विदेशी लगानी भित्र्याउन ‘इन्भेस्ट चितवन’ गरिँदै
चितवन- विदेशी लगानीकर्तालाई चितवनमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यसपालिको चितवन महोत्सवमा ‘इन्भेस्ट चितवन’को योजना अघि सारिएको छ। विदेशी अर्थविद् तथा व्यवसायीहरूको सहभागितामा गरिने तीनदिने ‘इन्भेस्ट चितवन’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी महोत्सवको मुख्य आकर्षण हुने मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तीलचन्द्र भट्टराईले जानकारी दिए।
गोष्ठीमा पूर्वाधार विकास, जल विद्युत्, पर्यटन, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा स्थानीय, राष्ट्रिय एवम् वैदेशिक लगानीकर्ताको खोजी गरिने उनले बताए।
आगामी पुस २५ देखि माघ ५ गतेसम्म आयोजना गर्न लागिएको नवौँ महोत्सवका लागि ३७ कार्यगत समिति गठन गरी काम अगाडि बढाइएको छ। महोत्सवमा ४०० को सङ्ख्यामा स्टल रहने र यस वर्ष वैदेशिक कक्षसमेत थपिने उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ।
केराखेती, माछाखेती, कुखुरापालन व्यवसायलगायतका छुट्टछुट्टै परिसर बनाइने सङ्घका कार्यकारी निर्देशक रसिक प्रधानले जानकारी दिए। रासस
Facebook Comment