नेपाली युवकको प्रेममा परेकी बेलायती युवती, नेपालमै बिताउँछिन् गाउँले जीवन (भिडियो)
बेलायतमा कानुनको अध्ययन गरेर आकर्षक पेसागत जीवन बिताउने अवसर हुँदाहुँदै २५ वर्षीया मेडेलिन जेले नेपालको एउटा सानो गाउँमा जीवन बिताउने निर्णय गरिन्। नेपालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र नेपाली युवकसँगको प्रेमले उनको जीवनको बाटो नै बदलिदिएको छ।
बेलायतको नटिङ्घमकी मेडेलिनले सेफिल्ड विश्वविद्यालयमा कानुन अध्ययन गरेकी थिइन्। उनको लक्ष्य ठूलो कानुनी संस्थामा काम गरेर सफल करिअर बनाउने थियो। तर, नेपाल घुम्न आएका बेला राम नामका युवकसँग भेट भएपछि उनको सोच बदलियो। उनीहरूबीच प्रेम सम्बन्ध विकसित भयो र सन् २०२६ को मे महिनामा हिन्दू परम्पराअनुसार विवाह गरे।
पोखराबाट करिब २५ मिनेटको दूरीमा रहेको गाउँमा बस्दै आएकी मेडेलिनको दैनिकी बेलायतको व्यस्त जीवनभन्दा निकै फरक छ। उनी श्रीमान् र परिवारसँगै खाना पकाउने, नदीमा पौडी खेल्ने, माछा मार्ने, चिया पिउने, मोटरसाइकलमा घुम्ने र पहाडी क्षेत्रमा यात्रा गर्ने गर्छिन्। उनीहरूको जीवन आधुनिक सुविधाभन्दा प्रकृति र स्थानीय जीवनशैलीमा आधारित छ।
त्यहाँ तातोपानी, फ्रिज र लुगा धुने मेसिनजस्ता सुविधा छैनन्। परिवारले दाउराको आगोमा खाना पकाउँछ भने हिमालबाट आएको स्वच्छ पानी पिउँछ। बाघ र चितुवाको जोखिमका कारण बाख्रा र कुखुरालाई राति सुरक्षित ठाउँमा राख्नुपर्छ। मनसुनको कठिनाइ र जाडोमा ताप दिने व्यवस्था नहुँदा पनि मेडेलिन यो जीवनशैलीसँग खुसी छिन्।
नेपालमा जीवनयापनको खर्च कम भएकाले मेडेलिनले बेलायतमा १ लाख ७० हजार पाउन्ड अर्थात् करिब ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरसमेत किन्न सफल भएकी छन्। उनका अनुसार नेपालमा उनको मासिक व्यक्तिगत खर्च करिब ३०० पाउन्ड छ। श्रीमान्को परिवारले बस्दै आएको घरको भाडा मासिक २० पाउन्ड तिर्ने गरेको छ।
मेडेलिनले बेलायतमा व्यक्तिगत सहयोग तथा हेरचाहसम्बन्धी काम गर्छिन्। उनी त्यहाँ ६ देखि १२ हप्तासम्म काम गरेपछि त्यति नै समय नेपालमा श्रीमान्सँग बिताउँछिन्। यसरी उनले बेलायतमा आम्दानी गर्ने र नेपालमा आफ्नो मनपर्ने जीवन बिताउने दुवै अवसरलाई सँगसँगै अघि बढाएकी छन्।
मेडेलिनका बुबाको ५४ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो। आफूले मेहनत गरेर बनाएको जीवनको आनन्द लिन नपाउँदै बुबाको मृत्यु भएपछि उनले समय र जीवनको वास्तविक महत्त्वबारे सोच्न थालिन्।
उनका अनुसार समाजले पैसा, प्रतिष्ठा र करिअरमा हुने प्रगतिलाई सफलताको मापदण्डका रूपमा प्रस्तुत गर्छ। तर, उनले जीवनको खुसी त्यसमा मात्र सीमित नहुने महसुस गरिन्।
उनले नेपालमा प्रकृतिसँग नजिक भएर बाँच्न, खाना कहाँबाट आउँछ भन्ने बुझ्न तथा स्थानीय संस्कृति र आध्यात्मिकतालाई आत्मसात् गर्न पाएकी छन्। नेपालको शान्त जीवनशैलीले आफूलाई फरक प्रकारको शान्ति र सन्तुष्टि दिएको उनको भनाइ छ।
मेडेलिन भविष्यमा फेरि कानुनी पेसामा फर्कन सक्ने सम्भावना पनि खुला राख्छिन्। उनी र उनका श्रीमान् भविष्यमा नेपालमै जग्गा वा घर किनेर बस्ने योजना बनाइरहेका छन्।
उनका लागि नेपाल आउनु करिअर त्याग्नु होइन, आफूलाई खुसी बनाउने जीवन रोज्नु हो। बेलायतप्रति पनि उत्तिकै माया रहेको बताउने मेडेलिनले नेपालमा बिताएको समयले आफूलाई दुवै देशको जीवनशैली र अवसरलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकाएको बताएकी छन्।
- डेली मेलबाट
Facebook Comment