भाइ खोज्दै काठमाडौंका अस्पताल चहारिरहेकी अनिता चौधरी
काठमाडौं त्रिवि शिक्षण अस्पताल परिसरमा हातमा फोटो समातेर मलिन अनुहारमा हिँडिरहेकी थिइन् दाङ तुल्सिपुर-१५ की अनिता चौधरी । उनको पछिपछि आँखाभरि आँसु लिएर हिँडिरहेका थिए अनिताका बुबा चिन्तबहादुर चौधरी । अनिता र उनका बुबा अस्पताल आउनुको कारण थियो गत बुधबार भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएका अनिताका भाइ अरुण चौधरीको खोजी ।
अरुण तीन वर्षदेखि सब-इन्जिनियरका रूपमा ‘लाङटाङ खोला हाइड्रोपावर’मा कार्यरत थिए । अनिता शिक्षण अस्पतालको बाहिर भित्ताभरि टाँसिरहेका फोटोहरूको छेउमा केही मानिसलाई सोधिरहेकी थिइन्, ‘यता डीएनए परीक्षण गर्ने कता हो ?’ अनिता भाइको खोजीमा विभिन्न स्थानमा खोजिसकेपछि अन्तिम विकल्पको रूपमा ‘डीएनए’ परीक्षण गर्ने भनी अस्पताल आएको सुनाउँछिन् ।
‘भाइ पाउने आशामा ११ गतेदेखि नुवाकोट, बेत्रावती, चितवन सबै ठाउँ पुगेर आइसक्यौँ । केही खबर पाएनौँ । काम गर्ने ठाउँसम्मै जाने सोचेका थियौँ बाटो रहेनछ र त्यहाँसम्म पुग्न सकेनौँ । कतैबाट केही खबर पाएनौँ,’ उनले भनिन्, ‘केही उपाय नलागेर डीएनए परीक्षणको लागि आएका थियौँ । आफ्नो मान्छेको पहिचान भएजस्तो लागे पछि मात्र डीएनए परीक्षण हुने रहेछ हामीलाई त्यो कुरा थाहा थिएन । मिल्दैन भनेर भन्नुभयो ।’
भाइलाई उद्धार गरेर कसैले काठमाडौं ल्याएका छन् कि भन्ने आशा बोकेर काठमाडौं आए पनि केही खबर भने पाउन नसकेको उनी सुनाउँछिन् । ‘काठमाडौंमा घाइते राखेका सबै अस्पताल पुग्यो । कसैले पो उद्धार गरेर त्यहाँ ल्याए कि भन्ने मनमा ठुलो आशा हुँदो रहेछ । तर कुनै अस्पतालमा केही खबर पाएनौ,’ उनले भनिन् ।
अनिताका अनुसार, अरुण अरुबेला सधैँ काम गर्न जानुअगाडि परिवारसँग फोनमा बोल्ने गर्थे । तर गत बुधबार भने म्यासेज गरेका थिए । ‘आज ढिलो भैगो कुरा गर्न पाउँदिनँ । मलाई ड्युटीमा जान ढिला भयो । सरले फोन गरिसक्नु भयो । म काममा गए हैँ’ भनेर म्यासेज गरेका थिए ।
‘बाबुले सवा आठ बजेतिर त्यही म्यासेज छोडेको रहेछन् । त्यसपछि केही सम्पर्क नै हुन सकेको छैन,’ अनिता भक्कानिँदै सुनाउँछिन् । गत तीन वर्षदेखि सोही क्षेत्रमा काम गरिरहेका अरुणले परिवार धानिरहेका थिए । भाइ छिट्टै सम्पर्कमा आउन् भन्ने रहेको अनिता सुनाउँछिन् । ‘हामी छ जना दिदीबैनीको एउटा मात्र भाइ थियो । सबै कुरा राम्रै थियो एक्कासि बाढीले तहसनहस पार्यो,’ उनले भनिन्,‘भगवान्को कृपाले भाइलाई छिटै सकुशल भेट्न पाइयोस् ।’
आरती पौडेल/कान्तिपुर साभार
Facebook Comment