपुष्ट र असंगठित छन्, तर यिनको अस्तित्वले नै जनताले आफ्नै वरिपरि के भइरहेको छ बुझ्न कति आतुर छन् भन्ने देखाउँछ।

उत्तरविहीन प्रश्नहरू
स्वास्थ्य अधिकारीहरूले कुनै केन्द्रीय स्पष्टीकरण नदिएपछि, र अचानक मृत्युका घटनामा छानबिनको घोषणा नभएपछि, नागरिकहरू आफैंले निष्कर्ष निकाल्न बाध्य भएका छन्। चीनजस्तो कडाइका साथ नियन्त्रित वातावरणमा मौनता भन्नुको अर्थ समस्या छैन भन्ने होइन, बरु समस्या गम्भीर छ भन्ने सङ्केत हो भन्ने बुझिन्छ।

यो समयको त्रासदी केवल मृत्युमा छैन, तर त्यसलाई घेरेर रहेको वातावरणमा छ, शंका, अस्पष्टता, र सामूहिक मानसिक थकानले भरिएको। जब शोक व्यक्त गर्नु पनि राजनीतिक विषय बन्छ, सत्य र जनताको मानसिक शान्ति नै सबैभन्दा धेरै क्षति भोग्ने तत्व बन्न जान्छ। हालका लागि, परिवारहरूले चुपचाप शोक मनाइरहेका छन्, समुदायहरू कानाफुसी गर्दै अड्कल गरिरहेका छन्, र देश यस्ता उत्तरको पर्खाइमा छ, जुन सायद कहिल्यै नआउला।

सुदूरपश्चिममा रेशम पक्षको चाहना- नयाँलाई मन्त्रीको जिम्मेवारी

नागगरिक उन्मक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले सुदूरपश्चिम संसदीय दलको निर्णयबमोजिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्।

यस विषयमा पार्टी संरक्षक रेशम चौधरी पक्षले भने आपत्ति जनाएको छ। एउटै व्यक्तिलाई पटक-पटक मन्त्रीको जिम्मेवारी दिन नहुने रेशम पक्षको भनाइ छ। मन्त्री नभएका सांसदलाई मन्त्रालयमा पठाउनुपर्ने रेशम पक्षको तर्क छ।
‘एउटै मान्छेलाई पटक-पटक मन्त्री बनाउने पक्षमा हामी छैनौं। नभएका साथीलाई मन्त्रालयमा पठाउनुपर्छ। त्यसै पनि त्यो अधिकार पार्टी अध्यक्षभन्दा संसदीय दलको नेतालाई हुन्छ। अब संसदीय दलको नेताले के गर्नुहुन्छ, त्यो थाहा छैन,’ रेशम पक्षका एक नेताले भने।

पार्टी अध्यक्षको सिफारिसमा कैलाश चौधरी मन्त्री बन्दै

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्।

मंगलबार बसेको संसदीय दलको बैठकले निर्णय गर्न नसकेपछि पार्टी अध्यक्षसँग सिफारिस माग्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार अध्यक्ष श्रेष्ठले कैलाशलाई मन्त्रीमा सिफारिस गरेको उनका स्वकीय सचिव भक्त चलाउनेले बताए।

कैलाश रन्जिता पक्षका हुन्। यसअघि पनि उनी दुई पटक मन्त्री बनिसकेका छन्। यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए।

यता, पार्टी संरक्षक रेशम चौधरी पक्षले भने मन्त्री भइनसकेकाले मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन्। ‘एउटै मान्छेलाई पटक-पटक मन्त्री बनाउने पक्षमा हामी छैनौं। नभएका साथीलाई मन्त्रालयमा पठाउनुपर्छ। त्यसै पनि त्यो अधिकार पार्टी अध्यक्षभन्दा संसदीय दलको नेतालाई हुन्छ। अब संसदीय दलको नेताले के गर्नुहुन्छ, त्यो थाहा छैन,’ रेशम पक्षका एक नेताले भने।

