राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीसहित ७ जना पक्राउ

सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ। सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन्।

उनीहरूलाई भद्रकालीमा राखिएको छ। अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताए।

अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन्। उनले सरकार जनताबाट टाढा हुँदै गएको आरोपसमेत लगाए।

उनले भने, ‘जनताबाट सरकार टाढा हुँदैछ। सरकारले सुनोस् भनेर सिंहदरबारबाट प्रदर्शन गरिएको हो आज सुनाउन खोजेका छौँ।’ अध्यक्ष लिङ्देनले दलको कार्यालय अगाडि अस्वाभाविक रूपमा प्रहरी तैनाथ गरेको बताए।

यसैबीच सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा विभिन्न नारा लेखिएको पम्प्लेटसहित प्रदर्शन गरेपछि लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ पक्राउ परेका छन्। त्यसक्रममा राप्रपाका सांसदहरूले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर, पार्टीका नेताहरूको रिहाइ हुनुपर्ने लगायतका नारा लगाएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *