रेशम चौधरीलाई पक्राउ गर्न पत्र बनाउने महिमानसिंह विष्टलाई सर्वोच्चले तोक्यो ६ महिना कैद

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ ।

सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ६ महिना कैद सजाय सहित १० हजार रुपैयाँ जरिवाना गरेको हो । गत वैशाख १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको पत्रका आधारमा पार्टी एकीकरणको घोषणापत्रमा पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण एवं पूर्व सांसद रेसम चौधरी पक्राउ परेका थिए ।

अदालतमा विचाराधीन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउने भनी जारी गरिएको पत्र अनधिकृत र गैर कानुनी भएको निर्क्याैल हुनासाथ केही घण्टामै चौधरी रिहा भए । र, पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट पक्राउ परेका थिए ।

कारागार र प्रहरीमा तत्काल अर्को पत्र पठाएर सर्वोच्चले रेसम चौधरीलाई रिहा हुने बाटो पनि खोलिदिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *