बुटवलमा आठ धाम निर्माण हुने
बुटवल- धार्मिक पर्यटन विकासका लागि रुपन्देहीको आनन्दवन गाविसको पश्चिम पहुनीमा निर्माण गर्न थालिएको मोक्षधाम सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत महामहोत्सवमा वृद्धवृद्धा सम्मान गर्न सुरु गरिएको छ। बुधबारदेखि सुरु भएको सङ्गीतमय कथावाचनसहितको धार्मिक महामहोत्सवमा पहिलोदिन मात्रै दुई सय बढी वृद्धलाई सम्मान गरिएको प्रचार संयोजक नारायण बन्जाडेले जानकारी दिनुभयो। त्यस्तै ‘रु पाँच हजार एक सयमा एक हात भूमिदान’ भन्ने नारासहित आयोजना गरिएको महायज्ञमा भूमिदान गर्नेको पनि उल्लेख्य सहभागिता छ। महायज्ञमा ११ हजार एक सय ११ वृद्धवृद्धा सम्मान तथा २१ हजार व्यक्तिद्वारा भूमिदान गर्ने लक्ष्य लिइएको छ।
नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र बुद्धधाम तथा भारतका बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वर तथा द्वारिकाधामको प्रतिकृति रुपन्देहीको आनन्दवनमा निर्माण गर्ने लक्ष्यसहित महायज्ञ गरिएको हो। जिल्लालाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित आठ धामलगायत मोक्षधाम निर्माण भएपछि धर्मका नाममा पलायन भएको पुँजी रोक्ने तथा विदेशी धार्मिक पर्यटकलाई नेपाल भित्र्याई आर्थिक विकास गर्ने लक्ष्य रहेको धामका संरक्षक अध्यक्ष वालव्यास ईश्वरकृष्ण शास्त्रीले बताए। रासस
Facebook Comment