अमेरिकी थारुहरुको संस्था टीएफएले यसपटक २९ जना थारु विद्यार्थीलाई दियो छात्रवृत्ति
अमेरिकी थारुहरुको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले सन् २०२६ का लागि वार्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको छ। यस वर्ष कूल २९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
टीएफएका अनुसार छात्रवृत्ति पाउनेमध्ये ९ जना स्नातक तहका, १४ जना उच्च माध्यमिक (१०+२) तहका र ६ जना ‘नेम्ड स्कलरशिप’ अन्तर्गतका विद्यार्थी रहेका छन्। स्नातक तहका विद्यार्थीलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ, उच्च माध्यमिक तहका विद्यार्थीलाई २० हजार रुपैयाँ र ‘नेम्ड स्कलरशिप’ अन्तर्गतका विद्यार्थीलाई ३५ हजार रुपैयाँ प्रदान गरिनेछ।
यस वर्ष टीएफएले कूल ७ लाख ६० हजार रुपैयाँ छात्रवृत्ति वितरण गर्ने जनाएको छ। छात्रवृत्तिका लागि देशभरका उच्च माध्यमिक तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट आवेदन प्राप्त भएको थियो। छनोट प्रक्रियामा विद्यार्थीको शैक्षिक उपलब्धि र आर्थिक अवस्थालाई मुख्य आधार बनाइएको संस्थाले जनाएको छ।
टीएफएले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका थारु समुदायका प्रतिभाशाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्तो छात्रवृत्ति प्रदान गर्दै आएको छ।
संस्थाले यी छात्रवृत्ति कार्यक्रम आफ्ना सदस्य तथा शुभेच्छुकहरूको सहयोगबाट सम्भव भएको उल्लेख गर्दै सबै दाताप्रति आभार व्यक्त गरेको छ। विशेषगरी ‘नेम्ड स्कलरशिप’ का दाताहरूमा त्रिभुवन चौधरी (सरोज चौधरी छात्रवृत्ति-२ वटा), डा. गणेश चौधरी (बसन्तीदेवी चौधरी छात्रवृत्ति-१ वटा), डा. सुशील चौधरी (ट्रेल ब्लेजर छात्रवृत्ति-१ वटा), डा. गणेश र डा. अनु श्रेष्ठ (रोशनी श्रेष्ठ छात्रवृत्ति-१ वटा) तथा डा. बिनोद चौधरी (पुल्कित चौधरी स्मृति छात्रवृत्ति-१ वटा) रहेका छन्।

Thanks to all those pioneers who accepted the challenges of providing scholarships.