अमिशा पराजुलीलाई अश्लील गाली गर्ने राष्ट्रिय स्तरका फुटबलर अभिषेक चौधरी पक्राउ
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा उत्रिएकी २० वर्षीया अमिशा पराजुलीमाथि गरिएको साइबर बुलिङ प्रकरणमा पक्राउ परेका युवक राष्ट्रियस्तरका फुटबल खेलाडी रहेको खुलेको छ।
काठमाडौँ जिल्ला सरकारी वकील कार्यालयले २५ चैतमा जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रअनुसार पक्राउ परेका २४ वर्षीय अविशेक चौधरी रौतहटका बासिन्दा तथा वीरगञ्ज युनाइटेडका मिडफिल्डर हुन्। उनले स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा खेल्दै आए पनि नेपालको राष्ट्रिय टोलीबाट खेलेको आधिकारिक रेकर्ड भने नपाइएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रका अनुसार सामाजिक सञ्जालमा पोस्ट गरिएको अमिशाको भिडिओमा चौधरीले अत्यन्त भद्दा र अश्लील शब्द प्रयोग गर्दै टिप्पणी गरेका थिए। उक्त दुर्व्यवहारविरुद्ध अमिशाले दिएको निवेदनका आधारमा प्रहरीको साइबर ब्युरोले उनलाई २१ चैतमा नियन्त्रणमा लिएको थियो।
अमिशाले एमाले अध्यक्ष ओलीको समर्थनमा अभिव्यक्ति दिएको कारण आफू लक्षित भएर अनलाइन दुर्व्यवहार र चरित्रहत्या गर्ने प्रयास भएको दाबी गरिएको छ।
प्रहरीसमक्षको बयानमा चौधरीले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र ‘जेनजी’ पुस्ताको आन्दोलनप्रति सहानुभूति राख्ने बताएका छन्। उनले मादक पदार्थ सेवनको अवस्थामा आवेगमा आएर अश्लील टिप्पणी गरेको स्वीकार गर्दै आफ्नो व्यवहार गलत भएको र कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।
सरकारी वकील कार्यालयले चौधरीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरेको छ। उक्त कानुनअनुसार विद्युतीय माध्यमबाट कसैलाई अपमान गर्ने वा सार्वजनिक नैतिकताविरुद्ध सामग्री प्रकाशन गर्ने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिबाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
यसैबीच, २६ चैतमा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश विमला रेग्मीको इजलासले अभियुक्त चौधरीलाई धरौटीमा रिहा गर्ने सम्बन्धमा ‘धरौटी माग’ गर्ने आदेश दिएको छ। तर उनले तोकिएको धरौटी बुझाए/नबुझाएको भने खुल्न बाँकी छ। मुद्दा हाल अदालतमा विचाराधीन छ।
Facebook Comment