बंगलादेशमाथि तालिबानको छायाँ

“आम्रा सबै होबो तालिबान, बांग्ला होबे अफगानिस्तान” (हामी सबै तालिबान हुनेछौं, बंगलादेश अफगानिस्तान बन्नेछ), यो नारालाई करिब २००४ तिर आतंककारी समूह हर्कत-उल-जिहाद- बंगलादेश (HuJI-B) ले बंगलादेशमा लोकप्रिय बनाएको थियो। अहिले पुनः यो नाराले स्वतन्त्रता प्रेमी महिलाहरूलाई आतंकित बनाउँदैछ।

हिफाजत-ए-इस्लाम, अर्को कट्टर इस्लामी समूह, जुन HuJI-B सँग नजिकको सम्बन्ध राख्दछ, बंगलादेशमा तालिबानी विचारधारालाई प्रवर्द्धन गर्दै महिलाको स्वतन्त्रता नियन्त्रण गर्ने प्रयासमा लागेको छ।

शेख हसिनाको सरकारले पतनपछि बंगलादेशमा धार्मिक सक्रियता बढेसँगै, यसै महिनाको सुरुतिर हिफाजत-ए-इस्लामका हजारौं समर्थकहरूले ढाकास्थित सुहरावर्दी उद्यानमा र्‍याली गर्दै महिलाको अधिकारका लागि अन्तरिम सरकारले गठन गरेको महिला मामिला सुधार आयोगलाई खारेज गर्न माग गरे। उनीहरूले उक्त आयोगको महिलासम्बन्धी सिफारिसहरूलाई इस्लामिक आस्थाको विरोधी भन्दै अस्वीकार गर्न माग गरे।

महिलालाई सशक्त बनाउने उद्देश्यले गठित आयोगले १९ अप्रिलमा मोहम्मद युनुसलाई प्रतिवेदन बुझाएको थियो। आयोगले संविधान संशोधन गरी विभेद उन्मूलन ऐन ल्याउने, व्यक्तिगत कानुनको सट्टा एकरूप पारिवारिक संहिता लागू गर्ने, संसदमा महिलाका लागि समानुपातिक आरक्षणसहित ६०० सिट पुर्‍याउने र महिलाका लागि समान पारिश्रमिक, सम्पत्ति अधिकार तथा स्वास्थ्य सेवामा समान पहुँचको सिफारिस गरेको थियो।

आयोगका ४३३ सिफारिसमध्ये सबैभन्दा आपत्तिजनक विषय इस्लामी कट्टरपन्थी समूहहरू जस्तै हिफाजत-ए-इस्लाम र जमात-ए-इस्लामीले महिलालाई समान सम्पत्ति अधिकार दिनु पर्ने सिफारिसलाई मानेका छन्। ¥यालीमा उनीहरूले विशेषगरी समान अधिकार, विशेष गरी सम्पत्तिसम्बन्धी प्रस्तावहरूको विरोध गरे।

यसै ¥यालीमा १२ बुँदे मागपत्र जारी गरियो, जसको पहिलो माग भनेको हालको महिला सुधार आयोग खारेज गरी इस्लामी विद्वान र महिलाका प्रतिनिधिहरू सम्मिलित नयाँ आयोग गठन गर्नु थियो। ¥यालीका नेताहरूले आयोगले इस्लामी उत्तराधिकार सम्बन्धी कानुनलाई पुरुष–महिलाबीच असमानताको कारण बताएको भन्दै मुस्लिम आस्थामा चोट पुर्‍याएको आरोप लगाए। उनीहरूले भने, “पुरुष र महिला कहिल्यै समान हुन सक्दैनन्।” कुरानमा उल्लेखित जीवनको संहिताभन्दा बाहिर जान सकिँदैन। उनीहरूका अनुसार समानता एक पाश्चात्य विचारधारा हो। उनीहरूले बंगलादेशको राज्य सैद्धान्तिक बहुलवादको पनि विरोध गर्दै “अल्लाहमा आस्था र विश्वास” मात्र राज्य सिद्धान्त हुनुपर्ने माग गरे।

हिफाजत-ए-इस्लामका प्रवक्ता मौलाना मामुनुल हकले आयोगको प्रतिवेदनले इस्लामी उत्तराधिकार व्यवस्था, पारिवारिक कानुन तथा अन्य धार्मिक नियमहरूले महिलामा विभेद गर्छ भन्ने उल्लेख आपत्तिजनक भएको बताए।

जमात-ए-इस्लामी, जुन बंगलादेशको सत्तारूढ गठबन्धनको एक प्रमुख घटक हो, ले पनि आयोगका सिफारिसहरू तत्काल रद्द गर्न माग गरेको छ। उनीहरूको भनाइमा, “पुरुष र महिलाबीच समानता सुनिश्चित गर्ने सिफारिस इस्लामी विचारधारालाई विकृत पार्ने दुष्प्रयास हो।”

तालिबानी विचारधारा, जुन कठोर इस्लामी व्याख्यामा आधारित छ, बंगलादेश र त्यसको पूर्ववर्ती पूर्वी पाकिस्तानमा नयाँ थियो। शरियत कानुन लागू गर्ने र पुरुषसत्तात्मक समाज निर्माण गर्ने तालिबानी सोच बंगलादेशका केही युवाले सन् १९८० को दशकमा अफगान–सोभियत युद्ध लड्न अफगानिस्तान गएपछि आत्मसात गरेका थिए।

तिनीहरू सन् १९९२ मा बंगलादेश फर्किएपछि हर्कत-उल-जिहाद बंगलादेश (HuJI-B) गठन गरे, जसलाई ओसामा बिन लादेनको अल–कायदाबाट प्रारम्भिक वित्तीय सहयोग प्राप्त भएको थियो। यो समूहको मुख्य लक्ष्य बंगलादेशलाई मध्यमार्गीबाट कट्टर इस्लामी राज्यमा रूपान्तरण गर्नु थियो। यसको रणनीति बंगाली संस्कृति र धर्मनिरपेक्ष राजनीति नष्ट गर्नु थियो।

तालिबानी शासनमा अफगान महिलाले जसरी स्वतन्त्रतामा कठोर प्रतिबन्ध, ड्रेस कोड, हिंसाबाट सुरक्षा नभएको अवस्था, बाल विवाह र राजनीतिक सहभागिताको निषेधको सामना गरे, त्यसै अनुसारको राज्य स्थापना HuJI-B को लक्ष्य थियो। HuJI-B ले मदरसाहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै युवाहरूलाई आतंककारी गतिविधिका लागि कट्टर बनाउने कार्य ग–यो। यस समूहले बंगलादेशमा धेरै राजनेताको हत्या र आक्रमणहरूमा संलग्नता देखाएको छ, जसमा शेख हसिनामाथिको आक्रमण पनि सामेल छ।

HuJI-B सन् २००५ मा प्रतिबन्धित भएको थियो। विगत दशकदेखि समूहको मुख्य कोर निष्क्रिय छ, तर बाँकी सदस्यहरू हिफाजत-ए-इस्लाममा मिसिएका छन्— फेरि अर्को कट्टर इस्लामी राजनीतिक समूह। हिफाजत-ए-इस्लामको सम्बन्ध अल–कायदामूलक समूहहरू जस्तै अन्सार अल इस्लाम (अथवा अन्सारुल्लाह बंगल टिम) र जमात मुजाहिदीन बंगलादेश सँग छ। यी समूहहरूले पनि बंगलादेशमा हत्या र विष्फोटका घटनाहरूमा संलग्नता देखाएका छन्।

हालै बंगलादेशमा तालिबानी प्रभावका देखिएका उदाहरणहरू मध्ये, केही महिला फुटबल खेलहरू रद्द गरिनु, सूफी दरगाहहरूमा तोडफोड र ‘इस्लाम विरोधी’ भनिएका सांस्कृतिक कार्यक्रमहरू रोक्नु प्रमुख हुन्। जनवरी अन्त्यदेखि फेब्रुअरी मध्यसम्म बंगलादेशमा तीन वटा महिला फुटबल खेलहरू कट्टरपन्थीको धम्कीका कारण रद्द गरियो।

