धनुषामा सूचना अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या
जनकपुरधाम- धनुषा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा सेवाग्राहीले अनावश्यक समस्या व्यहोर्नु परिरहेको छ। सूचना अधिकारीविहीन रहेका कार्यालयमा अन्यौलपूर्ण स्थितिका कारण सेवाग्राहीले कर्मचारीको स्वेच्छाचारी प्रवृत्तिको सामना गर्नुपरिरहेको छ। स्थानीय सञ्चारकर्मी धु्रवकुमार झा आफूले आवश्यक परेको सूचना लिन एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनको कुनै प्रतिक्रिया नआएको बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा सूचना अधिकारी भए पनि सूचना दिन गम्भीर छैनन्।
कार्यालयमा निवेदन दर्ता गराउन सूचना अधिकारीको तोक लगाउनुपर्ने दर्ता शाखाका कर्मचारीले बताउने गरेका कारण सूचना प्राप्त गर्न कठिन भएको हो। प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले प्रशासनमा दर्ता गराइएको निवेदनका सन्दर्भमा सम्बन्धित कर्मचारीसँग जानकारी माग गरिएको बताए। रासस
Facebook Comment