स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत थारू समुदायका आठ जना सम्मानित
चौतरिया बघडिया पटिदारी चितवनले स्वास्थ्य क्षेत्रमा कार्यरत आफ्ना पटिदारीभित्र पर्ने आठ जना युवालाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ। पटिदारीको २४औं वार्षिक सम्मेलनमा ती युवाहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा माडी नगरपालिका वडा नं. ४ का मुकेश महतो, किरण थनेत, सुदिप चौधरी, रन्जित चौधरी, रेवती चौधरी तथा रत्ननगर नगरपालिका वडा नं. ८ का नितु चौधरी र सोही नगरपालिका वडा नं. ६ का छन्नु चौधरी एवम् भरतपुर महानगरपालिका वडा नं. २५ का अमृता चौधरी रहेका छन्। उनीहरुलाई प्रमुख अतिथि डा. मनोजकुमार चौधरी, अतिथि भजुमनराम महतो र पटिदारीका अध्यक्ष मागर महतोले संयुक्तरूपमा दोसल्ला ओढाएर, नगद तथा सम्मान पत्रबाट सम्मान गरिएको हो।
सम्मेलनले पटिदारीको संशोधित विधान, काजक्रिया कार्यविधि र बचत तथा ऋण कार्यविधि पारित गरेको छ। सम्मेलनमा कोषाध्यक्ष आदिराम महतोको प्रतिनिधित्व गर्दै सल्लाहकार नारायण प्रसाद महतोले आर्थिक हरहिसाब प्रतिवेदन प्रस्तुत गरेका थिए। सम्मेलनले छिमेकी जिल्ला नवलपरासी र मित्रराष्ट्र भारतको चम्पारण तथा उत्तर प्रदेशमा रहेका आफ्ना पटिदारीभित्र पर्ने १३ दिने दाजुभाई तथा पटिदारहरूको समेत खोजी गरी वंशावली निर्माण गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.मनोजकुमार चौधरी, अतिथि थारु कल्याणकारिणी सभाका पूर्व वरिष्ठ उपाध्यक्ष भजुमनराम महतो, ज्येष्ठ पटिदार जगरनाथ महतो लगायतले शुमकामना मन्तव्य व्यक्त गरेका थिए। सम्मानित व्यक्तित्वमध्ये मुकेश महतोले धन्यवाद मन्तव्य र पटिदारीका सचिव यसराम महतोले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सम्मेलन चौतरिया बघडिया पटिदारी चितवनका अध्यक्ष मागर महतोका अध्यक्षतामा भरतपुर महानगरपालिका वडा नं. २५ जबका चितवनमा सम्पन्न भएको थियो।





Facebook Comment