भोटेकोशी बाढीले लग्यो बर्दियाका थारू परिवारको खुसी, रित्तो बन्यो दसैंको टीका

शम्भु प्रसाद थारु/बर्दिया

आँगनभरि बालबालिकाको हाँसो, मान्यजनको हातबाट लगाइएको रातो अक्षता, कानमा सिउरिएको पहेँलो जमरा र घरभरि आफन्तको चहलपहल। विजयादशमीको दिन गाउँघरमा छाउने चिरपरिचित दृश्य यही हो।

तर, बर्दियाको गेरुवा र राजापुरका थारू बस्तीहरूमा आज यो उत्सवको रङ कतै भेटिँदैन। बस्तीका धेरैजसो घरका दैलामा आज टीकाको थाली सजिएन, न त आँगनमा उत्सवको उमङ्ग नै पोखियो।

सन्तानको निधारमा आशीर्वादको अक्षता टाँस्ने सपना साँचेका आमाहरू र सिन्दूर पुछिएको हो कि जोगिएको हो भन्ने द्विविधामा परेका श्रीमतीहरू आज पनि आँसु पुछ्दै मूलबाटोतिरै एकोहोरिएका छन्।

कारण एउटै हो- गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी, जसले यी बस्तीका घरको छाना मात्रै होइन, सिङ्गो दशैंको खुसी नै बगाएर लगिदियो।

गेरुवा गाउँपालिका-५ सुखारकी ४२ वर्षीया भगिरथी थारूको निधार आज विजयादशमीको साइतमा पनि खाली नै रह्यो। बिहानैदेखि छिमेकमा टीका-जमराको चहलपहल सुरु हुँदा भगिरथी भने कोठाको कुनामा बसेर छोरा जगतको पुरानो तस्वीर हेर्दै भक्कानिइरहिन्।

रोजगारीका लागि भोटेकोशी किनार पुगेका २२ वर्षीय छोरा जगत बाढीसँगै बेपत्ता भएपछि डेढ महिनायता भगिरथीका आँखा ओभाएका छैनन्।

“वर्षभरि जहाँ भए पनि दशैंमा त छोरा घर आइपुग्थ्यो। मेरै हातबाट टीका थापेर आशीर्वाद लिन्थ्यो,” भक्कानिँदै भगिरथीले भनिन्, “यसपालि पनि बाटो हेर्दाहेर्दै दिन बित्यो। मेरो बाबु बाढीसँगै कता हरायो, कता! न उसको सास भेटियो, न लास। यस्तो मन लिएर कसरी निधारमा रातो अक्षता टाँस्नु?”

भगिरथीको जस्तै भक्कानो राजापुर-९ तिनघरवाकी सिर्जना थारूको छातीमा पनि फुटिरहेको छ। भोटेकोशीकै बाढीमा सिर्जनाका श्रीमान् प्रदीप थारू बेपत्ता भए। घरको गर्जो टार्न परदेशिएका जीवनसङ्गिनी फर्किने बाटो कुर्दाकुर्दै दशैंको टीकाको दिन आइपुग्यो, तर प्रदीपको कुनै खबर आएन।

“अरूले निधारमा टीका र सिउँदोमा सिन्दूर भरेर दशैँ मनाइरहँदा म भने उहाँको सास छ कि छैन भन्ने त्रासमा बाँचिरहेकी छु,” सिर्जनाले रुन्चे स्वरमा भनिन्, “कम्तीमा कुशल भएको एउटा खबर सुन्न पाएको भए यो मनलाई सान्त्वना हुन्थ्यो। आज त घर नै मसानघाटजस्तो सुनसान बनेको छ।”

बर्दियाबाट रोजगारीको खोजीमा रसुवा पुगेका श्रमिकहरू भोटेकोशीको लेदो र बाढीमा एकाएक बिलाएका थिए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भोटेकोशी बाढीमा परी बर्दियाका मात्रै ७६ जना अझै बेपत्ता छन्।

गेरुवा गाउँपालिका-५ सुखारका मात्रै चार युवा- जगत थारू, मनोज थारू, सुरेन्द्र थारू र सर्वेस थारू बेपत्ताको सूचीमा छन्। यता राजापुर-९ तिनघरवाका सुरेश थारू, अमिस थारू, सिसन थारू, प्रदीप थारू र राजु थारूसहित पाँच युवा पनि सोही दिनदेखि सम्पर्कविहीन छन्।

परिवारजनको सबैभन्दा ठूलो छटपटी भनेको ‘सास वा लास’ फेला नपर्नु हो। जिउँदै फर्किने झिनो आशा अझै मनभित्र कताकति बाँकी नै छ, तर समयको लामो अन्तरालले त्यो आशालाई पनि धमिलो बनाउँदै लगेको छ।

बेपत्ताको अवस्था अज्ञात भएकै कारण परिवारले परम्परा अनुसार अन्तिम संस्कार (काजक्रिया) समेत गर्न सकेका छैनन्। न त मृत्यु स्विकारेर शोक पूरा गर्न पाइएको छ, न त जिउँदै फर्किने पक्का छ।

गेरुवा गाउँपालिका-५ का वडाध्यक्ष एवं प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार वडाका १४ भन्दा बढी परिवारमा यसपालि दशैंको कुनै चहलपहल छैन।

“बस्तीका होनहार युवाहरू विपत्तिमा परेका छन्। पुरै गाउँ शोकको छायामा छ,” चौधरी भन्छन्, “अरूलाई दशैँको हर्षोल्लास होला, तर यी पीडित परिवारका लागि त यो दशैं केवल आँसु, छटपटी र आफ्ना मान्छेको खोजीको भारी मात्रै बनेको छ।”

दशैं नेपालीका लागि मिलन र सम्बन्ध नवीकरणको पर्व हो। टाढा गएकाहरू घर फर्कने, पारिवारिक मिलन हुने र खुसी बाँड्ने उत्सव हो यो। तर, बर्दियाका यी बस्तीहरूका लागि यो वर्षको विजयादशमी अभाव, वियोग र अनिश्चयको प्रतीक बन्यो।

गाउँका अन्य घरहरूमा टीका लगाएर आफन्तजन आउजाउ गरिरहँदा बाढीपीडितका दैलामा भने अनौठो सन्नाटा छ। न चुलोमा मीठो पाकेको छ, न निधारमा जमरा सिउरिएको छ।

घरको आँगनबाट थारू आमाहरूको एउटै प्रार्थना छ- ‘भगवान्, टीका र उत्सव नदिए पनि हाम्रा सन्तानको खबर मात्रै ल्याइदेऊ!’ विजयादशमीको साइत सकिए पनि यी थारू बस्तीहरूमा भने एउटा कहिल्यै नसकिने, कहिल्यै नटुङ्गिने व्यग्र पर्खाइको साइत अझै जारी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *