गरिमा चौधरी हत्या प्रकरण : सिमराका डीएसपी प्रहरी प्रधान कार्यालय तानिए

इलाका प्रहरी कार्यालय सिमरा, बाराका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डीएसपी) दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ। क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा अर्का डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ। भट्ट यसअघि प्रधान कार्यालयमै कार्यरत अधिकृत हुन्।

तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर आक्रोशित जितपुर–सिमरा उपमहानगरपालिका स्थानीयबासीले आन्दोलित भएका थिए । स्थानीयबासीले प्रहरीले समयमै ध्यान नदिएकाले बालिकाको हत्या भएको भन्दै बुधबारदेखिको आन्दोलन गरिहेका थिए ।

गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको स्थानीयको आरोप छ । गरिमा हराएको बारेमा उनको बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनीहरूको आरोप छ ।

स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी क्षेत्रीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । सोही क्रममा बिहीबार त्यहाँका सडकहरूमा आवत–जावत ठप्प पारिएको थियो । यस्तै, उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय पनि बन्द गरिएको थियो ।

यही कारण प्रहरी प्रधान कार्यालय कार्यालयले क्षेत्रीलाई केन्द्रमा तानेको हो । यता, गरिमा हत्याको विरोधमा बिहीबार काठमाडौंमा समेत प्रदर्शन भएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *