रसुवा बाढी : कैलाली टीकापुरका मात्रै २० जना बढी थारूहरू सम्पर्कविहीन

रसुवामा आएको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जनाभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये धेरैजसो त्यहाँ जलविद्युत् गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ।

स्थानीयहरूलाई त्यहाँ लैजाने एक ठेकेदार तुलाराम चौधरीका अनुसार उनका ३० जना कामदार सुरुङभित्रै फसेका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले बताए।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरूका अनुसार कामको क्रममा रसुवा पुगेकाहरूको विवरण संकलन सुरु गरिएको छ। उनले वडाध्यक्षहरूमार्फत विवरण संकलन भइरहेको जानकारी दिए।

इलाका प्रशासन कार्यालय टीकापुरका अनुसार सम्पर्कविहीन हुनेहरूमा वडा नम्बर १ समितिपुरका वीरबहादुर चौधरी, सतीशराम चौधरी, मनिराम चौधरी, बादल चौधरी, राजेश चौधरी, जुगराम (शिवनारायण) चौधरी र दोर्जे चौधरी रहेका छन्।

त्यस्तै वडा नम्बर १ कै मुक्त कमैया शिविरका बादल चौधरी, बिफु चौधरी, मानबहादुर चौधरी र जुगराम चौधरी पनि सम्पर्कविहीन छन्। वडा नम्बर १ विपतपुरका साधुराम चौधरीसमेत सम्पर्कमा नरहेको इलाका प्रशासन कार्यालयले जनाएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले रोजगारीका क्रममा रसुवा गएकाहरूका आफन्तहरू सम्पर्कमा आउन थालेको बताए। उनले वडा नम्बर १ बाट मात्रै योभन्दा बढी व्यक्ति त्यहाँ गएको हुन सक्ने अनुमान गरे।

स्थानीय अनन्त खड्काले दिएको जानकारीअनुसार टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका ८ जना सम्पर्कविहीन छन्। उनीहरू ठेकेदार तुलाराम चौधरीमार्फत वा अन्य कसैको मार्फत गएका हुन् भन्ने कुरा अझै खुल्न सकेको छैन।

सम्पर्कविहीन हुनेहरूमा ठगराम चौधरी, धनुवा चौधरी, कमलबहादुर चौधरी, चुन्की चौधरी, चन्द्रबहादुर थारू, सम्झना चौधरी, विष्णु चौधरी र परदेशी चौधरी रहेका छन्। उनीहरू रसुवाको कुन ठाउँमा कार्यरत थिए भन्ने विषयमा समेत अझै प्रस्ट नभएको स्थानीय खड्काले बताए।

विशेषगरी थारू समुदायका थुप्रै व्यक्तिहरू रोजगारीका क्रममा रसुवा जाने क्रम बढेको छ। पछिल्लो समय सयौँको संख्यामा थारू समुदायका व्यक्तिहरू मजदुरीका लागि त्यहाँ पुगेका छन्। यसले गर्दा रसुवा बाढीमा कैलालीबाट मजदुरीका लागि पुगेका धेरै व्यक्ति हताहत भएको हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, एनएमबी बैंकको टिमुरे शाखामा कार्यरत टीकापुर नगरपालिका वडा नम्बर १ का सुभाष रावलसमेत सम्पर्कविहीन छन्। उनी कार्यरत बैंक रहेको भवन नै बाढीले बगाएको छ। उनीलगायत बैंकका अन्य कर्मचारीहरू पनि अझै सम्पर्कमा आएका छैनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *