आँप : ‘एक गाउँ एक उत्पादन’
सप्तरी- नेपाल सरकारको अनुदानमा सप्तरी उद्योग वाणिज्य सङ्घले सप्तरीमा चालु आव २०६९/०७० देखि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागु गरेको छ। सो कार्यक्रमअन्तर्गत सप्तरीमा आँपको व्यावसायिक खेतमा जोड दिँदै आँपको उत्पादनमा वृद्धि गरिने उद्देश्य लिइएको छ। सरकारले आव २०६३/०६४ को बजेट वक्तव्यमार्फत नै नेपालमा ‘एक गाउँ एक उत्पादन’ घोषणा गरेको हो। ‘आँपको राजधानी’का रूपमा समेत परिचित सप्तरीमा आँप खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै अन्तर्राष्ट्रियस्तरसम्म पहिचान स्थापना गराउने लक्ष्य लिइएको सप्तरी उद्योग वाणिज्य सङ्घ सप्तरीले जनाएको छ।
कार्यक्रम सञ्चालन भएपछि जिल्लामा यस वर्ष आँप उत्पादनमा १० प्रतिशतभन्दा बढीले वृद्धि गराउने किसिमले कार्यक्रम ल्याउने जानकारी दिँदै उद्योग वाणिज्य सङ्घका अध्यक्ष शत्रुधनप्रसाद रौनियारले कार्यक्रमअन्तर्गत जिल्लाका कृषकलाई समूहमार्फत सङ्गठित गर्दै आँप खेतीबारे तालिम, गोष्ठीलगायत सुविधा प्रदान गरिने बताए।
जिल्लामा आँप खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन पुराना आँपका रुखको व्यवस्थापन गर्दै नयाँ आँपका रुखसमेत रोपिने बताइएको छ। रासस
Facebook Comment