२९ जनवरीमा जयपुरहाट र रंगपुरबीचको खेल इस्लामी समूहहरूद्वारा खेलमैदान तोडफोड गरेपछि रद्द गरियो। एक दिन अगाडि दिनाजपुरमा पनि खेल पूर्व-स्थलमा लठ्ठी बोकेर विरोध गर्दै आएको भीडका कारण खेल रोकियो। १९ फेब्रुअरीमा, इस्लामिक आन्दोलन बंगलादेशले रंगपुरमा महिला फुटबलको विरोधमा ¥याली गरे। उनीहरूका अनुसार, “महिलाले फुटबल खेल्न चाहन्छन् भने पूर्ण रूपमा शरीर ढाकेर मात्र खेल्नुपर्छ, त्यो पनि केवल महिला दर्शकहरूमाझ। पुरुषहरूले हेर्न पाउँदैनन्,” मौलाना अशरफ अलीको भनाइ बीबीसीमा उद्धृत गरिएको छ।

कट्टरपन्थी समूहहरूले मध्यमार्गी सूफी र अहमदिया मुस्लिमहरूलाई ‘काफिर’ भन्छन्। “हामी अहमदीयालाई मुसलमान मान्दैनौं। उनीहरू अधर्मी हुन्,” हिफाजत-ए-इस्लाम बंगलादेशका उपाध्यक्ष मुह्यिद्दीन रब्बानीको भनाइ उद्धृत गरिएको छ।

रब्बानीले अझै प्रस्ट पारेका छन्: “इस्लामी शासनमा बंगलादेशमा संगीत र कलालाई कुनै स्थान दिइने छैन। हाम्रो निर्णय इस्लामी शिक्षामा आधारित हुनेछ। हामीलाई संगीत मन पर्दैन, कला चाहिँदैन। हामी त्यसको विरोध गर्नेछौं।” तालिबानी छायाँ गहिरिँदै जाँदा, बंगलादेशको अग्रगामी सभ्यता र समृद्ध सांस्कृतिक सम्पदा गम्भीर संकटमा परेको छ।

आतंकवादीले हाम्रा छोरीहरूको सिउँदो उजाडेका थिए, भारतले उनीहरूको हेडक्वाटर नै उजाडिदियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी र छोरीहरूलाई समर्पित गर्न चाहन्छु।

२२ अप्रिलमा पहलगाममा आतंकवादीले जुन बर्बरता देखायो। त्यसले भारत र सारा दुनियाँलाई हल्लाइदिएको थियो। छुट्टी मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर, परिवारका सामुन्ने, छोराछोरीका सामुन्ने क्रुरता हत्या गर्नु आतंकको विभत्स चेहरा थियो। क्रूरता थियो। त्यसले देशको सद्भावलाई बिथोल्ने प्रयास गरेको थियो। मलाई व्यक्तिगत रूपमा पनि धेरै पीडा भयो। त्यसपछि पूरा देश, जनता, समुदाय, राजनीतिक दल एक स्वरमा आतंकविरुद्ध कडा कारबाहीका लागि जागरूक बने। हामीले आतंकवादीलाई माटोमा मिलाउनका लागि भारतीय सेनालाई पूरा छुट दियौं। आज प्रत्येक आतंकी र उनीहरूको संगठनले थाहा पाइसकेका छन्, कि हाम्रा छोरी र बहिनीहरूको सिन्दुर मेटाउँदाको परिणाम के हुन्छ भनेर।

अपरेसन सिन्दुर केवल नाम होइन। यो भारतबासीको भावनाको प्रतीक हो। यो न्यायको अखण्ड प्रतिज्ञा हो। ६-७ मेमा पूरा विश्वले यो प्रतिज्ञालाई परिणाममा बदलेको देखेका छन्।
भारतीय सेनाले पाकिस्तानमा रहेको आतंकी ठेगानामा, उनीहरूको प्रशिक्षण केन्द्रमा सटिक प्रहार गरे। आतंकीहरूले सपनामा पनि सोचेका थिएनन् कि भारतले यति ठूलो फैसला लिन सक्छ। जब देश एकजुट हुन्छ। देश पहिलो भन्ने भावना जाग्छ। त्यतिबेला एउटा ठोस निर्णय लिइन्छ र परिणाम ल्याएर देखाइन्छ।

जब पाकिस्तानको आतंकी अड्डामा भारतीय मिसाइलले आक्रमण गर्यो, भारतय ड्रोनले आक्रमण गर्‍यो, आतंकी संगठनमात्र होइन, उनीहरूको हौसला पनि काम्न थाल्यो। पाकिस्तानको भावलापुर र मुरिदजस्ता ठाउँ त विश्व आतंकीको विश्वविद्यालय न हो। संसारमा जहाँ पनि आतंकवादी आक्रमण भएको छ, चाहे त्यो ९/११ होस्, लन्डन विस्फोट होस् या पछिल्ला दसका भारतमा भएका आक्रमण होस्। सबैको तार कहीँ न कहीँ आतंकीको यही ठेगानामा जुडेका छन्।

आतंकीहरूले हाम्रा बहिनीहरूको सिन्दुर उजाडेका थिए। भारतले आतंकक हेडक्वाटर नै उजाडी दिए। भारतको यो आक्रमणमा १०० भन्दा बढी खुंखार आतंकवादी मारिए। पछिल्ला दुई तीन दसकदेखि आतंकवादीहरू पाकिस्तानमा घुमिरहेका थिए। भारतविरुद्ध षड्यन्त्र गर्दै आएका थिए। भारतले उनीहरूलाई एक झट्कामा खत्तम गरदिए।

भारतीय कारबाहीले पाकिस्तान घोर निराशामा डुबेको थियो। ऊ हतास भइसकेको थियो। आत्तिसकेको थियो। यही कारण उसले अर्को दुस्साहस गर्‍यो। आतंकविरुद्ध साथ दिनुको सट्टा भारतमाथि नै आक्रमण गर्न थाल्यो। पाकिस्तानले हाम्रो स्कुल, कलेज, गुरुद्वार, मन्दिर र सामान्य नागरिकको घरमा निशाना बनायो। पाकिस्तानले हाम्रो सैनिक अड्डामा निशाना बनायो। तर सबैतिर ऊ फेलियर भयो।

पाकिस्तानका ड्रोन र मिसाइल भारतसामु कसरी निरी बन्यो भनेर संसारले हेरे। भारतको एयर डीफेन्स सिस्टमले पाकिस्तानी प्रहारलाई आकाशमै नष्ट गरिदियो। भारतले पाकिस्तानको छातीमा प्रहार गर्‍यो। भारतको ड्रोन र मिसाइलले सटिकताका साथ आक्रमण गर्‍यो। पाकिस्तानको वायुसेनाको एयरबेसलाई नोक्सान पुर्‍यायो। जे कुरामा पाकिस्तानको घमन्ड थियो, भारतले पहिलो तीन दिनमै त्यसलाई विनाश गरिदियो।

भारतको आक्रामक कारबाहीपछि पाकिस्तानले बाँच्ने बाटो खोज्न थाले। पाकिस्तानले तनाव कम गर्न संसारलाई गुहार्न थाले। नराम्रोसँग चुटिएपछि १० मेमा पाकिस्तानी सेनाले हाम्रा डीजीएमओलाई सम्पर्क गरे। तबसम्म हामी आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौं। आतंककारीहरू मारिएका थिए। पाकिस्तानको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौं।

जब पाकिस्तानबाट गुहार लगाइयो र भनियो, अबदेखि कुनै आतंकी र सैन्य दुस्साहस देखाउँदैनौं। त्यसपछि मात्रै भारतले पनि विचार गर्‍यो। म फेरि दोहोर्‍याउन चाहन्छु, हामीले अपरेसन सिन्दुरलाई स्थगितमात्र गरेका छौं। पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं।

भारतका तीनवटै सुरक्षा निकाय, एयर फोर्स, हाम्रो नेभी, हाम्रो सीमा सुरक्षा बल र भारतको अर्धसैनिक बल लगातार अलर्टमा छन्। सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अप्रेसन सिन्दुर आतंकविरुद्ध भारतको नीति हो। अप्रेसन सिन्दुरले आतंकविरुद्धको लडाइँमा एउटा नयाँ बाटो तय गरेको छ। भारतमाथि कसैले आतंकी आक्रमण गरे त्यसको कडा जवाफ दिन्छौं भनेर। हामी आफ्नो तरिका र शर्तअनुसार जवाफ दिएरै छाड्छौं। प्रत्येक त्यस ठाउँमा पुगेर कारबाही गर्नेछौं, जहाँबाट आतंकको जड निस्किन्छ।

दोस्र कुरा, कुनै पनि न्युक्लियर ब्लाकमेललाई भारतले सहने छैन। न्युक्लियर ब्लाकमेलबाट पलाएको आतंकलाई भारतले सटिक र निर्णायक प्रहार गर्नेछ। तेस्रो कुरा, हामी आतंकवादलाई कुनै पनि कुरासँग जोडेर हेर्दैनौँ। अपरेसन सिन्दुर अभियानका दौरान संसारले पाकिस्तानको घिनलाग्दो सत्य देखेका छन्, मारिएका आतंककारीहरूलाई कसरी पाकिस्तानी सेनाका सेनाका उच्च अधिकारीहरू लाइन लागेका थिए। स्टेट स्पोन्सर आतंकवादका बारेमा यो ठूलो सबुत हो।

हामी भारत र आफ्ना नागरिकलाई कुनै पनि खतराबाट बचाउनलाई लगातार निर्णायक कदम उठाउनेछौं। युद्धको मैदानमा हामीले सधैं पाकिस्तानलाई धुलो चटाएका छौं। हामीले मरुभूमि र पहाडमा आफ्नो क्षमताको सानदार प्रदर्शन गर्‍यौ। ‘न्यु एज वार’मा पनि आफ्नो श्रेष्ठता सिद्ध गर्‍यौं। यो अपरेनसनका दौरान मेड इन इन्डिया हतियारले पनि प्रमाणित गरेको छ।  २१औं शताब्दीमा अब मेड इन इन्डिया डीफेन्स सिस्टमको समय आइसकेको छ। यो युग युद्धको होइन। तर, यो युग आतंकवादको पनि होइन। आतंकविरुद्ध शून्य सहनशीलता नै राम्रो संसादरको ग्यारेन्टी हो।

पाकिस्तानी सेना र पाकिस्तानी सरकारले जसरी आतंकवादलाई दाना पानी दिइरहेका छन्, एकदिन त्यसैले पाकिस्तानलाई समाप्त पार्ने छ। पाकिस्तनलाई बच्नु छ भने उसले आफ्नो आतंकी संरचनालाई सफाई गर्नैपर्छ। शान्तिको बाटोमा आउनैपर्छ। भारतको मत एकदम स्पष्ट छ। आतंक र वार्ता एकसाथ हुने छैन। आतंक र ट्रेड एकसाथ चल्ने छैन। पानी र रगत पनि एकसाथ बहने छैन।

म आज विश्व समुदायलाई पनि भन्दैछु, यो हाम्रो घोषित नीति हो, यदि पाकिस्तानसँग कुरा भयो भने आतंकविरुद्ध नै हुनेछ। यदि कुरा भयो भने पाक अकुपाइड कश्मीरमाथि नै हुनेछ। आज बुद्ध पूर्णिमा हो। भगवान बुद्धले हामीलाई शान्तिको बाटो देखाएका छन्। तर, शान्तिको मार्ग पनि शक्ति भएर जान्छ। हामी सबै मानवता, शान्ति र समृद्धितर्फ बढौं। सबै भारतीय शान्तिले बाँच्न पाउन्। विकसित भारतको सपना पूरा गर्न पाउन्। भारत शक्तिशाली बन्न जरुरी छ। आवश्यकता परेपछि यो शक्तिलाई प्रयोग गर्न पनि जरुरी छ। पछिल्ला केही दिनमा भारतले यही गरेको छ। म एकपटक फेरि भारतीय सेना र सशस्त्र बलको स्यालुट गर्छु। हरेक भारतीयप्रति नमन गर्न चाहन्छु।

(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनको सम्पादित अंश)